Friday, March 29, 2024

-->

फेवातालको सिमसार क्षेत्र पुर्न रोक्ने निर्णय

भू तथा जलाधार संरक्षण समितिको बैठकले सिमसार क्षेत्र पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र जिल्ला प्रशासनलाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ।

फेवातालको सिमसार क्षेत्र पुर्न रोक्ने निर्णय
पोखरा-२४ को पामे क्षेत्रमा जेठ ६ गते साँझ फेवातालको सिमसार पुर्न टिपरमा ओसारिएको माटो खन्याइँदै। तस्वीर: श्याम/उकालो

पोखरा- पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ। जिल्ला समन्वय समिति कास्की प्रमुख एवं भू तथा जलाधार संरक्षण समिति कास्कीका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए।  सर्वोच्च अदालतको आदेशविपरीत फेवातालको सिमसार क्षेत्र पुर्न थालिएको समाचार यसअघि उकालोले प्रकाशित गरेको थियो।

सर्वोच्चले २०७५ वैशाख १६ गते फेवातालको संरक्षणमा असर पुर्‍याउने भौतिक संरचनाहरू हटाउन पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारलाई आदेश दिएको थियो। सर्वोच्चको फैसला अनुसार फेवाताल किनारको वरपर ६५ मिटरभित्र अनधिकृत रूपमा बनाइएका होटल, रेष्टुरेन्ट तथा घरटहराहरू ६ महिनाभित्र हटाइसक्नुपर्ने थियो। फैसला आएको पाँच वर्ष बितिसक्दा पनि फेवाताल संरक्षणका लागि सर्वोच्चले दिएको आदेशको कार्यान्वयन शुरू नै भएको छैन।

जिल्ला समन्वय समितिका प्रमुख पौडेलका अनुसार शुक्रबारको बैठकले एक संयन्त्र निर्माण गरी सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको छ। फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृतरूपले दोहन भइरहेको भन्ने सूचना आएपछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र कानून हातमा लिएर काम गर्ने जो कोहीलाई पनि कारबाही गरिने पौडेलले बताए। कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवाताल र सिमसारको अस्तित्वमा संकट ल्याउने कार्य सह्य नहुने र जोसुकै हुन कारबाही गरी छाड्ने उनको भनाइ छ। 

बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले फेवातालमाथिको दोहन रोक्नका लागि र सो क्षेत्रको संरक्षणमा महानगरको पूर्ण प्रतिबद्धता रहेको बताएका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले निर्धक्कका साथ काम गर्न समन्वय समितिलाई आग्रह गर्दै प्रशासन त्यसका लागि पूर्ण सहयोग गर्न तयार रहेको बताए।

यसअघि पोखरा महानगरका पदाधिकारीहरूले ‘फेवाताल मास्न अग्रसर हुनेहरूविरुद्ध कडा एक्सन चालिरहेको’ बताए पनि यसबेला ताल मास्नेहरू झन् बढी सक्रिय भएको देखिएको छ। उकालोसँगको कुराकानीमा पोखरा महानगर प्रमुख आचार्यले रातको समयमा लुकिचोरी काम गर्नेलाई निषेध गर्न गस्ती खटाएको बताएका थिए। तर, गएको जेठ ६ गते राति उकालो टिम स्थलगत अवलोकनमा पुग्दा त्यहाँ आचार्यले भनेअनुसार गस्ती थिएन। त्यसविपरीत टिपरमा माटो ल्याएर पोखरा–२४ पामे नजिकै फेवाताल क्षेत्र अतिक्रमण गर्न धमाधम सिमसार पुर्ने काम भइरहेको थियो। 

दिनहुँ साँझ पर्नासाथ दर्जनौँ टिपरमा माटो ओसारेर ताल छेउको होचो जमिन उकास्ने र सम्याउने  काम भइरहेको छ। जेठ ६ गते आफूलाई धादिङ निवासी सन्तोष तिमिल्सिना बताउने एक युवकले खेतिपाति गर्न जमिन सम्याइरहेको बताएका थिए। उकालोकर्मीलाई फोटो र भिडियो खिच्नमा अवरोध पुर्‍याउन आएका उनले त्यो ठाउँ आवासीय क्षेत्र भएको र त्यहाँ आफ्नो पनि जग्गा रहेको दाबी गरेका थिए।

यो पनि: रातारात डोजर लगाएर पुरिँदैछ फेवातालको सिमसार


रासससमेतको सहयोगमा।


सम्बन्धित सामग्री