प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको एमाले महासचिवको आरोप, कठघरामा उभ्याउन माग

कालापानी, लिपुलेक र लिम्पियाधुरा  बंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीले गम्भीर राष्ट्रघात गरेको पोखरेल आरोप छ।

काठमाडौँ– एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाएका छन्।

कालापानी, लिपुलेक र लिम्पियाधुरा  बंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीले गम्भीर राष्ट्रघात गरेको पोखरेल आरोप छ।

“भारत भ्रमणका क्रममा देखिएको नेपालको कमजोर तयारी, भ्रमण दलका सदस्यबाट भएको कूटनीतिक मर्यादाको गम्भीर उलंघन र प्रधानमन्त्रीकै राष्ट्रघाती अभिव्यक्तिका लागि उहाँलाई संसदीय कठघरामा उभ्याउनु सक्नु पर्दछ,” पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्, “ताकी भविष्यमा कुनै पनि प्रधानमन्त्रीले विदेशमा गएर यस प्रकारले राष्ट्रको शिर निहुराउने काम नगरोस्।"

बंगलादेश जानेबाटो नेपाल जस्ता भूपरिवेष्टित राष्ट्रले पाउनैपर्ने अधिकारको विषय भएको पोखरेलको भनाइ छ। यस्तै, प्रधानमन्त्रीले औपचारिक भ्रमणलाई राजकीय भ्रमण भनेर ढाँट्ने र पारिवारिक निजी भ्रमणजस्तो बनाउने काम गरेको उनले उल्लेख गरेका छन्।

भ्रमणका क्रममा भारतीय चासोका विषय आँखा चिम्लेर सम्बोधन गर्ने काम भएको र नेपालको सरोकारका विषयले ठाउँ पाउन नसकेको महासचिव पोखरेलले बताएका छन्।