फोहरबाट मल उत्पादन गर्दै मध्यबिन्दु, किसानले सहुलियत मूल्यमा पाउने

संकलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहोरबाट समेत मल उत्पादनको गरिनेछ। सुक्खा समयमा वनजंगलमा सुकेका पात संकलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने नगरको अपेक्षा छ।

त्रिवेणी– फोहर व्यवस्थापन शहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ। उचित व्यवस्थापन नहुँदा ठूला शहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ।

नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहोर व्यवस्थापनको काम सञ्चालन गरेको छ। उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ। फोहोरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगरप्रमुख भीमलाल अधिकारीले बताए।  

“फोहर व्यवस्थापन गर्दैगर्दा यसलाई दिगो बनाउन आम्दानीसँग जोड्ने योजनाअनुरुप काम अघि बढिरहेको छ, सोही योजनाअनुसार कम्पोस्ट मल उत्पादन जोडिएको हो,” उनले भने। 

नगरपालिकाले घरबाट उत्पादन हुने कुहिने फोहर तथा वनजंगलमा रहेका सुकेका पातबाट कम्पोस्ट मल उत्पादन थालेको छ। हालैमात्र विभिन्न समूहमा आबद्ध १४३ जनाले वनजंगलमा सुकेका पात संकलन गरी नगरपालिकालाई बेचेर आम्दानीसमेत गरेका छन्। प्रतिकिलो पाँच रुपैयाँ ४० पैसासम्ममा पात खरिद गरी मल उत्पादन गरिएको छ। सुकेको पात, गाईभैँसीको गोबरको मात्रा मिलाएर मल तयार गर्ने गरिएको छ।

पात संकलनबाट केही भए पनि आम्दानी भएको र सामान्य घरखर्च चलाउन सहयोग पुगेको स्थानीय सीता पुरीले बताइन्। संकलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहोरबाट समेत मल उत्पादनको काम अघि बढेको छ। सुक्खा समयमा वनजंगलमा सुकेका पात संकलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने अपेक्षा लिइएको छ।

नगरले घरबाट फोहर वर्गीकरणलाई कडाइका साथ लागू गरेको छ। कुहिने र नकुहिने फोहर वर्गीकरणपछि घरबाटै फोहर  व्यवस्थापनको काम हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए। “फोहर वर्गीकरण गर्ने बित्तिकै कतिपयले कुहिने फोहर आफैँ पनि व्यवस्थापन गर्ने गर्नुभएको छ। यसबाट नगरले व्यवस्थापन गर्ने फोहरमा कमी आएको छ,” उनले भने। 

गण्डकी प्रदेश सरकारको दुई करोड १३ लाख र पालिकाको ६४ लाख लागतमा फोहरमैला व्यवस्थापनको कार्यक्रम अघि बढेको हो। कार्यक्रममार्फत फोहर व्यवस्थापन केन्द्र निर्माण, कम्पोस्ट मल तयार पार्ने उपकरणलगायतका सामग्री खरिद गरिएको छ। 

कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्नका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढेको छ। यसले आवश्यक गोबर मलको माग पूरा हुने साथै छाडा चौपाया व्यवस्थापनको काममा समेत सहयोग पुग्ने कार्यक्रमका ‘फोकल पर्सन’ विवेक पोख्रेलले बताए। 

फोहर व्यवस्थापनका क्रममा उत्पादन गरिने कम्पोस्ट मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराउने योजना छ। समग्रमा कार्यक्रमले फोहर व्यवस्थापन, स्थानीय रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, कम्पोस्ट मल उत्पादनलाई जोड्ने पोख्रेलको भनाइ छ।

योसँगै उत्पादित कम्पोस्ट मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अर्ग्यानिक उत्पादनलाई समेत सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ।