Monday, April 29, 2024

-->

लाहुरेको लगानीः ५१ वर्षदेखि पोखरेलीको सवारीमा इन्धन भरिरहेको ‘हिमालय पम्प’

गोरखपुरबाट ६ हजार लिटर पेट्रोल ल्याएर पोखरामा पेट्रोल पम्प शुरू भएको थियो। त्यसबेला पेट्रोलको मूल्य दुई रुपैयाँ प्रतिलिटर थियो। मट्टीतेल त २३५ रुपैयाँमा एक ड्रम नै आउँथ्यो।

लाहुरेको लगानीः ५१ वर्षदेखि पोखरेलीको सवारीमा इन्धन भरिरहेको ‘हिमालय पम्प’
तस्वीर: श्याम/उकालो

पोखरा पोखरेली वैभवसँग लाहुरे गाथा सर्वथा जोडिन्छ। प्राकृतिक सम्पदाबाहेक लाहुरेको सानशौकतको जिन्दगी पोखराको अर्को पर्याय हो। 

लाहुरेले कमाएर ल्याएको सम्पत्तिले नै अहिलेको पोखरा सानसहित देशको प्रमुख शहरको रूपमा आफूलाई उभ्याउन सफल छ। देशकै शीर्ष शहरमा आफूलाई स्थापित गर्न सफल पोखरा बन्न लाहुरेले परदेशमा बगाएको रगत/पसिनाको मूल्य बेहिसाब रहेको पोखरेलीहरू ठान्छन्। 

यो शहरले आर्थिक-सामाजिक हैसियतमा आफूलाई जुन स्थानमा उभ्याएको छ, त्यो लाहुरेकै देन हो। किनभने परदेशबाट कमाएर ल्याएको सम्पत्ति लाहुरेले लगानी गरेपछि नै पोखराको पातलो बस्ती टनाटन भरिएको थियो। त्यति मात्र नभई बन्जर जमिनको मूल्य पनि तिनै लाहुरेले करोडौँमा पुर्‍याइदिए। लाहुरेहरूले आफू मात्रै सानको जिन्दगी बाँचेनन्, पोखरेलीलाई पनि अहिलेको आर्थिक हैसियतमा उकासिदिए। 

पोखरा-सुनौली राजमार्ग लाहुरेकै कारण जोडियो। सोल्जर बोर्ड अस्पताल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र सोल्जर बोर्ड हाइस्कूल (अमरसिंह मावि) पनि पोखरामा लाहुरेको बस्ती बस्न थालेपछि सैनिक कल्याणकारी कोषले बनाइदिएको थियो। खेतीकिसानीमै जीवन बिताइरहेका पोखरेलीको कायकल्प गरिदिने मात्र होइन, उद्यमको बाटो हिँड्न सिकाउने पनि उनीहरू नै थिए। ५० वर्षदेखि सलल कालोपत्र सडकमा हुइँकिइरहेका पोखरेलीको सवारीमा इन्धन भरिरहेको ‘हिमालय पेट्रोलियम कम्पनी प्रालि’ले यस्तै कथा भन्छ।

लाहुरेले शुरू गरेको पोखराकै पहिलो पेट्रोल पम्प
सुनौली-पोखरा सडक (सिद्धार्थ राजमार्ग) बन्नुअघि पोखरा-भैरहवा जहाज चल्थ्यो। जहाजमा कोचिएर यात्रा गर्न बाध्य पोखरा आसपासका लाहुरेहरूलाई सडक बनेपछि घर आउजाउ गर्न निकै सजिलो भयो। 

पोखराकै बाटो लाहोर आउजाउ गरिरहेका लाहुरेको आँखा भने पोखरामा पर्थ्यो। पेन्सन पकाएर फर्केका लाहुरेको परिवारले पोखरामा घर बनाएर बसाइँसराइ गर्ने उपक्रम बाक्लिँदै जाँदा लाहुरेले बनाएका घरहरूले सेती किनारको खुला फाँट ढाकिँदै थियो। त्यसरी पोखरामा बसोबास सार्ने लाहुरेहरू यसनजिकका गाउँ घान्द्रुक, भदौरै, तामागी, सिक्लेस, ताङतिङतिरका बढी थिए। स्याङ्जा, लमजुङका लाहुरेहरू पनि धमाधम पोखरामा बसाइँ सरिरहेका थिए। त्यसबेला पोखरा भर्खर बस्दै गरेको शहर थियो। 

सन् १९४७ मा भारत स्वतन्त्र भइसकेपछि त्यहाँको सेनामा कार्यरत केही ‘गोर्खा आर्मी’लाई ब्रिटिशहरूले साथमै लगे। बाँकी भारतमै रहे। त्यसमध्येका पनि केहीलाई पेन्सनमा घर पठाइयो। भारतीय सेनामा पेन्सन पकाएर फर्किएका लाहुरेलाई रोजगारी केही थिएन। त्यसकारण अवकाशपछिको जीवन उनीहरू बेरोजगार भएर बिताउँदै थिए। 

त्यही मेसोमा भूतपूर्व (भूपू) गोर्खा आर्मीका जमदार बिलबहादुर गुरुङ (९१) पनि पेन्सनमा आए। त्यसपछि उनी पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पको होस्टलमा सुपरिटेन्डेन्ट भए।

त्यसबेला सिद्धार्थ राजमार्ग भर्खर ग्राभेल भएको थियो। गाडीहरू फाट्टफुट्ट मात्र चल्थे। पृथ्वी राजमार्ग पनि तनहुँको खैरेनीटारसम्म मात्र पिच भएको थियो। त्यहाँबाट पोखरासम्मको भाग कच्ची थियो। 

पृथ्वी राजमार्गको अन्तिम बिन्दु पोखराको सेती नदीमाथि चिनियाँ सहयोगमा पुल बनिसकेको थियो। सडक सञ्जालले जोडिएसँगै श्रीवृद्धि हुँदै गरेको पोखरामा एकाध सवारी चले पनि इन्धन भने भारतीय सीमावर्ती शहर भैरहवाबाट ड्रममा ल्याउनुपर्थ्यो। कुनै व्यावसायिक पेट्रोल पम्प खुलेका थिएनन्। “त्यसबेला हामी पेन्सनमा आइसकेका थियौँ। व्यापारीहरूले ड्रममा पेट्रोल ल्याएर बेच्थे,” जमदार बिलबहादुरले सुनाए। 

व्यवस्थित पेट्रोल पम्प खोलेर व्यावसायिकता दिने परिकल्पना कसैले गरिसकेका थिएनन्। फौजी जीवन छाडेर घरगृहस्थमा फर्किएका लाहुरेहरूले पनि उद्यमको बाटो समाउनेबारे सोचिसकेका थिएनन्।

“पोखरा-भैरहवा एअरपोर्ट चालु भइसकेको थियो। भैरहवाबाट पोखरासम्म डकोटा जहाज चल्थ्यो। पृथ्वी राजमार्ग खुलिसकेपछि पोखरासम्म गाडी चल्न थाल्यो,” जमदार बिलबहादुरले सुनाए, “त्योबेला मेजर क्याप्टेन बुद्धिबल गुरुङ कामको सिलसिलामा भारतको लखनउ गएको बेला अफिसरहरूले पेट्रोल पम्प खोल्ने सुझाव दिएछन्।” 

क्याप्टेन बुद्धिबललाई अफिसरहरूले पोखराको यातायात पद्धतिबारे मात्र चासो राखेनन्, पेन्सनमा फर्केका लाहुरेहरूले कुनै काम गरे/नगरेका विषयमा पनि सोधे, “केही काम गरेको छ कि यत्तिकै बसेका छौ?” बुद्धिबलले सडकको अवस्था, सवारी साधनको उपलब्धता र लाहुरेहरूको बेरोजगारीबारे यथार्थ बताए।

घर फर्केर फुर्सदिला बनेका लाहुरेले कामै पाएका थिएनन्। उनीहरूले केही काम नगरेको जवाफ दिएपछि अफिसरहरूले ‘त्यसो भए एउटा कम्पनी खोलेर आएमा इन्डियन आयल कर्पोरेसनले पेट्रोलको एजेन्सी दिन्छ, तिमीहरू कम्पनी दर्ता गरेर आऊ’ भने। बुद्धिबलमार्फत् पोखराका लाहुरेहरूलाई पेट्रोलियम पदार्थ बेचबिखनको व्यवसाय शुरू गर्ने जुक्ति भारतीय सेनाका अधिकारीहरूले त्यसरी दिएका थिए। 

भूपू सैनिकलाई एजेन्सी पाउन पनि सजिलो हुने सुझाव उनीहरूले दिए। क्याप्टेन बुद्धिबललाई त्यो सुझाव चित्त बुझ्यो। पोखरा फर्केपछि उनले साथीभाइ जम्मा पारेर त्यस विषयमा सरसल्लाह गरे। त्यही क्रममा जमदार बिलबहादुरसँग पनि कुराकानी भयो। ‘पारिवारिक खर्च’ वापत् थोरै रकम लिएर पेन्सन क्याम्पमा काम गरिरहेका उनी नयाँ कामको खोजीमा पनि थिए। 

उनी भन्छन्, “बुद्धिबलले मिलेर जाऔँ भन्ने प्रस्ताव गरे। उनी जनरल मेजर थिए। प्रस्ताव राम्रो थियो, हुन्छ भनेर हामी अघि बढ्यौँ।” पेट्रोल पम्प खोल्ने सहमति भइसकेपछि उनी काठमाडौँमा रहेको ‘भूपू इन्डियन आर्मी वेलफेयर अफिस’ पुगे। त्यहाँ नेपालका लागि मेजर पीएन मोर्डक खटिएका थिए। उनले नेपाल सरकारसँग पनि पहल गरिदिए।

“काठमाडौँमा त यातायात सहजै सञ्चालन भइसकेको थियो। तर पेट्रोल भैरहवाबाट टिनमा राखेर लैजानुपर्थ्यो। हेटौँडाबाट पनि त्यसरी नै काठमाडौँ पठाइन्थ्यो,” बिलबहादुर सम्झिन्छन्। 

कम्पनी दर्ताको प्रक्रिया शुरू भयो। प्रालि दर्ता गर्न अधिकतम ५० जना शेयरधनी हुनुपर्थ्यो। धेरै शेयर सदस्य भए लगानी जुटाउन पनि सजिलो हुन्थ्यो। काठमाडौँ पुगेका लाहुरेहरूले २-३ दिन काठमाडौँमै बसेर कम्पनीलाई चाहिने विधान तयार पारे। कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता पनि गरेर फर्किए।  

त्यसबेला नेपाल आयल निगमको स्थापना भइसकेको थिएन। इन्डियन आयल कर्पोरेसनले सोझै इन्धनको डिलर दिन्थ्यो। वेलफेयर अफिसबाट मेजर मोर्डकले उनीहरूलाई इन्डियन आयल कर्पोरेसनमा पठाइदिए। मेजर मोर्डकले त्यहाँका नेपालसम्बन्धी कामका लागि जिम्मेवार अफिसरलाई भेट्नू भनेका थिए। बिलबहादुर सम्झन्छन्, “हामी गयौँ। त्यहाँ एजेन्सी लिन ४०/५० हजार रुपैयाँ डिपोजिट गर्नुपर्थ्यो, तर हामीसँग त पैसा नै थिएन।” 

उनीहरूको समस्या बुझेका भारतीय अधिकारीहरूले सजिलो बनाइदिए। पेन्सन पट्टा धरौटी राखेर डिलरको अनुमति दिने सहमति भयो। एजेन्सी पाइसकेपछि डिजेल/पेट्रोल राख्नका लागि ट्यांकी पनि उनीहरूले नै पठाए। तान्ने मोटर पनि सित्तैमा दिए। 

कम्पनीका अध्यक्ष क्याप्टेन बुद्धिबल र सचिवमा बिलबहादुर चयन भए। कोषाध्यक्ष क्याप्टेन बुद्धिबहादुर र सदस्यहरू क्याप्टेन टीबी गुरुङ, लेफ्टिनेन्ट खेमबहादुर गुरुङ, लेफ्टिनेन्ट नैनबहादुर गुरुङ, क्याप्टेन जीतप्रसाद गुरुङलगायत थिए। उनीहरूको समूहले पोखराको अति व्यस्त बजारक्षेत्र पृथ्वीचोकमा हिमालय पेट्रोलियम कम्पनी प्रालिको सेवा शुरू गर्‍यो।

२०२९ भदौ २२ गतेदेखि त्यो पेट्रोल पम्प सञ्चालनमा आएको थियो। ५० जना शेयर सदस्यले गच्छेअनुसार पेट्रोल पम्पमा लगानी गरे। ती सबै लाहुरे परिवारका थिए। लडाइँमा श्रीमान् गुमाएका लाहुरेनीहरू पनि कम्पनीमा जोडिए। 

पेट्रोल पम्प शुरू भइसकेपछि २०२९ मै बिलबहादुरले पेन्सन क्याम्पको जागिर छोडे। २०३६ सालसम्म उनी सचिवको भूमिकामा रहे। “०३६ सालमा बिरामी भएपछि केही समय उपचारका लागि इन्डियामा बस्नुपर्‍यो। दुई वर्ष ग्याप भयो। पछि मैले अध्यक्षको जिम्मेवारी पनि सम्हालेको थिएँ,” बिलबहादुर भन्छन्।

अवकाशपछि सामाजिक काममा रुचि राखेका बुद्धिबलको अगुवाइमा भूपू लाहुरेहरू उद्यमतिर लाग्ने क्रम बाक्लिँदै गयो। कास्की खादरजुङका उनी गाउँ फर्केर प्रधानपञ्च पनि बने। पेन्सनमा आएका, नोकरी गर्न नसकेर फर्केका र युद्धमा घाइते भएका लाहुरे तथा लोग्ने गुमाएका लाहुरेनीहरूलाई उद्यमतिर डोेर्‍याउने ती क्याप्टेनको निधन भइसकेको छ।

इन्डियन वेलफेयर अफिसले अशक्त भूपू सैनिकको स्वास्थ्य जाँच निःशुल्क गरिदिन्थ्यो। भूपू आर्मीका छोराछोरीलाई एसएलसी पास गरेपछि क्याम्पले निःशुल्क पढ्ने सुविधा पनि दिन्थ्योे। खानेबस्ने सबै सुविधासहित उनीहरूले पढ्न पाएका थिए। 

त्यसबेला भूपूसैनिकका लागि खडा गरिएको वेलफेयर अफिसमा भारत सरकारबाट प्राप्त मृतक लाहुरेको पैसा ‘पोस्ट वार रिकन्स्ट्रक्सन फन्ड नेपाल’ले पायो। त्यसबापत ५४ लाख रुपैयाँ आएको बिलबहादुर सुनाउँछन्। त्यसमध्ये भारतकै देहरादुन र सिमलामा बस्ने लाहुरेका लागि १० लाख रुपैयाँ छुट्याइयो। बाँकी ४४ लाख नेपाल भित्रियो। त्यो पैसाले नेपालका दूर गाउँहरूको रूप फेरेका थिए।

कम्पनीका पूर्वअध्यक्ष शंकर गुरुङ पेट्रोल पम्प स्थापना हुँदा सक्नेले १० हजार र नसक्नेले एक हजार लगानी गरेको सुनाउँछन्। एक लाख ५० हजार रुपैयाँ शुरूआती पुँजीबाट कम्पनी स्थापना भएको थियो।

पेट्रोल पम्पका मुख्य संस्थापकहरू। 

कम्पनीका लागि पुँजी जम्मा भइसकेपछि पृथ्वीचोकमा ३२ हजार ४७ रुपैयाँ ७५ पैसामा जग्गा किनेको उनी सुनाउँछन्। भारतीय सेनाका अधिकारीहरूको सुझावमा इन्डियन आयल कर्पोरेसनलाई नगद धरौटीको सट्टा पेन्सन पट्टा बुझाउने सहमति भए पनि कर्पोरेसनले आफ्नो देशको लागि लडेका सैनिक भएकाले विवश्वास गरेर पट्टा नराखी एजेन्सीको स्वीकृति दिएको उनी बताउँछन्। 

शुरूआतमा गोरखपुरबाट ६ हजार लिटर पेट्रोल ल्याएर पोखरामा पेट्रोल पम्प शुरू भएको थियो। त्यसबेला पेट्रोलको मूल्य दुई रुपैयाँ प्रतिलिटर थियो। डिजल दुई रुपैयाँ २० पैसामा पाइन्थ्यो। मट्टीतेल त २३५ रुपैयाँमा एक ड्रम नै आउँथ्यो। ड्रममा २०० लिटर मट्टीतेल हुन्थ्यो। त्यस हिसाबले लिटरको एक रुपैयाँ १७ पैसा मूल्य पर्थ्यो। 

पोखरामा भर्खर गाडी गुड्न थालेपछि शुरू भएको पेट्रोल पम्पले आधा शताब्दी पार गरिसक्यो। सयौँ सवारीले हिमालय पेट्रोल पम्पमा इन्धन भर्छन्। स्थापनाकालमा एकाध सवारी चल्ने पोखरामा अहिले बाटैभरि सवारी हुइँकिन्छन्। पेट्रोल पम्पका व्यवस्थापक ईश्वर गुरुङ दैनिक आठ हजार लिटर पेट्रोल बेचिरहेको सुनाउँछन्। पेट्रोल पम्पले स्वर्ण जयन्तीसमेत मनाइसकेको छ। 

स्थापनाका बेला आवद्ध भएका ५० मध्ये १९ जना शेयर सदस्यले कम्पनी छाडेकाले अब ३१ जना शेयर सदस्य बाँकी रहेको व्यवस्थापक गुरुङले बताए। यही कम्पनीले २०५२ सालमा माछापुच्छ्रे आयल स्टोर्स खडा गरेर मट्टीतेलको कारोबार पनि शुरू गरेको थियो। तर मट्टीतेलको कारोबारमा सफलता मिलेन। पहिले स्टोभमा खाना पकाउने पोखरेलीले ग्यासको प्रयोग गर्न थालेपछि मट्टीतेलको प्रयोग घट्दै गयो। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी इन्डियन अफिसरहरूबाट पाएको पेट्रोल पम्प खोल्ने सोँचले पोखराका लाहुरेहरूलाई उद्यमसँग जोडेको बताउँछन्। “उनीहरूलाई त व्यवसाय गर्ने आइडिया नै थिएन। इन्डियन अफिसरहरूले दिएको आइडियाबाट जन्मेको कम्पनी अहिले पोखराको शहरीकरणमा नमेटिने इतिहास बनेको छ,” उनी भन्छन्। 

पहिलो पेट्रोल पम्पमा गरेको लगानीले प्रतिफल दिएपछि लाहुरेको लगानी पेट्रोल पम्पमै विस्तार हुन थाल्यो। पोखराको अमरसिंहस्थित गण्डकी पेट्रोल पम्प लाहुरेहरूको लगानीमा खुलेको दोस्रो कम्पनी थियो। बुद्धचोकमा रहेको मनकामना आयल स्टोर्स र नयाँबजारको बृहस्पती पेट्रोल पम्प पनि लाहुरेकै लगानीमा खुलेका थिए। यी सबै चलिरहेका छन्।


सम्बन्धित सामग्री