Friday, May 10, 2024

-->

क्रिकेट संघ हाँक्ने लक्ष्यमा अघि बढेका पारस खड्का

खेल मैदान छाडेको दुई वर्षपछि पारस खड्का प्रदेशको क्रिकेट हाँक्ने ठाउँमा पुगेका छन्। उनको लक्ष्य क्यान नेतृत्वमै पुग्ने छ। तर यसैपालि या अर्कोपटक, टुंगो लागिसकेको छैन।

क्रिकेट संघ हाँक्ने लक्ष्यमा अघि बढेका पारस खड्का
बागमती प्रादेशिक कार्यसमितको निर्वाचनमा मतदान गर्दै पारस खड्का। तस्वीर: उकालो

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रादेशिक कार्यसमिति चुन्न शुक्रबार निर्वाचन भइरहँदा पारस खड्कालाई भ्याइनभ्याइ थियो। उनी प्रादेशिक कार्यसमितिको अध्यक्ष पदका उम्मेदवार थिए। शुक्रबार साँझ निर्वाचन परिणाम आउँदा उनी अध्यक्षमा निर्वाचित भए। चितवनका उमेश पियाले १४ मत पाउँदा पारसले २३ मत ल्याए।

क्रिज छाडेको दुई वर्षपछि पारस क्रिकेट हाँक्ने ठाउँमा पुगेका छन्। उनले २०७८ साउन १९ गते अचानक खेल जीवनबाट सन्यासको घोषणा गरेर समर्थकहरूलाई आश्चर्यमा पारेका थिए। 

३२–३३ वर्षको उमेर। अनुभवका साथ उत्कृष्ट लय। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको तीन वर्ष मात्र भएको थियो र क्रिकेट विश्वकप लिग–२ खेल्न थालेको थियो। नेपालले सोझो बाटोबाट ओडीआई मान्यता जोगाउन लिग–२ का सात देशमध्ये शीर्ष तीनमा पर्नुपर्ने बाध्यता थियो।

लिग–२ को पहिलो श्रृंखला घरेलु मैदान कीर्तिपुरमा नै भएको थियो। तर २०२० फेब्रुअरीमा भएको ओमन र अमेरिकाविरुद्धको श्रृंखला नेपालका लागि औसत मात्र भयो। ओमनसँगको दुवै खेल हार्दा नेपालले अमेरिकाविरुद्ध दुवै खेल जित्यो। पारसले खेलेको अन्तिम ओडीआई श्रृंखला पनि यही भयो।

यो श्रृंखलाका चार खेलमा पारसले जम्मा ८० रन बनाए। उनको उत्कृष्ट प्रदर्शन ३८ रन थियो। त्यसपछि कोरोना भाइरस महामारी शुरू हुँदा लिग–२ का श्रृंखला लामो समय स्थगित भए। महामारीकै बीच पारस खेल जीवनबाट बिदा भए।

त्यसबेला नेपालको राष्ट्रिय टिममा सबैभन्दा अनुभवी खेलाडी उनै थिए। भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी, विराट कोहली र रोहित शर्माको सक्रिय खेल जीवनलाई हेर्ने हो भने पनि पारसले गरेको सन्यासको निर्णय ठीक नभएको कतिपय समर्थकको गुनासो थियो। कारण थियो, क्रिकेट मैदानमा करिब दुई दशक बिताउँदा उनले दिलाएको उपलब्धि। 

पारसकै कप्तानीमा नेपालले सन् २०१४ मा ऐतिहासिक टी–२० विश्वकप खेलिसकेको थियो। त्यसको चार वर्षपछि ओडीआई मान्यता पाउँदा पनि उनी नै कप्तान थिए। त्यसपछि नेपालको लक्ष्य ओडीआई मान्यता जोगाउँदै टेस्ट राष्ट्र बन्नु थियो।

तर नेपाली क्रिकेटको सर्वोच्च निकाय, क्यानभित्रको राजनीति, खेलाडीमाथि हुने थिचोमिचो, घरेलु संरचना र लगानीको अभावका कारण नेपाली क्रिकेटले ‘चमत्कारिक प्रदर्शन’ गरेर टेस्ट मान्यता पाउनु सजिलो थिएन। त्यसैले पारसले खेल मैदान छाडेर व्यवस्थापनको मैदानमा प्रवेश गर्ने लक्ष्य बनाए। भन्छन्, “मैदानमा खेल्दा स्किल र मिहिनेतमा डिपेन्ड (भर) हुन्थ्यो। तर, मैदानबाहिर बिल्कुल फरक रहेछ। त्यसैले हारिहालेँ भने सन्यास फिर्ता लिएर कमब्याक गरौँ कि भन्ने योजनासमेत बनाएको थिएँ।”

पारसले सन्यास फिर्ताको निर्णय लिनै परेन। काठमाडौँ जिल्ला क्रिकेट संघका अध्यक्ष दीवाकर घलेको ‘हात समाएर’ उनले क्यानको ‘राजनीति’ शुरूआत गरे। उनलाई भक्तपुर, ललितपुर र मकावानपुरका अध्यक्षहरु शेखर श्रेष्ठ, मनीषराज पाण्डे र करन महत्रा क्षेत्रीले पनि साथ दिएपछि क्यान बागमती प्रदेशको अध्यक्ष भए। 

‘व्यवस्था सुधार्न खेल मैदान छाडेर आएँ’
२००२ डिसेम्बरमा यूएईमा आयोजना भएको यू–१५ एशिया कपबाट उमेर समूहको क्रिकेट यात्रा थालनी गरेका पारस सन् २००९ मा राष्ट्रिय टोलीकै कप्तान नियुक्त भएका थिए। कप्तानको रूपमा क्यानसँग उनको सम्बन्ध भने उतारचढावपूर्ण रह्यो।

कप्तान नियुक्त भएको अर्को वर्ष २०१० मेमा उनको नेतृत्वमा राष्ट्रिय टोलीका १८ सदस्य पत्रकार सम्मेलन गर्दै क्यानविरुद्ध आन्दोलित भए। क्यानले खेलाडीलाई खराब व्यवहार गरेको भन्दै उनीहरूले राष्ट्रिय लिग नखेल्ने घोषणा गरेका थिए। 

पारसकै नेतृत्वमा २०१४ अप्रिलमा क्यानको पुनर्संरचना र खेलाडीहरूलाई राम्रो सुविधाको माग गर्दै खेलाडीले दोस्रोपटक राष्ट्रिय लिग बहिष्कारको घोषणा गरे। त्यसपछि पनि धेरैपटक खेलाडीहरू क्यानको विरोधमा उत्रिए। यसरी, क्यानसँग घम्साघम्सी गर्दै एक दशक राष्ट्रिय टोलीको नेतृत्व गरेर अहिले उनी आफैँ क्रिकेट व्यवस्थापन गर्ने जिम्मेवारीमा पुगेका छन्।

आफूहरूको त्यसबेलाको आन्दोलन क्रिकेट व्यवस्थापन सुधारकै लागि भएको पारस बताउँछन्। उनी भन्छन्, “मेरो बिडो थाम्ने खेलाडीहरू जन्मिसकेका थिए। त्यसैले व्यवस्था सुधार गर्न लाग्नुपर्छ भन्ने लाग्यो। व्यवस्था सुधार गर्न व्यवस्थापन गर्ने स्थानभित्रै पुग्नुपर्ने रहेछ।”

उनी अब प्रदेशको क्रिकेट व्यवस्थापन गर्ने नेतृत्वमा पुगेका छन्। तर चार वर्षदेखि नेपाली क्रिकेटमा क्यान अध्यक्ष चतुरबहादुर चन्दको एकाधिकार छ। जिल्ला, प्रदेशदेखि केन्द्रसम्मै उनको पकड राम्रो मानिन्छ। 

पारसले क्रिकेटबाट सन्यास लिँदा क्यानको केन्द्रमा नै फड्को मार्ने योजना बनाएका थिए। त्यहीकारण कप्तान हुँदा सम्बन्ध बिग्रिएका क्यानका तत्कालीन अध्यक्ष विनयराज पाण्डेसँग उनी नजिक भए। जिल्लाका निर्वाचनमा पनि उनको सक्रियता बढ्यो। तर पहिलो गाँसमा नै उनलाई ढुंगा लागेको थियो।

२०७८ माघ (जनावरी २०२२)मा भएको रुपन्देही जिल्ला क्रिकेट संघको निर्वाचनमा पारसले राष्ट्रिय टोलीका आफ्ना सहकर्मी शक्ति गौचनलाई अध्यक्ष बनाउन हरसम्भव प्रयास गरेका थिए। तर तत्कालीन कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निकट व्यवसायी हरि थापाले शक्तिलाई २४ मतको फराकिलो अन्तरमा पराजित गरे। प्रशान्तविक्रमलाई क्यान अध्यक्ष चन्दले नै कार्यवाहक सचिवको जिम्मेवारी दिएका थिए। त्यसबेला प्रशान्तविक्रमलाई चन्दको विश्वासपात्र मानिन्थ्यो।

त्यसपछि पनि कतिपय जिल्लामा पारसले समर्थन गरेका उम्मेदवार पराजित भए। तर बागमतीमा भने क्यानको जिल्ला संघ भएका ६ मध्ये धेरै जिल्लामा उनका समर्थकहरू विजयी भए। चितवन र नुवाकोटमा भने उनको समूह पराजित भयो। चितवनमा उनको साथ पाएका मनीष सापकोटाले सुदीप पियासँग तीन मतको पराजय बेहोरे। नुवाकोट अध्यक्षमा क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक निर्वाचित भएका छन्।

दुई जिल्लामा उनको समूह पराजित भए पनि काठमाडौँ, ललितपुर, भक्तपुर र मकवानपुरको साथ पाएर पारस बागमतीको अध्यक्ष भइसकेका छन्। अब क्यानको केन्द्रीय साधारणसभा असोज ६ र ७ गते हुँदैछ। उक्त निर्वाचनमा चन्द पुनः अध्यक्ष बन्ने तयारीमा छन्। उनलाई क–कसले चुनौती दिनेछन् र पारसको समूहले के गर्छ भन्ने स्पष्ट भइसकेको छैन। यद्यपि, पारसको समूह चन्दसँग तालमेलको प्रयासमा छ।

प्रदेशपछि नजर केन्द्रमा
पछिल्लो समय नेपाली क्रिकेटले लगातार सफलता हात पारे पनि क्यान अध्यक्ष चन्द विवादमुक्त छैनन्। विशेषगरी, उनीमाथि आर्थिक पारदर्शिता नभएको, नेपाल टी–२० लिगको आयोजना विवाद र ‘म्याच फिक्सिङ’ तथा घरेलु संरचनामा सुधार गर्न नसकेको आरोप छ। टी–२० लिगमा भएको म्याच फिक्सिङ विवादका कारण उनको अन्तर्राष्ट्रि छवि पनि धमिलिएको छ।

यता पारसको भने खेलाडी र कप्तानको रूपमा अन्तर्राष्ट्रिय छवि राम्रो छ। क्यान प्रतिबन्धित भएको बेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग समन्वय गर्ने उनी पनि थिए।

पछिल्लो समय चन्द आफ्नो अन्तर्राष्ट्रिय छवि सुधार्न पारसलाई साथमा लिएर हिँड्ने तयारीमा रहेको पारसनिकट क्यान सदस्य ऋषिराम गौतम बताउँछन्। “अध्यक्षज्यू (चन्द)ले सुध्रिएर आउँछु, एकपटक मौका दिनू भन्नुभएको छ। त्यसैले हामी उहाँलाई साथ लिएर हिँड्न तयार भएका छौँ। अबको रणनीति कस्तो बन्ने र पारसको स्थान के हुने भन्ने चाहिँ उहाँ (चन्द) एशिया कपबाट फर्किएपछि थाहा हुन्छ,” उनी भन्छन्।

यसअघि, क्यान सदस्य गौतम आफैँ अध्यक्षमा चुनाव लड्ने योजनामा थिए। पारस गएको साउन ३० गते काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित हुनुअघि क्यानको केन्द्रीय अध्यक्षमा चन्द र गौतमसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको थियो। अहिलेका कोषाध्यक्ष रोशन सिंह पनि अध्यक्षका आकांक्षी हुन्। गौतम भन्छन्, “पारस क्रिकेट बुझेर आउनुभएको मान्छे हो। हामीले भन्दा उहाँले क्रिकेटमा धेरै गर्न सक्नुहुन्छ भनेर म पछि हटेको हुँ।”

अध्यक्षका आकांक्षी सिंह भने कोशी प्रदेशको चुनावी नतिजापछि अलमलमा परेका छन्। सिंहको समर्थनमा कोशीको अध्यक्षको उम्मेदवार बनेका विप्लव घोष चन्दनिकट सर्वजित पाण्डेसँग ६ मतले पराजित भए। सिंहलाई लुम्बिनी अध्यक्ष सञ्जय गुरूङ र मधेश अध्यक्ष सुनील महासेठको साथ छ। उनी पूर्वकार्यवाहक सचिव तथा केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्लसँग मिलेर उम्मेदवार बन्ने रणनीतिमा छन्।

चन्दलाई सुदूरपश्चिम अध्यक्ष वासुदेव जोशी र कर्णाली अध्यक्ष पदम खड्काको समर्थन छ। कोशी र गण्डकीमा भने चन्द र पारसको उपस्थिति समान छ। त्यसैले अध्यक्ष बन्न बागमती प्रदेश निर्णायक बन्न सक्ने क्यान केन्द्रीय सदस्य दाउद अन्सारीको अनुमान छ। उनी भन्छन्, “सबै एनालाइसिस गर्दा चन्द र पारसतर्फ लगभग तीन–तीन वटा प्रदेशको नेतृत्व आउने देखिन्छ। जसमा बागमती प्रदेश निर्णायक बन्न सक्छ।”

पारस निकट एक सदस्यका अनुसार उनी चन्दलाई अध्यक्षमा सघाएर अन्य महत्त्वपूर्ण पद आफ्नो समूहले लिनेगरी सहमति गर्ने मनस्थितिमा छन्। अन्य पदका लागि योग्य व्यक्ति छान्ने गृहकार्य पनि सँगसँगै गरिरहेको ती सदस्यको भनाइ छ। 

“रोशन या प्रशान्तविक्रमलाई ल्याइयो भने दुई कार्यकाल पारसले गुमाउनुपर्छ। त्यसका साथै संघमा उनीहरूको दबदबा बढेर जान्छ। एकपटक अध्यक्षमा चन्दलाई सघाएर पारसले सचिव लिँदा चन्दको यो अन्तिम कार्यकाल हो। अर्को चुनावमा चन्दले पारसलाई अध्यक्षमा सघाउने प्रतिबद्धतासहित सहमति हुनसक्छ। औपचारिक जानकारी केही समयपछि उहाँहरूले नै दिनुहुनेछ,” ती सदस्य भन्छन्।

क्यान साधारणसभामा यसपटक ८६ जनालाई मताधिकार छ। आफ्नो पक्ष बलियो बनाउन पारस क्रिकेट विकासको खाकासहित प्रस्तुत हुन थालेका छन्। उनले घरेलु क्रिकेट संरचनालाई बलियो बनाउन ग्रास्टरूटदेखि नै मिहिनेत गर्नुपर्ने बताएका छन्।

व्यक्तिले निर्णय गर्ने प्रवृत्ति तोडेर टिमले निर्णय गर्ने थिति बसाल्ने पारसको प्रतिबद्धता छ। साथै, महिला क्रिकेटको विकास गर्न ४० ओभरको लिग, एलिट ट्रफी, अन्तर प्रदेश श्रृंखला, एक दिवसीय च्यालेन्ज ट्रफी, तीन टोली बनाएर दुई दिवसीय स्वरूपमा प्रतियोगिता गर्ने जस्ता योजना उनले बनाएका छन्। यस्तै, राष्ट्रिय स्तरको फ्रेन्चाइजी लिग, विदेशी टोलीसँग आमन्त्रित श्रृंखला, यू–१९ अन्तर जिल्ला लिग र विदेशमा लगेर प्रशिक्षण गर्ने योजना पनि बनाएका छन्।

नेपालले पछिल्लो समय हात पारेको उपलब्धिलाई जोगाइ राख्न सबै सरोकारवालाको सहयोग चाहिने पारस बताउँछन्। त्यसैले एकल प्रयासबाट चुनाव जित्न सम्भव नहुने आफूले देखेको उनको भनाइ छ।


सम्बन्धित सामग्री