नेपालले साढे २ महिनापछि हुने १९औँ एशियाडमा २९ खेलमा भाग लिँदैछ। तर भलिबल, बक्सिङ, रग्बी र एथ्लेटिक्सबाहेक अन्य २५ खेलको बन्द प्रशिक्षण शुरू नहुँदा प्रशिक्षक र खेलाडी निराश छन्।
काठमाडौँ- नौ वर्षअघि भएको १७औँ एशियन गेम्स (एशियाड) मा सहभागिता जनाउनुअघि तत्कालीन खेलकुदमन्त्री तथा तयारी समिति अध्यक्ष पुरुषोत्तम पौडेलले केही खेल संघका प्रतिनिधिलाई मन्त्रालयलमा बोलाएर सोधेका थिए, “यसपालि स्वर्ण आउँछ त?”
उपस्थित प्राय: प्रतिनिधिले मन्त्री खुशी पार्नकै लागि भनेका थिए- तयारी राम्रो भएको छ, पक्का स्वर्ण आउँछ।
तर, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरूङलाई भने तयारीबारे पटक्कै चित्त बुझेको थिएन। उनले उठेर बोलिहाले, “आशा त गर्नुभयो तर स्वर्ण आउनेगरी तयारी गरेका नै छैनौँ नि हजुर। यस्तो तयारीमा स्वर्ण त उही आफैँले बनाएर लगे मात्रै हो।”
पौडेलले तेक्वान्दो, कराते, बक्सिङ, उसु र ट्रायाथलनका खेलाडीले दक्षिण कोरियाबाट स्वर्ण लिएर आउने आशा गरेका थिए। उनले बक्सिङ टोलीलाई थाइल्यान्ड, करातेलाई जापान, ट्रायाथलनलाई कोरिया र उसुलाई चीनमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइदिएका थिए।
तर तेक्वान्दो संघका महासचिव गुरूङको जवाफले उनी झस्किएका थिए। वैदेशिक प्रशिक्षणमा समय घर्किसकेपछि पठाएको कारण गुरुङले यस्तो जवाफ दिएका थिए।
यसपटक १९औँ एशियन गेम्सको तयारी गरिरहँदा पनि समस्या उही छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यसपटक पनि स्वर्ण पदक जित्नसक्ने खेलमा तेक्वान्दोसहित बक्सिङ र करातेलाई राखेको छ। तर, तेक्वान्दो संघ महासचिव गुरुङ यसपटक पनि आफ्नै खेलाडीले गरेको तयारीबाट सन्तुष्ट छैनन्।
खेलकुदमन्त्री डिकबाहदुर लिम्बूले भने तेक्वान्दोबाट यसपटक पनि ठूलै आशा राखेका छन्। उनीले गुरुङलाई बोलाएर खेलाडीको तयारीबारे समेत सोधिसकेका छन्। यद्यपि, गुरुङले ठोस जवाफ दिएका छैनन्।

“तेक्वान्दोले (पदक) नल्याएको होइन, प्राय: सहभागितामा कास्यसम्म ल्याएकै छ। त्यसैले आशा सबैलाई हुन्छ। यसपटक पनि तेक्वान्दोलाई स्वर्ण ल्याउन सक्ने खेलको सूचीमा राखिएको छ। तर, खै त बजेट? राम्रो बजेट पाए र राम्रै तयारी भए त ढुक्क साथ पदक ल्याउँछु भनेर छाती फुलाएर भन्न हुन्थ्यो नि,” गुरुङ भन्छन्।
यसपटक तेक्वान्दोमा महिलातर्फ ६७ केजी तौलमुनि इन्दिरा बस्नेत, ४९ केजीमुनि अञ्जली तामाङ, ५३ केजीमुनि आयसा लामा, ५७ केजीमुनि सन्ध्याकुमारी सिंह र पुन्सेमा स्वस्तिका तामाङले सहभागिता जनाउने तय भएको छ। पुरूषतर्फ ८० केजीमुनिमा अभिषेक बराल, ५८ केजीमुनिमा राहुल कुमाल, ६८ केजीमुनिमा वीरबहादुर महरा, ६३ केजीमुनिमा गोविन्द आले, ८० केजीमाथि ज्याक यादव र पुन्सेमा प्रेमबहादुर आलेले प्रतिस्पर्धा गर्दै छन्।
राखेप सदस्यसचिव टंकलाल घिसिङले गत जेठमै स्वर्ण ल्याउन सक्ने सूचीमा रहेका खेलका खेलाडीलाई विदेशमा तयारी गराउने वचन दिएका थिए। तर, प्रतियोगिता आउन करिब साढे दुई महिना मात्र हुँदा तेक्वान्दो खेलाडीलाई विदेशमा प्रशिक्षण गराउने त पर, स्वदेशमै पनि बन्द प्रशिक्षणमा राखिएको छैन। उनीहरू सातदोबाटोस्थित तेक्वान्दो संघको हलमा प्रशिक्षक कविराज खड्कीसँग आफैँ प्रशिक्षण गरिरहेका छन्।
२९ खेलमा भाग लिने, तयारी सुस्त
प्राथमिकतामा परेका तीनसहित नेपालले यसपटक २९ खेलमा प्रतिस्पर्धा गर्दै छ। २३ खेलमा महिला–पुरुष दुवैको सहभागिता हुनेछ। ६ खेलमा महिला टोलीले मात्र सहभागिता जनाउनेछ भने तीन खेलमा पुरुषले मात्र भाग लिने छन्।
कराते, बक्सिङ, उसु, तेक्वान्दो, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, भलिबल, ब्याडमिन्टन, सुटिङ, टेनिस, आर्चरी, फेन्सिङ, टेबलटेनिस, एथलेटिक्स, साइक्लिङ, गल्फ र डान्स स्पोर्ट्समा महिला र पुरुष दुवैले भाग लिनेछन्। फुटबल, क्रिकेट, बास्केटबल, ह्यान्डबल, कबड्डी र रग्बीमा महिला टोलीले मात्रै सहभागिता जनाउने छन्। यस्तै, स्क्वास, इ– स्पोर्ट्स र क्यानोइङमा भने पुरुषले मात्र नेपालको प्रतिनिधित्व गर्नेछन्।
तर, प्रतियोगिता नजिकिँदै गर्दा तयारी तीव्र हुन नसकेको नेपाल पुलिस क्लबका कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठ बताउँछन्। भलिबल, बक्सिङ, रग्बी र एथ्लेटिक्सबाहेक अन्य खेलको बन्द प्रशिक्षण शुरू नै नहुनु लज्जास्पद भएको उनको भनाइ छ।
“हामीले आश गर्ने भनेको कराते, तेक्वान्दो, बक्सिङ नै हुन्। तर, साढे दुई महिनाभन्दा कम समय बाँकी हुँदा पनि बन्द प्रशिक्षण शुरू गरिएको छैन। अहिले बन्द प्रशिक्षण शुरू नगरे कहिले गर्ने? यसरी खेलाडीबाट पदकको आश कसरी गर्ने?” उनी भन्छन्।
अन्य देशले प्रतियोगितालाई प्रतिष्ठासँग जोडेर हेर्ने गरेको र दुई वर्षदेखि बन्द प्रशिक्षणमा राख्ने गरेको श्रेष्ठको भनाइ छ। “यहाँ हतारमा प्रशिक्षण गर्ने र पदक आशा गर्ने गरिन्छ। पदककै आशा गर्ने हो भने त हामीले पनि अन्यले झैँ दुई वर्ष अगाडिदेखि बन्द प्रशिक्षण थाल्नुपर्ने हो,” उनी भन्छन्।
राखेपका सदस्यसचिव घिसिङले जेठ ६ देखि २५ गतेसम्म दोस्रो चरणको प्रतिस्पर्धा गराउने र भदौ २६ मा अन्तिम चरणको अभ्यासमार्फत् खेलाडी छनोट गर्ने योजना रहेको श्रेष्ठलाई सुनाएका थिए। करिब पाँच महिना अभ्यास गराएर टोलीलाई थप प्रशिक्षणका लागि चीन पठाउने रणनीति रहेको पनि बताएका थिए। तर, उक्त प्रतिबद्धता पूरा हुन नसकेको श्रेष्ठ बताउँछन्।

बक्सिङका प्रशिक्षक दीपक महर्जन १६औँ एशियाली खेलकुदका कास्य पदक विजेता खेलाडी हुन्। त्यतिबेला उनले दुई महिना बैँककमा एशियन र युरोपियन खेलाडीसँगै रहेर प्रशिक्षण गरेका थिए। त्यही तयारीको बलमा चीनको ग्वाङ्झाउमा भएको प्रतियोगितामा पुरुष ८१ केजी तौल समूहमा नेपाललाई कास्य दिलाए। अहिले उनी अन्जली तेली र सुष्मा तामाङलाई प्रशिक्षण दिइरहेका छन्। उनले यसपटक यी दुई खेलाडीबाट पदकको आशा गरेका छन्। तर, तयारी भने राम्रो नभएको उनको गुनासो छ।
“इन्डिभिजुयल खेल भएको कारण प्रशिक्षण मात्रै गरेर हुँदैन। आफूले सिकेको स्किल नाप्न विदेशमा लगेर प्रतिस्पर्धा गर्नैपर्छ। भारतका खेलाडी टफ छन्, चाइना र थाइल्यान्डका उस्तै छन्। ती खेलाडीसँग अभ्यास गर्न पायौँ भने या खेल्न पायौँ भने राम्रो हुन्थ्यो, एक्सपोजर पाइन्थ्यो,” उनी भन्छन्।
खेल संघलाई हाँकिरहेको राखेपले प्रशिक्षणका लागि स्पष्ट योजना बनाउन नसकेको नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिव तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य मनीष जोशीको आरोप छ। उनका अनुसार गत दशैँ र तिहारबीचमा आयोजना गरिएको नवौँ खेलकुदमार्फत् नै खेलाडी छनोट गरेर प्रशिक्षणमा राखेको भए पदकको अपेक्षा गर्ने गरी तयारी हुनसक्थ्यो। तर, करोडौँ खर्च गरेर आयोजना गरिएको प्रतियोगिताबाट राखेपले लाभ उठाउन नसकेको उनको भनाइ छ।
“करोडौँ खर्चेर गरेर राष्ट्रिय प्रतियोगिता गर्यौँ, त्यसको उपलब्धी के भयो भन्ने महसुस गर्न सकिएन। अहिले फेरि करोडौँ खर्च गरेर एशियन गेम्सको लागि खेलाडी छनोट गर्नुपर्यो। नवौँ खेलकुदबाटै उपयुक्त खेलाडी छनोट गरेर त्यही बेलादेखि नै प्रशिक्षण दिलाएको भए आज राष्ट्रले मेडलको अपेक्षा गर्न त सक्थ्यो,” उनी भन्छन्।
आगामी आर्थिक वर्षको बजेट लिएर प्रशिक्षण थाल्छौँ: घिसिङ
राखेप सदस्यसचिव टंकलाल घिसिङ थुप्रै अन्तर्राष्ट्रिय खेलहरूमा खेलाडीलाई ‘एक्सपोजर’को लागि पठाइरहेको दाबी गर्छन्। आगामी आर्थिक वर्षको बजेटमा सरकारले एशियन गेम्सलाई उल्लेख गरेको र १० करोड दिने सुनिश्चित भएको कारण अब विशेष प्रशिक्षणको तयारी भइसकेको उनको दाबी छ।
“समस्या समाधान गर्ने हामी छौँ, अन्य समस्याको बारेमा चिन्ता लिनुपर्दैन ढुक्क भएर तालिममा केन्द्रित हुनुस् भनेर खेलाडीहरूलाई भनिसकेको छु। साउन १ देखि भदौ १ सम्म खेलाडीको बन्द प्रशिक्षण राख्ने राखेपको योजना छ,” उनी भन्छन्।
वर्ल्ड च्याम्पियनसिप, एशियन च्याम्पियनसिपलागायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई बक्सिङमा समेटिएको उनको भनाइ छ। यस्तै, गत वर्षदेखि नै गल्फका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्था गरेको उनी बताउँछन्। अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका खेलाडी हुनाले अहिले छुट्टै 'एक्स्पोजर' नचाहिने उनको दाबी छ।

“तेक्वान्दो, करातेलगायत गभर्निङ्ग बडीमा केही समस्याहरूले गर्दा केही इस्यू देखिएका हुन्। तर, अहिले ती समस्या समाधान भइसकेका छन्। अहिले ती खेलका खेलाडीहरू अभ्यासमा छन् र अन्तर्राष्ट्रिय अनुभव र प्रशिक्षणका लागि अब केही दिनमै विदेश जाँदैछन्,” उनी भन्छन्।
जुडो, भलिबल, रग्बीको अन्तर्राष्ट्रिय र नेपाली प्रशिक्षक मिश्रण गराएर प्रशिक्षण दिने काम भइरहेको उनी बताउँछन्। यसरी हेर्दा अहिले सबै संघहरु समानान्तर रूपमा तयारीमा जुटेकोले प्रतियोगितामा सन्तोषजनक प्रदर्शन गर्ने उनको भनाइ छ।
१८औँ संस्करणसम्म छैन स्वर्ण, एउटा रजत
सन् १९५१ मा भारतको दिल्लीमा भएको पहिलो संस्करणको एशियन गेम्सदेखि नै नेपालले सहभागिता जनाउन थालेको हो। तर, ७२ वर्ष लामो इतिहासमा नेपालले स्वर्ण पदक जित्न सकेको छैन।
सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले जितेको रजत नै नेपालले एशियन गेम्समा जितेको सबैभन्दा ठूलो पदक हो। पहिलो पदक जित्न १०औँ संस्करणसम्म कुर्नुपरेको नेपालले एशियन गेम्सको १८औँ संस्करणसम्म आइपुग्दा एक रजत र २३ कास्य गरी जम्मा २४ पदक मात्रै जितेको छ।
सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ एशियन गेम्स नै नेपाली खेलकुद इतिहासमा सम्झनलायक बनेको थियो। उक्त संस्करणमा नेपालले एकैपटक आठ कास्य पदक जितेको थियो। बक्सिङमा स्व. दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कास्य जितेका थिए। राजकुमार राई, विधान लामा, रामबहादुर घर्ती क्षेत्री र राजकुमार बुढाथोकीले तेक्वान्दोमा कास्य जितेका थिए।
त्यसपछिका दुई संस्करणमा पनि बक्सिङ र तेक्वान्दोले पदक दिलाएका थिए। ११औँ एशियन गेम्समा बक्सिङका चित्रबहादुर गुरुङले नेपाललाई पदकमा निल हुनबाट जोगाएका थिए।
१२औँ संस्करणमा भने तेक्वान्दोका मानबहादुर शाही र सीता राईले नेपाललाई कास्य जिताए। १३औँमा सविताले तेक्वान्दोबाट रजत जिताउँदा किशोर श्रेष्ठ र सपना मल्लले कास्य जिताए। यस्तै, करातेबाट समरबहादुर गोलेले पहिलो कास्य दिलाए।
१४औँ एशियन गेम्समा पनि तेक्वान्दोले तीन कास्य जित्यो। दीपक विष्ट, रेनुका रानामगर र ऋतु जिमी राईले कास्य दिलाए। १५औँ संस्करमा पनि दीपक, आयशा शाक्य र मनिता शाहीले तेक्वान्दोमा कास्य नै दिलाए।
१६औँमा बक्सिङका दीपक महर्जन, १७औँमा करातेकी विमला तामाङ र १८औँ संस्करणमा प्याराग्लाइडिङले कास्य जितेर निल हुनबाट जोगाए।
सन् २०१८ मा इन्डोनेसियाको जाकार्त र पालेम्बाङमा भएको पछिल्लो संस्करणमा नेपालबाट विभिन्न २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा पहिलोपटक समावेश गरिएको मेन्स प्याराग्लाइडिङतर्फ ‘क्रस कन्ट्री’मा नेपाललाई विमल अधिकारी, विजय गौतम, सुशिल गुरूङ, योकश चौधरी र विशाल थापाले कास्य जिताए। अन्य खेलाडी रित्तो हात आए।
१८औँ संस्करणसम्म आइपुग्दा नेपालले तेक्वान्दोबाट एक रजत र १४ कास्य, बक्सिङमा ६ कास्य, करातेमा दुई र प्याराग्लाइडिङमा एक कास्य जितेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
