Sunday, May 12, 2024

-->

पूर्वी नेपालको विनाशकारी भलबाढीः जलवायु विपत्ति बढ्ने संकेत

तापक्रममा आएको उतारचढावसँगै स्थानीय स्तरमा विकसित मौसमी अवस्थाका कारण अस्वाभाविक वर्षा र त्यसले निम्त्याउने विनाश बढ्दैछन्। गएराति कोशी प्रदेशका तीन जिल्लामा आएको विपत्ति त्यसकै निरन्तरता हो।

पूर्वी नेपालको विनाशकारी भलबाढीः जलवायु विपत्ति बढ्ने संकेत
ताप्लेजुङको मैवाखोलामा गएराति आएको बाढीले कटान गरेपछि जोखिममा परेको दोभान बजार । तस्वीर: सन्तोष पुर्कुटी/रासस

काठमाडौँ– पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्लामा गएराति बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने २५ जना हराइरहेका छन्। 

आइतबारको प्रतिनिधिसभा बैठकमा बाढी तथा पहिरोबाट भएको क्षतिको जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाढीका कारण तीन जिल्लामा सडक तथा पुल लगायतका संरचना बग्दा करिब ५० करोड बराबरको क्षति भएको बताए। 

मधेश प्रदेशसहित त्यसभन्दा पश्चिमका भागमा वर्षा नभएर खडेरीले बालीनाली नाश पारिरहेको छ भने तातो हावाका कारण मानिसहरू घरबाहिर निस्कन पनि नसक्ने अवस्थामा छन्। 

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका मधेश प्रदेशसहित अधिकांश जिल्लामा शनिबारसम्म तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड गरिएको छ। तर, पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो जनधनको क्षति हुने गरी वर्षा भइरहेको छ। त्यहाँको तराईका जिल्लामा पानी नपरेर ताप्लेजुङ, पाँचथर र संखुवासभाका केही ठाउँमा क्षति पुग्ने गरी कसरी वर्षा हुन पुग्यो त? 

त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका भनाइमा कोशी प्रदेशका तीन जिल्लामा भएको वर्षा अस्वाभाविक हो। जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा पर्याप्त वर्षा मापन केन्द्रहरू नभएका कारण कुन ठाउँमा के कति वर्षा भयो त्यसको विस्तृत विवरण आएको छैन। 

तर, संखुवासभाको नुममा २४ घण्टामा ११२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। त्यसैगरी ताप्लेजुङमा ५४ र ताप्लेजुङकै दोभानमा ५५ मिलिमिटर वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा १५० मिलिमिटर भन्दा बढी वर्षा हुनु अति भारी वर्षाको अवस्था हो। 

सङ्खुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना भई बग्ने हेवा खोलामा गएराति आएको बाढीले जोखिममा परेको बस्ती । तस्वीर: सुजन बज्राचार्य /रासस

“पर्याप्त मात्रामा वर्षा मापन केन्द्रहरू नहुँदा ठ्याक्कै कति वर्षा भएर त्यो किसिमको बाढीको अवस्था आयो भन्न सक्ने अवस्था छैन,” जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मेटेरियोलोजिस्ट इन्दिरा कँडेल भन्छिन्, “पूर्वी नेपालमा हिजोअस्तिदेखि नै पानी परिरहेको थियो। माटो पहिल्यैदेखि भिजेकाले कम वर्षामा पनि ठूलो बाढी र पहिरो गएको हुन सक्छ।”

पहाडी भूभागको खोँच–खोँचमा फरक फरक किसिमको जलवायु विकास हुने भएकाले एक ठाउँमा भएको मापनकेन्द्रले अर्को ठाउँको हावापानीको अवस्थालाई समेट्न नसक्ने कँडेल बताउँछिन्। जलवायु मापनकेन्द्र यथेष्ट संख्यामा भए मात्र यकिन विवरण आउने र त्यसबाट मौसमी विश्लेषणमा सहयोग पुग्ने उनको भनाइ छ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक पोखरेल कोशी प्रदेशका तीन पहाडी जिल्लामा वर्षा भएको अवस्थालाई मौसमी भाषामा ‘ओरोग्राफिक इम्प्याक्ट’ भनिने बताउँछन्। 

“तराईमा कतै पानी परेको छैन। तर, पहाडमा पानी परेको छ। यो ओरोग्राफिक इम्प्याक्ट हो,” पोखरेल भन्छन् “भूसतह तातो भएपछि त्यहाँको हावा माथि उचालिन्छ र पहाडमा ठोकिएर त्यसले जलवाष्पयुक्त मनसुनी हावालाई अझ दबाब सिर्जना गरेर माथि धकेल्छ। वायुमण्डलको एउटा विन्दुमा पुगेपछि चिसिएर वर्षाको अवस्था आउँछ।”

उनका अनुसार हावा जति माथि गयो त्यति नै चिसो हुँदै जान्छ। वायुमण्डलको एउटा तहमा पुगेपछि त्यसको आर्द्रता शतप्रतिशमा पुग्छ र बादल बन्छ।

“पहाडले बादललाई थप माथि उकास्न र वर्षा गराउने अवस्था सिर्जना गर्न मद्दत गर्छ,” पोखरेल भन्छन्, “मनसुनको जलवाष्पयुक्त हावा तराईमा पानी पर्नका लागि पर्याप्त थिएन। पहाडमा ठोकियो र त्यस ठाउँमा वर्षा हुन पुग्यो।”

बग्न सक्छन् पहाड 
गएराति भएको वर्षाका कारण क्षति भएका तीन जिल्लामा अहिलेको जस्तो अवस्था विगतमा आएको थियो या थिएन त्यसको ऐतिहासिक तथ्यांक छैन। तर, जलवायुमा आएको उतारचढावका कारण अब पहाड र उच्च हिमालमा समेत अस्वाभाविक वर्षा हुने र त्यसले भलबाढी निम्ताउने सम्भावना प्रबल रहेको विज्ञहरू बताउँछन्। 

सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ स्थित सभाखोलामा गएराति आएको बाढीले बगाएर ल्याएको ट्रक। तस्वीर: भविन कार्की/रासस

अत्यधिक गर्मीले पहाड र हिमालमा भलबाढीका घटना बढ्न सक्ने जलवायुविज्ञ ङमिन्द्र दाहाल बताउँछन्। “पहिला पहिला कहिलेकाहीँ र आक्कलझुक्कल भलबाढीका घटना हुन्थे। हाम्रो जलवायुमा आएको बदलावका कारण अब त्यस्ता घटना बढ्न सक्छन्,” उनी भन्छन्, “पछिल्ला वर्षहरूमा उच्च पहाडी र हिमाली भूभागमा भलबाढीका घटनाहरू हुनु त्यसैका उदाहरण हुन्।” 

छोटो समयमा अस्वाभाविक वर्षा भई एक्कासि बाढी आउनुलाई भलबाढी भनिन्छ। यस्तो भलबाढी ल्याउनका लागि ‘आरीघोप्टे’ वर्षाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। दाहालका भनाइमा यस्तो आरीघोप्टे अर्थात् आरीमा पानी हालेर घोप्टाएजस्तो भीषण वर्षा गराउन उच्च तापक्रमले भूमिका खेलेको हुन्छ। 

पछिल्ला तीन वर्षयता उच्च पहाड र हिमालमा अस्वाभाविक वर्षा र भलबाढीका डरलाग्दा घटना हुन थालेका छन्। दुई वर्षअघि सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची, मनाङ र मुस्ताङ तथा तीन वर्षअघि बागलुङको ढोरपाटन तथा अछाममा आएका विनाशकारी भलबाढी र पहिरोका घटना त्यसैका उदाहरण हुन्। 

२०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट २६ जनाको मृत्यु भएको थियो भने उक्त बाढीले करिब ८० अर्बको भौतिक संरचनामा क्षति पुर्‍याएको थियो। 

मनाङ र मुस्ताङका स्थानीय बासिन्दाले बताएअनुसार त्यस्तो बाढी उनीहरूले पछिल्लो १०० वर्षयता त्यसअघि कहिल्यै देखेका थिएनन्। बाढीका कारण मानवीय क्षति नभए पनि करिब ५५ घरपरिवार विस्थापित भएका थिए भने १ अर्ब बराबरको नोक्सानी भएको आँकडा त्यतिबेला स्थानीय तहले निकालेका थिए।


सम्बन्धित सामग्री