काठमाडौँ– चाडपर्व लक्षित सामग्रीहरूको आयात शुरू गरिसकेका व्यापारीहरू बजारमा आर्थिक गतिविधि सुस्त हुँदा अघिल्ला वर्षहरूमाजस्तो उत्साही हुन सकेका छैनन्। चाडपर्वका बेला बढी खपत हुने लत्ताकपडा, खाद्यान्न र विद्युत् सामग्रीको आयात अघिल्ला वर्षहरूको तुलनामा घटाएको व्यवसायीहरूको भनाइ छ।
ललितपुरको कुमारीपाटीमा दुई दशकदेखि रेडिमेड कपडाको व्यापाार गर्दै आएका अरुण तुलाधर बाहिरबाट कम परिमाणमा मात्र सामान अर्डर गरेको बताउँछन्। “पहिलेजस्तो ठूलो परिमाणमा किनिँदैन। नजान पनि सक्छ भन्ने डर एकदमै छ। अहिले बाहिरबाट थोरै सामान ल्याएका छौँ,” उनले भने, “पहिले यही समयमा भ्याई नभ्याई हुन्थ्यो। अहिले मन्दीले धेरै नै असर गर्यो।”
दुई/चार महिना अघिको तुलनामा भने व्यापार केही उकासिएको उनी बताउँछन्। पछिल्लो समय व्यापारमा टिकटकले पनि केही टेवा दिएको तुलाधरको अनुभव छ।
काठमाडौँको गोँगबुमा ‘कोरियन लुक्स फेन्सी स्टोर’ सञ्चालन गर्दै आएका राजकुमार थापा मगरले बिक्री कम भएपछि नयाँ जुक्ति निकालेका छन्– धेरैजसो सामान ५०० रुपैयाँमा बेच्ने। त्यसो गर्दा तत्कालका लागि बिक्री त बढेको छ तर यो दिगो नहुने भएकाले उनी नयाँ कपडाहरू कसरी बेच्ने भन्ने चिन्तामा छन्। थापाले भने– “मुख्य चाडबाडका लागि नयाँ सामान मगाउनुअघि ‘स्टक क्लियर’ गर्न राखेको सेलले व्यापार बढेजस्तो देखिएको छ। तर पहिलेजस्तो नयाँ सामान खरिद गर्न आउने ग्राहकहरू कम छन्।”
बजारमा मन्दी छ भन्ने हल्ला र धमाधम बन्द भएका शटरहरूले पनि बिक्रीमा असर गरेको उनको बुझाइ छ। अघिल्लो साल दशैँमा १५ लाखको सामान अर्डर गरेका उनी अहिले अधाभन्दा बढी घटाएर ७ लाखको मात्रै अर्डर गरेको सुनाउँछन्। “बिक्री नभएर पछि सेलमा राख्नुभन्दा अहिले नै कम अर्डर गर्नु बुद्धिमानी होला भन्ठानेर अर्डर नै कम गरेको छु,” थापाले भने।
ललितपुरको जावलाखेलस्थित ‘ड्रेस क्याम्प’का सुदीप तिमिल्सिना टिकटक, फेसबुक र इन्स्टाग्राममा भिडियो राखेर अनलाइन व्यापार प्रवर्द्धन गर्छन्। पसलमै आएर किन्ने ग्राहकहरू घटेपछि उनले वैकल्पिक माध्यमका रूपमा सामाजिक सञ्जालको प्रयोग थालेका हुन्। नौ वर्षदेखि पुरुषका लागि जुत्ता र कपडा बेच्दै आएका उनी अहिलेको व्यापारलाई कोभिड कालसँग तुलना गर्न रुचाउँछन्। उनले भने “मुलुकको व्यापार नै शिथिल छ भन्ने सन्देश प्रवाह भएको छ। त्यसैले अत्यावश्यक बाहेकका वस्तुको बिक्री घटेको छ। हाम्रो व्यापार पनि २० देखि २५ प्रतिशत हाराहारीमा घटेको छ।”
सबै सामानहरू चीनबाट आयात गर्नुपर्ने र केरुङ नाका हुँदै सामान ढुवानी गर्न पनि अहिले असजिलो भएको उनको अनुभव छ। सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएपछि व्यापार सुध्रिन्छ कि भन्ने आशामा उनी छन्। “तर, त्यसका लागि बजार चलायमान हुनुपर्छ। अहिलेको अवस्थामा त तत्काल व्यापार बढ्ने कुनै छाँट छैन,” उनले भने। दशैँ र तिहारजस्ता चाडपर्व नजिकिएसँगै बजार तात्ने आशा गर्न भने उनले छाडेका छैनन्।
कोटेश्वर चोकमा रहेको ‘काइट्स मोबाइल’का सञ्चालक नवीन बाँस्तोलाले १५ वर्षमा नबेहोरेको मन्दी अहिले अनुभव गरिरहेका छन्। उनी त व्यापारमा ७० प्रतिशतभन्दा बढीले गिरावट आएको भोगाइ आफूसँग रहेको बताउँछन्। उनी भन्छन्, “बजारमा मन्दी छ। मानिसको क्रयशक्ति घटेको छ। त्यसैको असर हाम्रो व्यापारमा पनि छ।”
बाँस्तोलाका अनुसार मोबाइलको मूल्य बर्सेनि २० देखि २५ प्रतिशत घट्छ। नयाँ मोडलको फोन आउनासाथ पुराना मोडलको मूल्य घटे पनि व्यापार नबढेको उनले बताए। बजारमा १० हजारदेखि दुई लाख ५० हजारसम्म मूल्यका स्मार्ट फोनहरू पाइनेमा अहिले कम रेन्जको मोबाइलको पनि बिक्री राम्रो नरहेको बाँस्तोला बताउँछन्। “मान्छेसँग खर्च गर्ने पैसाको अभाव छ। फोन फेरी फेरी चलाउने जमात पनि नेपालमा छैन। भएको मोबाइल सेट मर्मत गरेर चलाउनेहरू बढी छन्। त्यसले व्यापारमा असर त गर्ने नै भयो,” उनले भने।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ मन्दीका कारण व्यापारीहरूले पहिलेको अनुपातमा कम सामान आयात गरिरहेको बताउँछन्। “पहिलेका वर्षहरूको अनुपातमा कम सामान आइरहेको छ, बजारमा मन्दी नै छ, व्याजदर घट्छ भन्ने आशा भए पनि घटेको छैन, घरभाडा, कामदारको ज्याला र बढ्दो महँगीले गर्दा व्यापारको रौनक छैन,” श्रेष्ठले भने। अघिल्ला वर्षहरूको तुलनामा ५० प्रतिशत पनि व्यापार नभएको उनी बताउँछन्।
तीजमा पनि खासै व्यापार नभएको व्यापारीहरूको अनुभव छ। केही समयअघि मात्र तातोपानी नाका खुलेपछि भने चाडपर्वमा सामान आयात गर्न निकै सहज भएको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठको भनाइ छ। “यसले धेरै सहज भयो, तातोपानी नाका खुल्दा आयात/निर्यात गर्न भाडा सस्तो र व्यापारीलाई सजिलो हुन्छ। सामान पनि समयमै आइपुग्छ” उनले भने। तातोपानी नाकाबाट व्यापारीहरूले अर्डर गरेको १५ देखि २० दिनमा नै सामान आइपुग्ने उनी बताउँछन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की चाडपर्व नजिकिए पनि व्यापार निराशाजनक नै रहेको बताउँछन्। विगतका तुलनामा चाडपर्व लक्षित सामग्री २५ प्रतिशत पनि नआउने उनको भनाइ छ। “बैंकहरूले ब्याज घटाएको भने पनि १३/१४ प्रतिशत छ, जग्गाको कित्ताकाट खुले पनि प्रक्रिया उस्तै छ, सहकारीले पनि डुबायो, उपभोक्तासँग पनि किनमेलका लागि पैसा छैन। यिनै कारणहरूले गर्दा व्यापार चौपट छ,” कार्कीले भने।
कम्पनीहरूले पछिल्ला केही वर्षयता चाडपर्वलाई लक्षित गरेर लत्ताकपडा र घरायसीदेखि विलासिताका वस्तुहरूमा पनि विभिन्न अफर, छुट लगायतका स्किमहरू ल्याउन थालेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार, वर्षभरि हुने कुल बजारकेन्द्रित आर्थिक गतिविधिको ४० प्रतिशतभन्दा बढी हिस्सा आर्थिक वर्षको पहिलो चार महिनामा नै पूरा हुन्छ। चाडपर्वका बेला हुने खाद्यान्न र लत्ताकपडाको बढ्दो मागले आयात पनि बढाउने गर्छ। व्यवसायीका अनुसार साउनदेखि कात्तिकसम्म सबैभन्दा धेरै उपभोग्य वस्तुको खपत हुन्छ। केन्द्रीय बैंकका अनुसार पछिल्लो दशकमा उपभोग र कुल गार्हस्थ उत्पादनको औसत अनुपात ९०.५ प्रतिशत रहेको छ।