Monday, May 06, 2024

-->

फुटबलमा साउदी अरबको लगानी: खेलाडी अनुबन्धमा 'पैसाको खोलो', ठूला प्रतियोगिता आयोजनाको दाबी

सात वर्षअघि चीनले आफ्ना क्लबमा विदेशी फुटबल खेलाडी भित्र्याउन गरेको लगानीको झल्को दिने गरी साउदी अरब अघि बढिरहेको छ। त्यति मात्र नभई विश्वका ठूला प्रतियोगिता आयोजनाको दाबी पनि गरिरहेको छ।

फुटबलमा साउदी अरबको लगानी खेलाडी अनुबन्धमा पैसाको खोलो ठूला प्रतियोगिता आयोजनाको दाबी

साउदी अरबले फुटबलमा जे गरिरहेको छ, त्यो चीनले सात वर्षअघि नै शुरू गरेको प्रयोगको अनुकरण हो। तर, चाइनिज सुपर लिगले लक्ष्यअनुसार ‘हाइप’ पाउन सकेन। यस्तो अवस्थामा साउदीको लिगमा ठूला खेलाडी अनुबन्ध के का लागि? विश्व फुटबलमा यसको अर्थ के हो? यी प्रश्नको उत्तर साउदी फुटबलको भविष्यले बताउनेछ।

त्यसअघि बुझ्न जरुरी चाहिँ, अहिले फुटबलमा साउदी अरब के गर्न खोजिरहेको छ?

अक्टोबर २०२१ मा साउदी अरबको सार्वजनिक लगानी कोष (पीआईएफ)ले इंग्लिस क्लब न्यूक्यासल युनाइटेडको ८० प्रतिशत सेअर लियो। माइक एश्लेसहित केहीको लगानीमा रहेको उक्त क्लब आफ्नो स्वामिक्तमा ल्याएपछि साउदीले चाँडै प्रिमियर लिग जित्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गर्‍यो। फलतः न्यूकासलले खेलाडी अनुबन्धनका लागि पीआईएफमार्फत् पर्याप्त स्रोत पायो। परिणामस्वरूप यसपालि प्रिमियर लिगमा चौँथो बन्यो। दुई दशकपछि उसले च्याम्पियन्स लिगमा सहभागिता जनाउने अवसर पनि पाएको छ।

न्यूक्यासलको स्वामित्व लिएको साउदी त्यतिमा मात्र रोकिएन। फुटबलमा नयाँ कार्यक्रम र अभियान ल्याउन थाल्यो। साउदीले कतार विश्वकपको समूह चरणमा अर्जेन्टिनालाई २-१ गोलअन्तरले पराजित गरेपछि यस्तो प्रेरणा पाएको थियो। लिओनल मेस्सी, एन्जेल डी मारिया, लिसान्द्रो मार्टिनेज, निकोलस ओटोमेन्डीजस्ता स्टार खेलाडीले भरिपूर्ण अर्जेन्टिनामाथि जित निकाल्नु चानचुने थिएन। त्यसपछि साउदी सरकार त्यहाँका क्लबलाई बलियो बनाउने ध्याउन्नमा लाग्यो।

गएको जनवरीमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट अल नासरले साउदी प्रो लिगमा भित्र्याउन सफल भयो। उनका लागि नासरले २० करोड युरो खर्च गर्ने जनाएको छ। पाँचपटक वर्ष खेलाडी घोषित रोनाल्डोले सन् २०२५ सम्मका लागि नासरसँग सम्झौता गरेका छन्। 

तर, रोनाल्डको प्रदर्शन नासरमा त्यति उम्दा देखिएन। उनी सम्मिलित नासरले यसपटक साउदी लिग जित्न सकेन। १६ खेल खेलेका रोनाल्डोले १४ गोल मात्रै गर्न सके। लिगको च्याम्पियन अल इत्तिहाद बन्यो। साउदी लिग विजेताको हैसियतले इत्तिहाद एशियाली च्याम्पियन्स लिग खेल्न पाउने भएको छ। नासरले भने ‘प्लेअफ’ खेल्दै घुमाउरो बाटो पार गर्नुपर्छ।

चार क्लबमा ठूलो लगानी
साउदी अरबमा फुटबलमा अर्को ठूलो लगानीको घोषणा भएको छ। प्रिन्स मोहम्मद बिन सलमानले सार्वभौम सम्पत्ति कोषबाट सञ्चालित चार ठूला क्लबहरूका २५ प्रतिशत शेयर बिक्री गर्ने, लिगमा व्यापक लगानी गर्ने र युरोपका सबैभन्दा प्रसिद्ध फुटबलर भित्र्याउने घोषणा गरे। घोषणाअनुसार रियादका अल नासर र अल हिलाल तथा जेद्दाका अल इत्तिहाद र अल अह्लीमा पीआईएफको लगानी रहने छ। यी चार क्लबका लागि नयाँ स्पोर्ट्स कम्पलेक्स निर्माण भइरहेको छ। 

पीएआईएफले क्लबलाई मात्र होइन पूरै लिग नै प्रायोजन गरेको छ। तर प्रायोजन गर्दा पीआईएफ नेपथ्यमा रहन्छ, आफूअन्तर्गतका कम्पनीलाई अगाडि सार्छ।

नयाँ योजनाअनुसार २० नयाँ विदेशी खेलाडी साउदी लिगमा आउने छन्। चार ठूला क्लबको भागमा तीन-तीन स्टार विदेशी खेलाडी पर्नेछन्। बाँकी आठ खेलाडी १२ क्लबले पाउनेछन्। सोही योजनाअनुसार वर्तमान बालोन डी’ओर विजेता करिम बेन्जेमा मध्यपूर्वमा रियलका सहकर्मीसमेत रहिसकेका रोनाल्डोसँग खेल्ने पक्का भइसकेको छ। 

बेन्जेमा आगामी तीन वर्ष अल इत्तिहादबाट साउदी लिग खेल्ने छन्। बेन्जेमाले सम्झौता गरे पनि उनको तलब कति हो भन्ने खुलाइएको छैन। तर, क्लबका अनुसार ३५ वर्षीय बेन्जेमालाई तीन वर्षे सम्झौता सकिएपछि थप एक वर्ष नवीकरण गर्नसक्ने सुविधा प्रदान गरिएको छ। 

साउदीको नजर अर्का ठूला स्टार तथा विश्व विजेता मेस्सीमाथि पनि थियो। उनले लिगमा आफ्नो स्थान सुरक्षित गर्नेमा साउदी विश्वस्त थियो। तर, मेस्सी अमेरिका उडे। 

अब साउदी फ्रान्स तथा इंग्लिस क्लब चेल्सीका ३२ वर्षीय मिडफिल्डर एन्गोलो कान्टेलाई भित्र्याउन चाहान्छ। उनलाई साउदी प्रो लिगको अल इत्तिहादले बार्षिक सय मिलियन डलरको अफर दिएको छ। दुई वर्षको सम्झौता गर्न अल इत्तिहादका प्रतिनिधि लन्डन पुगेका छन्। उनीबाहेक सर्जियो बुस्केट, सर्जियो रामोस, पाउल पोग्वा, पिएर एमेरिक औबामेयाङ र हसगो लोरिसजस्ता ठूला खेलाडी भित्र्याउन साउदीका क्लब हात धोएर पछाडी परेका छन्। 

पीआईएफले आफ्नो नियन्त्रणमा राख्ने साउदी प्रो लिगका चार ठूला टोलीहरू अल नासर, अल हिलाल, अल इत्तिहाद र अल अहली नयाँ होइनन्। न त साउदीको फुटबल इतिहास नै त्यति छोटो छ। साउदीको फुटबल इतिहास लामो छ र विशाल समर्थक छन्। अल अहली यी चारमध्ये सबैभन्दा सानो क्लब हो। उसँग २.४ मिलियन ट्विटर फलोअर छन्। यो क्लब लिगमा १०औँ स्थानमा छ। 

सबैभन्दा ठूलो ‘फ्यान फलोइङ’ भएको चाहिँ अल नासर हो। यसको ‘फ्यान फलोइङ’ इंग्लिस टोलीको भन्दा बढी छ। रोनाल्डो गएपछि त उसको खुट्टा भुईंमै रहेन। उनी गएको २४ घण्टामै नासरले इन्स्ट्राग्राममा २.४ मिलियन ‘फलोअर्स’ पाएको थियो।

यस वर्षको लिग च्याम्पियन अल इत्तिहादको प्रशिक्षक टोटेनहम र वोल्भरह्याम्प्टनका मुख्य प्रशिक्षक रहिसकेका नुनो एस्पिरिटो सान्तो छन्। इत्तिहादको शहरी प्रतिद्वन्द्वी हो अल अहली। 

साउदीको राजधानी रियादमा अल रियाद, अल हिलाल, अल नासर र अल शबाब छन्। अल हिलालसँग कम अनुभव बटुलेका, तर ब्राजिल, माली, दक्षिण कोरिया, पेरू र कोलम्बियाका अन्तर्राष्ट्रिय खेलाडीहरू छन्। उसको प्रतिद्वन्द्वी अल-शबाब विगत तीन सिजन लिगको शीर्ष चारमा परिरहेको छ। यो सिजन अल नासर दोस्रो र अल हिलाल तेस्रो स्थानमा रहे। अल नासरसँग रोनाल्डोसँगै आर्सनल र नेपोलीका पूर्वगोलरक्षक डेभिड ओस्पिना छन्। 

पीआईएफले लगानी गर्ने चार टोलीहरूमा ७५ प्रतिशत हिस्सेदारी राख्नेछ। अन्य २५ प्रतिशत गैर-लाभकारी संस्थाद्वारा नियन्त्रित हुनेछ। खेलकुद मन्त्रालयका अनुसार ती क्लबहरूको बोर्डमा सात सदस्य हुनेछन्, जसमध्ये पाँचजना पीआईएफ र अन्य दुई संस्थाबाट नियुक्त हुनेछन्। 

पैसा खन्याएर लिग सफल होला?
अन्य डिभिजनका क्लबको स्वामित्व संरचना पनि बदलिँदैछ। विश्वको सबैभन्दा मूल्यवान तेल कम्पनी अरामकोले पहिलो डिभिजनको अल कादसियामा लगानी गरेको छ। अल दिरियाह क्लबमा दिरिया गेट डेभलपमेन्ट अथोरिटी, तेस्रो डिभिजनको अल-उला क्लबमा अल-उला गभर्नरेटका शाही आयोग र अल सुकुर एफसीमा निओमले लगानी गर्ने बताइएको छ। यी चारै कम्पनीहरू राज्यको स्वामित्वमा छन्। निओम देशको उत्तरपश्चिममा निर्माणाधीन ‘स्मार्ट सिटी’ बनाउने कम्पनीको रूपमा परिचित छ। 

साउदी सरकार आफ्नो प्रो लिगलाई विश्वको १० उत्कृष्टमध्ये एक बनाउन चाहन्छ। यसको बजार मूल्यलाई तीन गुणा बढाउने उसको उद्देश्य छ। यसैका लागि तेल बेचेर कमाएको अकुत सम्पति पानी सरह फुटबलमा खन्याउन चाहन्छ। 

सन् २०१६ मा चाइनिज सुपर लिगले युरोपबाट खेलाडीहरू किन्ने र आफ्नो लिग बलियो बनाउने योजना बनाएको थियो। विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको रूपमा आफूलाई उभ्याउन लागिपरिरहेको चीन सरकारले लिगको योजनालाई राम्रै साथ दियो। सरकारको साथले हौसिएका क्लबहरूले बेल्जियमका एक्सेल विट्सेल, यानिक क्यारास्को, मोउसा डेम्बेले र मार्वान फेलायनी भित्र्याए। बेल्जियमको राष्ट्रिय टोलीबाट समेत खेलिरहेका यी खेलाडी चीन पुग्नु धेरै हदसम्म आर्श्चयजनक थियो। 

उनीहरूसँगै जर्मनीका स्यान्ड्रो वाग्नर, इटालीका गेब्रियल पालेटा, ब्राजिलका जोसेफ डी सुजालगायत धेरै खेलाडी चीनमा फुटबल खेल्न पुगे। उनीहरूलाई ठूलो रकम पारिश्रमिक दिइएको थियो। तर, सात वर्ष बितिसक्दा चाइनिज सुपर लिगले लक्ष्यअनुसार ‘हाइप’ पाउन सकेन। उसको योजना अहिले अलपत्र परेको छ। कोरोना महामारी र त्यसपछि देखिएको आर्थिक मन्दीले क्लबका मालिकहरू टाउको समाउन थालेका छन्। 

कतिपय राजनीतिज्ञ साउदीको यो कदम उसकै लागि प्रत्युत्पादक हुनसक्ने अनुमान गर्छन्। साउदीको मानव अधिकारको रेकर्ड डरलाग्दो छ, समलैँगिकता गैरकानूनी छ। त्यहाँ अभिव्यक्ति स्वतन्त्रता र महिला अधिकारहरूमा गम्भीर प्रतिबन्धहरू लगाइएका छन्। रोनाल्डो भित्र्याएर चर्चा कमाएको साउदीमाथि ‘फुटबल वास’ गरेको आरोप लाग्ने गरेको छ। साउदीले विश्वव्यापी दर्शकहरूको अगाडि  फुटबलको आडमा आफ्नो छवि सुधार गर्ने प्रयास गरिरहेको आरोप छ। 

तर, यो योजना आफ्नो देशको ‘भिजन २०३०’ को एक हिस्सा भएको साउदीको तर्क छ। उसले सन् २०३० को विश्वकप फुटबल आयोजना गर्ने सपना बुनेको छ। जीवाश्म इन्धनबाट प्राप्त राष्ट्रको आम्दानीलाई विविधीकरण गर्ने, पुरूष फुटबल विश्वकप आयोजना गर्न आफ्नो सम्भावना सुधार गर्ने, युवा जनसंख्यामा देखिएको मोटोपना, हृदय रोग र मधुमेहको उच्च दरलाई सुधार गर्ने लक्ष्य लिएको साउदीले दाबी गर्दै आएको छ।

साउदीका खेलकुदमन्त्री प्रिन्स अब्दुल्लाह बिन टर्की अल-फैसल भन्छन्, “व्यावसायिक राजस्व र निजी क्षेत्र लगानीको संयोजनमार्फत् साउदी प्रो लिगलाई विश्वका शीर्ष बनाउन चाहान्छौँ। बाहिर जाने लगानीलाई यही सुरक्षित गर्ने र यसबाट पैसा कमाउन चाहान्छौँ।”

युरोपमा जस्तो साउदीमा खेलाडी भित्र्याउन क्लबले कतिसम्म खर्च गर्न पाउँछन् भन्ने सीमा तोकिएको छैन। उनीहरूले जति पनि खर्च गर्न सक्छन्। क्लबको ‘समर विन्डो’ जुनमा खुल्छ र सेप्टेम्बरमा बन्द हुन्छ।

हालको नियमअनुसार साउदी लिगमा एक टोलीले आठ विदेशी खेलाडी राख्न पाउँछन्। पीआईएफको स्वामित्व रहेका क्लब २०२३/२४ को सिजनमा कम्तीमा तीन विश्व प्रसिद्ध खेलाडी भित्र्याउने लक्ष्यमा छन्। थोरै संख्यामा भए पनि विश्व प्रख्यात खेलाडीहरू लिगमा आकर्षित गर्न सकिने उनीहरूको अपेक्षा छ। यस्तो भएमा लिगमा प्रतिस्पर्धा, समर्थक, लगानी र आम्दानी बढ्ने छ। 

रोनाल्डोले एसपीएलसँगको अन्तर्वार्तामा भनेका छन्, “यदि ठूला तथा चर्चित, युवा र अनुभवी खेलाडी आउँछन् भने स्वागत छ। उनीहरूको आगमनले लिगमा सुधार आउनेछ। साउदी लिग धेरै राम्रो छ, लिग प्रतिस्पर्धात्मक छ। साउदी खेलाडीहरू पनि राम्रा छन्। उनीहरूमा अलिकति सुधारको खाँचो छ।”

आउँदो हप्तामा दर्जनौँ खेलाडी साउदीसँग जोडिएको देख्न पाइने उनको आशा छ। नेयमार, पेपे र लुका मोड्रिच फेब्रुअरीदेखि नै साउदी लिगसँग जोडिएका नाम हुन्।  बार्सिलोनाका ३४ वर्षीया लिजेन्ड बुस्केट्सलाई भित्र्याउने दौडमा अल हिलाल लागिरहेको छ।

अल इत्तिहादले पहिले नै विल्फ्रेड जाहा, कान्टे र अदामा ट्राओरेलाई भित्र्याउने प्रयास गरेको थियो। सम्झौताबाट रहेका, सम्झौता नवीकरण गर्ने पक्षमा नरहेका र आफ्नो वर्तमान क्लबबाट सरुवा हुने घोषणा गरेका ह्युगो लोरिस, एलेक्सिस सान्चेज र रोबर्टो फर्मिनोजस्ता अन्य ‘हाई प्रोफाइल’ खेलाडीहरू पनि साउदी लिगसँग जोडिने चर्चा चलेको छ। 

साउदी अरबियन फुटबल संघका अध्यक्ष यासेर बिन हसन अल-मिसेहल भन्छन्, “हाम्रा लिगहरू थप प्रतिस्पर्धी र आकर्षक बन्दै गएपछि विश्वका युवा प्रतिभाहरूले पनि सोच्ने दिन समय आउनेछ।” 

अल-मिसेहलका अनुसार साउदीले फुटबलमा लगानी बढाएसँगै २१ हजारको आकडामा रहेका साउदी खेलाडीको संख्या २ लाखमा पुर्‍याउने लक्ष्य छ। साउदीको तथ्यांक अनुसार रोनाल्डोले जनवरीमा त्यहाँबाट खेल्न थालेपछि फुटबलमा समर्थकहरू दोब्बरले बढेका छन्। अल नासरका समर्थक पनि १४३ प्रतिशतले बढेको छ।

साउदीले आफ्नो खेलकुद खर्चलाई क्लबमा सीमित गरेको छैन, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि छरेको छ, जहाँ विश्वको ध्यान केन्द्रित छ। साउदीले २०२७ एएफसी एशियन कपको आयोजना गर्ने अधिकार पाइसकेको छ। २०२६ मा एएफसी महिला एशियाली कपको आयोजना गर्न ‘बिड’ गरिरहेको छ। 

साउदी जसरी पनि फिफालाई मनाएर २०३० को पुरुष विश्वकप आयोजना गर्ने लक्ष्यमा छ। यद्यपि, यो सहज भने छैन। यसअघि नै अर्जेन्टिना र उरुग्वेले संयुक्त रूपमा विश्वकप आयोजना गर्न अधिकार माग्ने जनाइसकेका छन्। यता स्पेन, पोर्चुगल, युक्रेन र मोरक्को पनि आयोजनाको अधिकार छिन्न प्रतिस्पर्धामा छन्। 

के पनि सत्य छ भने, साउदीले फुटबलमा जे गरिरहेको छ, त्यो ‘एक भ्रम मात्र’ रहेको भन्दै आलोचाना गर्नेको कमी छैन। साउदी प्रो लिग खेलिरहेकै अल शबाबका अध्यक्ष खादिल अल बल्तान यही विषय उठाएर विरोध गर्नेमध्ये एक हुन्। उनी भन्छन्, “साउदी फुटबलमा बिग फोर एक भ्रम मात्र हो। यसले क्लबहरूबीचको खाडल बढाइरहेको छ।”


द एथ्लेटिक, न्यूयोर्क टाइम्स र बीबीसीको सहयोगमा


सम्बन्धित सामग्री