आगामी निर्वाचनमा पहिलो शक्ति बन्न एमालेले वार्षिक योजना बनाउने

एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन प्रस्तुत गरेका छन्।

काठमाडौँ– नेकपा एमालेले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ। पार्टीको जारी केन्द्रीय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रबार प्रदेश कमिटीसहितको आठ वटा समूहले वार्षिक कार्ययोजनाका लागि सुझाव दिएको थियो। सोही सुझावका आधारमा शनिबार बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले बताए। 

“आठ वटै टोलीका तर्फबाट प्रस्तुत भएका सुझावहरूलाई ध्यानमा राखेर भोलि बिहान हाम्रो पार्टीको स्थायी कमिटी बैठक बस्नेछ। त्यसमा प्राप्त सुझावहरूलाई समेत विश्लेषण गर्दै पार्टीको केन्द्रीय नेतृत्वले सोचेका योजनामा समेत तिनलाई समायोजन गर्दै पार्टीको वार्षिक कार्ययोजना प्रस्ताव तयार गर्नेछ,” उनले भने।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन पनि प्रस्तुत गरेका छन्। सोही मार्गदर्शनमा आधारित भएर सबै समूहहरूले पार्टीको वार्षिक कार्ययोजनाका लागि सुझाव दिने छन्।

बिहीबारबाट शुरू भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली, विभिन्न आयोगका अध्यक्षहरू तथा प्रदेश कमिटीहरूले प्रस्तुत गरेको मिशन ग्रासरुट अभियानबारे विभिन्न समूह बनाएर छलफल गरिएको थियो। शनिबार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित केन्द्रीय कमिटी बैठक सम्पन्न हुने एमालेले जनाएको छ।