Monday, April 29, 2024

-->

चिनी खोज्दै नुवाकोट र धादिङबाट काठमाडौँ आएकाहरू भन्छन्, ‘गाउँमा यस्तो अभाव थाहा थिएन’ (भिडियोसहित)

गाउँमा अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले बेच्ने दुई किलो चिनी किन्न उपत्यका आसपासका जिल्लाबाट समेत सर्वसाधारण काठमाडौँ आउन थालेपछि सुपथ मूल्य पसलहरूमा भीड लागेको छ।

चिनी खोज्दै नुवाकोट र धादिङबाट काठमाडौँ आएकाहरू भन्छन् ‘गाउँमा यस्तो अभाव थाहा थिएन’ भिडियोसहित
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– दशैँमा समेत सरकारले बजारमा चिनीको अभाव टार्न नसकेपछि सर्वसाधारणले दुःख पाएका छन्। चिनी खोज्दै उपत्यका आसपासका जिल्लाबाट उपभोक्ता काठमाडौँ आएका छन्।

सरकारले बिहीबारबाट काठमाडौँको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा शुरू गरेको सुपथ मूल्य पसलमा दुई किलो चिनी लिन नुवाकोट र धादिङका उपभोक्तासमेत आएका थिए। नुवाकोटको ककनी गाउँपालिकाबाट आएका ५९ वर्षीय विदुर चापागाईंले गाउँमा चिनी नपाएपछि काठमाडौँ आएको बताए।

चापागाईंले भने, “चाडबाडमा परिवारलाई मिठोमसिनो खानुपर्छ। तर चिनीजस्तो खाद्यवस्तु पनि सजिलै पाइएन। यस्तो अभाव गाउँमा यसअघि कहिल्यै भएको थिएन।”

दुई किलो चिनी खरीद गर्न उनीसँगै त्यही गाउँका ६ जना पनि कालिमाटी आइपुगेका थिए। दशैँ आइसक्दा पनि चिनी गाउँ नआएपछि आफूहरू काठमाडौँ आउन बाध्य भएको चापागाईंको भनाइ छ।

सुपथ मूल्य पसलमा चिनी खरिद गर्न धादिङबाट पनि सर्वसाधारण काठमाडौँ आएका छन्। धादिङको धार्केबाट आएका शिव पुडासैनीले आफूहरूलाई चाडपर्वका बेला सहुलियत नभई सास्ती मिलेको गुनासो गरे।

“अघिपछि त जे जसो भए पनि चित्त बुझाएकै हुन्छौँ, तर चाडपर्वका बेला मन मान्दैन। घरमा आएका पाहुनालाई चियासमेत नखुवाइ पठाउने कुरा हुन्न,” पुडासैनीले भने, “आफन्तका अघि इज्जत राख्न पनि चिनीको जोहो गर्नुपर्ने भयो। त्यसैले काठमाडौँ नै आइयो। धन्न दुई किलो भए पनि पाइयो।” 

टाढाबाट आएका उपभोक्ताले सुपथ मूल्य पसलमा पनि सास्ती पाएको गुनासो गरे। घन्टौँसम्म लाइन लागेर मात्र चिनी पाएको उनीहरूको भनाइ थियो। चिनी बेच्ने सुपथ मूल्य पसलहरूमा बिहीबार लामा–लामा लाइन थिए।

काठमाडौँका उपभोक्ताले पनि चिनी नपाएको गुनासो गरिरहेका छन्। काठमाडौँ कलंकीका दिलबहादुर आले आफ्नो घर वरिपरिका पसलमा चिनी पाएनन्। त्यसैले सरकारले शुरू गरेको सुपथ मूल्य पसलमा आउन बाध्य भए। 

“नजिकै कंलकीबाट आए पनि म जेष्ठ नागरिक भएकाले सजिलैसँग चिनी पाएँ। अरूले तीनचार घण्टासम्म लाइनमा बस्नु पर्‍यो,” उनले भने, “दशैँ भित्रिसकेको छ। सर्वसाधारणले सास्ती पाएका छन्। सरकारले सर्वसाधारणलाई कहिले राहत दिन्छ?” 

कीर्तिपुरदेखि चिनी किन्न कालिमाटी आएकी निर्मला लम्साल पनि लामो लाइन बस्नुपर्दा थकित थिइन्। “हिजोअस्ति दुईतीन घण्टा लाइनमा बस्दा गाह्रो भएको भन्ने सुनेको थिएँ। त्यसैले साँझतिर आएकी हुँ। तर पनि लाइनमा बस्न बाध्य भएँ,” उनले भनिन्। 

लम्सालले दशैँका बेला आफ्नो वरपरका पसलमा चिनी नपाउनु आश्चार्यजनक भएको बताइन्। “चाडपर्वका बेला व्यापारीले चिनी लुकाएको सुनिन्छ। यस्तो किन गरिन्छ मैले बुझेको छैन। सर्वसाधारणलाई जे गरे पनि हुन्छ भन्ने मान्यता सरकारमा बस्नेहरूको छ। यस्तो व्यवहारले हाम्रो चित्त दुखेको छ,” उनले भनिन्। 

सुपथ मूल्यमा चिनी किन्न घण्टौँ लाइनमा बस्नेहरू प्रायः सबैको एकैखाले गुनासो छ– चाडपर्वका बेला हामीले कहिल्यै सहजै अत्यावश्यक खाद्यसामग्री पाउँदैनौँ।

साल्ट ट्रेडिङका विभागीय प्रबन्धक बज्रेशकुमार झा भने आफूहरूले नागरिकलाई सकेसम्म चिनी उपलब्ध गराएको दाबी गर्छन्। झा भन्छन्, “हामीलाई आन्तरिक बजारबाट ६० टन चिनी उपलब्ध भएको छ। त्यसैअनुसार अहिलेलाई दुई किलोका दरले उपभोक्तलाई सस्तो मूल्यमा बिक्री गरिरहेका छौँ। अन्त के भइरहेको छ भन्ने जानकारी भएन।”

दशैँका बेला चिनीको अभाव भएको भन्दै व्यापारीले लुकाउन थालेको उपभोक्ताको गुनासो छ। तर सरकारको अनुगमन प्रभावकारी भएको छैन भने, कारबाही पनि गर्न सकेको छैन।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज तेस्रो हप्ता विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूको गोदाममा एक लाख ८८ हजार ५१३ क्विन्टल चिनी भण्डारण गरिएको फेला पारेको थियो। यसरी भण्डारण गरेर बजार नपठाउने कसैमाथि पनि कारबाही भएन।

त्यसको केही दिनपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसहित सरकारका निकायले यसरी राखिएको चिनी बजारमा पुर्‍याउन पहल भने गरेका थिए। सम्बन्धित उद्योगीहरूसँगै सम्पर्क गरी चिनी बजारमा पठाउन भनिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले उकालोसँग बताएका थिए।

मन्त्री रिजालले चिनी उत्पादकहरूलाई असोज २३ गते आफ्नो कार्यकक्षमा बोलाएर चिनी आपूर्तिमा सघाउन आग्रह गरेका थिए। चिनी उत्पादक संघको अगुवाइमा मन्त्रालय पुगेका उद्योगीहरूले चिनी बजार पठाउने वा नपठाउनेबारे केही बताएका थिएनन्। 

आफूहरूले अरूलाई बेचिसकेको कारण चिनी बजारमा पठाउन असहज हुने उनीहरूको जवाफ थियो। बजारमा चिनी अभाव भएको बेला उद्योगीले उपभोक्ताका लागि नपठाइ विभिन्न प्रकारका पेय पदार्थ तथा जुस बनाउने उद्योगका लागि चिनी भण्डारण गरेका थिए।


भिडियो


सम्बन्धित सामग्री