नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरिन्छ। घटस्थापनाको उत्तम साइत बिहान ११: २९ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
काठमाडौँ– आइतबारदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडादशैँ शुरू भएको मानिन्छ। आज बिहान ११: २९ बजे घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ। बडादशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ। पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरी शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा आरम्भ हुन्छ।
बिहानै नित्य कर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपेर दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ।
दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तवीजलगायत राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा पूजा गरिन्छ। यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ।
नौ दिन नौ दुर्गाको पूजा
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दशैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ। कात्तिक ४ गते बिहान ९:३५ मा फुलपातीको साइत रहेको समितिले जनाएको छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन्।
यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पाथीभरा, पलान्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा एवं दर्शन गर्नेको भीड लाग्ने गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
