Tuesday, April 30, 2024

-->

जफत गरिएको तस्करीको सुन सरकारले बेच्छ, पाँच वर्षमा राष्ट्र बैंकले किन्यो ३७७ किलो

विभिन्न निकायले जफत गरेको सुन कानूनी प्रक्रिया पूरा गरेपछि राष्ट्र बैंकले खरिद गर्ने गरेको छ। दुई हप्ताअघि जफत १०० किलो सुन भने अनुसन्धानका लागि टक्सार महाशाखामा नेपाली सेनासहितको सुरक्षामा राखिएको छ।

जफत गरिएको तस्करीको सुन सरकारले बेच्छ पाँच वर्षमा राष्ट्र बैंकले किन्यो ३७७ किलो 

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचपास भएर बाहिरिएको करिब १०० किलो सुन गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्‍यो। उक्त सुन स्कुटरको ‘ब्रेक शु’मा लुकाएर हङकङबाट आउने जहाजमार्फत नेपाल भित्र्याइएको थियो। राष्ट्र बैंकको टक्सार महाशाखाले ‘ब्रेक शु’ सहित नापतौल गर्दा १५५ केजी भएको सार्वजनिक गरिएको छ।

सुन तस्करीका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। सुन भने राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा राखिएको छ। यसरी तस्करीलगायत गैरकानूनी रूपमा कारोबार भएको सुन जफतपछि के गरिन्छ?

यसरी जफत भएको सुन सरकारको हुन्छ। यस्तो सुन राष्ट्र बैंकले किन्ने गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखा सुन किन्ने निकाय हो। पछिल्लो पाँच वर्षमा भन्सार छलेर ल्याइएको, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले नियन्त्रणमा लिएको र अन्य कारणले जफत भएको ३७७ किलो सुन महाशाखाले खरिद गरेको छ। 

महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि गत आर्थिक वर्ष २०७९/८० सम्ममा ३७६ किलो ९६९ ग्राम सुन केन्द्रीय बैंकले खरिद गरेको छ। यो सुन २ अर्ब १२ करोड १२ लाख ५६ हजारमा खरिद गरिएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। यो तथ्यांकअनुसार, जफत भएको सुनमध्ये राष्ट्र बैंकले पछिल्लो पाँच वर्षमा वार्षिक औसतमा ७५ किलो खरिद गरेको छ। 

तर, जफत गरिएको सुन महाशाखाले किन्न निश्चित कानूनी प्रक्रिया पूरा हुनुपर्छ। यस्तो सुनमा मुद्दा पर्नसक्ने हुनाले प्रक्रिया पूरा गर्नु अनिवार्य भएको आचार्य बताउँछन्।

“नेपाल प्रहरी, राजस्व अनुसन्धान विभागलगायतका निकायहरूले बरामद गरेको सुन बरामदकर्ता निकायले कानूनी प्रक्रिया पूरा भएको जानकारी दिएर पत्र पठाएपछि गाल्ने र शुद्धता जाँच्ने गरिएपछि खरिद हुन्छ,” आचार्य भन्छन्।

जफत भएको सुनमा कसैको दाबी नपुगे मात्र राष्ट्र बैंकले सुन खरिद गर्छ। त्यसका लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यलाई आधार मानेर त्यसमा पाँच प्रतिशत थप गरी सरकारको खातामा पैसा जम्मा गरिदिन्छ।

टक्सार महाशाखा प्रमुख आचार्य भन्छन्, “भन्सार छली गरिएको, चोरीको, सम्पत्ति शुद्धीकरणले नियन्त्रणमा लिएको र ठगीपछि पक्राउ गरिएको लगायत सरकारले जति पनि जफत गर्छ, त्यो सुनको गुणस्तर नापेर राष्ट्र बैंकले खरिद गर्छ। त्यसका लागि सरकारी खातामा रकम जम्मा गरिदिनुपर्छ।”

पछिल्लो पाँच वर्षमा राष्ट्र बैंकले अवैध रूपमा ल्याइएको र अन्य कारणले जफत गरिएको समेत ९९४ किलो चाँदी पनि खरिद गरेको छ। त्यसको मूल्य ५ करोड ६७ लाख ४७ हजार रहेको टक्सार महाशाखाले जनाएको छ।

के हुँदैछ पछिल्लोपटक बरामद १०० किलो सुन?
पछिल्लोपटक बरामद करिब १०० किलो सुन राजस्व छलीको विषय भएको भन्दै राजस्वअनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। यसमा प्रहरीले अनुसन्धान गरेको छैन। विभागको आग्रहअनुसार प्रहरीले सहयोग मात्र गरिरहेको छ। राजस्व छलीबाहेकका विषयमा विभागले पत्र लेखे वा सहयोगका लागि आग्रह गरे मात्र प्रहरीले अनुसन्धान गर्न सक्छ।

उक्त सुन साउन ३ गते क्याथे प्यासिफिक एअरलाइन्सको उडानमार्फत हङकङबाट नेपाल ल्याइएको थियो। विभागको टोलीले जफत गरेपछि नेपाली सेनाको रोहबरमा राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा राखिएको छ।

ब्रेक शुसहित १५५ किलो भए पनि त्यसबाट सुन छुट्याइएको छैन। राजस्व अनुसन्धान विभागले पत्र पठाएपछि मात्र टक्सार महाशाखाले ब्रेक शुबाट सुन छुट्याएर गाल्नेदेखि शुद्धता जाँच गर्ने आचार्य बताउँछन्। गाल्नका लागि विभागले उक्त सुनमा कुनै विवाद नभएको आशयको पत्र पठाउनुपर्ने उनको भनाइ छ। 

हाल टक्सार महाशाखामा सुन राखिएको ठाउँको चाबी नेपाली सेना, राजस्व अनुसन्धान विभाग र टक्सार महाशाखासँग हुन्छ। “टक्सारले सुनको भण्डारण र सुरक्षित गरिदिने काम गर्छ, नापजाँच वा अन्य कामका लागि तिनै निकायका प्रतिनिधिको रोहबरमा मात्र सुन राखिएको स्थानमा जान सकिन्छ” आचार्यले भने।

टक्सार महाशाखासँग रहेको सुन पगाल्ने मेसिन।

राष्ट्र बैंकका आन्तरिक लेखा परीक्षण विभाग र टक्सार महाशाखा, राजस्व अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिसहित आठदेखि १४ जनाको प्रत्यक्ष उपस्थितिमा सुन गालिन्छ। टक्सार महाशाखाले ब्रेक शुबाट सुन छुट्याएर गालेको प्रत्यक्ष प्रसारण गर्ने योजना बनाएको आचार्यले बताए।

सुनलाई पगालिसकेपछि त्यो कुन ‘टच’को हो भन्ने निर्क्योल गरिन्छ। सुनलाई विभिन्न क्यारेटमा वर्गीकरण गरिए जस्तै राष्ट्र बैंकले गुणस्तरलाई टचका रूपमा परिभाषित गर्छ। त्यसरी मापन गर्दा ९.९९९ टचको सुनलाई शुद्ध मानिन्छ।

सुन गाल्न कति समय लाग्छ?
टक्सार महाशाखासँग सुन गाल्नका लागि एउटा मात्र मेसिन छ। यो मेसिनले एक पटकमा १० किलो सुन गाल्न सक्छ। त्यसका लागि कम्तीमा २० मिनेट समय लाग्छ। १०० किलो सुन गाल्न १० खेप गर्नुपर्छ र लगातार गाल्दा कम्तीमा साढे तीन घन्टा लाग्छ।

तर सुनको गुणस्तरअनुसार गाल्न लाग्ने समय फरक हुने राष्ट्र बैंकका अधिकारी बताउँछन्। धेरैखाले सुन मिश्रित भए बढी समय लाग्ने ती अधिकारीको भनाइ छ। “अहिले बरामद सुन मिश्रित नहुन सक्छ। त्यसो हुँदा एकपटकमा १० किलो सुन २० मिनेटमा गाल्न सकिन्छ,” उनले भने।

सुन लगातार गाल्न भने मिल्दैन। प्रत्येक खेप २० मिनेटको अन्तरमा गाल्दा एकै दिनमा सकिने विषयमा छलफल चलिरहेको महाशाखा प्रमुख आचार्य बताउँछन्। राजस्व अनुसन्धान विभागले तस्करको गोदाममा छापा मार्दा सोह्रखुट्टे र टोखाबाट सुन गाल्न प्रयोग हुने चार वटा मेसिन बरामद भएको थियो। टक्सार महाशाखासँग भएको एउटासहित बरामद चार वटा मेसिन प्रयोग गरेर सुन पगाल्ने विषयमा राजस्व अनुसन्धान विभागका महानिर्देशकसँग पनि कुरा गरेको आचार्य बताउँछन्।

१०० किलो सुन एकै दिनमा गालिसके पनि शुद्धता परीक्षण एकै दिनमा सकिँदैन। शुद्धता जाँच गर्न तीनदेखि चार दिनसम्म लाग्न सक्ने आचार्यको भनाइ छ।


सम्बन्धित सामग्री