Monday, April 29, 2024

-->

जेलबाट छुटेपछि आफ्नाहरूमाझ नै एक्लिँदै गएका रेशम चौधरी

सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डमा दोषी ठहर्‍याए पनि राष्ट्रपतिबाट माफीमिनाहा पाएर जेलमुक्त भएका रेशम चौधरीका पछिल्ला बोली र व्यवहारले उनका समर्थकहरु नै आलोचक बनिरहेका छन्।

जेलबाट छुटेपछि आफ्नाहरूमाझ नै एक्लिँदै गएका रेशम चौधरी

काठमाडौँ- “रेशम चौधरीले उनीलगायत टिकापुर घटनाका राजबन्दीहरूको रिहाइका लागि पार्टीका सबै थारू अगुवा तथा मधेशी अगुवाहरू र सामाजिक सद्भाव चाहने पहाडी समुदायका व्यक्तित्वहरूले गरेको योगदानलाई बिर्सिनु हुँदैन। उनले फेसबुक पोष्टमा प्रयोग गरेका शब्दहरू, उनका तमाम अन्तर्वार्ता र कार्यशैली हेर्ने हो भने उनमा पर्याप्त अहंकार भएको प्रष्ट बुझिन्छ। अब यही प्रवृतिले उनलाई ध्वस्त बनाउने छ।” 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले साउन १८ गते फेसबुकमा पोस्ट गरेको स्टाटसमाथि उनकै पार्टीका पूर्वनेता तथा सहकर्मी मोहन चौधरीले यस्तो प्रतिक्रिया लेखे। रेशमले थारू अगुवाहरू नै आफू जेलबाट छुट्न बाधक बनेको र भाग नपाएपछि आफूविरुद्ध जथाभावी बोल्दै हिँडेको आरोप फेसबुक स्टाटसमा लगाएका थिए।

गत जेठ १५ गते गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट माफीमिनाहा पाएपछि जेलबाट छुटेका रेशम पछिल्लो समय सुदूरपश्चिम प्रदेश ओहोरदोहोर गरिरहेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचन हुँदा रेशम टिकापुर हत्याकाण्डका ‘फरार अभियुक्त’ थिए। फरार अवस्थामै वारेसमार्फत् उम्मेदवारी दिएर उनी कैलालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि अदालतमा आत्मसमर्पण गरेका उनले जेलबाट आएरै प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए। 

जेलमै रहँदा उनले आफू संरक्षक रहेर नागरिक उन्मुक्ति पार्टी गठन गरे। यो पार्टीले २०७९ को स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पश्चिम तराईमा नसोचेको सफलता हात पार्‍यो।

यो नतिजालाई जेलमा रहेका रेशमप्रतिको सहानुभूतिका रुपमा हेरिएको थियो। तर जेलबाट छुटेपछि रेशम आफैले बोलिरहेका कुरा र गरिरहेका गतिविधिका कारण त्यो सहानुभूति क्रमशः घट्दै गएको उनकै सहकर्मी र जिल्लाबासीहरू बताउँछन्। पछिल्लो समय उनले आफूलाई थारू आन्दोलनको मसिहा र सम्पूर्ण थारू समुदायको एक्लो नेता ठान्दै अब आफूलाई कसैको साथ नचाहिने खालको हाउभाउ प्रस्तुत गरिरहेको उनकै पार्टीका नेताहरूको आरोप छ। 

गत मंसिर ४ गते भएको निर्वाचनमा उनको पार्टीले प्रतिनिधिसभामा चार सिट र सुदूरपश्चिम प्रदेशसभामा ७ सिट जित्यो। अहिले प्रदेशमा उनको पार्टी निर्णायक छ भने केन्द्रमा सत्तागठबन्धनमा सामेल छ। तर नागरिक उन्मुक्तिकै पूर्वनेता तथा रेशमका सहकर्मी मोहन अगामी निर्वाचनमा नागरिक उन्मुक्तिले बढीमा एक सिट जित्ने दाबी गर्छन्। 

“जनतामा पहिलाजस्तो रेशमको हाई-हाई अब बाँकी छैन। उनको लोकिप्रियता ओरालो लाग्दै गएको छ। यसको कारण उनी आफैँ हुन्,” मोहन भन्छन्, “यस्तै घमण्डी प्रवृत्ति उनमा रहिरह्यो भने बाँकी रहेको लोकप्रियता पनि धेरै दिन टिक्ने छाँटकाँट देखिँदैन।” 

‘धोकेबाज हुन् रेशम’
प्रतिनिधिसभा निर्वाचनताका नागरिक उन्मुक्ति पार्टीले चुनाव जितेपछि लाल आयोग (टिकापुर घटना लगायत तराई–मधेशमा भएका हिंसात्मक घटनाको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग) को प्रतिवेदन सार्वजनिक गराउने वाचा गरेको थियो। रेशमलगायत जेलभित्र रहेका सबैलाई रिहा गराएर निर्दोष साबित गर्ने भन्दै जिल्ला-जिल्लामा अभियान पनि चलाएको थियो। जिल्लावासीहरूले उनीहरू निर्दोष हुँदाहुँदै पनि वर्षौंदेखि कैदीको जीवन बिताइरहनुपरेकाले सहानुभूतिस्वरूप रेशमको पार्टीलाई मत दिए।

परिणाम, नागरिक उन्मुक्तिले प्रत्यक्षमै चार सिट जित्यो। पार्टी अध्यक्ष रहेकी रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ संघीय सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन्। श्रेष्ठ मन्त्री बनेको अढाई महिनामै रेशम रिहा भए।

तर उनी आफूमात्र रिहा भए। उनीसँगै टिकापुर घटनामा संलग्न रहेको अभियोग पुष्टि भएका चारजना अझै जेलमा छन्।

नागरिक उन्मुक्ति पार्टीले चुनावताका मत बटुल्न जनतासँग गरेको वाचा अहिले बिर्सिसकेको कैलालीस्थित रेशमका छिमेकी रामकृष्ण चौधरी बताउँछन्। कैलालीका जनताले उनलाई देवताझैँ मानेर चुनाव जिताए पनि धेरैलाई अहिले पश्चाताप भइरहेको टिप्पणी उनले गरे। 

“जतिबेला उनी जेलमा थिए त्यतिबेला यहाँका मान्छेहरूलाई उनीप्रति सहानुभूति थियो। यहाँका जनताका लागि भगवानपछिका दोस्रो भगवान उनै थिए। उनलाई जेलमुक्त गर्नका लागि यहाँ सबै मरिमेट्न तयार थिए,” उनी भन्छन्, “तर रेशम धोकेबाज भएर निस्किए। जेलबाट छुट्नेबित्तिकै उनमा अहम् आउन थाल्यो। जेलबाट पनि आफू मात्रै निस्किए। यहाँका अधिकांश जनताले आगामी निर्वाचनमा कुनै हालतमा रेशमलाई मत नदिने भनेर सोचिसकेका छन्। दिनुपर्ने कारण पनि अब रहेन।” 

बाँकी साथीहरूको पर्वाह नै नगरी जेलबाट एक्लै छुट्नु र छुटेपछि पहिलेको बोली–व्यवहारमा परिवर्तन आउनु नै रेशमप्रति आफूहरूको विश्वास उठ्नुको मुख्य कारण भएको कैलालीका सामाजिक अभियन्ता माधव थारू बताउँछन्। पार्टीबाहिर मात्रै नभएर भित्रै पनि उनीप्रतिको 'क्रेज' एकदमै घटेको उनको भनाइ छ। 

“उनले हाम्रो मतको कदर गरेनन्। जनताकै मतको कदर नभएपछि परिणाम के हुन्छ त्यो सबैलाई थाहा भएकै कुरा हो। पार्टीमा सर्वेसर्वा भएर आफ्ना इष्टमित्र र सहयोगीहरूलाई बेवास्ता गरे,” उनी भन्छन्, “गरेको वाचा पूरा गरेनन्। त्यसकारण यहाँका जनता उनीसँग निराश छन्। यस्तो रवैयाले उनी र उनको पार्टीको भविष्य अब धेरै लामो नहुने देखाएको छ।”

नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष, संगठन विभाग प्रमुख तथा प्रदेशसभा सांसद लक्ष्मणकिशोर थारू पनि पछिल्लो समय रेशमको गतिविधिमा परिवर्तन आएको टिप्पणी गर्छन्। पार्टीपंक्तिमा पनि रेशमको एकलौटीपन बढ्दै गएको उनी बताउँछन्। “रेशमजी खाल्डोमा फस्नुभएको थियो। उहाँलाई खाल्डोको दलदलबाट निकाल्ने हामी नै हौँ। यो कुरा बिर्सिनु हुँदैन,” उनी भन्छन्, “उहाँको व्यवहार केही समयमै परिवर्तन भएर थारू समुदायअनुकूल भएन भने नागरिक उन्मुक्तिसँगै उहाँ पनि हराएर जानेमा कुनै शंका छैन।”  

परिवारमोहको आरोप

बर्दियाका मोहन चौधरी रेशमको नजिकका साथीहरूमध्ये एक हुन्। गएको प्रतिनिधिसभा निर्वाचनमा रेशम आफैँ बर्दियाबाट निर्वाचन लड्न चाहन्थे। कैलालीमा आफ्नो क्षेत्रबाट श्रीमती रञ्जितालाई उम्मेदवार बनाएर उनले बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए।
तर हत्या अभियोगमा दुई तहका अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएको, यो मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले निर्वाचनसम्बन्धी कानूनअनुसार उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो। यो कानूनी प्रक्रियाबारे पहिल्यै जानकार रहेका रेशमले बर्दिया–२ बाट आफ्नो बुवा लालबिर चौधरीलाई स्वतन्त्र उम्मेदवारी दर्ता गर्न लगाएका थिए।

आफ्नो उम्मेदवारी खारेज भएपछि उनले स्वतन्त्र उम्मेदवार लालबिरलाई नै पार्टीले सघाउने निर्णय गराए। 

उम्मेदवारी दर्ता गर्नुअघि नै रेशमको उम्मेदवारी खारेज हुनसक्ने चर्चा पार्टीभित्र चलेको थियो। नागरिक उन्मुक्तिको बर्दिया जिल्ला कार्यसमितिले उनी आफै नउठेर अरु कोहीलाई उम्मेदवार बनाउनुपर्ने सुझाव रेशमलाई दिएको पनि थियो। तर रेशमले त्यो सुझाव अटेर गरेर आफ्नो उम्मेदवारी दर्ता गराएको र बुवालाई स्वतन्त्र उम्मेदवार दिन लगाएको मोहनले उकालोसँग बताए।

“त्यतिबेला रेशम जेलमै थियो, मसँग फोनमा कुरा हुँदा उसले आफैँ निर्वाचन लड्छु भनेको थियो। आफूले गठबन्धनबाट ‘ग्रीन सिग्नल’ पाइसकेको र अदालतले पनि चुनाव उठ्न खासै अवरोध नगर्ने देखिएकाले म आफै सो क्षेत्रबाट लड्छु भनेको थियो,” उनी भन्छन्, “तर अन्तिम समयमा उसले चुनाव लड्न पाएन, त्यसपछि बुवाको उम्मेदवारीलाई सघाउने निर्णय गरायो। त्यतिखेर पार्टीका नेताहरूले असन्तुष्टि जनाएका थिए। परिणामस्वरुप रेशमको बुबालाई निर्वाचन जित्न निकै कठिन पनि भयो।”  

निर्वाचनका बेलादेखि नै रेशम परिवार-मोहबाट ग्रसित भएको उनी बताउँछन्। सोही कारण थारू समुदायका अधिकांश मान्छेहरू रेशमलाई आफ्नो नेता मान्न तयार नभएको उनको भनाइ छ।

मोहनले पनि निर्वाचन सकिएको दुई सातापछि पार्टीबाट राजीनामा दिए। 

नागरिक उन्मुक्ति पार्टीको राजनीतिक समितिका संयोजकसमेत रहेका नेता सुरेन्द्र चौधरीले गत चैत २४ गते पार्टी नै जेलबाट चल्न थालेको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए। पार्टीको विधि, विधान र पद्धतिलाई बेवास्ता गर्दै पार्टीमा रेशम चौधरीको निर्णय नै सर्वेसर्वा हुन थालेपछि त्यहाँ बस्न उचित नठानेको उनी बताउँछन्।

“पार्टीमा सर्वेसर्वा नै उहाँ हो। जेलमा हुँदा उहाँ जेलबाटै आदेश दिनुहुन्थ्यो। उहाँको अगाडि पार्टीको विधान, समिति र तहतप्काहरूको कुनै मूल्य छैन,” चौधरीले उकालोसँग भने, “मैले रञ्जिताजीलाई पहिला नै भनेको थिएँ- पार्टी यसरी चल्दैन, आन्तरिक लोकतन्त्र मानौँ। तर उहाँले मान्नुभएन। डिल्लीबजारलाई नै पार्टीको हेडक्वाटर मान्न थालेपछि म छाडेर हिँडेँ।”

रेशमले समुदायलाई बेवास्ता गरेकाले आफूहरूले पनि उनलाई ‘बाइकट’ गर्न थालेको उनकै छिमेकी रामकृष्ण चौधरी बताउँछन्।

“हाम्रो मत र योगदानको कदर नै नगर्ने मान्छेलाई हामीले पटक-पटक किन जिताइरहनुपर्‍यो? उनी को हुन् हामी अब चिन्दैनौँ,” उनी भन्छन्, “सारा नातागोता र परिवारवादमा मात्रै लाग्ने मान्छेलाई हामी आफ्नो नेता मान्न सक्दैनौँ। कुनै समय नेता मानेका थियौँ। इज्जत र सम्मान दिएका थियौँ तर अब दिँदैनौँ।”

नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापा भने रेशम र पार्टीको लोकप्रियता घटेको नभई दिनदिनै बढ्दै गएको दाबी गर्छन्। परिवारवाद र सत्ता स्वार्थको आडमा सहयोगीहरूलाई बिर्सेको भन्ने आरोप आधारहीन भएको उनको दाबी छ। 

“विरोध गर्नेहरूलाई रोक्न त कसरी सकिन्छ र? तर हाम्रो पार्टीसँग अन्य साना पार्टीहरू एकता गरिरहेकै छन्। जनताले हामीलाई रुचाएकै छन्,” थापाले भने, “पार्टीभित्र केही असन्तुष्टिहरू छन् जुन स्वाभाविक पनि हो। जति जना सांसद छन् ती सबैलाई मन्त्री बनाउन त सकिँदैन नि। पार्टीभित्रका असन्तुष्टिहरू विस्तारै समाधान हुँदै जान्छन्। बाँकी सबै अफवाह मात्रै हुन्।”


सम्बन्धित सामग्री