आफ्ना तितामिठा भोगाइहरूलाई नै समीक्षाले परिवर्तनतर्फ मोडिने फड्को बनाउँदै गइन्। त्यही क्रममा राजनीतिमा होमिएकी उनी विवेकशील साझा पार्टीमा लागेको पाँच वर्षमै महाधिवेशनबाट निर्वाचित पहिलो अध्यक्ष भइन्।
काठमाडौँ– उपत्यकाभित्रको ललितपुर, ०४० को दशकमा अहिले जस्तो थिएन। त्यही समय हो, समीक्षाले पाँचथर, फिदिमसँगको सम्बन्धमा दूरी बढाएको। फिदिमको हुर्काइबढाइलाई बिर्संदै काठमाडौँसँग सम्बन्ध गाँस्नुपरेको उनको बाल्यकालताका नेपाली समाज ‘छोरी पढाउनु हुँदैन’ भन्ने (कु)संस्कारबाट ग्रसित थियो।
राजनीतिज्ञसमेत भएका कारण समीक्षाका बुवा दीपकप्रकाश बास्कोटा त्यो मानसिकताबाट मुक्त थिए। पाँचथरको बारी बेचेर भए पनि आठ सन्तानलाई शिक्षादीक्षा दिने उद्देश्यसहित काठमाडौँमा हुर्काइरहेका थिए उनी। त्यही सिलसिलामा समीक्षा काठमाडौँ आइपुगेकी थिइन्।
उनको पारिवारिक डेरा ललितपुरको सानो दक्षिणकालीमा थियो। डेरानजिकै दिनहुँ दाहसंस्कारका लागि ल्याइने शवमा मानिसहरू दागबत्ती दिइरहेका हुन्थे। मान्छे जलेर खरानी भएको दृश्य डेराबाटै देखिन्थ्यो। एक दिन ‘मानसिकता जलेर खरानी भएको मान्छे’सँग समीक्षाको नबिर्सिने घटना भयो।
त्यसबेला उनी कक्षा ४ मा पढ्दै थिइन्। हिउँदको समय थियो, पाटन अस्पतालबाट सानो दक्षिणकालीतिर जाने साँघुरो बाटो। रात परिसकेकाले समीक्षाले छोटो बाटोबाट डेरा पुग्ने योजना बुनिन्। त्यहीबेला एकजना अपरिचित व्यक्तिको आपराधिक हर्कतले पारेको चोट उनको मनमस्तिष्कबाट अझै मेटिएको छैन।
३० वर्षअघिको त्यो कथा समीक्षाले उकालोसँग बताइन्, “हाम्रो शहर र सडक पहिलादेखि नै असुरक्षित छन्। बाटोमा हतारसँग हिँडिरहेका बेला नचिनेको मान्छे आएर मेरो छातीमा यसरी छोयो कि जसलाई म कसैगरी बिर्सिन सकिरहेको छैन। यो कुरा आजसम्म मैले कसैलाई भनेको थिइनँ, तपाईंहरूलाई भन्ने मौका पाएँ। ८/९ वर्षको केटी मान्छे म। डेरामा पुगेर आफैँलाई प्रश्न गरिरहेँ– मलाई त्यो मान्छेले किन त्यसरी छोयो होला? मनमा खुल्दुली लागिरह्यो। पक्कै पनि म छोरी भएर होला भन्ने निष्कर्षमा पुगेँ। त्यसैबेला अब छोरी होइन, छोराजस्तो देखिनुपर्छ भन्ने छाप दिमागमा बस्यो।”
त्यही घटनाले समीक्षालाई आफ्नो सुरक्षा आफैँ कसरी गर्ने भन्नेबारे सोच्न बाध्य बनायो। पछि संगत पनि केटासँग गर्न थालिन्। मिल्दोजुल्दो हुलिया बनाइन्। कक्षा १० उत्तीर्ण गर्दासम्म उनका साथीहरूमा केटाहरू नै बढी थिए।
०५० को दशकमा उनलाई उस्तै प्रकृतिको अर्को आपराधिक घटनाको सामना गर्नुपर्यो। २०५६ सालतिरको कुरा हो। ललितपुरकै हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुलबाट एसएलसी उतीर्ण गरेपछि घर परिवारबाट समीक्षाले सुनको सिक्री उपहार पाइन्। सानैदेखि सोह्रशृङ्गारमा रुचि नभए पनि पारिवारिक स्नेहको प्रतीक उक्त सिक्री उनले आफ्नो गलामा लगाएकी थिइन्। सडकमा हिँडिरहेका बेला एक अपरिचित व्यक्तिले पछाडिबाट मोटरसाइकलमा आएर उनको त्यही सिक्री चुँडाएर लग्यो।

खुला सडकमा भएको त्यस घटनाले समीक्षामा गहनाप्रतिको मोह भंग गरायो। “पहिला पनि गरगहनाको रहर थिएन। अलिअलि बाँकी रहेको चाख पनि त्यो घटनासँगै समाप्त भयो। फेरि पनि म महिला भएकै कारण त्यस्तो भएको हो भन्ने लाग्यो,” उनले भनिन् ।
तेस्रो घटना समय र परिवेशका कारण अझ संवेदनशील छ। समीक्षाले औपचारिक रूपमा राजनीतिक जीवन शुरू गरेपछिको वर्ष। त्यतिबेला विवेकशील साझा पार्टीले आफूलाई वैकल्पिक शक्तिको मूलधार मान्थ्यो। समीक्षा भर्खरै सोही पार्टीको बागमती प्रदेश संयोजक भएकी थिइन्।
त्यो दिन अर्थात् २०७५ साउन १९ गते। ६ वटा जिल्लाका पार्टी संयोजक घोषणा गर्न काठमाडौँमा भोलिपल्ट आयोजना हुने कार्यक्रमको तयारी चल्दै थियो। पार्टीकै कामले समयमा घर पुग्न सक्ने अवस्था भएन। रात छिप्पिइसकेको भने थिएन। पार्किङबाट गाडी निकालेर गेटमा पुगेपछि समीक्षाको कानले चार/पाँच जनाको स्वर एकैपटक सुन्यो। हलको बाहिर गेटमा विवेकशील साझाका नेताबाहेक अरू कोही थिएनन्। उनीहरू ‘...जस्ता पनि नेता?’ भन्दै गीत गाएको शैलीमा जिस्क्याउँदै समीक्षाको अगाडि धुरिए। त्यसलाई खासै महत्व नदिई सामान्य प्रतिक्रिया जनाएर उनी घरतिर लागिन्।
तर, जति अघि बढ्यो उति नै उनको मनमा कुरा खेल्दै गयो। एउटा बिन्दुमा पुगेर मन अमिलो भयो। घर पुगेपछि भित्रभित्रै अनेक प्रश्नहरू मडारिन थाले। आफूमाथि आफ्नै पार्टीका नेताहरूले सामूहिक दुर्व्यवहार गरेको सहन नहुने निष्कर्षमा पुगिन्। त्यसपछि तुरुन्तै जुन गाडीमा गएकी थिइन्, त्यसैमा चढेर कार्यालय फर्किइन्। दुर्व्यवहार गर्ने समूहसामु गएर प्रश्न गरिन्, “मलाई अघि जिस्क्याउने को हो? गीत गाएको कसले हो? त्यो टोन कसको हो?”
उनका प्रश्नले पार्टी कार्यालयको माहोल एकाएक तातियो। पार्टीका नेता/कार्यकर्ता सबै जम्मा भए। घटनाको सत्यतथ्य बुझ्न पार्टीनेता किशोर थापाको नेतृत्वमा छानबिन समिति बन्यो। सीसीटीभी फुटेज हेरियो। नेता/कार्यकर्तामा त्यो विषयले बहस पैदा गर्यो। तर, दुर्व्यवहार गर्ने व्यक्ति छानबिनबाट पनि पत्ता लागेन। त्यस घटनाले छाडेको नमिठो छापबारे उनले भनिन्, “मैले अरू पार्टीमा महिला नेताहरूमाथि हुने व्यवहारबारे सुनेको थिएँ। वैकल्पिक राजनीति गर्छु भन्ने मेरै पार्टीमा त्यस्तो भयो।”
उक्त घटनाबारे समीक्षाको टिप्पणी छ, “वैकल्पिक राजनीति गर्नेहरू कुनै अर्को ग्रहबाट आएका होइनन्। उनीहरू पनि यही पितृसत्तात्मक सोचबाट हुर्केबढेका हुन् जसलाई मैले नजिकबाट ब्यहोरेँ।”

उल्लिखित तीन घटना समीक्षाले स्मृतिका पानामा कोरेकी छन्। बेलाबखत पाना पल्टाउँदा मन चिसो पार्छिन्। भन्छिन्, “यी मैले बिर्सिन नसक्ने घटना हुन्। सम्झिँदा मनमा छटपटी हुन्छ, अझै अत्तालिन्छु। तर, त्यही यादले नै मलाई महिला अधिकारका लागि नेपाली समाजमा गर्नुपर्ने काम धेरै छन् भन्ने बोध गराइरहन्छ।”
ती वकिल, यी नेता
लगनखेलको पिनाकल एकेडेमीबाट मानविकी र समाजशास्त्रमा कक्षा १२ सकेपछि समीक्षालाई समाजसित घुलमिल हुने चाख जाग्यो। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको काठमाडौँ स्कुल अफ लबाट उनले कानूनमा स्नातक (एलएलबी) गरिन्। स्नातकोत्तर (एलएलएम) अध्ययनका लागि भने अमेरिकाको सेन्ट जोन विश्वविद्यालयमा छात्रवृत्ति पाइन्। २०६६ सालमा ‘मेजर कर्पोरेट ल’मा स्नातकोत्तर गरेकी समीक्षाले सोही विश्वविद्यालयमा ‘रिसर्च फेलो’को रूपमा कामसमेत पाइन्। तर ‘देशमै फर्किएर केही गर्नुपर्छ’ भन्ने हुटहुटीले उनलाई अमेरिका बस्न दिएन।
अमेरिका छाडेर उनी २०६७ सालमा नेपाल फर्किइन्। त्यहाँको विमानस्थलबाट विदाइ गर्ने बेला साथीभाइले भनेको उनलाई सम्झना छ, “अमेरिकामै काम गर्न वर्क परमिट पाइसकेको मान्छे नेपाल फर्कनु मूर्खता हो भन्थे। नेपालमै केही गर्ने सोचले कसैको कुरा नसुनी फर्किएँ।”
वकालतको उद्देश्य बोकेर नेपाल आएकी समीक्षा बैंकमा जागिरे भइन्। सिभिल बैंकको कानूनी शाखामा केही अनुभव बटुलिन्। उनको उद्देश्य बैंकमा सीमित हुनु थिएन। २०६९ सालतिर आफ्नै ‘ल फर्म’ दर्ता गरिन्। ‘लिगल काउन्सिलिङ एन्ड रिसर्च सेन्टर’ खोलेर वकालत गर्ने काममा लाग्दा पुग्दो आम्दानी भइरहेको थियो। मान सम्मानको पनि कमी थिएन। तर एकदिनको अप्रत्याशित घटनाले उनमा राजनीतिको बाटो समाउने सोचको बिजारोपण गरिदियो।
२०७० सालतिर समीक्षा काठमाडौँको पुतलीसडकस्थित कार्यालयमै बसिरहेकी थिइन्। एक पुरुष सेवाग्राही टुप्लुक्क आइपुगे जसले उनीसँग यस्तो संवाद गरेः
सेवाग्राहीः वकिल सा’ब कता हुनुहुन्छ?
समीक्षाः समस्या के हो भन्नुहोस्, मै हुँ वकिल।
सेवाग्राहीः अर्को वकिल सा’ब हुनुहुन्न?
समीक्षाः यहाँ अर्को कोही छैन, म मात्रै हुँ।
त्यति प्रश्नोत्तरलगत्तै ती सेवाग्राही आफ्नो बाटो लागे। समीक्षाको मनमा भने अनेक प्रश्न हुँडलिए।

“अर्को वकिल भनेर हाम्रो समाजले टोपी हेरेर पत्याउने गरेको कुनै पुरुष वकिल खोजिएको थियो। एउटा महिला वकिलले आफ्नो मुद्दा हेर्न र अदालतमा बहस गर्न सक्दैन भन्ने अविश्वासको अभिव्यक्ति थियो त्यो। पुरुषको साथबिना ल फर्म चल्न सक्दैन भन्ने ती सेवाग्राहीको सोच नै भ्रमपूर्ण थियो। त्यो घटनाले म भित्र चाहिँ अब राजनीति गर्नुपर्छ भन्ने सोच बलियो बनाइदियो,” त्यसलाई समाजको चेतनासँग दाँजेर समीक्षाले टिप्पणी गरिन्, “त्यहाँ एक व्यक्तिको दोष थिएन। दोष त हाम्रो सामाजिक संरचनाको थियो। पुरुष वकिल खोज्ने त्यो एकजनाको पछाडि सिंगो समाज लामबद्ध थियो। त्यही अस्वस्थ सोचमा बाँचिरहेको हाम्रो समाजको चिरफार गर्ने चाहना नै मेरो राजनीतितर्फको मुख्य मोड बन्यो।”
समीक्षालाई यस्ता तितामिठा भोगाइले हरेक पटक काँधमा दरिलो जिम्मेवारी बोकाएर जाने गरेको छ। त्यसैमध्येको एउटा अभिभारा स्वीकार्दै उनी राजनीतिमा होमिइन्। शुरूमा विवेकशील साझा पार्टीको सदस्य हुँदै पाँच वर्षको बीचमा पार्टीको महाधिवेशनबाट निर्वाचित पहिलो अध्यक्ष भइन्। त्यहाँसम्म पुग्न अरू जोकोहीले जस्तै उनले पनि अनेक चुनौतीसँग मुकाबिला त गर्नुपर्यो नै। तर अरूले भन्दा अलग शैलीमा उनले चाहिँ प्रत्येक चुनौतीलाई नै परिवर्तनको अवसरमा बदलिन्।
अवसर कसरी त? “हाम्रा लागि यो समाज त यसै पनि उदार छैन। परिवर्तनलाई लक्ष्य बनाएर क्रियाशील मूलधारको राजनीतिसमेत पटक्कै उदार देखिँदैन। त्यही अनुदार परिवेश नै म जस्ता महिला राजनीतिकर्मीको प्राथमिक कार्यक्षेत्र हो,” उनी जिम्मेवार सुनिन्छिन्। उनले सोचेजस्तो परिवर्तन कसरी सम्भव छ? विवेकशील साझा पार्टीले के गरिरहेको छ? समकालीन नेपाली समाज कहाँ छ? नारीलाई नेतृत्वमा ल्याउन कस–कसको कस्तो भूमिका जरुरी छ? नेतृत्वमा पुगिसकेका नारीलाई के–कस्ता चुनौतीहरू खेप्नुपर्छ? यी जिज्ञासाको जवाफ समीक्षाकै शब्दमाः
नारी र राजनीति
नारीहरू आफैँ राजनीतिमा आउन सक्ने गरी यो समाज कत्तिको उदार छ त? फर्केर आफैँलाई प्रश्न गर्दा निश्चय पनि छैन। किनभने हामीलाई सामान्य कुरा लाग्ने, आफ्नो ल फर्ममा बसेकी महिलालाई वकालत गर्न सक्षम नठान्ने मानसिकताबाट गुज्रेको पुरातनवादी र पितृसत्तात्मक सोच पालिरहेको समाजले एउटा महिला नेता हुन्छ भनेर सोच्छ? सोच्दै सोच्दैन। हाम्रो अवस्था पहिले त्यहीँबाट मूल्यांकन गर्नुपर्छ।
दोस्रो कुरा, सम्बोधनबाट बुझौँ। हामीले पुरुषलाई यो पुरुष नेता भन्छौँ र? अहँ, भन्दैनौँ नि। नाम लिएर नेता भन्छौँ, कुरा सकिन्छ। तर हामीलाई बोलाउँदा नामसँगै ‘महिला नेतृ’ किन जोडिन्छ? ‘महिला’ भन्ने शब्दले नै जनाइसकेपछि फेरि किन ‘नेतृ’ भन्नुपरेको? नेता भने त भइहाल्थ्यो। राजनीतिमा महिलालाई होच्याउने काम त्यहीँबाट हुन्छ। यो हाम्रो समाजको स्त्रीद्वेषी चरित्र हो। हाम्रै पार्टीका साथीहरूलाई पनि ‘महिला नेतृ’को सट्टा अब ‘नेता’ भन्नुहोस् भनेको छु। कसैले माने पनि, नमाने पनि महिला पनि ‘लिडर’ अर्थात् नेता हुन्। विवेकशील साझाले यो भाष्यलाई तोडेको छ। ‘नेता’ भन्ने शब्द महिला र पुरुष दुवैका लागि हो।

परिवारभित्र मेरो छोराले उसको आमालाई राजनीतिमा देख्छ, व्यवसायमा देख्छ। भान्सामा देख्छ, घरको काममा देख्छ। बाहिरी कामकाजमा देख्छ, घुमेको पनि देख्छ। प्रशिक्षणमा पनि देख्छ। तर पनि उसले पढ्ने स्कुलको किताबमा त्यस्तै देख्छ कि देख्दैन त्यो हेर्नुपर्यो। कक्षा १ मा पढ्ने छोराको किताबमा के छ भने ‘आमा घरको काम गर्नुहुन्छ, बुवा अफिस जानुहुन्छ। हजुरआमा बत्ती कात्नुहुन्छ, हजुरबुवा पत्रिका पढ्नुहुन्छ।’ यस्तो मानसिकताबाट हामी बाहिर आउने कि नआउने? यहीँनेर हाम्रो सोच परिर्वतन हुन जरुरी छ।
राजनीतिक दलमा पनि पहिला नेता मान्न सक्नुपर्यो। त्यसपछि मात्र भाषा, बोली र व्यवहार एउटै हुन्छ। विवेकशील साझाले यस्ता कुरालाई धेरै हदसम्म चिरेर अगाडि बढिसकेको छ। सँगसँगै अपेक्षाको स्तर पनि एकदमै माथि छ। महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव र चार जना सचिवमा महिला चुनिएर आएको नेपालको पहिलो पार्टी हो यो। अरूले पत्याऊन्, नपत्याऊन् विवेकशील साझाले नै यो परिर्वतन गरेको हो। त्योसँगै चुनौती पनि छ। महिला भन्दैमा कामै नगर्ने भन्ने होइन। काम गर्ने महिला भनेर पनि चिनाउनु जरुरी छ। हामी यस पाटोमा अझ बलियोसँग लागिरहेका छौँ।
समाज बदल्ने क्रान्ति घरघरमा जरुरी
हामीले बाहिर गएर बोल्ने महिला तयार नबनाएका होइनौँ। तर बाहिर गएर बोलेको कुरा घरमा लागु हुन्छ कि हुँदैन? घरभित्र जिम्मेवारीको बाँडफाँट हुन्छ कि हुँदैन? यो प्रश्न उच्च पदमा पुगेका महिलाहरूको घरमा समेत उठिरहेकै छ।
ठूला सचिवहरू, महिला सांसद् र मन्त्रीको घरमा छ। जो महिला सशक्तीकरण र जागरणको कुरा गर्नुहुन्छ, उहाँहरूको घरमा परिवर्तन आउन बाँकी छ।
श्रीमती सचिव नै भए पनि घरमा पुगेपछि परिवारको व्यवहार के हुन्छ? नेपाल सरकारको सचिव मेरो एकजना महिला साथीले आफ्ना सचिव श्रीमान्का बारेमा भन्नुभयो, हामी दुवै जना कामकाजी र त्यसमाथि समान पदमा छौँ, तर घर पुगेपछि उहाँलाई सचिव नै भइराख्नुपर्छ, मलाई सचिव भइराख्न पुग्दैन। भन्नुको मतलब यहाँ नपढेका, शिक्षादीक्षाबाट बञ्चित भएका महिलाहरूको मात्र त्यस्तो अवस्था होइन रहेछ। सुन्दा संवेदनशील नलाग्ने यो विषय गम्भीर छ।
हामी महिला सशक्तिकरणका कुरा गर्छौं। महिला सशक्त हुँदैगर्दा सँगै बस्ने पुरुष पनि सशक्त हुन जरुरी छ। त्यो भनेको कपडा महिलाले मात्र धुनुपर्छ भन्ने होइन, कहिलेकाही पुरुषले पनि धुनुपर्छ। शहरमा प्रायः वासिङ मेसिन चल्तीमा आएको छ। त्यसमा महिलाले नै कपडा हाल्नुपर्छ भन्ने के छ? त्यो काम महिलासँग बस्ने पुरुषले पनि गरून्। कोठा मिलाउने जिम्मेवारी सधैँ श्रीमतीको हुनुपर्छ भन्ने होइन, श्रीमान्ले पनि मिलाउनुपर्यो भनेर आवाज उठाइरहने मान्छे चाहियो। श्रीमतीको कपडा मैले पनि धुनुपर्छ भन्ने पुरुष चाहियो।

महिलालाई शानमानमा रमाउने सौखिन ‘श्रीमान्’को भूमिकाभन्दा छोराछोरीलाई स्कुल पठाउने जिम्मेवारीबाट छुटकारा दिने ‘साथी’ चाहियो। यी साना कुराहरू पहिला घरघरमा बुझाउन जरुरी छ। छोराले ‘म घरको काम गरेर बस्छु, श्रीमतीलाई बाहिर आफ्नो काममा पठाउँछु’ भन्दा स्वीकार गर्न सक्ने आमा हुनुपर्यो। त्यसको लागि तमाम आमाहरूलाई बुझाउन जरुरी छ। प्रत्येक परिवारका बा र छोराछोरीहरूलाई पनि त्यसैगरी तयार पार्न सक्नुपर्छ। छोरीहरूलाई अर्काको घर जाने कुरा सिकाउनु भएन। त्यो दोस्रो कुरा हो, पहिला आफ्नो खुट्टामा उभिन सक्षम बनाउनुपर्यो। यी कुरा हामीले बिस्तारै सिकाउने हो, आजको भोलि नै बदलिन्छ भन्ने होइन ।
पुरुषलाई बुझाउनुपर्ने दायित्व
मलाई अहिले सबैभन्दा डर लाग्ने कुरा के भने हामीले महिलालाई सशक्त बनाइरहँदा पुरुषलाई शिक्षित बनाउन बिर्सिरहेका छौँ। यसको परिणामले ईगो अर्थात् अहंकार निम्त्याउँछ। यस्तै कुराले समाजमा डरलाग्दा घटनाहरू बढिरहेका छन्। समाजको कुनै पनि परिवार राम्रोसँग अगाडि बढ्न सकिरहेको छैन।
पुरुषलाई छुटाएर दिइएको चेतना अपूरो भएका उदाहरण पनि छन्। हामी ‘ल स्कुल’मा पढ्दै गर्दा वैवाहिक बलात्कारको कुरा आयो। (अहिले सर्वोच्च अदालतको न्यायाधीश) सपना प्रधान मल्लहरू गाउँगाउँमा बुझाउन जानुभयो। तर महिला कक्षाहरूमा पुरुषहरूलाई नराखेकै कारण अप्ठ्यारो परिस्थिति निर्माण भयो।
पुरुषले जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेमा महिलालाई ‘नो’ भन्ने अधिकार त छ। तर, पुरुषलाई पनि महिलाहरूलाई ‘नो’ भन्ने अधिकार छ है भन्ने बुझाउन जरुरी थियो। त्यो नबुझाउने हो भने समाजमा हिंसाप्रतिहिंसा बढेर जान्छ। त्यसैले महिला र पुरुष दुवैको सहभागिता जरुरी छ। एकअर्काले मिलेर अहिलेभन्दा राम्रो अवस्था निर्माण गर्नुपर्छ भनेर सबैलाई बुझाउन जरुरी छ।
लैंगिक सन्तुलनमा प्रष्टता आवश्यक
समानताका कुरा गरेर हामीले सँगै भएका पुरुष साथीहरूको भाग खाइदिएको पक्कै होइन। आफ्नो अधिकार लिँदै गर्दा अर्काको हक खोसेर खाइदिने कुरा पनि भएन। त्यो बुझाइबाट समेत हामी सबै मुक्त हुनुपर्यो।
अर्को कुरा, महिलाले हामीसँग भएको हक पुरुषले खाइदिए भन्नु पनि भएन। हाम्रो समाज नै त्यसरी विकसित भएको थियो जहाँ महिलालाई दबाएर राखियो। त्यो ठाउँबाट हामीलाई उठ्न समय लाग्छ भने पुरुषले हात दिनुपर्यो। कामहरूको विभाजन र आयस्रोत पनि बाँडफाट हुनुपर्यो। निर्णयमा समान सहभागिता हुनुपर्यो।

समाजमा महिला र पुरुष एउटै रथका दुई पांग्रा हुन् भने कहिले एउटा, कहिले अर्को अगाडि होला। तर, दुवैको सन्तुलन जरुरी छ।
केही जिम्मेवारीहरू प्रकृतिले नै महिलालाई दिएको छ जसबाट हामी कहिल्यै भाग्न सक्दैनौँ। पुरुषलाई बच्चा जन्माउनुपर्छ भन्न त सकिँदैन नि। अर्थात् हामीसँग भएका विशेष गुणहरूलाई सकारात्मक रूपमा स्वीकार्नुपर्यो। आफूले पाएको जिम्मेवारीबाट भाग्नुभएन। यस्ता यावत् विषयहरूलाई हामीले सन्तुलित बनाउन सक्यौँ भने महिला र पुरुषको चक्र अगाडि बढ्न सक्छ।
असुरक्षित समाज, अनुदार राजनीति
हाम्रो सडक सुरक्षित छैन। हामी जति नै शिक्षित र संयमित भए पनि समाज कसरी हुर्किरहेको छ र कतातिर जाँदैछ भन्ने कुरा बिर्सिनु हुँदैन जुन कुरामा म निरन्तर सचेत छु। तथापि, मलाई अहिले पनि राति एक्लै हिँड्न डर लाग्छ। त्यो महिला भएकै कारण हो। हाम्रो समाज चार वर्षको बालिका वा ७० वर्षको वृद्धालाई पनि बलात्कार गर्ने समाज हो। बलात्कार गर्ने व्यक्ति दाजुभाइ, काका वा बाउकै रूपमा आउँछ कि कुनै अपरिचित व्यक्तिका रूपमा आउँछ त्यो हामीलाई थाहा हुँदैन।
सामाजिक संरचनाले सँगै ल्याएका यावत् कारणहरूले नै मलाई आफू सुरक्षित छु भन्ने नलागेको हो। त्यसमाथि हाम्रो शहरमा सडक ठीक छैन, राम्रो बत्ती छैन, प्रहरी चौकी छैन। अन्य कुनै सुरक्षा छैन। यसको मतलब हामीले हाम्रो सडक र शहर सुरक्षित बनाउन धेरै काम गरेकै छैनौँ। अमेरिकाको कुरा गर्नुहुन्छ भने राति १२ बजेसम्म पनि म एक्लै हिँड्न सक्छु। यहाँ त अहिलेकै अवस्थामा निर्धक्क हिँड्न सकिँदैन। यस्ता कुरामा सावधानी अपनाउनुपर्छ। सडक र बाटोघाटोमा मात्र नभएर राजनीति, व्यवसाय या अन्य कुनै पनि ठाउँमा परिस्थिति उस्तै छ।
अर्को कुरा, हाम्रो समाजमा महिलालाई हामी कमजोर छौँ भन्न सिकाइएको छ। मेरो शरीर अलि फरक होला तर कमजोर होइन। मलाई परेको खण्डमा मै बोल्छु भन्ने वातावरण निर्माण गर्न सक्नुपर्छ। मेरा लागि बाबुआमा, दाजुभाइ बोलिदिएर हुँदैन। आफ्नो लागि सबभन्दा पहिला त आफैँले बोल्न सक्नुपर्यो नि। सही या गलत के हो त्यो आफैँलाई सोच्न दिनुपर्यो। मलाई दुख्छ भने मैले नै ऐया भन्ने हो। मलाई दुखेकै छैन भने त म हाँस्छु नि, होइन र!
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
