Sunday, May 05, 2024

-->

प्रधानमन्त्रीको रूपमा मैले जसरी बोल्नुपर्थ्यो, मेरो भाषा त्यस्तो नभएको ‘रियलाइज’ गरेँ: प्रम दाहाल

प्रधानमन्त्री दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिको भाषा प्रधानमन्त्रीका रूपमा व्यक्त गर्ने नमिल्ने रहेको आफूलाई ‘रियलाइज’ भएको बताएका छन्।

प्रधानमन्त्रीको रूपमा मैले जसरी बोल्नुपर्थ्यो मेरो भाषा त्यस्तो नभएको ‘रियलाइज’ गरेँ प्रम दाहाल

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका हैसियतले बोल्न नहुने भाषा प्रयोग गरेको भन्दै सदनमा आत्मालोचना गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै प्रधानमन्त्री दाहालले केही दिनअघि पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिको भाषा प्रधानमन्त्रीका रूपमा व्यक्त गर्न नमिल्ने रहेको स्वीकार गरेका हुन्।

“मेरो भाषा प्रधानमन्त्रीका रूपमा जरी बोल्नुपर्थ्यो त्यसरी नभएको ‘रियलाइज’ गर्दै भविष्यमा तपाईंहरूले गराउनुभएको ध्यानाकर्षणप्रति सतर्क रहेन विश्वास दिलाउँछु,” उनले भने। प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले सवाल उठाएपछि सदनबाट स्पष्टीकरण देखिएका हुन्।

उनले विगतमा शान्ति प्रक्रियामा आइसकेपछि, दुवै संविधानसभामा, देशमा भएका थुप्रै घटनाक्रममा आफूबाट भएका कमीकमजोरीका सम्बन्धमा सबैभन्दा सहज ढंगले आत्मसमीक्षा गर्ने र त्यसलाई फेरि सच्याउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराए। उनले आफूबाट भएका कमजोरीहरूको ‘यदि र तर’ नभनीकन सहज र स्पष्ट ढंगले कमजोरी स्वीकार गरेको पनि उल्लेख गरे।

प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे आफ्ना पारिवारिक भेटघाट र सम्बन्धका शृंखला जोड्दै उनको निवासमा भएको कुराकानीका क्रममा सिंहले ‘नेपालमा प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भन्ने प्रंसग उठाएको’ भन्दै भने, “उहाँले भनेर म प्रधानमन्त्री हुनेवाला पनि थिइनँ। उहाँलाई फेरि प्रधानमन्त्री बनाइदिनुहोस् भन्ने कुरा पनि थिएन। तर उहाँले भावनामा आएर देशमा परिवर्तन ल्याउने मुख्य तपाईं हो, त्यसकारण प्रधानमन्त्री तपाईं बन्नुपर्छ। मैले त यहाँ दिल्लीमा पनि कुरा गर्ने गरेको छु। नेपालमा पनि पार्टीहरूसँग पनि कुरा गर्ने गरेको छु, तपाईंलाई प्रधानमन्त्री बनाउन भनेर उहाँले भन्नु भयो। तर अहिले त्यो स्थिति छैन र थिएन पनि।”

प्रधानमन्त्री दाहालले पुस्तक विमोचनको सम्बोधनका क्रममा प्रितम सिंहले यातायातमा गरेको योगदानको प्रसंगमा आफूले विगतमा उनले भनेको कुरा स्मरण गरेको बताए। उनले आफू भावुक रहेको उल्लेख गर्दै भने, “म अलिकति सेन्टिमेन्टल त छुनै, यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के? थोरै भावनामा म आएँ।”

उनले अगाडि भने, “नभने पनि हुन्थ्यो त्यो कुरा तर भनेँ, मनमा आयो भनेँ। के राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो? प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्न पर्थ्यो। त्यो दिन मलाई के सम्झना छ भने मैले प्रधानमन्त्री भएर बोलिनँ।”

उनले सम्बोधनको शुरूमा आफ्नो अभिव्यक्तिलाई लिएर भइरहेको विरोधमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यसमा स्पष्टीकरणको मैका पनि नदिई संसद् अवरुद्ध गराइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। प्रतिपक्षप्रति आक्रमाक रूपमा प्रस्तुत भएका प्रधानमन्त्री दाहालले राजीनामा माग्ने बित्तिकै दिइहाल्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए। 

“के मैले एकचोटि यो सम्मानीत सदनसमक्ष उभिएर यथार्थ के हो, मेरो कमजोरी कहाँनेर भयो भनेर भन्न पाउनुपर्दैन। किन तीन दिनसम्म यो सदन अवरुद्ध गरियो? मैले बुझ्न सकेको छैन। यो सम्मानित सदनसमक्ष प्रश्न गर्न चाहन्छु, के प्रतिपक्षले राजीनामा दिनु भन्नेबित्तिकै राजीनामा दिनुपर्ने हो? यही हो लोकतान्त्रिक परम्परा र विधि? के प्रतिपक्षले प्रश्न उठाउनेबित्तिकै प्रधानमन्त्रीलाई सम्मानित सदनसमक्ष स्पष्टीकरणको मैका पनि दिन नहुने हो?,” उनले भने।

सदनमा आफू प्रतिवाद गर्न नभई स्पष्टीकरण दिन उपस्थित भएको बताउँदै उनले भने, “म अहिले तर्कद्वारा प्रतिपक्षका मान्य सदस्य उठाएका प्रश्नको काउन्टर गर्न बिलकुलै चाहेको छैन त्यता जान्न पनि।” यद्यपि आफूले स्पष्ट शब्दमा सदनमा आफ्ना कुरा राख्न पाउनुपर्ने उनको भनाइ थियो।


सम्बन्धित सामग्री