Thursday, May 16, 2024

-->

सर्लाहीको हरिपुर्वा नगरपालिकामा तीन महिनादेखि तालाबन्दी, नगरप्रमुख निस्फिक्री

मेयर साहले सडकसीमाभित्र पर्ने अरू नगरवासीको घर भत्काएर आफ्नो चाहिँ जोगाएका छन्। २२ किलोमिटर लामो सडकको दुई ठाउँमा विस्तारको काम अवरुद्ध गरेका उनको एक ठाउँमा घर छ, अर्कोमा जग्गा।

सर्लाहीको हरिपुर्वा नगरपालिकामा तीन महिनादेखि तालाबन्दी नगरप्रमुख निस्फिक्री
मेयर साहविरुद्ध भएको सर्प्रवदलीय विरोध प्रदर्शन।

काठमाडौँ– सर्लाहीको हरिपुर्वा नगरपालिकामा गत चैत १५ गते लागेको ताला अझैसम्म नखुल्दा नगरपालिकाको कामकाज झन्डै तीन महिनादेखि ठप्प भएको छ। नगरप्रमुखको कामकारबाहीसँग असन्तुष्ट उनको पार्टीसहितका सात दलले सर्वदलीय संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन थालेका थिए। तर, नगरप्रमुखले त्यसलाई बेवास्ता गरेको भन्दै समितिले नौबुँदे माग राखेर ताला लगाएको थियो। 

नगरप्रमुख (मेयर)ले स्थानीय जनताको हितमा काम नगरेको र नगरपालिकाको भवन निर्माणमा मनोमानी गर्न खोजेको संघर्ष समितिको आरोप छ। नेकपा एमालेका नेता विकाउ यादव नेतृत्वको  समितिले गत चैत १ गते मेयर विनोद साहको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको थियो। तर, साहले स्थानीयको मागलाई बेवास्ता गर्दै आफ्नै व्यक्तिगत मनोमानीले पालिका चलाउन खोजेपछि नगरपालिकामा तालाबन्दी गर्न बाध्य हुनुपरेको यादवले बताए। साह २०७९ वैशाखको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

यादव नेतृत्वको संघर्ष समितिलाई साहकै दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मात्र मेयर साहको पक्षमा उभिएको छ। हरिपुर्वा नगरपालिकाका नौ वडामध्ये लोसपाबाट चुनाव जितेका तीन वडाअध्यक्ष साहको समर्थनमा छन् भने नगरप्रमुख साहकै पार्टी कांग्रेसका तीन र जसपाका तीन गरी ६ वडाअध्यक्षहरू विपक्षमा छन्। 

मेयरले नगरवासीको घर भत्काएर आफ्नो जोगाएपछि बढेको विवाद
सर्लाहीस्थित बाँकेदेखि संग्रामपुरसम्मको निर्माणाधीन सडकको काम अहिले अलपत्र अवस्थामा छ। सडक विस्तारका लागि यसअघि नगरपालिकाले ५२ फिट चौडाइको मापदण्ड तोकेको थियो। सोहीअनुरूप उक्त सडकखण्डमा पर्ने घरहरू भत्काउन नगरपालिकाले दिएको समय सीमाभित्र घरधनीहरूले आ-आफ्ना घर भत्काएर नगरपालिकालाई सडक विस्तारमा सघाए। तर मेयर साहकै कारण सडक निर्माण सम्पन्न हुन सकेन।

तीन महिनादेखि बन्द रहेको हरिपुर्वा नगरपालिका कार्यालय र इन्सेटमा आन्दोलनकारीले ताला लगाएको मेयरको कार्यकक्ष।

सडकको काम त्यतिखेर रोकियो जतिखेर मेयर साहले आफ्नो घर भत्काउन मानेनन्। निर्वाचित हुनुअघि नै नगरपालिकाले आफ्नो घर नियमविपरीत भत्काउन खोजेको भन्दै उनले अदालतमा मुद्दा दिएका थिए। चुनाव जितेर आफैँ शक्तिमा आएपछि उनले सडकसीमामा पर्ने अरू नगरवासीको घर भत्काएर आफ्नो चाहिँ जोगाउने अडान लिए।

महेन्द्र राजमार्गमा पर्ने बाँकेदेखि सर्लाहीको संग्रामपुरसम्म २२ किलोमिटर लामो सडकको दुई ठाउँमा नगरप्रमुख साह स्वयंले सडक विस्तारको काम अवरूद्ध गरेका छन्। एक ठाउँमा उनको घर छ भने अर्कोमा जग्गा।

मेयर शाह शक्तिमा आएपछि उनले आफू अनुकूलको काम मात्रै गर्दै आएको संघर्ष समितिका संयोजक यादव बताउँछन्। आफ्नो हित प्रतिकूल हुने कुनै काम साहले गर्न नदिएको उनको आरोप छ। 

“सबैले आफ्नो घर भत्काएर सडकका लागि जग्गा दिइसकेका छन् तर मेयर साहेब न आफ्नो घर तोड्न चाहनुहुन्छ न त सडकलाई जग्गा नै छोड्नुहुन्छ,” संयोजक यादव भन्छन्, “उहाँकै कारण सडक निर्माण अवरुद्ध भइरहेको छ। जतिसक्दो चाँडो सडक निर्माणका लगि जग्गा दिनुस् भन्दा पनि उहाँले बेवास्ता गर्दै आउनुभयो। 

यादवका अनुसार कुनै हालतमा सडकका लागि जग्गा नदिने अडान लिएका मेयर साहले सडक विस्तारमा सघाउन आग्रह गर्ने नगरवासीलाई ‘जे गर्नु छ गर’ भन्ने जवाफ दिएर पन्छाउने गरेका छन्। 

त्यति मात्र नभई प्रहरी चौकी निर्माणका लागि नगरपालिकाले १४ वर्षअघि दानबाट पाएको तीन कट्ठा जग्गामा चौकी बनाउन पनि मेयर साहले चाहेका छैनन्। भएको जग्गामा नबनाएर उनी अन्तै जग्गा खोजी गर्नतिर लागेपछि विवाद भएको छ। उनले चौकीको लागि जग्गा छनोट गर्न पालिकामा निर्देशन दिएका छन्। जबकि चौकी बनाउनकै लागि स्थानीय शुभकरण राय यादवले नगरपालिकालाई जग्गा दान गरेका थिए।

विरोध प्रदर्शनमा उत्रिएका महिलाहरू।

त्यस्तै, मेयर साहले नगरपालिकाको प्रशासकीय भवन निर्माणमा पनि हस्तक्षेप गर्दै आएका छन्। हाल नगरपालिकाको भवन उनकै घरमा भाडामा चलिरहेको छ। त्यसबापत साहले मासिक १ लाख रुपैयाँ भाडा बुझ्छन्। नगरपालिकाको नाममा जग्गा हुँदाहुँदै उनले ‘लिज’ मा जग्गा लिएर भवन निर्माणको तयारी गरेका छन्। उनकै पार्टीबाट निर्वाचित उपप्रमुख र वडाध्यक्षहरूदेखि स्थानीय नगरवासीहरू सबै त्यसको प्रतिकारमा उत्रिएका छन्। 

नगरप्रमुख साह भने गुठीको जग्गा भाडामा लिएर नगरपालिकाको भवन बनाउन चाहन्छन्। जबकि, नगरपालिकाको भवन बनाउन अर्का स्थानीय रामभजन राय यादवले १२ कट्ठा जग्गा दान गरेर नगरपालिकाकै नाममा पास पनि गरिइदिइसकेका छन्। 

नगरपालिकाको जग्गा हुँदाहुँदै मेयर साहले किन गुठीको जग्गामा भवन बनाउन खोज्दै छन् बुझ्न नसकेको वडा नं ८ का अध्यक्ष उमेश यादव बताउँछन्। उनी जसपाबाट निर्वाचित भएका हुन्। 

“हामीले कतिपटक मेयर साहेबलाई भनिसक्यौँ कि त्यही १२ कट्ठा भएको जग्गामा भवन बनाऔँ तर उहाँ मान्दै मान्नुहुन्न। उहाँको के स्वार्थ छ त्यो त उहाँलाई नै थाहा होला तर निरन्तर यही अडानमा हुनुहुन्छ,” उनी भन्छन्, “हामीलाई जहाँसम्म लाग्छ, जातिवादी मानसिकताका कारण मेयर साहेबले त्यहाँ भवन बनाउन चाहनुभएको छैन। किनकि प्रशासकीय भवन प्रहरी चौकीका लागि जग्गा दिने व्यक्ति यादव हुन् जो उहाँलाई मन परेको छैन।” 

पालिकाको बैठक बस्न पनि मेयर साहले आनाकानी गर्दा गत पुसदेखि अहिलेसम्म बैठक नै नबसेको वडा अध्यक्ष यादव बताउँछन्। 

मेयर साहका विरुद्ध संघर्ष समितिले राखेका नौमध्ये अन्य ६ मागहरूमा नारायण दास मठमन्दिरको मोही जग्गा फिर्ता, श्री केश्वर गरिब जनता माविको जग्गा दर्ता, वडा नं. २ को अस्पताल सञ्चालन लगायतका छन्। यस्तै नगरपालिकाको पुरानो बजारको जग्गा छुट्ट्याउन, पुरानो बजारदेखि उत्तरतर्फ बाँके नदीसम्म सडक विस्तार गर्न र पालिकामा बाँकी रहेको पम्पसेट किसानको खेतमा जडान गराउन पनि संघर्ष समितिको माग छ। यी माग पूरा नभएसम्म आफूहरू पछि नहट्ने समितिका संयोजक  यादव बताउँछन्। 

आन्दोलनकारी दलहरू र नगरवासीका मागहरू।

जनताको हितमा काम नगरेको भन्दै मेयर साहविरुद्ध उभिएको उनकै दल कांग्रेसका प्रदेश सभापति कृष्णा यादवदेखि जिल्लाका प्रदेशसभा सदस्यसम्मले उनलाई यो विवाद जतिसक्दो चाँडो सल्टाएर विकास निर्माणमा लाग्न सुझाए पनि उनले बेवास्ता गर्दै आएको कांग्रेस सर्लाहीका महाधिवेशन प्रतिनिधि महेश यादव बताउँछन्।  

“यो विषयमा छलफल गर्न हामीले पार्टी महाधिवेशन प्रतिनिधिको बैठक पाँच पटक राखिसक्यौँ। दुई पटक उपप्रमुखसहितका वडा समितिको बैठक बोलाइसक्यौँ। कुनै बैठकमा उहाँ उपस्थित हुनुभएन। मसँग समय छैन भनेर पन्छिनुभयो,” उनी भन्छन्, “त्यसपछि मैले प्रदेश सभापति कृष्णा यादव र विधायक जंगीलाल रायलाई फोन गरेर पटकपटक ध्यानाकर्षण गराएको थिएँ। मेयरको कर्तुतले क्षेत्र र नगरमा पार्टीको बदनामी भइरहेको थाहा पाएपछि उहाँहरूले पनि फोन गर्नुभयो। तर, मेयर साहेबले बेवास्ता गरेपछि उहाँहरू पनि थाक्नुभयो।”

मेयर साह भने संघर्ष समितिले राखेका माग जायज नभएको दाबी गर्छन्। आफू नगरप्रमुख भएकाले वडाध्यक्षहरूले आफ्नो कुरा मान्नुपर्नेमा त्यसविपरीत उनीहरू आन्दोलनमा उत्रिएको उनी बताउँछन्। 

“उनीहरूले गरेको आन्दोलनको कुनै औचित्य छैन। सडक विभागको मापदण्ड नमिलेर नै मैले आफ्नो घर नतोडेको हुँ। डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बन्न बाँकी रहेकाले प्रशासनिक भवन बनाउन नमिल्ने हुँदा अहिलेलाई गुठीको जग्गामा अस्थायी टहरा बनाउन खोजेँ, तर उनीहरुले अवरोध गरिरहेका छन्,” मेयर साह भन्छन्, “प्रहरी चौकी पनि मैले नगरको केन्द्रबिन्दु पारेर बनाउन खोजेको थिएँ। तर, उनीहरूले कामै गर्न दिइरहेका छैनन्।” 

आफूले नगरकै हितमा काम गरे पनि आफ्नो विरोध किन भइरहेको छ बुझ्न नसकेको उनी बताउँछन्।

जनता सास्तीमा, मेयर मस्तीमा
विवादका कारण बन्द रहेका नगरपालिकामा झन्डै तीन महिनादेखि आम सर्वसाधारणको काम हुन सकेको छैन। तर, मेयर साहलाई त्यसले एक रत्ती पनि छोएको छैन। प्राय: काठमाडौँमा बस्ने उनी तालाबन्दी शुरू भएयताको अधिकांश समय पनि काठमाडौँमै छन्। ताला खोलेर नगरपालिकाको काम नियमित गर्न मेयर साहले चासो नदेखाएको वडाध्यक्षहरू बताउँछन्।

मेयरविरुद्ध प्रदर्शनमा नगरवासी।

मेयर साहकै बेवास्ताका कारण नगरपालिकाको यो दुर्दशा भएको भन्दै विरोधमा उत्रिएका वडाध्यक्ष उमेश यादव साहको लापरबाहीले नगरपालिकाप्रति जनताको विश्वास दिनप्रति दिन गुम्दै गएको बताउँछन्। “यो समस्या तुरुन्त समाधान गर्न मेयर साहेबको कुनै रुचि नै छैन। नगरपालिकाको काम ठप्प भएको यतिका दिन बितिसक्दा पनि उहाँ खालि काठमाडौँमै बस्नुहुन्छ। त्यहाँ के गर्नुहुन्छ हामीलाई कुनै जानकारी छैन,” उनी भन्छन्। 

अत्यावश्यक प्रशासनिक काम  लिएर नगरपालिका आउने नगरवासीले कार्यालय खोल्न दिनदिनै दबाब दिइरहे पनि आफूहरूको केही नलागेको वडा अध्यक्ष यादव बताउँछन्। नगरपालिका बन्द हुँदा नगरका ज्येष्ठ नागरिकले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण समेत रोकिएको छ। नगरवासीका लागि पालिकाबाट हुने दैनिक प्रशासनिक काम सबै ठप्प छ। 

मेयरको मनोमानी र एकलौटी निर्णय नसच्चिएसम्म आफूहरू आन्दोलनबाट पछि नहट्ने वडा अध्यक्षहरू बताउँछन्। “मेयर साहेबले चाहनुभयो भने एक छिनमै सारा समस्या समाधान हुन्छ तर उहाँ पेलेरै जान खोज्नुहुन्छ, कसैको कुरा सुन्नै चाहनुहुन्न। त्यसले गर्दा यो वर्षको सारा बजेट फ्रिज हुने निश्चित छ,” वडा अध्यक्ष यादव भन्छन्। 

संघर्ष समिति सदस्य डा. वीरेन्द्र यादव पनि जनताको समस्यालाई मेयर साहले बेवास्ता गर्दै आएको बताउँछन्। “उहाँ (मेयर) जनताको समस्या सुन्नै चाहनुहुन्न। एक्लै निर्णय गरेर अगाडि बढ्न खोज्ने उहाँले न कार्यपालिकालाई भाउ दिइरहनुभएको छ न त जनतालाई नै,” उनी भन्छन्।


सम्बन्धित सामग्री