Thursday, May 02, 2024

-->

सुनील शर्माको त्यो विवादित पृष्ठभूमि, हिरासत पुगेपछि पनि पछ्याइरह्यो

७ वर्षअघिको प्रहरी अनुसन्धानबाटै शर्माको आइएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको थियो। बिहीबार पक्राउ परेपछि उनले सुनकाण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेर अनशन बस्ने चेतावनी दिएका छन्।

सुनील शर्माको त्यो विवादित पृष्ठभूमि हिरासत पुगेपछि पनि पछ्याइरह्यो

काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा आफ्नै शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको कसुरमा बिहीबार पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीसहितका पाँच डाक्टरलाई पक्राउ गरेको छ। 

सीआईबीले बिहीबार १५ जना डाक्टरलाई पक्राउ गर्ने तयारी गरेको थियो। शर्मासहित डा. रञ्जितकुमार यादव, डा. अमित चौधरी, डा.रामबाबु यादव र डा. एलिना साह पक्राउ परेका छन्। सीआईबी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले लक्षित सबैलाई पक्राउ गर्ने तयारी भए पनि बाँकी १० जना पक्राउ परिनसकेको उकालोलाई बताइन्। डा. शर्मा गोल्फुटारस्थित निवासबाटै पक्राउ परेका थिए।

सीआईबीले धेरै पहिलेदेखि नै नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा मेडिकल शिक्षा (एमबीबीएस) अध्ययन गरेका व्यक्तिहरूबारे अनुसन्धान गर्दै आएको थियो। “त्यसक्रममा डा. शर्मासहित १५ जनाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबीबीएस अध्ययन गरेको पुष्टि भएपछि हामीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,” एआईजी बज्राचार्यले भनिन्।

सीआईबी स्रोतका अनुसार डा. शर्माले भारतबाट आईएस्सी उत्तीर्ण गरेको सर्टिफिकेट पेश गरेर एमबीबीएस अध्ययन गरेका थिए। अनुसन्धानका क्रममा उनको आईएस्सीको सर्टिफिकेट नक्कली भेटिएको छ।

“अहिले कुल १५ जना डाक्टरको आईएस्सीको सर्टिफिकेट नक्कली वा किर्ते भेटिएको छ,” अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकृतले भने, “केहीले भारतबाट आईएस्सीको नक्कली सर्टिफिकेट बनाएर एमबीबीएस पढेको भेटिएको छ, केहीले भने नेपालकै प्लस टुको नक्कली सर्टिफिकेट बनाएर डाक्टरी पढेको प्रमाणित भएको छ।”

१५ जनाको सूचीमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत एक चिकित्सक पनि रहेको, उनले पनि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबीबीएस पढेको भेटिएको उनले बताए। 

सीआईबी स्रोतका अनुसार ‘अपरेसन फोक्स्ट्रोट (फेक सर्टिफिकेट) चार्ली’ नाम दिएर नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पहिल्याउने पहल गरिएको थियो।

सात वर्षदेखि नै जारी थियो शर्मामाथिको अनुसन्धान
बिहीबार शर्मा नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा पक्राउ परे पनि उनीमाथि योे प्रकरणमा सात वर्ष अघिदेखि नै अनुसन्धान जारी रहेको सीआईबीका अधिकृतहरू बताउँछन्। २०७३ सालमा नै सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर बनेकाहरूबारे विशेष अपरेसन नै चलाएको थियो। त्यही बेला शर्माको प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) को प्रमाणपत्रमा शंका लागेपछि प्रहरीले खोजी गरेको थियो। तर उनी त्यो सूचना पाएलगत्तै जापान गएर बसेका थिए।

 

“हामीले त्यो बेला नै उनको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने सूचना पाएर अनुसन्धान गरेका थियौँ। तर उनी त्योबेला सम्पर्कविहीन भए। हाम्रो अनुसन्धान पनि त्यसतर्फ केन्द्रित हुन सकेन,” सीआईबीका तत्कालीन एक प्रहरी उच्च अधिकृतले भने, “पछिल्लो समय पनि मेडिकल काउन्सिलबाट आएको सूचनाका आधारमा अनुसन्धान गर्दा उहाँको प्रमाणपत्रमा केही शंका देखिएपछि नियन्त्रणमा लिएको होला।” 

सात वर्ष अघिको विशेष अपरेसनमा सीआईबीले ४३ जना चिकित्सकलाई पक्राउ गरेको थियो। शर्माले आईएस्सी भारतको बिहारबाट उत्तीर्ण गरेको र त्यसकै आधारमा उनले आफ्नो अध्ययन पूरा गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। 

१०० किलो सुनकाण्डको असर
सांसद शर्मा तिनै व्यक्ति हुन् जो सत्ता पक्षको सांसद भएर पनि पछिल्लो समय १०० किलो सुन तस्करी प्रकरणमा सरकारको कडा विरोध गर्दै आएका थिए। उनले संसद्भित्र र बाहिर निरन्तर सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राख्दै आएका थिए। 

यो विषय उठाइरहेका बेला उनीमाथि शैक्षिक कागजात नक्कली बनाएर आईएस्सी उत्तीर्ण गरेको अभियोग लागेको छ। यस विषयमा शर्माको पार्टी नेपाली कांग्रेसले औपचारिक प्रतिक्रिया भने केही दिइसकेको छैन। तर कांग्रेसभित्र शेखर कोइराला समूहले भने सांसद शर्माको पक्राउको विषयलाई लिएर टिप्पणी गरेको छ। 

कोइराला खेमाका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् भन्दै प्रश्न गरेका छन्। 

“केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनील शर्मालाई सीआईबी लगाएर नै पक्राउ गरेर सरकारले के गर्न खोजेको हो? संसद् चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्?,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “शर्मा पक्राउ पछि सार्वजनिक गरिएको नक्कली प्रमाणपत्रको आरोप गृह र अर्थमन्त्रीले रिसइबी साँधेको रूपमा नदेखियोस्। निष्पक्ष छानबिन होस्। न्याय निरूपणमा आग्रह पूर्वाग्रह नदेखियोस्।” 

तर, सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारी भने सीआईबीले चलाएको अनुसन्धान अनुसार नै केही मानिस पक्राउ गरिएको भन्दै यसमा अन्य कुनै विषय नजोडिएको बताउँछन्। “नक्कली डकुमेन्ट बनाएर पढेको देखिएको छ। त्यसै अनुसार अनुसन्धान भएर मुद्दा चल्छ,” उनले भने। 

सांसद शर्माले पक्राउ परिसकेपछि पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेर अनशन बस्ने चेतावनी दिएका छन्।

सफा थिएन शर्माको विगत 
सीआईबीले सांसद शर्मालाई नक्कली प्रमाणपत्रको विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको भन्दै संसद् सचिवालयलाई पत्राचार गरेर जानकारी दिइसकेको छ। संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्नेबित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने प्रावधान रहेको छ। 

सोहीअनुसार बिहीबार पक्राउपछि सीआईबीले संसद् सचिवालयलाई पत्र लेखेर यसबारे जानकारी दिएको हो। सीआईबीले लेखेको पत्रमा सांसद शर्मालाई आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली बनाएको कसुरमा पक्राउ गरिएको उल्लेख गरेको छ। 

उनीमाथि लागेको अभियोग प्रमाणित भएर अदालतबाट दोषी ठहर भएमा उनले सजाय पाउने छन्। ‘मुलुकी अपराध संहिता २०७४’ को परिच्छेद २५ मा रहेको लिखतसम्बन्धी कसुरअन्तर्गत ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिबानाको सजाय पाउने व्यवस्था रहेको छ। अपराध संहिताको दफा २७६ को उपदफा ४ को (ग) मा यससम्बन्धी व्यवस्था रहेको छ। 

शर्मा गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। मेडिकल व्यवसायीसमेत रहेका शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालक हुन् भने नेपालगन्ज मेडिकल कलेजमा पनि उनको लगानी छ। 

मेडिकल क्षेत्रमा विवादित भएकै कारण उनलाई नेपाली कांग्रेसले टिकट दिँदा नै निकै विरोध भएको थियो। तर उनले मोरङ–३ मा नेकपा (एमाले) का नेता भानुभक्त ढकाललाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भए। यसअघि २०७४ मा भने उनी ढकालसँग पराजित भएका थिए। मेडिकल कलेजको सम्बन्धन, सिट निर्धारण र शिक्षण शुल्कका विषयमा पटक–पटक विवादमा आइरहेका व्यक्तिका रूपमा शर्मा चिनिन्छन्। 

शर्माको नोबेल मेडिकल कलेजले शैक्षिकसत्र २०७१/०७२ मा एमबीबीएसमा १५० र बीडीएसमा ५० सिट पाएको थियो। नेपाल मेडिकल काउन्सिलले गरेको निरीक्षणका क्रममा नोबेलमा ४६ जना ‘खडेबाबा’ अर्थात् काउन्सिलको निरीक्षण अवधिभरका लागि प्राध्यापकको रूपमा देखाउन राखिएका डाक्टर भेटेको थियो। 

कलेजमा अन्य मापदण्ड पनि पूरा नभएको पाइएको थियो। सिट घटाउने काउन्सिलको निर्णयविरुद्ध नोबेलले पुनरावेदन अदालत, पाटनमा रिट दायर गर्‍यो। त्यसमाथि सुनुवाइ गर्दै २०७२ कात्तिक २३ मा न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको एकल इजलासले ‘मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म काउन्सिलको निर्णय कार्यान्वयन नगर्नू, नगराउनू’ भन्दै नोबेलकै पक्षमा आदेश दियो।

मेडिकल कलेजमा मात्र उनी विवादित भएका पात्र होइनन्। कर छली गरेको प्रकरणमा पनि उनी संलग्न रहेको राज्यका विभिन्न निकायले गरेको अनुसन्धानले देखाएको छ। 

“कलेजले राजस्व छल्न सम्पत्तिको मूल्य कम राखेको, भौतिक संरचना निर्माण गर्न लिएको बैंक ऋण अन्यत्रै लगानी गरेको, कलेजको नाममा किनेको जग्गाको मूल्य कम देखाएको भनेर राजस्व अनुसन्धान विभागले २०७२ सालमै गरेको अनुसन्धानले पुष्टि गरिसकेको अवस्था हो,” सीआईबीका एक अनुसन्धान अधिकृत भन्छन्, “उनी अरू विभिन्न प्रकरणमा समेत विवादित पात्र हुन्।” 

डा. शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा काम गरिरहेको भन्ने सूचना नेपाल मेडिकल काउन्सिलबाट प्राप्त भएको सीआईबीले जनाएको छ। पछिल्लो समय काउन्सिलले नै उनी लगायतका केही मानिसको विवरण दिएर अनुसन्धानका लागि सीआईबीलाई अनुरोधसमेत गरेको थियो। 

“तत्कालीन समयमा नै उनीविरुद्ध यथेष्ट प्रमाण जुटिसकेको थियो। तर उनी नेपाल छाडेर बाहिर गए। त्यसपछि अनुसन्धानले गति नलिएपछि उनी सक्रिय भएका थिए। प्रतिनिधिसभा सांसदमा निर्वाचित भइसकेपछि पनि हामीले अनुसन्धान जारी नै राखेका थियौँ,” प्रहरीका एक अधिकृत भन्छन्, “सबै तथ्यगत प्रमाणबाट उनले नक्कली कागजातका आधारमा एमबीबीएस गरेर डाक्टर भएको देखिएपछि पक्राउ गरिएको हो।”

नोबेल मेडिकल कलेजले सञ्चालनका लागि अनुमति नपाइरहेका बेला शर्माले पहुँचका आधारमा उक्त कलेजलाई इजाजत दिलाउन भूमिका खेलेका थिए। पाँच प्रतिशत शेयर स्वामित्व लिएर कलेज छिरेका उनले पछि कलेजलाई एकलौटी बनाएका थिए। “उहाँले कलेजलाई एकलौटी आफ्नो बनाउन पनि निकै सक्रियता देखाउनुभयो। गैरकानूनी बाटोबाट स्वामित्व लिएको लगायतका विषयमा उहाँविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरेको थियो,” उनलाई चिन्ने एक चिकित्सकले भने, “राजनीतिक पहुँचकै आधारमा विगतमा उहाँले यो सबै गर्नुभएको थियो।” 

ती चिकित्सकको भनाइअनुसार उनले आफ्नो मेडिकल व्यवसायलाई नेपालको पूर्व मेचीदेखि मध्यपश्चिमसम्म पुर्‍याएका थिए। देशका अन्य मेडिकल कलेजको पनि क्रमशः शेयर किन्दै मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो बलियो पकड जमाउने लक्ष्यका साथ उनी सक्रिय रहँदै आएका थिए। 


सम्बन्धित सामग्री