Wednesday, April 24, 2024

-->

मानव मलमूत्रले दुर्गन्धित बन्दै सगरमाथा, आरोहीले बोक्दैनन् शौच गर्ने ब्याग

बर्सेनि वसन्त ऋतुमा करिब ३५० आरोही जाँदा आधार शिविरमा मात्रै सरदर ७० टन फोहोर जम्मा हुन्छ। त्यसमध्ये १५–२० टन मान्छेको दिसा मात्रै हुन्छ।

मानव मलमूत्रले दुर्गन्धित बन्दै सगरमाथा आरोहीले बोक्दैनन् शौच गर्ने ब्याग
सगरमाथा आधार शिविरमा संकलन गरेर थुपारिएको फोहोर। तस्वीर सौजन्य: विवेक पाण्डे

काठमाडौँ- संसारको चुली सगरमाथा क्षेत्रमा आरोहणका लागि मानवीय क्रियाकलाप बढेसँगै थुप्रिँदै गएको दिसापिसाब बढ्दो वातावरणीय चुनौतीका रूपमा देखिएको छ।

नेपाल पर्वतारोहण संघ (एनएमए)का पूर्वअध्यक्ष एवम् नेपालका पुराना पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पछिल्ला वर्षहरूमा पर्वतारोहीको संख्या बढेसँगै मानव मलमूत्र व्यवस्थापनको चुनौती झन् बढेको बताउँछन्।

“हिमालमा सबैैभन्दा ठूलो समस्या मानव दिसापिसाब व्यवस्थापनको हो। सगरमाथा आधार शिविरभन्दा माथि डेढ महिनासम्म (दिनहुँ) ८०० देखि १ हजार मान्छे हुन्छन्,” शेर्पा भन्छन्, “ती मानिसहरूको दिसापिसाबका लागि त्यहाँ शौचालय हुन्न।”

हिउँ पग्लिँदै गएपछि अघिल्ला वर्षको दिसापिसाब गन्हाएर समेत समस्या हुने गरेको हिमाल आरोहणमा जानेहरू बताउँछन्। शेर्पाका अनुसार सन् २००७ मा क्याम्प–२ मा हिउँ पग्लिएर दिसा गन्हाएपछि त्यसपछिका वर्षमा आरोहीले दिसापिसाबका लागि छुट्टै ब्याग लैजानुपर्ने नियम लगाइएको थियो। तर, यो नियम पूर्ण कार्यान्वयनमा आएको छैन। 

सगरमाथा आधार शिविर। तस्वीर सौजन्य: विनय गुरागाईं

केही ट्रेकिङ कम्पनीहरूले बेसक्याम्पभन्दा माथि दिसापिसाब व्यवस्थापनका लागि आफ्ना आरोहण टोलीका सदस्यहरूको लागि ब्याग वितरण गर्ने गरेका छन्। यो काम पनि प्रभावकारी नभएको सगरमाथा प्रदूषण नियन्त्रण कमिटी (एसपीसीसी) का कार्यक्रम अधिकृत कपिन्द्र राई बताउँछन्। 

एउटा ब्यागको बजारमूल्य झण्डै १० हजार रुपैयाँ छ। “केही कम्पनीहरूले पहिल्यैदेखि वितरणमा ल्याएको ब्याग महँगो पर्ने भएकाले सबैले प्रयोग गर्न सकेका थिएनन्,” राई भन्छन्, “अहिले ब्यागको मूल्य सस्तो भएको छ। बेसक्याम्पभन्दा माथि ब्याग अनिवार्य गरौँ भनेर पर्यटन विभागसँग प्रस्ताव गरेका छौँ।”

एसपीसीसीले सन् २०१८ मा गरेको अध्ययनअनुसार आरोहणको सिजनमा आरोहीसँगै तिनका सहयोगीसमेत गरी करिब १ हजार ५०० मानिस सरदर तीन महिना हिमालमा रहने निष्कर्ष निकालेको थियो। तर, यो आँकडा आरोहीको संख्यामा भर पर्छ। 

हिमाल आरोहणमा जाने आरोही र उनका सहयोगीले हिउँका ढिक्का उप्काएर पगालेको पानी पिउँछन्। त्यसरी पिउने पानीको स्रोत बनेको हिमाल मलमूत्रले प्रदूषित हुँदा मानव स्वास्थ्यमा समेत असर पर्छ। त्यही कारण पनि हिमाल आरोहीले दिसापिसाब गर्ने र पिउने पानीको स्रोतका रूपमा प्रयोग गर्ने ठाउँ छुट्ट्याएका हुन्छन्।

सगरमाथा प्रदूषण नियन्त्रण कमिटीका अनुसार बर्सेनि वसन्त ऋतुमा करिब ३५० आरोही जाँदा आधार शिविरमा मात्रै सरदर ७० टन फोहोर जम्मा हुन्छ। त्यसमध्ये १५–२० टन मान्छेको दिसा मात्रै हुन्छ। त्यसैगरी २०–२५ टन प्लाष्टिक र कागजजन्य, १५–२० टन भान्साबाट निस्केको कुहिने चिज र चार टन टीनजन्य नकुहिने वस्तु जम्मा हुने गरेको छ। सगरमाथामा आरोहीको संख्या बढ्दा फोहोर पनि थपिन्छ।

आधार शिविरमा मानिसको दिसापिसाबका लागि अस्थायी टेन्टमा खाली ड्रम गाडेर शौचालय बनाइन्छ। भरिएको ड्रमको मानव मलमूत्रलाई आधार शिविरभन्दा करिब तीन किलोमिटर तलको गोरक्षेपमा ल्याएर खाल्डो खनी बिसर्जन गरिन्छ। 

वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा राम्रो समय हो। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा २४ वटा हिमाल आरोहणका लागि १ हजार ७९ जनाले आरोहण अनुमति लिएका छन्। त्यसमध्ये सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या ४६६ रहेको छ। 

सगरमाथा आधार शिविर क्षेत्र। तस्वीर सौजन्य: विनय गुरागाईं

बेसक्याम्पमै जम्मा हुन्छ ७० टन फोहोर 
सगरमाथाको बेसक्याम्पभन्दा माथि कति फोहोर जम्मा हुन्छ, त्यसको यकिन विवरण छैन। सेभेन समिट ट्रेकिङ कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार बेसक्याम्प माथिको सबै फोहोर तल आउँदैन। “माथि गएकालाई आफ्नै शरीर भारी भइरहेको हुन्छ। उनीहरूले फोहोर ल्याउनै सक्दैनन्,” उनी भन्छन् “त्यहाँ छोडिएको फोहोर हावाले उडाएर यत्रतत्र छरिदिन्छ अनि हिउँले पुरिन्छ।”

सगरमाथामा सन् १९६० यताका ६३ वर्षदेखिको फोहोर अहिलेसम्म पुरिएर रहेको अनुमान गरिन्छ। पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हाल नेपाली सेनाले हरेक वर्ष गर्ने हिमाल सरसफाइमा पनि सबै फोहोर संकलन हुँदैन। बेसक्याम्पलाई आधार मान्दा हरेक वर्षको आरोहणमा सगरमाथाको आधार शिविरभन्दा माथि ३० हजार टनभन्दा बढी विभिन्न प्रकारका फोहोर जम्मा हुने अनुमान गर्न सकिन्छ। 

हिउँ पग्लिँदा भेटिन थाले पुराना फोहोर 
तापक्रम वृद्धिसँगै सगरमाथामा हिउँ पग्लिँदा पुराना फोहोरसमेत भेटिन थालेका छन्। सन् २००८ देखि २०२२ सम्म इको एभरेष्ट अभियानले गरेको सरसफाइमा ३३ हजार किलो फोहोर र सात वटा शव संकलन भएको थियो। पर्वतारोहण संघका पूर्वअध्यक्ष शेर्पाका अनुसार फोहोर र शव सन् १९८० अघिका हुन्। “धेरै फोहोर सन् १९६० देखि १९८० बीचको थियो, हिउँ पग्लिँदै गएपछि पुरानो फोहोर माथि आउने हो,” उनी भन्छन्। 

सन् १९७३ को इटालियन एभरेष्ट आरोहण दल त्यतिबेलाको सबैभन्दा ठूलो आरोहण दल थियो, जसमा ११२ आरोही शेर्पासहित १३४ जना सहभागी थिए। ती आरोहीका लागि १ सय २६ टन सामान काठमाडौँबाट लुक्लासम्म जहाजमा र त्यसपछि  ३ हजार ५०० भरियालाई बोकाएर बेसक्याम्पमा पुर्‍याइएको शेर्पा सम्झन्छन्। 

त्यसबाहेक ६० टन सामान हेलकोप्टरमार्फत् आधार शिविरभन्दा माथि लगिएको थियो। सोही क्रममा क्याम्प–२ मा हेलिकोप्टर दुर्घटना भएको थियो। उक्त दुर्घटनाको ३६ वर्षपछि सन् २००९ मा दुर्घटनास्थल भन्दा झण्डै डेढ किलोमिटर तल हेलिकोप्टरका पाटपुर्जा भेटिएका थिए। 

सधैँ जमिरहने सगरमाथाको हिमनदी ३६ वर्षको अविधिमा बगेर एक किलोमिटरभन्दा तल सरेको देखाउने यो परिदृश्य विश्वव्यापी तापमान वृद्धिले हिमालमा पारेको प्रतिकूल प्रभाव बुझ्ने राम्रो उदाहण भएको पूर्वअध्यक्ष शेर्पा बताउँछन्।

रमिते सरकार
पर्वतारोहण सम्बन्धी नियमावली २०५९ ले हिमाल आरोहणमा जाने आरोहण दलले फोहोरमैला व्यवस्थापनको लागि पहिले नै धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ। यस्तो धरौटी हिमाल अनुसार फरक फरक छ। सगरमाथा आरोहणमा जाने आरोहण दलले फोहोरमैला व्यवस्थापन वापत् ४ हजार अमेरिकी डलर धरौटी राख्नुपर्छ। 

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार आरोहण दलले आरोहणका समयमा लगिएका फोहोर फिर्ता नल्याए धरौटी रकम जफत हुन्छ। 

यद्यपि, कुन आरोहण दलले कति सामान लगे र कति फोहोर फिर्ता ल्याए, त्यसको अनुगमन गर्ने भरपर्दो संयन्त्र नै नभएको पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा बताउँछन्। “यो काम गर्ने जिम्मा आरोहणको अनुगमनका लागि विभाग र मन्त्रालयले खटाउने सम्पर्क अधिकृतलाई दिइने भए पनि उनीहरू आधार शिविरसम्म नै पुग्दैनन्,” उनी भन्छन्।

सगरमाथाको दोस्रो शिविर। तस्वीर सौजन्य: विवेक पाण्डे

आफ्नो नाम उल्लेख गर्न नचाहने एक ट्रेकिङ कम्पनीका सञ्चालकका अनुसार सम्पर्क अधिकारीका रूपमा खटाइएका सरकारी कर्मचारीले काठमाडौँमा बसेर फोहोर फिर्ता ल्याएको कागजमा हस्ताक्षर गर्छन्। अनि, कम्पनीले त्यही आधारमा धरौटी रकम फिर्ता पाउँछन्। 

“त्यति बेला फोहोर नै ल्याउनुपर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने रहेछ, तर सरकारी सम्पर्क अधिकृतले हिमालमा फोहोर गरेको छैन भनेर सिफारिस गर्‍यो भने धरौटी फिर्ता दिने व्यवस्था गरियो। यो नै गलत थियो। सम्पर्क अधिकृत बेसक्याम्पमा पनि बस्दैन। टिमले सफा गर्‍यो कि गरेन हेर्दा पनि हेर्दैन,” उनी भन्छन्, “फोहोर नै फिर्ता ल्याउन अनिवार्य गर्नुपर्छ, तर पर्यटन विभागले हाम्रो कुरा नै सुन्दैन।” 

विभागका महानिर्देशक लुइँटेल भने सगरमाथाको हकमा एसपीसीसीसँग मिलेर काम गरेकाले त्यहाँको सम्पूर्ण फोहोरको व्यवस्थापन उसैले गर्ने गरेको बताउँछन्। 

सगरमाथा सरसफाइको विगत
सन् १९९२ मा अमेरिकाको टाइम म्यागेजिनले सगरमाथा र फोहोरलाई एक ठाउँमा राखेर सगरमाथाको चुचुरोभन्दा ठूलो फोहोरको थुप्रो सहितको कार्टुन प्रकाशित गर्‍यो। त्यसपछि सगरमाथाको फोहोरका बारेमा विश्वव्यापी चर्चा शुरू भयो।

पर्वतारोहण संघका पूर्वअध्यक्ष शेर्पाका अनुसार त्यसपछि पर्वतारोहण कम्पनीहरूको आलोचना भएपछि संघकै पहलमा सन् १९९५ मा सगरमाथा सफाइ अभियान शुरू गरिएको थियो। त्यतिबेला संघका अध्यक्ष शेर्पा नै थिए। आफ्नै कोषबाट यो अभियान सञ्चालन गरेको संघले बेसक्याम्पभन्दा माथिबाट ७ हजार ५०० केजी फोहोर संकलन गरेको थियो। 

त्यसपछि सन् २००० मा ‘सहश्राब्दी वर्ष’का नाममा जापानी नागरिक एवम् वातावरण अभियान्ता केन नोगुचीको अग्रसरतामा सगरमाथा सरसफाइ गरिएको थियो। त्यति बेलाको सरसफाइमा ३६ जना आरोही शेर्पा र दुई जना कुकसहितको टोली सामेल थियो। सन् २००१ र २००२ मा पनि उक्त टोलीले सरसफाइ अभियान सञ्चालन गरेको थियो। 

त्यसपछि बेलाबेलामा विभिन्न अभियानको नामबाट हुने गरेको सरसफाइसँगै सन् २०१९ देखि नेपाली सेनाले नेपाल पर्वतारोहण संघ, खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायतका विभिन्न संघसंस्थासँगको सहकार्यमा हरेक वर्ष नियमित रूपमा सगरमाथाको फोहोर संकलन गर्दै आएको छ।


सम्बन्धित सामग्री