Monday, May 13, 2024

-->

डा. रञ्जितकुमार यादव भन्छन्, ‘मलाई नक्कली डाक्टर भन्न थाले, कतिलाई स्पष्ट पार्दै हिँडौँ?’

‘राज्यले नक्कली चिकित्सक पक्राउ गर्न चलाएको अभियानलाई म उत्कृष्ट भन्छु। तर अनुसन्धान नगरिकन सक्कली चिकित्सकलाई पनि नक्कली भनेर पक्राउ गर्दा म मानसिक पीडामा छु। थप पढ्न नसक्ने अवस्था भएको छ।’

डा रञ्जितकुमार यादव भन्छन् ‘मलाई नक्कली डाक्टर भन्न थाले कतिलाई स्पष्ट पार्दै हिँडौँ’

काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अपरेसन ‘फोक्सट्रोट’ चलाएर गएको बिहीबार केही चिकित्सकलाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मासमेत थिए। त्यही दिन अन्य चिकित्सकलाई पनि सीआईबीले पक्राउ गरेको थियो। 

पक्राउ परेकाहरूले एसएलसी र प्लस टु (आईएस्सी)को प्रमाणपत्र नक्कली बनाएर एमबीबीएस अध्ययन गरेको सीआईबीको आरोप छ। तर ‘नक्कली’ डाक्टरहरूमाथि सीआईबीले चलाएको अपरेसन अहिले विवादित बनेको छ।

सीआईबीले बिहीबार ‘नक्कली’को आरोपमा पक्राउ गरेका चिकित्सक डा. रञ्जितकुमार यादवले किर्ते काम नगरेको स्पष्ट भएको छ। महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डा. यादवको प्रमाणपत्रहरू नक्कली नभएको पुष्टि भएपछि उनलाई सीआईबीले आइतबार हिरासतमुक्त गरेको छ। 

काठमाडौँ जिल्ला अदालतले सांसद शर्मालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिए पनि अन्यलाई सात दिन हिरासतमा राख्न शुक्रबार अनुमति दिएको थियो। तीमध्ये डा. यादव पनि एक थिए। चार दिन हिरासतमा राखिएपछि उनी रिहा भएका छन्। डा. यादवको प्रमाणपत्र नक्कली नभएको पत्र नेपाल मेडिकल काउन्सिलले पठाएपछि सीआईबीले उनलाई रिहा गरेको हो।

सोमबार सीआईबीले विज्ञप्ति जारी गरेर ‘नक्कली डाक्टर’विरुद्धको कारबाहीका क्रममा ‘सक्कली’ डाक्टर पक्राउ परेको घटनामा नेपाल मेडिकल काउन्सिलको ‘कमजोरी’ रहेको दाबी गरेको छ। सीआईबीका प्रवक्ता, एसपी नवराज अधिकारीले विज्ञप्ति जारी गर्दै काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा पक्राउ गरिएको उल्लेख गरेका छन्।

“काउन्सिलमा दर्ता भएका चिकित्सक रञ्जितकुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाणपत्र र आवेदन फारम भूलवश संलग्न हुन गएको अभिलेखबाट देखिएको जानकारी गराउँदछु भन्नेसमेत ब्यहोराको प्राप्त पत्र र प्रमाण कागजातहरूअनुसार हाल पक्राउ परेका डा. यादव वास्तविक प्रतिवादी नभएको यकिन हुन आएको हुँदा निजलाई प्रस्तुत कसुरको अनुसन्धानको लागि हिरासतमा राखी राख्न आवश्यक नदेखिएकोले जिम्मा जमानीमा छाडिएको छ,” सीआईबीका प्रवक्ता, एसपी अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

आफू सक्कली चिकित्सक हुँदाहुँदै पनि नक्कली भनेर प्रहरीले पक्राउ गरेपछि आफूले भोगेको पीडा डा. यादवले उकालोसँग यसरी व्यक्त गरेका छन्:

म लोकथन्लीमा रुममा बसिरहेको थिएँ, सीआईबीको टोली त्यहीँ आएर मलाई बिहीबार ३ बजे पक्राउ गरेको हो। त्यसबेला मलाई पक्रिन आएका प्रहरीका डीएसपीले अनुसन्धानका लागि बोलाएको भनेर लिएर जानुभएको हो। मलाई पक्राउ पुर्जी पनि दिइएको थिएन। 

मलाई लगेपछि सीआईबीमा राखियो। ‘डीएसपी आएपछि कुरा हुन्छ’ भनेर मलाई राति १२ बजेसम्म पर्खाइयो। त्यसपछि प्रहरी आएर ‘डीएसपी सा’बले आज भ्याउनुभएन’ भनेर मलाई बग्गीखाना जानुपर्छ भने। अनि, मलाई थुनामा राखियो। 

शुक्रबार ५ बजे अदालतमा म्याद थपका लागि लगियो। त्यहाँ म्याद थप भयो। ‘तपाईंको सर्टिफिकेट जाली रहेछ, त्यसैले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने हो’ भने। म्याद थप गर्दा पनि मलाई कसैले मेरो कुरा राख्ने समय नै दिएन। मलाई सोधेको भए आफ्नो कुरा राख्ने थिएँ। 

त्यसपछि मैले मेरो फाइल देखाउन भनेँ। देखाएपछि यो मेरो फाइल होइन भनेर भनेँ। तर, हामी अनुसन्धान गर्छौं तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिए। शुक्रबार बेलुका मैले मेरो कागजात होइन भनेर भन्दा पनि विश्वास गरिएन। मलाई लगेर बग्गीखानाको हिरासतमा नै राखियो। शनिबार कुनै सरकारी काम भएन। आइतबार नेपाल मेडिकल काउन्सिलमा गएर कागजात हेर्दाखेरी मेरो नामसँग मिल्ने अर्कैको कागजात रहेको देखियो। त्यसपछि मेडिकल काउन्सिलले पत्र पठायो। ‘नाम एउटै परेकाले समातिएको’ भनेर आइतबार उहाँहरूले राति १२ बजे मलाई हिरासतमुक्त गर्नुभएको हो। 

राज्यले नक्कली चिकित्सक पक्राउ गर्न चलाएको अभियानलाई म उत्कृष्ट भन्छु। तर अनुसन्धान नगरीकन सक्कली चिकित्सकलाई पनि नक्कली भनेर पक्राउ गर्दा दुःख लागेको छ। मलाई पक्राउ परिसकेपछि जसले पनि ‘नक्कली डाक्टर’ भनिरहेका छन्। यसले मानसिक रूपमा पीडा दिएको छ।

चार दिनपछि सीआईबीले म दोषी नभएकै कारणले छोडे पनि मानिसहरूले त मलाई नक्कली हो भनेर बुझिरहेका छन्। कि त म नक्कली डाक्टर होइन भनेर टाउकोमा बाँधेर हिँड्न पर्‍यो, कि भेटिएका जतिलाई होइन भन्नुपर्‍यो। त्यति भनेन भने त मलाई अब कसैले पनि विश्वास गर्ने अवस्था नै रहेन। यो राज्यको ठूलो कमजोरी हो।

सक्कली डाक्टरलाई नक्कली भनेर राज्यले नै भनेपछि योभन्दा ठूलो अपराध के हुन्छ? यसमा मेडिकल काउन्सिल र सीआईबी दुवैको त्रुटि छ। मेडिकल काउन्सिलले फाइल पठाउँदा भित्र अर्कैको सर्टिफिकेट पठाउने र सीआईबीले पक्राउ गर्ने, सीआईबीले फाइल आयो भनेर जथाभाबी गर्न त भएन नि। कसलाई पक्राउ गर्दै छु र कोमाथि अनुसन्धान गर्दै छु भनेर बुझ्नुपर्ने हो। त्यो बुझेन।

मैले चार वर्षअघि नोबेल मेडिकल कलेज विराटनगरबाट एमबीबीएस उत्तीर्ण गरेपछि मैले डेढ वर्ष कोशी प्रदेशअन्तर्गत मन्त्रालयमा काम गरेको थिएँ। कोरोना महामारीका बेला मन्त्रालयमै रहेर काम गरेँ। त्यसपछि एमडीका लागि पढेर बसिरहेको थिएँ। यो बीचमा मैले पाँचथर जिल्ला अस्पतालमा पनि बसेर काम गरेको थिएँ। हिजो अस्तिसम्म नेपालमै बसेर केही गर्छु भनेर सोचेको थिएँ। पछिल्लो घटनाले मलाई निकै पीडा दिएको छ।

यो घटनाले नेपालमै बस्न नपरोस् भन्ने लागेको छ। बाहिर गएर पढ्ने र त्यहीँ काम गर्ने सोच बनाएको छु। म अब पढ्न नै नसक्ने स्थितिमा पुगेको छु। गाउँको मानिसले समेत मलाई नक्कली डाक्टर भन्न थालिसके। म निर्दाे‍षलाई यसरी अनाहकमा पीडा दिने निकायमाथि राज्यले अनुसन्धान गरेर कारबाही गर्नुपर्छ।


सम्बन्धित सामग्री