प्रकृतिसँग जोडिएको धर्म मान्ने भएका कारण नेवारले माटो, घर, ज्याबल र आफ्नो ज्यानलाई समेत पूजा गर्छन् र अहिलेसम्म त्यो अभ्यास जारी राखेका छन्।
खस–आर्य समुदायमा दशैँको उल्लास जमरा र टीकामा पुगेर सकिन्छ। यस्तो लाग्छ, दशैँको मूल नै टीका–जमरा नै हो। नेवारले पनि जमरा र अक्षता लगाउँछन्, फूलप्रसाद दिइन्छ टीका ग्रहण गर्नेलाई, तर सँगसँगै कालो टीका पनि लगाउँछन्। कालो टीका नै मोहनीको अन्तर्य हो। कालो टीकाको प्रचलन नेपाली समाजमा सम्भवतः नेवारको मात्रै छ होला। कालो टीकालाई मोहनी टीकासमेत भनिन्छ। मोहिनी टीकाकै कारण पर्वको नामसमेत मोहनी रहन पुगेको हो। कालो टीकालाई कसैलाई वशीभूत पार्ने, लट्ठ्याउने या मोहनी लगाउने साधनका रूपमा बुझिन्छ।
आश्विन शुक्ल प्रतिपदादेखि आश्विनको कोजाग्रत पूर्णिमासम्म नेवार समुदायले मनाउने पर्वलाई मोहिनी नख (मोहनी पर्व) भनिन्छ। 'मोहिनी'मा नख: थप्दा 'मोहिनी नख' बन्न जान्छ। नखको अर्थ चाड हो। खस आर्यहरूले दशैँको जमरा राख्ने दिनलाई घटस्थापना भन्दै मनाउँछन्, तर नेवार समुदायमा त्यस दिनलाई नलासालेगु या स्वसालेगु भनिन्छ। मोहिनी मनाउने तरिका दशैँसँग केही मिल्छ भने केही धेरै भिन्न पनि हुन्छ। यसरी फूल (स्व) या जमराको फूल (नलास्व) स्थापना गर्ने दिनबाट मोहिनी शुरू हुन्छ।
भक्तपुरको कुरा गर्नुहुन्छ भने सो दिन ब्रम्हायणी पीठमा ठूलो मेला लाग्छ। भक्तपुर आसपासका नेवारहरूले सोही पीठबाट शुद्ध माटो घरमा ल्याएर विधिपूर्वक जौ छरेर आफ्नो पूजाकोठामा राख्छन्। काठमाडौँ, पाटन, ठिमी, पनौती, बनेपाको आफ्ना आफ्नै शक्तिपीठहरू छन्। सबैले आफ्ना आफ्ना पीठबाट शुद्ध माटो ल्याएर घरमा जमरा छर्ने हो। नेपाल मण्डलमा रहेका पहिलेका ससाना राज्यमा पहिलेदेखि नै मोहिनी मनाइन्छ, तर आफ्ना केही मौलिकता र अभ्यास हुने नै भयो। त्यो दिन सबै नेवारहरूले गर्ने नलास्वालेगु नै हो।
भक्तपुरमा पहिलो दिन ब्रम्हायिणी पीठ, दोस्रो दिन महेश्वरी पीठ, तेस्रो दिन कौमारी पीठ, चौथो दिन भद्रकाली पीठ, पाँचौँ दिन वाराही पीठ, छैटौँ दिन इन्द्रायणी पीठ, सातौँ दिन महाकाली पीठ, आठौँ दिन महालक्ष्मी पीठ, नवौँ दिन त्रिपुरासुन्दरी र दशौँ दिनमा भैरवको दर्शन गरेपछि भक्तपुरको मोहिनी नखको धेरै कुरा सम्पन्न भइसकेको हुन्छ। यी पीठहरू सबै भक्तपुरकै आसपास छन्।
त्यसबीचमा सप्तमीको दिनलाई 'स्याकोत्याको' भनिन्छ र त्यस दिन घरमा राँगोको मासु भित्र्याउनुपर्छ भन्ने चलन छ। मासु नखाने र पशुवध नरुचाउनेले मासुको विकल्पमा उखु, लौका र कुभिन्डोलगायतका फल भित्र्याउँछन्। आठौँ दिनलाई 'कुछी भ्वय' भनिन्छ। त्यो दिनचाहिँ दुई माना चिउरा राखेर टोलका सबै मान्छे बसेर भोज खाने अभ्यास हुन्छ। नवौँ दिनलाई कालरात्रि या महानवमी भनिन्छ।
कालरात्रिका दिन आफ्नो पेसाकर्म र औजारहरूको पूजा गरिन्छ। खेत हुनेले खेतको पूजा गर्छन्, व्यापार गर्नेले आफ्नो पसलको पूजा गर्छन्। उद्योग हुनेले कलकारखानाको पूजा गर्छन्। अहिले आएर आधुनिक सवारीसाधनको पूजा गर्ने अभ्याससमेत बढ्दो छ। पश्चिमाले विज्ञानमा गरेका चमत्कार र आविष्कारलाई हामी श्रद्धासाथ पूजा गर्ने गर्छौं।
दशौँ दिनमा भैरवको दर्शन त गरिन्छ नै, श्री तलेजु भवानीको जात्रासमेत हुन्छ। नेपाल मण्डलका अन्य राज्यमा पनि तलेजु मन्दिर छन्, तर मूल तलेजु मन्दिरचाहिँ भक्तपुरमा छ। त्यो दिन नवदुर्गा भवानीको उत्पत्ति पनि भइसकेको ठानिन्छ। खासमा तलेजु भवानीको जात्रापछि मोहनी सकिन्छ, तर मोहनीको भोजचाहिँ कोजाग्रत पूर्णिमासम्म खुवाउने चलन छ।
बिहे गरेर गएका छोरीबेटीलाई बोलाएर एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म माइतीले भोज खुवाउने गर्छन्। त्यस अभ्यासलाई नखात्या पनि भनिन्छ। 'नखा' को अर्थ चाडपर्व, 'त्या'को अर्थ उधारो। चाडपर्वको उधारोको फरफारकका रूपमा त्यसलाई बुझ्न सकिन्छ। अर्को कुरा, कोजाग्रत पूर्णिमामा लक्ष्मीको प्रादुर्भाव हुन्छ भन्ने ठानिन्छ। त्यस दिन घरघरमा 'को को जागृत भएर बसेका छन्' भनेर नियाल्न लक्ष्मी भगवती आउँछिन् भन्दै ठान्दै घरघरमा मध्यरातसम्म दीपावली गर्ने परम्परा छ। यसरी, तिहारको संकेत कोजाग्रत पूर्णिमाले दिएको ठानिन्छ।
नेवारका दर्जनौँ नखा (चाड) हरू छन्। कतिपय नखाहरू ८-९ दिन लामा हुन्छन्, तर मोहनी १५ दिन लामो हुन्छ। खेतबाट धान भित्र्याइसके र आर्थिक रूपमा सम्पन्न भएको मौसममा यो चाड मान्ने तिथिमिति पर्छ। नेवारको जात्रामा सबैभन्दा ठूलो बिस्का जात्रा हो भने चाडमा सबैभन्दा ठूलो मोहनी हो।
देवीपूजन शाक्त परम्पराको निरन्तरता हो। शक्तिका रूपमा देवी मान्ने सम्प्रदायलाई पहिले शाक्त भनिन्थ्यो। अहिले शाक्त मतावलम्बीहरू खासै नभए पनि शाक्त परम्पराका फरक फरक अभ्यास अनेक रूपमा समाजमा जीवित देखिन्छन्। नेपालमा पहिले शैव धर्मको बढी प्रभाव थियो। पछि मान्छेहरू वैष्णव धर्मप्रति लागे। त्यसबीचमा बौद्ध धर्म आयो। तर नेवारी समुदायको ऐतिहासिक अध्ययनले उनीहरू पहिले कुनै धर्मसँग सम्बन्धित नरहेको देखिन्छ। शैव, शाक्त, वैष्णव र बुद्ध धर्म मान्नुपूर्व उनीहरू प्रकृतिपूजक रहेको देखिन्छ।
प्रकृति पूजा र तन्त्र
प्रकृतिसँग जोडिएको धर्म मान्ने भएका कारण उनीहरू माटो, घर, ज्याबल र आफ्नो ज्यानलाई समेत पूजा गर्छन् र अहिलेसम्म त्यो अभ्यास जारी राखेका छन्। आफ्ना आमाबुवा, दाजुभाइ र दिदीबहिनीलाई उनीहरू पूजा गर्छन्। बेल विवाह नभएका छोरी र व्रतबन्ध नभएका छोरालाई समेत पूजा गर्छन्। अन्य प्रचलित धर्मका अभ्यास र विधिभन्दा बिलकुलै मौलिक परम्परा र चलन हुन् यी। तर नेवारको संस्कृतिमा बिस्तारै अन्य संस्कृतिको प्रभाव बढ्यो। अन्तरघुलन र अन्तरमिलनले संस्कृति बदलिने क्रम जारी रह्यो।
विक्रमको चौथौँ र पाँचौँ शताब्दीतिर तन्त्रको प्रभाव नेवारहरूको प्रकृतिपूजन संस्कृतिमा पर्यो। पहिले वैदिक तरिकाले पूजाआजा गर्न थालेका नेवारमा फेरि तान्त्रिकहरूको प्रभाव पनि मिसिन पुग्यो। वैदिक र तान्त्रिक मिलेर एक किसिमले शाक्तको पूजा गर्ने परम्पराको विकास उपत्यकामा भयो। शाक्तको पूजा गर्ने क्रममा त्यसमा तन्त्र मतको झनै बढी प्रभाव पर्यो। त्यसो हुँदा मोहनी पर्व खासमा तान्त्रिक पूजापद्धति हो।
तान्त्रिकपद्धतिबाट गरिने पूजा भएको हुँदा यहाँ अनेक प्रकारका बलिको अभ्यास छ। बलिबिना कुनै पनि मोहनी कर्म सम्पन्न हुँदैन। बलि भन्नेबित्तिकै पशुकै बलि भन्ने बुझाइ छ, तर नरिवल, कुभिन्डो र लौकालगायत अन्य फलफूलको बलि दिइन्छ मोहनीमा। हाँसको अण्डाको बलिको पनि व्यापक अभ्यास छ अचेल।
दक्षिणाको विकृति
टीका लगाएर दक्षिणा दिने चलन नेवारहरूको छैन। घरमुली पुरुष (थकाली) फूलप्रसाद सन्तान र आफन्तलाई दिने गर्छन्। बाहुनबाजेबाट फूलप्रसाद ग्रहण गर्दाचाहिँ हात खाली गर्नुहुँदैन भन्ने विश्वास छ, तर घरमुलीबाट मोहनीको टीका लगाउँदा मुलीलाई दक्षिणा दिनुपर्दैन। श्राद्ध आदि गुभाजुले गर्छन्, तर गुभाजुबाट दशैँमा टीका ग्रहण गरिन्न।
मुलीले कनिष्ठ सदस्यहरूलाई टीका लगाउँदा कसैलाई दक्षिणा दिनुपर्दैन। देखासिकीकै कारण अचेल नेवारले समेत दक्षिणाको चलन चलाएका छन्। तर नेवार परम्परामा दक्षिणा कुरीति हो। नेवारबाहेकका समुदायमा पनि यसले कुरीतिकै रूप लिँदै छ। दक्षिणाको प्रतिस्पर्धा र देखासिकीले खासगरी विपन्नहरू मार र मर्कामा पर्ने गरेका छन्। सबै संस्कृति र परम्परामा राम्रा र नराम्रा अभ्यास छन्। संस्कृतिलाई सम्भव भएसम्म मानवीय र सहज बनाउँदै अघि बढ्नुपर्छ।
धौभडेल संस्कृतिविद् हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
