कल्पना भन्छिन्- 'मैले बनाएका मूर्तिहरूबाट म मात्र होइन, यिनलाई लगेर घरघरमा सजाउने ग्राहकहरू पनि उत्तिकै खुशी छन्। यसरी आफ्नो पेसाको खुशी सबैलाई बाँड्ने सौभाग्य कमैलाई मात्र मिल्छ।'
काठमाडौँ– कल्पना झा ताम्राकारले काठमा कला खिप्न थालेको झन्डै २० बर्ष बित्यो। उनको दुःखसुख, आँशु, हाँसो जे छ सबै यिनै काठका बुट्टाहरूमा पोखिएको छ। काष्ठकलामा जीवन बिताइरहेकी उनी दिनभर ललितपुरको सातदोबाटोमा भेटिन्छिन्। काठसँगै भावना पोखेर बाँकी जीवन बिताउने सोचले निमग्न छिन् उनी।
कल्पनाले १५ बर्षको बालवयमै भेन्दास ताम्राकारसँग प्रेमविवाह गरिन्। हिन्दू संस्कार, त्यसमाथि मधेशी ब्राह्मण परिवारमा उनको जन्म भयो। पुर्ख्यौली घर जनकपुर भए पनि बुवा प्रहरीमा जागिरे भएकाले काठमाडौँमा रहँदा जन्मिएकी उनको बाल्यकाल पनि उपत्यकामै बितेको थियो।

कल्पनाले विवाहमार्फत् भाषा, संस्कृति, समुदाय र जाति गरी चार-चार वटा परम्परागत सीमा पार गरेर नयाँ संसार रचेकी थिइन्। विवाहअघि र पछिका भिन्न रङहरूले आफ्नो जीवनलाई नै इन्द्रेणीजस्तो कलात्मक बनाइदिएको उनी ठान्छिन्।
उनले रोजेको जीवनसाथीको परिवार नेवार संस्कृतिसँगै इसाई धर्ममा आस्था राख्थ्यो। वैवाहिक जीवनको शुरूआतसँगै कल्पनाले आफ्नो बाल्यकालभन्दा बेग्दै चालचलन र कल्पना गरेभन्दा भिन्नै पारिवारिक परिवेशलाई जीवनको नयाँ कोसेलीका रूपमा स्वीकारिन्। सोचेभन्दा पृथक सामाजिक संस्कारले उनलाई संघर्ष गर्न सिकायो।

कल्पनाको नयाँ परिवारले पुस्तौँदेखि अंगाल्दै आएको पुर्ख्यौली पेसा काष्ठकला थियो। त्यसैमा आफूलाई अभ्यस्त बनाउनु विवाहपछिका शुरूआती बर्षमा उनको लागि ठूलै चुनौती थियो। न पेसा मिल्थ्यो, न भाषा, न त संस्कार नै। उनी भन्छिन्, “शुरूमा त अल्मलिएकी थिएँ, तर पछि प्रभुले बाटो देखाउनुभयो।”
विवाहसँगै इसाई धर्मको 'विश्वासी' बन्न पुगेकी उनले त्यसपछि 'प्रभु'लाई नै आफ्नो मार्गदर्शक मान्न थालिन्। त्यही आस्था र आत्मविश्वासको जगमा उनले काष्ठकलामा निपूर्णता पाइन् जसबाट कल्पना अहिले सन्तुष्ट छिन्।

काठको काम सिक्न सोचेभन्दा सजिलो भएको बताउने उनी भन्छिन्, "मलाई सिकाउने मानिस घर परिवारकै हुनुभयो, परिवारका सबैले यही काम गर्ने भएकाले पनि होला, काम सिक्न खासै गाह्रो भएन।
यद्यपि बुहारी बन्नुअघि उनी कामै नगरी आमाबाबुको मायामा हुर्किएकी छोरी थिइन्। कल्पना आफ्नो बाल्यकाल सम्झन्छिन्, "आमाबुबाले कामै लगाउनुभएन। निकै पुलपुलिएर हुर्केकी थिएँ। बिहेपछि मात्र काम सिकेँ जुन एकदम ठीक गरेँजस्तो लाग्छ। किनभने अहिले आफ्नै कलाको कमाइले सुखी जीवन बाँच्दैछु।"

नेवार परिवारमा घुलमिल हुन उनलाई शुरूमा कम्ती गाह्रो भएको थिएन। पहिले साह्रै भिन्न लागेको भाषा, संस्कृति, चालचलन, संस्कार सबै नै बुझ्दै गएपछि उनलाई अभिन्न महसुस भयो। नयाँ परिवारले आफूलाई सम्पूर्ण रूपले स्वीकारेसँगै उनले पनि पूरै रीतिथितिलाई अपनत्व दिएर अंगालिन्।
अहिले उनलाई नेवारी परम्परा असाध्यै मनपर्छ। आफ्नै जेठानी दिदीले जग बसालेको ठाउँमा काम गर्छिन् कल्पना। शुरूमा असम्भव लागेका काष्ठकलाका कतिपय सिर्जनाहरू अहिले आफ्नै हातबाट पूरा हुँदा दंग पर्छिन् उनी। विशेषगरी आफूले बनाएका काठका मूर्तिहरू हेर्दाको आनन्द उनी लुकाउनै सक्दिनन् र प्रफुल्ल अनुहारले त्यसलाई अभिव्यक्त गर्छिन्।

आफ्नो उज्यालो चेहरा नलुकाई कल्पना भन्छिन्, "जे हुन्छ राम्रोकै लागि हुन्छ भन्छन् नि, मलाई अहिले त्यस्तै लाग्न थालेको छ। किनभने मैले बनाएका मूर्तिहरूबाट म मात्र होइन, यिनलाई लगेर घरघरमा सजाउने ग्राहकहरू पनि उत्तिकै खुशी छन्। यसरी आफ्नो पेसाको खुशी सबैलाई बाँड्ने सौभाग्य कमैलाई मात्र मिल्छ, होइन र?"
कल्पनाको थप कथा भिडियोमा:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
