Saturday, May 04, 2024

-->

स्नातक तहमा विद्यार्थी अभावले बन्द हुने अवस्थामा देशभरका क्याम्पसहरू

१२ कक्षापछि उच्च शिक्षा पढ्न विदेशिने क्रम बढेसँगै विद्यार्थीको अभावमा देशभरका निजी, सार्वजनिक तथा सरकारी क्याम्पसमा सञ्चालित स्नातक र त्यसमाथिका कार्यक्रमहरू बन्द हुने अवस्थामा पुगेका छन्।

स्नातक तहमा विद्यार्थी अभावले बन्द हुने अवस्थामा देशभरका क्याम्पसहरू
१२ कक्षापछि विदेशी कलेजमा छोटो अवधिको डिप्लोमा कार्यक्रम अध्ययन गर्न जाने प्रवृत्तिलाई रोक्न सरकारले वैदेशिक अध्ययन अनुमति (एनओसी) नदिने भनी गत चैतमा गरेको निर्णयको विरोधमा उत्रिएका विदेश जान इच्छुक विद्यार्थीहरू। फाइल तस्वीर: उकालो

काठमाडौँ– पाँच वर्ष अघिसम्म काठमाडौँको बबरमहलस्थित नेपाल मेगा कलेजमा स्नातक तहका विभिन्न संकायमा भर्ना हुन आउने विद्यार्थीको संख्या थेगिनसक्नु हुन्थ्यो। “धेरै विद्यार्थी भएर भर्ना लिन नसक्दा फिर्ता गर्नुपर्ने अवस्था थियो,” कलेजका उपप्राचार्य मधुकर पाण्डे भन्छन्, “अहिले विद्यार्थी संख्या नपुगेर भर्ना लिने कि नलिने भन्ने दोधारमा छौँ।” 

काठमाडौँसहित देशका विभिन्न स्थानमा खुलेका निजी कलेजहरूको अवस्था मेगा कलेजको भन्दा फरक छैन। स्नातकमा भर्ना हुने विद्यार्थीको संख्या पाँच वर्षअघिको तुलनामा झण्डै आधाले घटेको छ।

काठमाडौँको पद्मोदय मोडस्थित हिमालयन ह्वाइट हाउस कलेजमा स्नातक पढ्न भर्ना हुने विद्यार्थीको संख्या विगतमाभन्दा आधाले घटेको छ। कलेजका प्राचार्य तोयानारायण पौडेलका अनुसार गत वर्ष बायोटेक्नोलोजीमा ४८ जनाको कोटामा १७ जना विद्यार्थी मात्र भर्ना भए। 

त्यसैगरी ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) मा १४४ जनाको कोटामा २२ जना मात्र विद्यार्थी छन्। पाँच वर्ष पहिला स्नातक तहको पढाइ नेपालमै पूरा गर्नुपर्छ भन्ने विद्यार्थीको सोचाइ रहेकोमा अहिले प्लस टु सकेपछि विदेश जाने आकर्षण बढेको प्राचार्य पौडेल बताउँछन्। “प्लस टुको पढाइपछि विद्यार्थीको आकर्षण छैन। उनीहरूले यहाँ भविष्य देखेनन्,” उनी भन्छन्, “दुई वर्ष अघिसम्म पनि यति भयावह स्थिति थिएन।”

हिमालयन ह्वाइट हाउस कलेजले गत माघमा इलामदेखि कञ्चनपुरसम्मका विभिन्न ३५ जिल्लामा छानिएका निजी तथा सामुदायिक विद्यालयका १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच अध्ययन गरेको थियो। त्यस क्रममा रुपन्देहीको वुटवलमा रहेका कालिका माध्यमिक विद्यालय र नविन औद्योगिक विद्यालयका बाहेक ९५ प्रतिशत विद्यार्थीले प्लस टुको अध्ययन सकेपछि थप शिक्षाका लागि विदेश जाने बताएका थिए। 

नविन र कालिका माध्यमिक विद्यालयमा विदेश जाने र नेपालमै अध्ययन गर्ने सोच बनाएका विद्यार्थीको संख्या ५०/५० प्रतिशत थियो। अध्ययनका लागि छानिएका विद्यालयहरूमा कक्षा १२ मा पढिरहेका विद्यार्थीलाई उनीहरूको कक्षा कोठामा पुगेर विदेश पढ्न जाने र नेपालमा अध्ययन गर्नेमध्ये एक विकल्प रोज्न लगाएको थियो। त्यसमध्ये ९५ प्रतिशत विद्यार्थीले देशबाहिर गएर पढ्ने विकल्प रोजेका थिए।  

नाम सार्वजनिक गर्न नचाहने एक निजी कलेजका प्राचार्यको भनाइमा कुनै ब्याचमा भर्ना भएका विद्यार्थीमध्ये स्नातक सकिँदासम्म ४० प्रतिशत विदेश उडिसकेका हुन्छन्। “भिसा लगायतका प्रक्रिया पूरा नहुँदासम्म फाल्तु बस्नुभन्दा केही समय कलेजको अनुभव लिऊँ न त भनेर मात्र भर्ना भएका हुन्छन्, प्रक्रिया पूरा भएपछि उडिहाल्छन्,” उनी भन्छन्। 

त्रिविका आंगिक र पब्लिक क्याम्पसमा पनि उस्तै
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका सार्वजनिक क्याम्पस तथा विश्वविद्यालयका आफ्नै आंगिक क्याम्पसहरूमा स्नातक विद्यार्थी घट्ने दर अझ उच्च छ। नेपाल पब्लिक क्याम्पस संघका महासचिव गोविन्दबहादुर कार्कीका अनुसार स्नातक तहको प्रथम वर्षमा भर्ना भएका विद्यार्थीमध्ये चौथो वर्षमा पुग्दा ६० प्रतिशत विद्यार्थी बाहिरिइसकेका हुन्छन्।

“उनीहरू विदेश अध्ययन गर्न जाने सिलसिलामा रहेका हुन्छन्। विदेश नजाँदासम्म पढाइको निरत्तरता देखाउने प्रयोजनका लागि मात्र भर्ना हुँदा रहेछन्,” थापा भन्छन्, “भर्ना भएकामध्ये ३५ प्रतिशतले रजिष्ट्रेसन गर्दैनन्। दोस्रो वर्षमा पुग्दासम्म ५० प्रतिशत बाहिरिइसकेका हुन्छन्।”

कार्कीको भनाइमा विद्यार्थी अभावले धेरै पब्लिक क्याम्पसहरु बन्द हुने स्थितिमा पुगेका छन्। “रोजगारमूलक र प्राविधिक विषय पढ्न विदेश गएका छन्। त्रिभुवन विश्वविद्यालयले ती विषयहरूको सम्बन्धन दिनुपर्‍यो। मसिनो ढंगबाट अध्ययन गरेर पढ्दै कमाउँदै गर्ने कार्यक्रम दिनुपर्‍यो,” उनी भन्छन्, “यस्ता कुरामा ख्याल गरिएन भने यसको असर ठूलो पर्नेवाला छ।”

पछिल्लो वर्षमा विदेशिने विद्यार्थीको संख्या बढेको तथ्यांकले पनि देखाउँछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखामा उपलब्ध तथ्यांकअनुसार पछिल्ला दुई वर्षमा दुई लाख २७ हजार २१७ जना विद्यार्थी बाहिरिएका छन्। आर्थिक वर्ष २०७९/८० मा एक लाख १० हजार २१७ र २०७८/७९ मा एक लाख १७ हजार विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि देश छाडेका थिए। 

कोभिड–१९ को महामारीका कारण त्यसअघिका दुई वर्षमा भने विदेशिने विद्यार्थीको संख्या कम थियो। २०७७/७८ मा २७ हजार ९०० र २०७६/७७ मा ३४ हजार ९६ जना मात्रै बाहिरिएका थिए । त्यसभन्दा अघि २०७५/७६ मा एनओसी लिएर बाहिरिने विद्यार्थीको संख्या ६३ हजार २९५ थियो।

किन घट्यो आकर्षण? 
१० वर्ष लामो सशस्त्र द्वन्द्व र संक्रमणकालको अन्त्य भए पनि नयाँ पुस्तामा आएको देश छाड्ने लहरले राजनीतिलाई गिज्जाएको ठान्छन् मेगा कलेजका उपप्राचार्य पाण्डे। विद्यार्थीको पहिलो रोजाइ विदेश हुनुमा राज्य सञ्चालन गर्ने राजनीतिज्ञ र यहाँको शैक्षिक संरचनाको दोष रहेको उनी बताउँछन्। “नयाँ पुस्ताले विश्वविद्यालयलाई विश्वास गरेको देखिएन। विश्वविद्यालय शिक्षा प्रमाणपत्र प्राप्त गर्ने मात्र होइन,” उनी भन्छन्, “यो करिअरसँग गाँसिएको शिक्षा हो। नेपालमा विश्वविद्यालय शिक्षालाई करिअर एजुकेशनसँग जोड्नुपर्छ। त्यस प्रकारको वातावरण विश्वविद्यालयले बनाउने हो।” 

सत्ता स्वार्थमा सरकार बनाउने र भत्काउने खेल, भ्रष्टाचार, अव्यवस्था, सेवा लिनका लागि सरकारी कार्यालयमा जाँदा त्यहाँबाट पाउने सास्ती र नेपालमा पढेपछि रोजगारी पाउन सकिन्छ भन्ने सुनिश्चितता नहुनु पनि नयाँ पुस्ताले देशमा भविष्य नदेख्नुका थप कारण भएको पाण्डे बताउँछन्।  

नयाँ पुस्तालाई देशमा भविष्य छ भनेर उनीहरूमा रहेको भ्रम चिर्न र उनीहरूलाई विश्वास दिलाउने प्रयास सरकार तथा कलेज/क्याम्पस सञ्चालकहरूबाट समेत हुन नसकेको उनको भनाइ छ। “हामीजस्ता पेशामा लागेका मानिसहरूले पनि उनीहरूलाई कुरा बुझाउन सकेनौँ। अर्कोे कुरा, राज्यले नेपालमा काम गर्दा तिमीहरूको भविष्य छ भनेर आश्वस्त पार्न सकेन। सरकारी कार्यालयमा काम गर्न जाँदा त्यहाँ समस्या छ,” उपप्राचार्य पाण्डे भन्छन्, “यसले पनि विद्यार्थीमा विदेश जाने हुटहुटी बढ्यो। हामीले विद्यार्थीलाई गलत भन्न मिल्दैन।” 

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. पेशल दाहाल रोजगारी सुनिश्चित हुने देखेर विद्यार्थीहरू अध्ययनका नाममा विदेशिने प्रवृत्ति बढेको बताउँछन्। 

“विदेश जाँदा कामको ग्यारेन्टी हुने अवस्था छ तर हामीकहाँ निश्चित हुँदैन। जागिर खाँदै पढ्न पाइने पद्धति विकास गर्न हामीले नसकेको हुनाले विद्यार्थीहरू बाहिर जान थाले,” दाहाल भन्छन्, “आफ्ना अग्रजहरू विदेश गइरहनु र अभिभावकमा पनि आफ्ना सन्तान बाहिर गइदिए हुन्थ्यो भन्ने मनोविज्ञान हुनु पनि थप कारण हुन्।” 

बजारले माग गर्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गरिरहेको दाहालको दाबी छ। उनी भन्छन्, “हाम्रो पाठ्यक्रममा समस्या होइन। बजार तथा समयको मागअनुसारका दक्ष जनशक्ति उत्पादन गर्न त्यही अनुसारको पाठ्यक्रम लागू गरेका छौँ।” 

विश्वविद्यालयको अव्यवस्था 
नेपालबाट विद्यार्थी विदेश जानुमा त्रिभुवन विश्वविद्यालयको भद्रगोल तालिकासमेत जिम्मेवार रहेको सरोकारवालाहरू बताउँछन्। समय तालिकाअनुसार परीक्षा नहुनु, नतिजा प्रकाशनमा ढिलाइ हुनुजस्ता कारण पनि नेपाली विद्यार्थीको बहिर्गमनमा जिम्मेवार रहेको हिमालयन ह्वाइट हाउस कलेजका प्राचार्य पौडेल बताउँछन्। 

“विश्वविद्यालयले नतिजा निकाल्नै एक वर्षभन्दा बढी लगाउन थाल्यो। अनि कार्यतालिका अनुसार परीक्षा र नतिजा प्रकाशन पनि भएन, अनि हाम्रो विश्वविद्यालयमा विद्यार्थीको आकर्षण कसरी होस्?” उनी भन्छन्। 

विद्यार्थी बाहिर जानुको कारण के हो भनेर त्रिभुवन विश्वविद्यालयले अनुसन्धान गर्नुपर्ने ग्रिनफिल्ड नेशनल कलेजका प्राचार्य वासुदेव भट्टराई बताउँछन्। “कहाँ–कहाँ कस–कसको कमजोरी छ, त्यसबारे विश्वविद्यालयले पनि अनुसन्धान गरेर कारण पत्ता लगाउनुपर्छ,” पौडेल भन्छन्, “विश्वविद्यालयको पनि कमजोरी हुन सक्छ। जहाँ–जहाँ कमजोरी भएको छ त्यहीँबाट सुधार गर्नुपर्छ।”

त्रिभुवन विश्वविद्यालय भने कार्यतालिका अनुरूप परीक्षा र नतिजा प्रकाशन नभएको मान्न तयार छैन। रजिष्ट्रार दाहाल कोभिडका कारण एक वर्ष कार्यतालिका प्रभावित भएको, तर अहिले सबै ठेगानमा आइसकेको बताउँछन्। 

“कोरोना महामारीका कारण हामीले एक वर्ष कामै गर्न पाएनौँ। त्यही कारण प्रभावित भएको हो, अहिले सबै ठीक भइसक्यो,” उनी भन्छन्, “कार्यतालिकाका कारण विद्यार्थी बाहिर गए भन्न मिल्दैन।”


सम्बन्धित सामग्री