राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्रहालयको अवलोकन गरेका छन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन्। 

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्रहालयको समेत अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए। 

सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले उक्त क्षेत्रको जानकारी गराएका थिए।