खोकनामा मानिससरह धारामा नुहाउँदै गरेका हाँस, रुद्रायणी मन्दिरको भागमा छाडिएका बाख्रा र तिनका पाठापाठीलाई पनि त्यहाँ चढाएका प्रसाद खान भ्याईनभ्याई हुन्छ। मन्दिर परिसर धूपबत्तीको बास्ना र रापले भरिन्छ।
ललितपुर– चापागाउँमा जन्मिएकी ज्ञानदेवी महर्जन विवाहपछि खोकना भित्रिइन्। विवाह गरेको पहिलो वर्षको दशैँ उनलाई अझै पनि याद छ। सधैँ दशैँ मनाइरहेकी उनले खोकनामा फरक रौनक पाइन्।
घटस्थापनाको चार दिनअघि कुखुराको मासु, अण्डा, लसुन बार्नु पर्ने थियो। तर घटस्थापनामा जमरा राखिएन, न त टीकाको दिन रातो टीका नै लगाइयो। त्यहाँ पिङ खेल्न पनि बर्जित थियो। घटस्थापनादेखिका सबै विधिविधान कोजाग्रत पूर्णिमासम्म बार्नु पर्ने।
यद्यपि यसले बाल्यकालदेखिको दशैँको रौनकभन्दा ज्ञानदेवीलाई केही फरक पारेको थिएन। उनलाई थाहा थियो, खोकनामा दशैँ होइन, त्यहाँको मौलिक सिकाली जात्रा मनाइन्छ। अन्य खोकनाबासी जस्तै उनी पनि सिकाली जात्राको रौनकसँगै मस्तव्यस्त भइन्।
बाल्यकालदेखि दशैँ मनाएको भए पनि विवाहपछि उनलाई न माइतीको न्यास्रो लाग्यो न त दशैँको नै। उनी भन्छिन्, “यहाँ हुँदा यहीँको जात्राको रमझम नै रमाइलो लाग्छ। दशैँ त माइत जाँदा मनाइहालिन्छ नि।” मंगलबार खोकनास्थित आफ्नै घरको आँगनमा भेटिएकी उनी सिकाली जात्रालाई सांस्कृतिक र ऐतिहासिक धरोहर मान्छिन्।
हुन पनि आम सनातन धर्मावलम्बीको लागि दशैँ ठूलो र विशेष चाड हो। मालश्री धूनसँगै रातो, टीका, जमरा, आशीर्वाद, दक्षिणा, पिङ, चंगा यी सबैले दशैँ आएको प्रतीत हुन्छ। देशभर दशैँको रौनक छरिएको समयमा दशैँबिनाको स्थान कस्तो होला भन्ने प्रश्न धेरैको लागि स्वाभाविक हुन्छ। तर यो कल्पनाभन्दा फरक यथार्थको मिठास खोकना पुगेपछि अनुभव गर्न सकिन्छ।
मन्दिरमा बज्ने घण्ट, रातो माटोले पोतिएका डबली, ढोका, लाछी (खोकनावासीको बोलीमा आँगन) समेत पोतिएको हुन्छ। लाग्छ, खोकनाको रङ त्यही रातो माटोले रंगाएको छ। लंगुरबुर्जाका गट्टी र दाउ थापेको पैसाको दोब्बर, तेब्बर गर्ने दाम गन्न आतुर मानिसको जमात पनि उत्तिकै हुन्छ।
सिकालीको जात्रा मानिसलाई मात्र लाग्दैन, खोकनामा मानिस सरह धारामा नुहाउँदै गरेका हाँस, रुद्रायणी मन्दिरको भागमा छाडिएका बाख्रा र तिनका पाठापाठीलाई पनि मन्दिरमा चढाएका प्रसाद खान भ्याईनभ्याई हुन्छ। मन्दिरपरिसरमा बास्नादार धूपबत्तीको बास्ना र रापले नवीन ऊर्जा छरिरहेको हुन्छ।
खोकनामा कुखुराको मासु चल्दैन। यद्यपि जात्रामा लाग्ने मेलामा माछा बेच्ने र किन्नेको जोडतोडको मनोरञ्जनात्मकता हुन्छ। यहाँ आफ्नै मौलिक वैभवको सिकाली जात्राको रौनक आफैँमा भव्य र सुन्दर हुन्छ जसले अन्यत्र देखिने दशैँको चपलपहललाई बर्सेनि माथ गरिरहेको छ। खोकनाबासीमा हर्क र उमंग थप्ने सांस्कृतिक पर्वको स्थान नै सिकाली जात्राले लिएको देखिन्छ।
‘दशैँ मनाउँछौँ, जमरा मात्र लगाउँदैनौँ’
खोकनाबासी दशैँ नमनाउने भाष्यलाई मान्दैनन्। निधारमा रातो टीका र जमरा पर्नु हुन्न भन्ने कठोर नियम नै भने कतै पनि नभएको ६३ वर्षका स्थानीय सुर्जेबहादुर डंगोल बताउँछन्। उनले खोकनामा हुँदा कहिल्यै पनि जमरा भने लगाएका छैनन्। आफन्तले बोलाएको बेलामा खोकनाबाहिर गएर टीका लगाउनु उनका लागि सामान्य हो।

स्थानीय हरिनाथ डंगोलले हालसम्म दशैँ मनाएका छैनन्, तर दशैँप्रति उनको कुनै पनि विस्मृति छैन। सिकाली जात्राको रौनकले उनलाई दशैैँको खास अनुभूतिबाट अलग रहेको लाग्दैन। खोकनामा वर्षभरि हुने चाडपर्वमध्येको एक रुद्रायणी देवीको सिकाली जात्रा महत्वपूर्ण हुने उनी बताउँछन् जुन दशैँसँगै जुध्ने गर्छ।
उनले आफ्ना पुर्खाबाट सुनेअनुसार लामो समयअघि सिकाली जात्रा गाईजात्राको भोलिपल्ट हुने ‘धज्या जात्रा’मा मनाइन्थ्यो। “त्यसबेला आफ्ना घरमा रहेका हातहतियारको पूजा र भोज गर्दै रमाइलोसँग सिकाली जात्रा मनाइन्थ्यो रे,” उनी भन्छन्, “तर उतिखेरको समयमा मौसमले पनि साथ नदिने र काम व्यवस्थाको आधारमा एक महिना पछाडि सार्दा दशैँसँग जुध्न गयो।”
स्थानीय रुद्रायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णभगत् महर्जन सिकाली जात्राको बौद्ध धर्मसँग जोडिएको पाटोबारे चर्चा गर्छन्। दशैँको इतिहास ७०० वर्ष मात्र पुरानो रहेको भए पनि भैरवी र सिकाली किराँतकालदेखि मानिँदै आएको उनको दाबी छ। सम्राट अशोकले आफ्नो हतियार छाडेको नवमी तिथि परेका कारण त्यस दिन खोकनाबासीले हतियार नचलाउने र पूजा गरी राख्ने चलन परम्परादेखि चलेको उनले बताए।
पहिले खोकनामा नेवारमध्ये पनि डंगोल, महर्जन र ज्यापू समुदायको बस्ती थियो जो विशेषतः बौद्धधर्म मान्छन्। पछिल्लो पटक कामका सिलसिलामा श्रेष्ठ, शाक्य लगायतका परिवार थपिएका छन् जसकारण ती परिवारले पनि सँगै जात्रा मनाउँदै आएको उनले बताए। जात्रा, पर्वमा आयातित कामले जोडिएका शाक्य, श्रेष्ठ परिवारले पनि खुशियालीपूर्वक मनाउन थालेको स्थानीय हरिनाथ डंगोलले बताए।
अर्का स्थानीय पवित्रकुमार महर्जन खोकनावासीमा दशैँप्रति कुनै द्वेष नभएको बताउँछन्। मिडियामा कहीँ कतै आएको गलत व्याख्यालाई नकार्दै उनी जात्रासँगै जमरा मात्र नलगाइने बताउँछन्। यसबाहेक, खोकनाबासीले नवमीमा हुने हातहतियार पूजादेखि खानपिनमा पनि उत्तिकै रमाइलो गर्ने उनले बताए।
“दशैँ नमनाउने भन्ने हुँदैन। कसैको घरमा पनि जमरा राखिँदैन। यहाँ दशैँ नै मनाइँदैन भन्ने मान्यता गलत हो। यहाँबाट घरबाहिर गएकाले पनि दशै मनाउँछन्,” उनले भने। सप्तमीको दिनसम्म चल्ने सिकाली जात्रा सकेर आराम गर्ने क्रममा दशैँ मनाउँदा दोहोरिने खर्चमा कटौती गर्न पनि दशैँलाई खास महत्व नदिइएको हो कि भन्ने उनको अनुमान छ।
कसरी शुरू हुन्छ जात्रा?
घटस्थापनादेखि पाँच दिनसम्म चल्ने जात्रा तृतीयाबाट अझ धूमधाम हुँदै जाने हरिनाथ डंगोल बताउँछन्। जात्राको पहिलो चार दिन खोकनाका सबै घरबाट हरेक बिहान पूजासामग्री लिएर कुमार केटा पूजारीहरू सिकाली जान्छन्। उक्त तान्त्रिक पूजा गोप्य हुन्छ। यसलाई चराचुरुङ्गीले समेत हेर्न नमिल्ने जनविश्वास चलिआएको छ।
तृतीयाको दिन खोकनाका ‘त गुठी’, ‘जाः गुठी’ र ‘श्रीखण्ड साला गुठी’ गरी तीन वटा गुठीबाट साँझमा राँगो बलि दिइन्छ। बलि दिइने राँगोको शरीर कुनै पनि दाग नलागेको र दाँत नझरेको (शुद्ध) हुनु पर्ने मान्यता छ। बलिपश्चात् चौथो दिन गुठीमा ‘छोय्ला भु’ अर्थात् भोज हुने गर्छ। यस दिन खोकनाबासी आफ्ना घरघरमा भोज खाएर रमाइलो गर्ने गर्छन्।
पञ्चमीको दिनलाई ‘मुः द्या’ अर्थात् मूल जात्रा भनिन्छ। यस दिनको राति तीन गुठीका देवगणबाट माटोका भाँडारूपी महाकाल र भैरव स्थापना गरी पूजा गरिन्छ। सोही भाँडालाई षष्टीका दिन एकाबिहानै सिकाली चौरमा लगेर रुद्रायणी मन्दिरअघि नाच गरिन्छ। अन्तिम दिन सप्तमीमा अघिल्लो दिनको नाच ‘क्व्य लाछी’ देखाई जात्रा सम्पन्न गरिन्छ।

यद्यपि, अष्टमी र नवमीका दिन अन्य स्थानसरह भोज तथा सवारीसाधन लगायतका औजारको पूजा गर्ने चलन यहाँ पनि रहेको स्थानीय बताउँछन्। नवमीको दिन अन्यत्र जस्तै घरमा रहेका बाहन तथा हतियारको पूजा गरिन्छ।
१२ वर्षे जात्रा पनि यसै वर्ष
रुद्रायणी गुठीका तार नाय (अध्यक्ष) उदयकुमार डंगोलका अनुसार १२ वर्षमा एकपटक मनाइने जात्रा पनि यसपटक परेको छ। यसकारण सिकाली जात्राको रौनकमा यसपालि अझ सुगन्ध थपिएको छ। १२ वर्षे जात्रामा साबिकका वर्षमा हुने पूजाबाहेक देवगणको रूप धारण गरी मुकुट लगाएर नाच्ने र त्यसबाट शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
लोकोक्तिअनुसार यस जात्रामा महादेवको रूपमा रहने गण पशुपतिमा, महाकाली बनेको गण गुह्येश्वरीमा र ‘मुद्यय’को रूपमा रहने गण सिकाली चौरस्थित ‘रुद्रायणी’ मन्दिरमा शक्ति लिन जाने गर्छन्। एवं रीतले ४६ देवगणका शक्तिको स्रोत अलग अलग स्थान छन्।
“त्यस्तै, खड्ग भवानी र कुमारी देवीको भेट १२ वर्षमा एक पटक मात्र हुने हो,” तार नाय डंगोल भन्छन्, “साबिकको सिकाली नाचमा देवगणको प्रत्यक्ष भेट हुँदैन।” उनका अनुसार १२ वर्षे जात्राको लागि विभिन्न स्थानबाट निमन्त्रणा आएका छन्। हालसम्म २५–२६ ठाउँबाट निम्ता आएकोमा हुनमानढोका, बुंगमती र सानो खोकना जाने तय भएको उनले बताए। नाचमा सामेल हुने ४६ जनाको देवगणलाई घटस्थापनादेखि फूलपातीसम्म खाना बर्जित हुन्छ।
यस्तो छ किवंदन्ती
प्राचीन समयमा लगन टोलका एक पुरुष बेहोश भए। अनेक उपाय गर्दा पनि उनको होश नआएपछि परिवारले उनको मृत्यु भएको भन्ठाने। त्यो समय सती जाने चलन रहेको कारण उनीसँगै उनकी श्रीमतीलाई पनि जलाउन लगियो। बिस्तारै आगोको रापले ती व्यक्तिको होश खुल्यो।
यद्यपि चितामा जलेको व्यक्तिलाई पुनः समाजले स्वीकार्नेवाला थिएन। मलामी गएकाहरू त्यो दम्पतीलाई लखेटीलखेटी मार्न हौसिए। ज्यान बचाएर भागेका उनीहरू बागमतीको किनाराबाट रुँदै खोकनाको सिकाली चौरमा आइपुगे। नेपाल भाषामा ‘खो’ को अर्थ ‘रुनु’ र ‘कन’ को अर्थ ‘भन्नु’ हो।
त्यहाँ देवी रुद्रायणीले उनीहरूको लागि एउटा गाई उत्पत्ति गरेर दिएको कथन छ। देवीको ममताबाट उनीहरूले गाईजात्रा मनाउन थालेको र सोही समयदेखि त्यसको अर्को दिन दशैँ मनाउन थालिएको पनि कथन छ। रुँदै आएर बिलौना गरेका दम्पतीको बसाइ यहाँ आएर भएको कारण यस स्थानलाई ‘खोकना’ भनिएको जनविश्वास चलिआएको छ।
उनीहरू बसेको स्थान ‘कुदेश’को नामले प्रचलित भयो। सिकालीको सेरोफेरोमा बसेका उनीहरूलाई वरपरकाले हेय दृष्टिले हेर्न थाले। त्यहाँ बस्नै नसकेपछि उनीहरूले सिकाली चौर छाडेर हाल ठूलो खोकना मानिएको बस्तीमा सरेको कथन छ। यद्यपि देवीको आराधना र सम्झनाको लागि घरघरबाट हरेक वर्ष सिकाली चौरमा जात्रा लैजाने चलन शुरू भएको स्थानीय बताउँछन्।
सिकाली जात्रामा देखाइने नाचको सिधा सम्बन्ध स्वस्थानीमा आधारित दक्षप्रजापतिको अश्वमेध यज्ञसँग रहेको ७४ वर्षीय बुद्धिबहादुर डंगोल बताउँछन्। स्वस्थानीमा दक्षप्रजापतिले महादेवको अपमान गरेपछि त्यसलाई सहन नसकी सतीदेवी अग्निकुण्डमा हामफालेको कथा छ। त्यो खबरले रुष्ट भएका महादेवले वीरभद्र र महाकालीलाई आह्वान गरी दक्षप्रजापतिको यज्ञ ध्वंश गरेको लिलालाई नै रुद्रायणी मन्दिरको परिसरमा नाचको रूपमा उतारिन्छ।
नाचमा उफ्रँदै आएका देखिने देवगण खासमा, आकाशमा उड्दै दक्षप्रजापतिको यज्ञको लागि आएका देवताहरूको प्रतीक भएको स्थानीय पवित्रकुमार महर्जन बताउँछन्। यसलाई विभिन्न तरिकाले बुझ्नका लागि अवलोकनकर्तालाई प्रस्ट्याउन खोजेको उनले बताए।
मौसमअनुसार जात्राअघि वा पछि खोकनामा धान काट्ने चटारो हुन्छ। जात्रा सकिएपछि धानकै काममा खोकनावासीको व्यस्तता बढ्छ। दशैँको बेला दिनहरू लामा नै हुने कारण खेतीपातीको काम नहुँदा यहाँका कतिपय युवा ‘टुर तथा ट्रेकिङ’को लागि पनि जाने प्रचलन बढेको स्थानीय हरिनाथ डंगोलले बताए।
सामाजिक सञ्जालको युगमा खोकनाका स्थानीय, विशेषतः बालबालिकामा दशैँबारे कुनै जिज्ञासा उठेका छन् कि? हाम्रो प्रश्नमा डंगोल भन्छन्, “बच्चाहरू जात्राकै नक्कल गरेर रमाउने गर्छन्। मुकुट लगाएर घुम्ने अभिनय पनि उनीहरू नौलो तरिकाले सविस्तारमा गर्छन्। सानो हुँदा हामीलाई आफ्नै जात्रा रमाइलो हुन्छ,” उनले भने, “खोकनाबाहिर जाँदा मात्र दशैँको महसुस हुन्छ।”
थप भिडियोमा:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
