Saturday, May 04, 2024

-->

एशिया कपमा नेपाल: पाकिस्तानविरुद्ध हतास, भारतविरुद्ध सम्हालिएको प्रदर्शन

पाकिस्तान र भारतसँग पहिलोपटक ओडीआई खेलिरहेको नेपालले गुमाउनुपर्ने केही थिएन। तर पाकिस्तानसँग नेपाली टोली दबाबमा आउँदा खेल एक पक्षीय भयो। अर्को खेलमा भने नेपाली टोलीले भारतलाई दबाबमा राख्न सक्यो।

एशिया कपमा नेपाल पाकिस्तानविरुद्ध हतास भारतविरुद्ध सम्हालिएको प्रदर्शन

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल सोमबार दिउँसो श्रीलंकाको पल्लेकेले क्रिकेट स्टेडियममा टसका लागि भारतीय कप्तान रोहित पौडेलसँग मैदानमा पुगे। नेपालले एशिया कपमा समूह चरणको अन्तिम खेल खेल्दै थियो। यसअघि, एशिया कपमै नेपालले अघिल्लो साता पाकिस्तानसँग मुल्तानमा नै खेलेको थियो।

नेपालले पहिलोपटक शीर्ष वरीयताका देशसँग क्रिकेट खेलेको हो। पाकिस्तान अहिले आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयताको पहिलो नम्बरमा छ भने, भारत तेस्रो नम्बरमा। छिमेकी भएर पनि यी देशका सिनियर टोलीसँग नेपालले क्रिकेट खेलेको पहिलोपटक हो।

एशियामा नेपालका सदाबहार प्रतिद्वन्द्वी एसोसिएट राष्ट्र यूएई, ओमान, अमेरिका, हङकङ र मलेसिया नै हुन्। नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि एशियाका टेस्ट राष्ट्रसँग खेल्न पाएको हो। यसअघि नेपालले जिम्बाब्वे, आयरल्यान्ड र वेस्ट इन्डिजसँग (ओडीआई) खेलेको थियो।

पाकिस्तान र भारतसँग खेल्दा नेपालले गुमाउनुपर्ने केही नभएको र 'एक्स्पोजर'को मौका भएको पूर्वकप्तान पवन अग्रवाल बताउँछन्। यो प्रतियोगिता नेपालको स्तर जाँच्ने मौका पनि भएको उनको भनाइ छ।

“म आफैँ पनि खेल शुरू हुँदा अलिकति नर्भसजस्तो थिएँ। तर प्रतियोगितामा गुमाउनु केही थिएन। ठूलो मञ्चमा विश्वस्तरीय खेलाडीसँग खेल्ने मौका पाएका थियौँ। क्रिकेटमा के सुधार गर्‍यौँ भन्ने देखाउने अवसर पनि थियो। पहिलो खेलले अलिकति खल्लो बनाएको थियो,” अग्रवाल भन्छन्।

पाकिस्तानसँग अत्तालिएको प्रदर्शन!
एशिया कपमा पहिलोपटक खेलेको नेपाली टोलीसँग अनुभवको अभाव थियो। यसको नतिजा पाकिस्तानविरुद्धको खेलमा देखियो। नेपाली टोली तीन वटै विभाग (ब्याटिङ, बलिङ र फिल्डिङ) मा कमजोर देखियो। पाकिस्तानविरुद्ध पहिले बलिङ गर्दा फखर जमान र इमाम-उल-हकलाई आउट गरेर नेपालका शुरुआती बलर सोमपाल कामी र करण केसीले दबाबमा पारेका थिए। 

स्कोरबोर्डमा २५ रन हुँदा पाकिस्तानका दुवै ओपनर पेभिलियन फर्किएका थिए। पाकिस्तान पहिलो पावरप्लेमा ४४-२ को अवस्थामा थियो। तर कप्तान बाबर आजम र मोहम्मद रिजवानले इनिङ्स सम्हाले। विश्वस्तरीय ब्याट्सम्यानसँग खेलिरहेका नेपाली खेलाडीहरूले महत्त्वपूर्ण अवसरहरूमा क्याच पनि छोडे। मध्य ओभरमा कुनै विकेट लिन सकेनन्। यस्तो अवस्थामा जीवनदानको फाइदा उठाउँदै बाबर आजम र इफ्तिखार अहमदले शतक बनाए। पाकिस्तानले ३४२ रन बनाएको थियो। 

३४३ रनको ठूलो लक्ष्य पछ्याएको नेपालको शीर्ष क्रमका ब्याटर पाकिस्तानी तीव्र गतिका बलरसामु निरिह नै भए। नेपालको १४ रन हुँदा ओपनर कुशल भुर्तेल र आसिफ शेखसहित कप्तान रोहित पौडेलले विकेट गुमाए। यसपछि, मध्यक्रम दबाबमा आयो। आरिफ शेखले सोमपाल कामीसँग अर्धशतकीय साझेदारी गर्दै इनिङ्सलाई सम्हाल्ने प्रयास गरेका थिए। त्यो पनि नेपालका लागि पर्याप्त भएन। नेपाल जम्मा १०४ रनमा समेटिदा २३८ रनको फराकिलो हार बेहोर्न बाध्य भयो।

नेपाली ब्याटर पाकिस्तानको विश्वस्तरीय पेस आक्रमणको अगाडि अधिकांश समय संघर्षरत रह्ययो। आरिफ, सोमपाल र गुलशनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। पूर्वकप्तान पवन पाकिस्तानविरुद्ध बलिङ राम्रो भएको र नेपालका ब्याटरले पनि 'कभर ड्राइभ' राम्रो गरेको बताउँछन्। तर उपल्लोस्तरको क्रिकेट खेल्ने तयारी नपुगेको उनको भनाइ छ।

अग्रवाल भन्छन्, “विश्वस्तरीय खेलाडीले ६ मध्ये चार बल राम्रो फ्याँक्छन्, एउटा/दुई वटा एभरेज हुन्छ। तर, एसोसिएट राष्ट्रका बलरले ६ मध्ये दुई बल मात्रै राम्रो फ्याँक्छन्। त्यसैले त्यो राम्रो बल कसरी खेल्ने भन्नेबारे हाम्रो तयारी राम्रो भएन जस्तो लाग्यो। तयारी भएको भए सम्मानजनक हार बेहोर्थ्यौँ।”

भारतविरुद्ध सम्हालिएको नेपाल
पाकिस्तानसँगको फराकिलो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिने पक्कापक्की भइसकेको थियो। भारत र पाकिस्तानबीचको शनिबारको खेल वर्षाको कारण रद्द हुँदा दुवै टिमले अंक बाँडेका थिए। 

भारतलाई ‘सुपर फोर’मा पुग्न नेपालसँगको खेलमा एक अंक नै काफी थियो। तर त्यो अंक खोस्न विश्व विजेता भइसकेको टोलीलाई सहज भएन। वर्षाले दुईपटक अवरुद्ध भएको खेलमा भारतले अन्तिम १२ बल बाँकी हुँदा मात्र जित हासिल गर्न सक्यो।

टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले भारतीय फिल्डरलाई पहिलो ‘पावरप्ले’मा दबाबमा राखे। विराट कोहली, इशान किशन र श्रेयस अय्यरले पहिलो पाँच ओभरभित्र कुशल भुर्तेल र आसिफ शेखका तीनपटक 'क्याच' छाडेका थिए। 

पहिलो ओभरको अन्तिम बलमा श्रेयस अय्यरले पहिलो 'स्लिप'मा कुशललाई आउट गर्ने मौका गुमाए। दोस्रो ओभरको पहिलो बलमा विराट कोहलीले 'सर्ट कभर'मा आसिफको क्याच छोडे। त्यसपछि पाँचौँ ओभरको दोस्रो बलमा विकेटकिपर इशान किशनले कुशलको क्याच छोडे। 

जीवनदानको सदुपयोग गर्दै कुशल र आसिफले नवौँ ओभरमा ५० रनको साझेदारी गरे। कुशल १०औँ ओभरमा ३८ रन बनाएर आउट भए। उनीहरूले ५९ बलमा ६५ रन जोडे। १० ओभर सकिँदा नेपालको स्कोर एक विकेटको क्षतिमा ६५ रन थियो। तर त्यसपछि मध्यक्रम धर्मरायो। कप्तान रोहित, भीम सार्की र कुशल मल्ल भारतीय स्पिनर रविन्द्र जडेजाको बलमा सस्तैमा बाहिरिए।

खेलपछि भारतीय कप्तान रोहित शर्माले नेपाली टोलीविरुद्ध दबाबमा आएको स्वीकार गरे। “नेपालविरुद्धको खेलमा हामी शुरूआतमा केही दबाबमा पर्‍यौँ। हाम्रो बलिङ राम्रो थियो। तर फिल्डिङमा चुक्यौँ। यद्यपि, पछि लयमा फर्कियौँ,” खेलपछि उनले भनेका छन्। 

मध्यक्रम सस्तैमा आउट भएपछि आशिफले छैटौँ क्रममा ब्याटिङमा आएका गुलशन झासँग ४८ बलमा ३१ रनको साझेदारी गर्दै टोलीलाई १३२-५ को स्थितिमा पुर्‍याएका थिए। तर उनी मोहम्मद सिराजको बलमा सर्ट कभरमा क्याच भए। उनले ९७ बलमा ५८ रन बनाए। 

नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य शरद भेषवाकर मोहम्मद सिराज र मोहम्मद सामीजस्ता विश्वस्तरीय बलरसामु नेपालका ओपनरले राम्रो प्रदर्शन गरेको बताउँछन्। “पाकिस्तानविरुद्ध हाम्रा खेलाडी लामो समय टिक्न सकेनन्, १०० रनको वरिपरिमै समेटिए। तर भारतविरुद्ध नेपाली ओपनरले मोहम्मद सिराज र सामीजस्ता विश्वस्तरीय बलरको बलमा खुलेर खेले। राम्रो साझेदारी पनि भयो। शुरूआत जसरी भएको थियो, मध्यक्रमका ब्याटरले क्यारी गर्दिएको भए राम्रो लक्ष्य दिन्थ्यौँ,” उनी भन्छन्।

मध्यक्रमका चार ब्याटर पेभेलियन फर्किएपछि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले नेपालको इनिङ्सलाई अगाडि बढाए। उनीहरूले ५६ बलमा ५० रनको साझेदारी गरे। तर ४२औँ ओभरको पहिलो बलमा दीपेन्द्र २९ रन बनाएर खेलिरहँदा हार्दिक पाण्ड्याको बलमा एलबीडब्ल्यू आउट हुन पुगे। त्यसपछिका ८ ओभरमा अन्य ब्याटरले सोमपाललाई साथ नदिँदा नेपालले राम्रो लक्ष्य दिन चुकेको शरद बताउँछन्।

“सोमपाल र दीपेन्द्रले जसरी पार्टनरसिप गरे, त्यो हेर्नलायक थियो। यो खेलमा भारत हामीभन्दा माथि छ जस्तो कुनै ठाउँमा पनि लागेन। यी दुई ब्याटरको बडी ल्याङ्ग्वेज राम्रो थियो। एक/दुई रन पनि लिइरहेका थिए। सर्ट बल पनि राम्रै खेले,” उनी भन्छन्।

सोमपाल तेस्रो अर्धशतकबाट दुई रनले चुक्दा नेपालले भारतलाई २३१ रनको लक्ष्य मात्रै दिन सक्यो। नेपालका कप्तान रोहित पनि मध्यक्रममा ब्याटिङ राम्रो हुन नसकेको स्वीकार गर्छन्। मध्यक्रमले पनि ओपनरजस्तै टिकेर खेलिदिएको भए ३०-४० रन अझ स्कोर्डबोर्ड थपिने खेलपछि पत्रकारहरूसँग उनले बताए।

“कुशल र आसिफले राम्रो ओपनिङ गरे। तर मध्यक्रममा राम्रो गर्न सकेनौँ। त्यहाँ राम्रो गर्दिएको भए २६०/२७० रनको लक्ष्य दिन सक्थ्यौँ। त्यस्तो भएको भए नतिजा हाम्रो पक्षमा आउन पनि सक्थ्यो,” रोहित भन्छन्।

नेपालले दिएको लक्ष्य पूरा गर्न उत्रिएको भारतले पहिलो ओभरमा राम्रो गर्न सकेन। करण केसीले रोहितलाई कुनै रन दिएनन्। दोस्रो ओभरमा भने सोमपाल कामीले शुभमन गिललाई रोक्न सकेनन्। गिलले उक्त ओभरमा तीन चौका प्रहार गरे। 

खेल वर्षाका कारण दुईपटक रोकियो। २३ ओभरमा खेल झारेर भारतलाई १४५ रनको लक्ष्य दिँदा रोहित फर्ममा फर्किए। दुवै ओपनरले १२१ बलमा १४७ रनको अविजित साझेदारी गर्दै भारतलाई १० विकेटको जित दिलाए।

खेलपछि भारतीय पूर्वबलर इरफान पठानले नेपाल र भारतबीच धेरै कुराको फरक भए पनि नेपालले राम्रो प्रदर्शन गरेको बताए। टेलिभिजन कमेन्ट्रीमा उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको, तर ठूला मञ्चमा खेल्न बलिया टोलीसँग खेलिरहनुपर्ने बताए। “नेपालले भारतसँग जसरी खेलिरहेको छ, यसले धेरै गर्छ भनेर प्रमाणित गरेको छ। तर नेपाली टोलीमा अनुभवको कमी छ। त्यो अनुभव बटुल्न नेपालले यस्ता टोलीसँग एक/दुई खेल खेलेर हुँदैन। निरन्तर खेलिरहनुपर्छ, ८/१० खेल खेल्नुपर्छ,” उनले भने।

नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा पनि पाकिस्तानको खेललाई बिर्सिने हो भने भारतसँगको खेलमा आशा गरेभन्दा राम्रो प्रदर्शन गरेको बताउँछन्। नेपालले गरेको प्रदर्शन चित्तबुझ्दो रहे पनि नेपाली टोलीको सम्भावना योभन्दा माथि रहेको उनको भनाइ छ। 

“हामीले आशा गरेभन्दा राम्रो खेलिरहेका छौँ। तर कुनै बेला राम्रो रहेको फिल्डिङ अहिले खस्किएको छ। मध्यक्रम उति चितबुझ्दो छैन। खेलाडीमा उच्च मनोबल छैन। यो सबैमा सुधार गर्न नियमित खेलाइरहनुपर्छ। अब एसोसिएट राष्ट्रसँग खेल्ने होइन, टेस्ट राष्ट्रसँग खेल्ने योजना बनाउनुपर्छ,” उनी भन्छन्।


सम्बन्धित सामग्री