लकडाउनका बेला छतबाट चराको फोटो खिच्न शुरू गरेका दशरथले हिमालको डाँफेमुनाल र अधिकांश वन्यजन्तुका फोटो खिचिसकेका छन्। उनको रहर चराको फोटो खिचेर नेपाललाई संसारसामु चिनाउने रहेको छ।
घाँटीदेखि माथि गाढा नीलो र शरीरको आकारभन्दा तीन दोब्बर लामो पुच्छर पूरै सेतो रङको चराको फोटो यो वसन्तको पहिलो ‘क्लिक’ थियो, दशरथ बिजुक्छेको क्यामेरामा।
उपत्यकामा वसन्तका शुरूआती दिनमा देखिने त्यो ‘एशियन प्याराडाइज’ नामक चरा हो। यो ऋतु चराहरू आ–आफ्नै वासस्थानमा भेटिने समय हो।
भालेपोथीबीच मिलन, गुँड बनाउने, फुल पार्ने, ओथारो बस्ने र आफ्ना सन्तान हुर्काउने बेला पनि हो। वसन्तका दिन जंगलभित्रका भाले चरा पोथी फकाउन बाहिर निस्कन्छन्।
“चराहरू लट्ठ हुन्छन्। रुखका हाँगामा मग्नमस्त बसेर बोलिरहने हुँदा चराको भनेजस्तो फोटो खिच्न सकिन्छ,” पछिल्ला चार वर्षदेखि तपस्यामा झैँ लिन भएर चराको फोटो खिच्दै हिँड्ने दशरथ भन्छन्, “चराको ‘मेटिङ सिजन’ हो, नाच्ने गाउने बेला हो, थाकेर हाँगामा धेरैबेर बसिरहन्छन्, सजिलै आफूले सोचेजस्तो फ्रेममा चराको फोटो कैद गर्न सकिन्छ।”
चराको फोटो खिच्न सौखिन दशरथको त्यस्तो कुनै दिन हुन्न, उनको क्यामेराको फ्रेमभित्र चरा नपरेको होस्। तर, उनलाई लाग्छ, चराको फोटो खिच्ने उपयुक्त सिजन भनेको पुस–माघको जाडोयाम हो। त्यतिबेला संसारभरका चराहरू आ–आफ्नो वासस्थान छाडेर महादेश नै नाघेर डुल्न नेपालसम्म आइपुग्छन्। “चराका फोटो खिच्ने सिजन सधैँ नै हो,” उनी भन्छन्, “तर जाडोमा 'माइग्रेटेडे' नयाँ, अनौठा थरिथरिका चराका फोटो खिच्न पाइने हुँदा फोटोग्राफरहरू त्यो समयलाई महत्त्व दिन्छन्।”
क्यामेरा ‘रिपेरिङ’सँगै चराको फोटो खिच्ने यात्रा
नयाँसडकबाट रन्जना गल्ली छिर्ने बाटोको दाहिनेतर्फ मुख्य सडकको तेस्रो घरको पहिलो तल्लामा दशरथको क्यामेरा मर्मत ‘सेन्टर’ छ। २५ वर्षदेखि क्यामेराको व्यापार गर्दै आएका उनी त्यो क्षेत्रमा ‘बब्लु’ नामले चिनिन्छन्।
मर्मतसँगै बजारका अन्य व्यापारीको तुलनामा केही सस्तो मूल्यमा क्यामेरा बिक्री गर्छु भन्ने दाबी गर्ने दशरथकहाँ, सधैँजसो ग्राहकको भीड नै हुन्छ।
क्यामेराकै कारोबार गर्ने उनी व्यावसायिक रूपमा विवाह, व्रतबन्ध, जात्रा र मेलाको फोटो खिच्थे। तर चराको फोटो खिच्ने सोख भने लकडाउनका बेला शुरू भयो।
“भेटघाट र जमघट निषेध गरिएपछि के गरेर बस्ने? घरकै छतबाट वरिपरि आउने र आकाशमै उडिरहेको चरा खिच्न थालेँ,” उनी पहिलो पटक फोटो खिचेको चरा सम्झन्छन्, “जुरेली हो।”
कतिलाई हेक्का छ, २०७६ साल चैतको शुरूआती दिनमा लकडाउन शुरू भएको थियो। सवारीसाधन चल्न छाडेपछि धुँवाधुलोरहित नीलो आकाश, त्यो बेला प्रकृतिको रङ र लय अद्भूत लाग्थो। जतासुकै फूलैफूल छटा नै बेग्लै। चराहरू घरघरका धुरीका गमलाका फूलसँग नाच्थे, खेल्थे।
उनी लकडाउन अवधिभर एक दिन पनि घर बसेनन्, चराकै फोटो खिच्दै दिन बिताउँथे। बिस्तारै चराको फोटो नखिची बस्नै नसक्ने अवस्थामा पुगेको उनले अनुभव सुनाए। “यो त ड्रगको नसामा फसेजस्तो पो रहेछ,” भन्छन्, “यो सौख भनूँ या लत कोरोनाकालको लकडाउनले मलाई बसायो।”
त्यसअघि उनको स्वभाव भने हप्तामा ६ दिन पसलमा बसेर एक दिन जंगल, रमणीय प्राकृतिकस्थलमा गएर दिन बिताउने थियो। उनी तीन/चार घण्टा प्राकृतिक सौन्दर्यको आनन्द लिन्थे, तर फोटोचाहिँ खिच्दैन्थे। उनी भन्छन्, “म चराबारे केही जान्दिन्थेँ, नामसमेत थाहा थिएन, ‘बर्ड वाचर’ पनि थिइनँ।”


लकडाउनका दिनमा चराको फोटो खिच्दा प्राप्त आनन्द बिस्तारै बानी बन्न थालेको बताउने दशरथ घर छेउछाउमा आउने चरा खिच्दै, कहिले फूलचोकी त कहिले शिवपुरी, कहिले बागमतीको किनारैकिनार चोभारसम्म पुग्थे। दशरथ इचङ्गू, झोरसम्म पुगेर 'फरेस्ट बर्ड' खिच्थे। सिमसारमा पाइने चरा खिच्न चोभारदेखि तल बागमतीको किनारसम्म पुग्थे।
फोटो खिच्दै जाँदा 'वेटल्यान्ड' अर्थात् सिमसारका चराभन्दा फरेस्ट वर्ड खिच्न उनलाई रुचि जाग्न थाल्यो। उनको बुझाइमा, जंगली र सिमसारमा पाइने चराहरू फरक हुन्। खोला किनार छेउछाउमा बस्ने चराको फोटो खिच्न सजिलो हुन्छ, त्यसको तुलनामा जंगलका चरा खिच्न निकै गाह्रो। त्यसैले नै उनलाई जंगलका चराको फोटो खिच्ने इच्छा जाग्यो। “क्यामेरामा लाइट नपुग्ने, चरा नभेटिने, झनै गाह्रो हुन्थ्यो,” उनको अनुभव छ, “जति गाह्रो भयो त्यसैमा उति नै रुचि बढ्दो रहेछ।”
लकडाउनसँगै चरा खिच्ने ‘लक’ पनि खुल्यो। त्यसपछि उनी साँखु, भक्तपुर, मनोहरा, नगरकोट, हनुमन्ते खोला, तेलकोट, गोदाबरी, फूलचोकीलगायतका ठाउँ जान थाले। उपत्यकाका ठाउँमध्ये फूलचोकीचाहिँ उनलाई निकै जँच्यो।
“शिवपुरीमा पाइने सबै चरा फूलचोकीमा भेटिन्छन्,” आजकल प्रायः हप्तैपिच्छे फूलचोकी पुग्ने दशरथ भन्छन्, “जाडो लागेपछि हिमालबाट झरेका चराहरू फूलचोकीमा बढी भेटिन्छ र त्यहाँका स्थानीय पनि, त्यसैले फूलचोकी मनपर्छ।”
उनी यो वर्षात्मा फूलचोकी जंगलको रुखको फेदमा बर्सादी ओडेर घण्टौँ चरा पर्खेर बसे। चरा उसको निश्चित वासस्थानमा आउँथे अनि उनी खिच्थे। चराको फोटो खिच्ने क्रममा इलाम, बर्दिया चितवन र कोशी टप्पु पटक–पटक पुगेका उनी आजकल फूलचोकीमै खोजेजस्तो चरा भेटिने बताउँछन्। अहिलेको चराका प्रजाति गणनामा त्यस्तै ८९० पुगेको बताइएको छ। काठमाडौँ उपत्यकामा नपाइने मुनाल, डाँफे खिच्न आमायाङग्री हिमालको सेराफेरोमा दुई पटक पुगेका दशरथ भन्छन्, “५५० देखि ६०० प्रजातिका चरा काठमाडौँ उपत्यकामै पाइन्छ, फूलचोकी मुख्य हो।”

चराको स्वभाव, सुन्दरता र फोटोग्राफी
चराबारे विज्ञका लेखहरू पढ्ने, सुन्ने त्यसैअनुसार फिल्डमा अवलोकन गरेर थाहा पाउने हो। विज्ञहरूले आवाज मात्रै सुनेर चराको नाम भन्न सक्छन्, तर खिच्दै जाँदा चराका स्वभावबारे परिचित भइनेरहेछ। फोटो खिच्दाखिच्दै चराबारे थोरबहुत बुझ्ने भएका दशरथ भन्छन्, “धेरै पटक देखियो, चराले बिस्टा गरेपछि उड्छ। यो सुनेको थिएँ, हो रहेछ। खिच्दै जाँदा आफैँले केही अर्थ त लगाइन्छ, तर चराको भाषा नै बुझ्न अझै समय लाग्ला।”
फूलचोकीमै एक चराको स्वभावबारे उनी लामो समयदेखि फोटो/भिडियो दुवै खिच्दै थिए, कारणवश पूरा गर्न सकेनन्। बाज र चिलको सधैँ झगडा हुने, त्यसको कारण खोज्दै जाँदा बाजले चिलको गुँडलाई अतिक्रमण गरेर आफू फुल पार्ने चल्ला हुर्काउने रहेछ। बाज ओथारो बस्थ्यो, चिल आक्रमण गर्थ्यो तैपनि बाजले चल्ला कोरल्यो, तर झगडाले गर्दा हुर्काउन पाएन, बच्चा मर्यो त्यतिसम्म खिच्न भ्याए उनले।

उनको अनुभवमा, चराका आ–आफ्नै गुण र स्वभाव हुन्छन्, त्यो खिच्दै जाँदा थाहा हुँदै जान्छ। ती चराहरूबारे ज्ञान बढ्दै जाँन्छ र ती चराको फोटो खिच्ने योजना बनाउन सहज हुन्छ। उनले केही चराको फोटो खिच्दा बिर्सन नसकिने रोचक अनुभव सँगाले:
डाँफे– म देशको जुनसुकै कुनामा जाँदा आफ्नै बाइकमा जान्छु। त्यतिखेर पचास आसपासको उमेर थियो। प्रताप गुरुङ भाइले मार्दी हिमालतिर डाँफे पाइन्छ आउनूस् दाइ भन्यो। डाँफेको फोटो खिचाउँछु भनेपछि मोटर साइकल लिएर म पोखरा पुगेँ। त्यो रात त्यहीँ बसेर भोलिपल्ट त्यता लाग्यौँ। म बाइकमै गएँ, अरू सानो गाडीमा गए। पहिलो दिन डाँडाँगाउँ प्रितम देउरालीमा बास बस्यौँ। त्यस दिन खासै चरा भेटिएन। दोस्रो दिन फरेस्ट क्याम्पमा बस्यौँ, त्यहाँ 'ग्रोसबिक' भन्ने चराको फोटो खिचेँ। तेस्रो दिन हाइ क्याम्पतर्फ लाग्यौँ। बलौटे ढुंगाको बाटो चिप्लिने, दाइ बिस्तारै आनन्दले आउनूस् भनी भाइ अघि लाग्यो। एकछिनमै फर्केर मतिर आए, यता र उता दौडन्छ, म उकालोमा स्याँस्याँ गर्दै थिएँ। हत्तपत्त मेरो हातको क्यामेरा खोसेर फोटो खिच्यो। उसले डाँफे देखेछ। गाइड मान्छे आफैँले क्यामेरा निकाले हुन्थ्यो नि।

आफ्नै क्यामेरा निकालेर खिच भनेर मैले आफ्ना क्यामेरा उसको हातबाट लिएँ। साँझको बेला थियो, मैले भटाभट खिच्न थालेँ।
डाँफेको फोटो देखाउँदै उनले भने– पश्चिमतिर पहाडको मुनि आफ्नो बच्चा हुर्काउने ठाउँ हो। त्यस्तो ठाउँमा खिचेको फोटो हो, यसमा कुनै लाइट परेको छैन। यति नजिकबाट खिचेको थिएँ, सुतेर, सोनी–६४०० क्यामेरा थियो, लो खालको। सटर स्पिड १२५, आईएसओ ३०० थियो सायद, नन एडिटेड, यो एडिटर्स च्वाइसमा समेत परेको फोटो हो।
अरू साथीले यो फोटो पोस्ट गरेका थिए, त्यसमा ३० हजार शेयर भएको थियो, अन्तर्राष्ट्रिय रूपमा मलाई धेरै मान्छेले चिने। त्यसले खुशी पनि दियो। त्यो सटर स्पिडमा खिच्नु भनेको जोक होइन, अरू चराको फोटो खिच्ने साथीहरूले भनेका थिए। ९०० एमएममा १२५ मा खिच्न कसैले आँट गर्नै सक्तैन।
रेड हेडेड ट्रोगन(रक्तशीर)– यो असाध्यै लजालु चरा हो। हतपती बाहिरै निस्कँदैन। गोदावरीमा यो चरा भेटिन्छ। खिच्ने योजना बनाएँ। चराको फोटो खिच्ने दुई साथी अगस्त लामा र दीपक बुढाथोकीलाई लिएर गएँ। खोलाको किनार, खोला बगिरहँदा पनि बाहिरी हल्ला थोरै थाहा पाइहाल्ने र भागिहाल्ने। बिहानदेखि ऊ बस्ने ठाउँमा क्यामेरा फिक्स गरेको छु। जहाँबाट जसरी देखिन्छ त्यसरी खिच्ने भनेर। सटर साइलेन्ट मोडमा राखिदिएँ, हामी तीन जना मूर्तिवत बसेका छौँ। १० बजेपछि बल्लबल्ल आयो। खिचेँ, तर चित्त बुझेन। मलाई त भाग्यमा लेखेको हुनुपर्छ जस्तो लाग्छ।
चराको साउन्डले आनन्द आउँछ। चोभार जलविनायकबाट तल एकचोटि जाँदा पूरै हुस्सु लागेको थियो, केही देखिन्थ्यो। जाडो महिना थियो। जुन चराको आवाज आए पनि थचक्क बस्थेँ र आनन्दले सुन्थेँ, बिस्तारै हुस्सु उड्न थालेपछि चरा देखिन थाल्थे। तर कतिपय चरा यस्तो हुन्छन्, आवाज सुनिन्छ तर कहीँ देखिन्न।

पूरै हरियो रङको हुन्छ ग्रिन म्यागपाइ। बाहिर त भेट्टाउनै सकिन्न। त्यस्ता अरू पनि धेरै छन्। खाली आवाज मात्र सुनेर आनन्दले बस्नुपर्छ। हिलपाट्रिजचाहिँ सुशेली बजाएजस्तो ध्वनि निकाल्छ। कहाँ हो कहाँ, मैले भेट्न सकेको छैन साउन्डचाहिँ रेकर्ड गरेको छु।
सारस क्रेन– गत वर्षको जाडोमा बुटवलमा सारस क्रेन खिच्ने योजना बनायौँ। त्यहाँ पुगेको रात उत्सुकताले रातभर सुत्न सकिनँ। बिहान ५ बजे उठेर तयार भएँ। डम्मै हुस्सु छ। दिउँसोको १ बजिसक्यो आएन। भेटिएन भनेर बर्दियातर्फ लागेँ। १० किलोमिटर हिँडिसकेपछि फोन आयो, सारस देखियो भनेर। तुरुन्तै फर्केँ, चरा भेटियो। बल्लबल्ल भेटेको भनेजस्तो गरी खिँचेँ। दुई दिनको सारा दुःखकष्ट भुँले।
उडकक– गुज्रे भन्ज्याङमा दुई अन्य साथीसँग चराको फोटो खिच्दै हिँडेका थियौँ। अचानक ठूलो आवाज आयो, लौ भालु आयो भनेर तीनै जना तर्सेर भाग्यौँ। तर पछि थाहा पायौँ, त्यो चरा उड्दाको आवाज रहेछ। जंगलमा 'इको साउन्ड'ले गर्दा त्यस्तो सुनिएको रहेछ। उडकक नामक त्यो चरा भित्तामा खोर्सेर कीरा खाँदै रहेछ, हामीलाई देखेर तर्सेर उडेछ। सुकेको पात रङको हुन्छ, त्यो चरा। पछि हामी तीनै जना मरिमरी हाँसेका थियौँ।
बेगांल फ्लोरिकन– त्यो चराको फोटो खिच्न पाएको छैन। नेपालीमा त्यसलाई खर्मजु भनिन्छ। एकदमै थोरै मात्र बाँकी रहेको भन्ने सुनेको छु। कोशी टप्पुमा त्यसको गणना भइरहेको थाहा पाएको छु। र धानबारीभित्र हुने धेरै चराहरू छन् जुन 'मेटिङ टाइम'मा मात्र बाहिर निस्कन्छन्। अरू बेला कतै देखिन्न। फेरि त्यो समयमा चरालाई डिस्टर्ब गर्नु हुँदैन, पछि लागेर फोटो खिच्नु पनि भएन। केही त्यस्ता फोटोग्राफरले गर्दा चराको वासस्थान र उनीहरूको जीवन चक्रमा अवरोध पुगेको चराका विज्ञहरूले भनिरहेका छन्।


उनलाई लाग्छ, घरमा त्यतिकै बसे साथीभाइहरूसित घुम्ने, खाने, तास खेल्ने समय त्यसै जान्छ, प्रकृति र चराले भिन्न अनुभव दिन्छ। एउटै चराको फोटो सय पटक खिच्दा पनि चित्त बुझ्दैन। उड्ला कि, कीरा खाला कि अब के गर्ला? पूरै दिन उत्सुकतामा बित्छ। चराको संसार रमाइलो लाग्छ।
चराले नेपाल चिनाउने रहर
चराका फोटो खिच्ने फोटोग्राफरहरूको बाहिरी देशमा पुगेर खिच्ने धोको हुन्छ, उनलाई भारतका केही मानिसले बोलाएका पनि छन्। तर उनले न त कुनै योजना बनाएका छन् न कुनै उद्देश्य नै लिएका छन्। यद्यपि, दशरथलाई एउटै कुराको रहर छ, देशकै प्रकृति अर्थात् चराको फोटो खिचेर नेपाललाई चिनाउने।

०७६ सालदेखि निरन्तर चराको फोटो खिच्दै आएका उनी फेसबुकमा हरेक बिहान तस्वीर पोस्ट गर्छन्। उनलाई सबै चरा मन पर्छ, भँगेरा होस् वा डाँफे। अझ रङिन चराले उनलाई निकै आकर्षित गर्छ। “मयुरले प्वाँख फिँजाएर नाच्दा त रोमाञ्चित नै बनाउँछ नि!" चराको चञ्चलता मन पराउने उनी भन्छन्, “चराको फोटो खिच्दा मजा आउने भनेको 'एक्सन सट' हो। उडेको, कीरा मारेको, खाँदै गरेको उसको हरेक गतिशील गतिविधिले मलाई लोभ्याउँछ, ती मोमेन्ट पाउन भने गाह्रो हुन्छ। बसिरहेको फोटो त क्यामेरा पाए जसले पनि खिचिहाल्छन् नि।”
कति हजार फोटो खिचे उनी भन्न त सक्तैनन्, तर लकडाउनको बेला तीन महिनामा ९० हजार सट हानेको उनलाई सम्झना छ। “करोडचाहिँ नभनू ४० लाख सट हानिसकेको छु। फोटो मात्र ६ टीबी भरिइसकेको छ,” खेलकुद, वन्यजन्तु र चराको गति खिच्ने उपयुक्त क्यामेरा ‘अल्फा वन’ चलाउने दशरथ भन्छन्, “एक सेकेन्डमा तीस (३० एफपीएस) प्रति फोटो हान्छ, भनेपछि कति खिँचे होला?”

फोटो खिच्न जाँदा उनी तीन/चार वटा क्यामेरा बोक्छन्। चराकै पछि लागेर हिँड्ने खर्च उनको आफ्नै झन्डै तीन दशक पुरानो व्यवसायले धानेको उनी बताउँछन्।
वन्यजन्तुको फोटोग्राफी
दशरथले चराबाहेक वन्यजन्तु र अन्य दुर्लभ प्रजातिका फोटो खिचेका छन्। फूलचोकीको २६०० मिटरमा खिचेको ‘यलो बेली विजल’ राम्रो रेकर्ड हो। एकदम माथिल्लो भेकतिर पाइने यो प्राणी दुलोभित्र छिरिसकेपछि जाडो महिनाभर बाहिर निस्किँदैन, गर्मीमा मात्र बाहिर निस्किन्छ।
उनले भालु, बाघ, मलसाप्रो मृगका विभिन्न प्रजाति, चित्तल, जरायो बाह्रसिंगे लगभग सबै खिचिसकेका छन्। “कृष्णसारचाहिँ खिचेको छैन, घोरल, थार भने खिचिसकेको छु,” उनले भने, “हिमाली भेकका वन्यजन्तुचाहिँ खासै त्यस्तो खिच्न पाएको छैन, अलिअलि बाँकी छ।”
पूर्वमा इलाम भन्दामाथि आलेभन्ज्याङ दार्जीलिङको सीमा जौबारी पुगेर रेड पाण्डा खिचेका छन्। त्यतिवेला पूर्वका चरा खिच्ने धोको पालेको उनले भने, “एउटा चरा खिचेँ, चरै देखिनँ।”


चरा संरक्षणमा सचेतना जरुरी
चराको वासस्थान बचाउनु पर्छ भन्नेमा उनी चिन्तित छन्। चरा फोटोग्राफी गर्ने क्रममा चराको वासस्थानमाथि मानिसबाट भएका अतिक्रमण, हेलचक्र्याइँ देखेर निराश उनले मानिसले आफ्ना स्वभावमा परिवर्तन नगरे चरा पनि शरणार्थी अवस्थामा पग्न धेरै समय नलाग्ने बताउँछन्।
दिनहुँ जंगल चाहर्ने उनको अनुभवले भन्छ, चरालाई सबैभन्दा बढी असर पुर्याउने मानिसको होहल्लाले हो। 'बर्ड वाचिङ' भनेर हुलका हुल जंगलमा मानिसहरू चाहरिरहेका हुन्छन्। आफ्नो वासस्थानमा शान्त वातावरणमा रमाइरहेका चराहरूका लागि यो बस्ती डकैती गर्न आएसरह हो। उनीहरू तर्सिन्छन्, अतालिन्छन् र कतिपय चराहरू आफ्नो वासस्थान नै छाडेर अन्यत्र स्थानान्तर हुन्छन्। लोप हुने अवस्थामा पुग्छन्। चराका लागि दुःख हो। एक दुई जना जानु बेग्लै हो।

फोटो खिच्ने भन्दै चरालाई पछ्याउँदा उनीहरूलाई असर पर्ने उनको भनाइ छ। कहिल्यै चराको पछ्याएर फोटो खिच्ने जस्ता क्रियाकलाप नगर्न उनी सुझाउँछन्। "चरालाई दाना आदि दिएर 'प्रोभोक' कहिल्यै गर्नु हुँदैन। चरा देखेपछि दौडँदै जानु पनि हुँदैन, यस्ता कार्य गलत हो। यस्ता गतिविधि रोकिनु पर्छ," उनले भने। उनका अनुसार कुनै ठाउँमा बसेर पर्खिने हो, चरा आएपछि टाढैबाट खिच्ने हो।
जंगलमा पिकनिक आदि गतिविधिपछि छाडिने खानाले पनि चरालाई नोक्सान पुर्याइरहेको छ। जंगलको बीचमा खानासहित प्लास्टिक छाडिएको हुन्छ। पाउरोटी लगेर छरिदिने, चाउचाउ दिने गर्दा केमिकल मिसिएका चिजले चरालाई असर पुर्याउने उनकी बताउँछन्।

घरमा हाम्रा बच्चाहरू कोही पाहुना आउँदा कोठाभित्र छिर्ने, बाहिर आउन नमान्ने, नयाँ मान्छेसँग घुलमिल गर्न रुचाउँदैनन्, त्यसोगर्दा अभिभावकले कस्तो जंगली बच्चा भनेको पाइन्छ। दशरथ भन्छन्, “मैले जंगलका चराहरूमा त्यही अनुभव गरेको छु। मान्छे देख्नेबित्तिकै स्वाट्टै लुक्ने, त्यसैले जंगली भनिएको रहेछ भन्ने लाग्यो। मान्छेसँग उनीहरू रत्तिएको हुँदैनन्। मानिसहरू सोच्छन् चराले हामीलाई देख्दैन। यति सानो चरा हुन्छ, उसले खाने कीरा हाम्रो आँखाले देख्न पनि सक्तैन। कति सानो होला, त्यो त उसको आँखाले देख्छ र खान्छ भने मानिसलाई देख्दैन होला। कति तेज आँखा होला त।"
बालीनाली, फलफूल तरकारीमा लाग्ने कीरा खाने चरा नै हो। बालीनाली खतम पार्ने कीरा खायो भन्ने बुझ्दैनन् बाली खायो भन्ने मात्र सोच्छन् र जहाँसुकै गुलेली बोकेर हिँड्ने देखिन्छ। तिनीहरूलाई सचेतना दिनुको विकल्प नभएको उनको ठम्याइ छ।

उनी आजकल चरा संरक्षण गर्ने भनेर स्थापना भएका चरा समाज लगायत विभिन्न संस्थाप्रति पनि रोष प्रकट गर्छन्। उनका अनुसार उनीहरूले चरा संरक्षणमा केही काम नै गरेको छैनन्, बरु जंगलमा मान्छे लगेर चराहरू तर्साउने कामचाहिँ गरेको छन्।
बाटोमा भेटिएका चरा देखाउनु स्वाभाविकै हो। छिरिक्क आवाज निकाल्दा तर्सिने चराहरू हेर्न हुलका हुल मान्छे लैजाने, अझ आजकल बर्ड वाचिङ भन्दै स्कुलका विद्यार्थीहरू, विभिन्न समूह हाहा र हुहु गर्दै जाने गरेको देखिन्छ। क्षणिक रमाइलो होला तर यी आदि गतिविधि बेलैमा नरोकिए चराको वासस्थान क्रमशः लोप हुने उनको चिन्ता छ।

चरा फोटोग्राफीलाई व्यावसायिक रूपमा दिने तयारी
उनको अनुभवमा चराको फोटो खिच्ने सौखिनहरू बढ्दै छन्। भ्यालीमा मात्रै ५० देखि १०० जनाजति छन्। उनी ती फोटोग्राफरले फोटो बाहिर बेच्छन् वा के गर्छन् थाहा नभए पनि नेपालमा चराको फोटो किन्नेभन्दा माग्ने चलन बढी भएको बताउँछन्।
बरु उनीहरूले खिचेको फोटोको दुरुपयोग भएको दशरथको बुझाइ छ। उनका अनुसार कपी राइटको व्यवस्था छैन, फोटोमा नाम राखेर सामाजिक सञ्जालमा राखिएका फोटो डाउनलोड गरी मेट्छन्। क्यालेन्डर, किताबमा छाप्ने गर्छन्। कतिपय फोटोग्राफरले नामका खातिर सित्तैमा पनि दिन्छन्।
“त्यतिका महँगा क्यामेरा, लेन्सले खिचेको फोटो पाँच हजारमा किन्न गाह्रो मान्छन्, तर त्यही फोटो डाउनलोड गर्नेहरूले ४०/५० हजारमा बेचिरहेका भेटेको छु,” उनी भन्छन्।
दशरथ खिचेका फोटोलाई व्यावसायिक रूप दिने तयारी गर्दै छन्। केही महिनापछि चराको एकल फोटो प्रदर्शनी गर्ने तयारीमा छन्।


फोटो खिच्ने तरिका र बाँकी रहर
लकडाउनताका दिनहुँ फोटो खिच्न जाने दशरथ आजकल शनिबार एक दिन मात्र दिनभर जंगलमै हुन्छन्। पहिला दिनहुँ १/२ घण्टा जान्थे त्यो अलि कम भएको छ। चरा र वन्यजन्तुको फोटो खिच्नुबाहेक अरू कुनै सौख छैन उनको। जहाँ जाँदा पनि मोटरसाइकलमै यात्रा गर्न रुचाउने दशरथ भन्छन् “पाएसम्म खिच्छु, मैले भेट्नचाहिँ पर्यो।”
उनी सोनी कम्पनीको पछिल्लो संस्करणको क्यामेरा प्रयोग गर्छन्। उनीसँग एउटा सोनीको अल्फा वान र अर्को ए७आरभी छ। त्यसैसँग पाँच वटा जति लेन्स छन्। उनले अहिले ४०० एमएमको २.८ को लेन्सले फोटो खिचिरहेका छन्।

दशरथ सम्भवतः छोटो समयमा सबैभन्दा बढी चराको फोटो संकलन गर्ने फोटोग्राफर हुन्। फोटोग्राफीमा मुख्य गरी आईएसओ, सटर स्पिड र अर्पाचरको खेल हुने उनी सुनाउँछन्। “त्योबाहेक केही होइन,” उनी भन्छन्, “म त, रिलले खिचेको मान्छे, धेरै दुःख मिहिनेत गर्नुपर्थ्यो। नयाँ पुस्तालाई त्यो थाहा छैन।”
नयाँ प्रविधियुक्त क्यामेरा कारण फोटोग्राफी धेरै सहज भएको बताउने उनी क्यामेरा भने नयाँ र पछिल्लो भर्सन नै प्रयोग गर्न रुचाउँछन्। अल्फा वान चलाउँदा दुई दिन गाह्रो भयो उनलाई। “चराको फोटो खिच्दा अभ्यास गर्ने समय हुँदैन, मुख्य त फोकस हो, अर्पाचर कति राख्ने त्यो दिमागमा स्वत: फिट भइसेकेको हुन्छ, ७५९ फेज डिटेक्सन ए.एफ अटो फोकस प्वोइन्टयुक्त यो क्यामेराले देख्ने बितिक्कै ठ्याक्क खिच्न सकिन्छ, भनेजस्तो फोटो आउँछ,” नयाँ भर्सनका क्यामेरा चलाउनका कारणबारे उनले सुनाए।

उनी फोटो खिच्दा आफ्नो क्यामेरामा २.८ अर्पाचर र ५०० आईएसओ फिक्स राख्छन्। दूरी नजिक भए अर्पाचर खोल्छन्। “फोकसको यति धेरै सुविधा छ, म सटर स्पिड पनि खेल्दिनँ। जस्तोसुकै लाइट होस् मलाई मतलब हुन्न। मेरो ३२ हजार सटर स्पिड जान्छ। आकस्मिक पर्यो भने म ३२ हजार घुमाएर हानिदिन्छु अनि आईएसओ घटाएर खिच्छु,” उनी भन्छन्, “अर्पाचरले दूरी मेन्टेन भएन भने राम्रो आउँछ वा धमिलो आउँछ, त्यो ठीक कुरा हो, तर सबै कुरा मिलिराखेको छ भने सटर स्पिड चलाउँदा फोटोमा केही फरक पर्दैन। अझ मोमेन्ट भेटाउँछ।”

उनले मुनालको फोटो खिच्दा बिहान ५.३० बजे मोटरसाइकलको हेडलाइट बालेर ९०० एमएम लेन्सले १०२००० आईएसओमा खिचे। यस्तो मान्छेले सोच्न पनि नसक्ने उनको भनाइ छ। वर्षात् लाग्नासाथ दिनहुँ टौदहको हाँसका फोटो खिच्नमा व्यस्त छन्। चरा फोटोग्राफर दशरथ बिजुक्छे भन्छन्, “अब मेरो टारगेट भनेको हिम चितुवा हो।”
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
