२० माइक्रोनभन्दा सानो प्लास्टिकले श्वासबाट रक्तसञ्चार प्रणाली हुँदै स्नायुमा पुगेर क्यान्सर लगायतका रोग निम्त्याउँछ। उच्च हिमतालको हिउँमा टाँसिने प्लास्टिकको सूक्ष्म कणले हिउँ पगाल्न पनि भूमिका खेल्छ।
काठमाडौँ– दैनिक जीवनमा प्लास्टिकको प्रयोग बढेसँगै यसले मानव स्वास्थ्य र पर्यावरणमा पार्ने असरको दायरा फराकिँदै गएको संकेत सगरमाथाको काखमा अवस्थित खुम्बु क्षेत्रमा गरिएको एक अध्ययनले देखाएको छ।
काठमाडौँ विश्वविद्यालय र अमेरिकाको बल स्टेट युनिभर्सिटीका प्रध्यापक तथा विद्यार्थीहरूको संयुक्त टोलीले सोलुखुम्बुको नाम्चेदेखि सगरमाथाको बेसक्याम्पसम्म गरेको अध्ययनले ती क्षेत्रमा माइक्रोमिटर प्लास्टिकका कणहरू प्रशस्त मात्रामा रहेको देखाएको हो।
हिमाली पर्यावरण चक्रका साथै मानव स्वास्थ्यमा यसले गम्भीर असर पार्ने अध्ययन टोलीको नेतृत्व गरेका काठमाडौँ विश्वविद्यालयका प्रध्यापक एवम् पूर्व रजिष्ट्रार डा. सुबोध शर्माले बताए।
उनी सहितको टोलीले सन् २०२२ को मे महिनादेखि खुम्बु क्षेत्रमा माइक्रो प्लास्टिकको अध्ययन शुरू गरेको थियो। अध्ययनको अन्तिम अनुसन्धानपत्र सार्वजनिक हुने तयारीमा छ। शर्माका अनुसार अध्ययनका क्रममा लुक्लादेखि ५ हजार ६१० मिटर उचाइको सगरमाथा आधार शिविरका २५ स्थानबाट नमूना संकलन गरिएको थियो।
पाँच मिलिमिटरभन्दा सानो आकारको प्लास्टिकको कणलाई माइक्रो प्लास्टिक भनिने शर्मा बताउँछन्। मानिसको कपालको रौंको मोटाइ ५० देखि ७० मिलिमिटर हुन्छ। यस हिसाबले ५ मिलिमिटर प्लास्टिकको कण कपालको रौंको झण्डै १० भागको एक भाग बराबर हुन्छ। नांगो आँखाले यसलाई देख्न सकिँदैन।
यस्ता प्लास्टिकका कणहरू पानी, हावा, स्वासप्रश्वास प्रणाली तथा खानेकुराको माध्यमबाट मानव र अन्य जीवजन्तुको शरीरमा पुग्छन्।
“२० माइक्राे मिलिमिटरभन्दा कम आकारको प्लास्टिकको कण स्वासप्रश्वासको माध्यमबाट मानिसको रक्त सञ्चार प्रणालीमा गयो भने त्यसले स्नायुमा पुगेर क्यान्सर लगायतका अन्य रोग निम्त्याउँछ,” डा. शर्मा भन्छन्, “हामीले १ माइक्रोमिटरदेखि ५ मिलिमिटरसम्मका प्लास्टिकका कणको अध्ययन गरेका थियौँ। आकार जति सूक्ष्म भयो त्यति नै रक्तसञ्चार प्रणालीमा जाने सम्भावना बढी हुन्छ।”
अध्ययनका क्रममा उच्च हिमाली क्षेत्रका हिमतालमा समेत माइक्रो प्लास्टिकका कणहरू भेटिएको छ। हावाको माध्यमबाट उच्च हिमालमा पुग्ने प्लास्टिकका कणले त्यहाँ रहेको हिउँलाई पगाल्न भूमिका खेल्ने शर्माको भनाइ छ। “हावाको वहावसँगै उच्च हिमतालको हिउँमा ससाना प्लास्टिकका कणहरू गएर टाँसिन्छन्। सूर्यको तापले प्लास्टिक छिटो तात्ने हुँदा त्यसले हिउँ पगाल्न पनि भूमिका खेल्छ,” उनी भन्छन्।
खुम्बु पदयात्रामा जाने पर्यटक नै प्लास्टिकको स्रोत
बर्सेनि सगरमाथा आरोहणका साथै पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकसँगै खुम्बु क्षेत्रमा प्लास्टिक पुग्ने गरेको अध्ययन टोलीका सहभागीहरूले बताएका छन्। पर्यटकले सामान प्याक गर्ने प्लास्टिक, आरोहणमा प्रयोग हुने टेन्ट तथा प्लास्टिकजन्य पोलिस्टरका कपडाहरू यसका मुख्य स्रोत हुन्।
स्थानीयहरूले घरायसी प्रयोगका लागि लैजाने सामान र कपडाहरूमा पनि खुम्बु क्षेत्रमा प्लास्टिक पुगिरहेको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार पालिकाभर करिब २ हजार घरधुरी छन्। बार्षिक करिब १ लाख ५० हजार मानिस खुम्बु क्षेत्रमा पदयात्राका लागि पुग्छन्। २०७७ सालमा गाउँपालिकालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियान स्वरूप यहाँ प्लास्टिकको प्रयोगमाथि प्रतिबन्ध लगाउने निर्णय भएको थियो। तर, पालिकाको उक्त निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन।
त्यसअघि २०५५ सालमा गरिएको सिंगो खुम्बु क्षेत्रलाई नै प्लास्टिक निषेधित क्षेत्र बनाउने घोषणा त्यसबेलादेखि कागजमै सीमित हुँदा प्लास्टिकको प्रयोग घट्नुको सट्टा बर्सेनि तीव्र मात्रामा बढिरहेको छ।
गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पा प्लास्टिक प्रतिबन्ध नभएर प्रयोग न्यूनीकरणको प्रयास मात्र गरिएको बताउँछन्। “प्लास्टिकको प्रयोग कम गर्न कपडाका झोलाहरू वितरण र प्लास्टिकजन्य सामान प्रयोग नगर्न सार्वजनिक आव्हान गरेका छौँ,” उनी भन्छन् “तर, यही पनि पूर्ण रूपमा कार्वान्यन गर्न गाह्रो भइरहेको छ।”
सगरमाथा नेपालको मात्र सम्पत्ति नभएर संसारकै अमूल्य सम्पदा भएकाले खुम्बु क्षेत्रमा प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमै प्रतिबन्ध लगाउनुपर्ने अनुसन्धानकर्ता डा. सुबोध शर्मा बताउँछन्। “अहिले नै प्लास्टिक प्रतिबन्ध गरिएन भने यसले मानव स्वास्थ्य र पर्यावरणका साथै नेपालकै छवि बिगार्न समेत समय लाग्दैन,” उनी भन्छन्।
यो पनि: मानव मलमूत्रले दुर्गन्धित बन्दै सगरमाथा, आरोहीले बोक्दैनन् शौच गर्ने ब्याग
खुम्बु क्षेत्रमा कति प्लास्टिकजन्य सामग्रीहरू पुग्छन्? त्यसको यकिन विवरण उपलब्ध छैन। सगरमाथा प्रदूषण नियन्त्रण कमिटी (एसपीसीसी) का अनुसार ३५० जना आरोही सगरमाथा आरोहणमा जाँदा पनि सगरमाथाको आधार शिविरमा मात्र १५ देखि २० टन प्लास्टिकजन्य फोहोर जम्मा हुन्छ।
जति प्रयोग उति हानि
संसारमा प्लास्टिकको प्रयोग सन् १९५० देखि शुरू भएको हो। तर, त्यसयता यसको प्रयोग हरेक वर्ष तीव्रताका साथ बढ्दै गयो। प्लास्टिकले निम्त्याएको वातावरण प्रदूषण अहिले विश्वकै निम्ति टाउको दुखाइ बनेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार अहिले विश्वमा बार्षिक ४०० मिलियन टन प्लास्टिक उत्पादन हुन्छ। त्यसको १० प्रतिशत मात्र रिसाइकल अर्थात् पुनर्चक्रण हुन्छ। १९ देखि २३ मिलियन टन प्लास्टिक बार्षिक रूपमा समुद्र, पोखरी र अन्य पानीका ताल तलैयामा पुग्ने अनुमान छ। यो भनेको २ हजार २०० वटा आइफल टावरको तौल बराबर हो।
राष्ट्रसंघको अनुमानअनुसार एक व्यक्तिले प्रत्येक वर्ष ५ मिलिमिटर भन्दा कम आकारका करिब ५० हजार प्लास्टिकका कणहरू उपभोग गर्छ।
हरितगृह ग्यास उत्सर्जनमा पनि प्लास्टिक त्यत्तिकै चुनौती बनेको छ। अहिलेकै गतिमा प्लास्टिकको प्रयोग बढ्दै जाने हो भने सन् २०३० सम्ममा प्लास्टिकबाट हुने हरितगृह ग्यास उत्सर्जन प्रतिवर्ष १.३४ गिगाटन पुग्न सक्छ। यो भनेको ५०० मेगावाट क्षमताका २९५ कोइला प्लान्टले गर्ने उत्सर्जन बराबर हो।
सन २०५० सम्म वायुमण्डलमा प्लास्टिकबाट हुने हरिगतगृह ग्यास उत्सर्जनको मात्रा ५६ गिगाटन पुग्न सक्ने ‘सेन्टर फर इन्टरन्यासनल इन्भारोमेन्ट ल’ मा उल्लेख छ। मानिसले प्रयोग गर्ने सामान्य प्लास्टिक र पोलिस्टरका कपडाबाट माटोमा मिसिने प्लास्टिकका कणहरू टुक्रा टुक्रा भएर रहन्छन् जसले माटोभित्रको जैविक वातावरण खल्बल्याई प्राणी र वनस्पति दुवैको अस्तित्वमा संकट ल्याइदिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
