काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न मन्त्री ज्वालाकाे निर्देशन

बैठकमा मन्त्री ज्वालाले सम्बन्धित निकायबीच समन्वय नहुँदा सडककाे बेहाल भएकाे बताए।

काठमाडौँ– राज्यका निकायबीच समन्वय नहुुँदा दुराअवस्थामा पुगेका काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन्। 

सडकसँग जाेडिएका विभिन्न निकायका प्रमुखलाई मन्त्रालयमै बाेलाएर मन्त्री ज्वालाले यस्ताे निर्देशन दिएका हुन्। ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङकाे उपस्थिति थियाे। यस्तै, सडक विभाग, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखा, बागमती सभ्यता एकीकृत विकास समितिलगायत निकायका प्रतिनिधिहरूकाे पनि उपस्थिति रहेकाे थियाे। 

बैठकमा मन्त्री ज्वालाले निकायहरुकाे लापरबाहीले नागरिकलाई सास्ती भएकाे भन्दै आ-आफ्नाे काममा गम्भीर हुन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

"सडक विभागले सडक कालोपत्रे गर्छ, केही दिनमै त्यही सडकमा नेपाल विधुत् प्राधिकरणले खन्छ। फेरि कालोपत्रे गरिन्छ, लगत्तै नेपाल टेलिकमले खन्छ, फेरि कालोपत्रे हुन्छ र खानेपानी लिमिटेडले खन्छ," मन्त्री ज्वालाले भने, "यसरी सडकको बेहाल भयो। यस्ताे हरिबेजोग हेरेर बस्न सकिँदैन, सबै गम्भीर भएर टाइमलाइन तोकेर सडक सुधारमा लाग्नुहोस्।"

मन्त्री ज्वालाको निर्देशनपछि सम्बन्धित निकायहरूले सडक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकाे संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए।