Friday, March 29, 2024

-->

नक्कली भुटानी शरणार्थी: कसको भूमिका के थियो?

फर्जी व्यक्तिहरूलाई शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको शुरूआत केशव दुलालबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछि गृहप्रशासनकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काम शुरू भएको थियो।

नक्कली भुटानी शरणार्थी कसको भूमिका के थियो

काठमाडौँनक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बुधबार बिहान पक्राउ परेसँगै हालको गृह प्रशासन र प्रहरीले स्याबासी र सहानुभूति बटुलिरहेका छन्। खाँणसँगै उनी गृहमन्त्री हुँदाका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्।

योसँगै यस प्रकरणमा हालसम्म १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। यसअघि समातिएका १० जनामा सानु भण्डारी, केशव दुलाल, टंक गुरुङ, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा, सन्दीप रायमाझी, सागर राई, रामशरण केसी र गोविन्द चौधरी छन्।

उनीहरू सबैलाई हिरासतमा राखेर संगठित अपराधको मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको प्रहरीले अबको १५ दिनभित्र अनुसन्धान सकेर प्रतिवेदनसहित सरकारी वकिलको कार्यालय समक्ष पेश गर्नु पर्नेछ।

गत चैत १२ गते नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न तीन प्रमुख योजनाकार पक्राउ परेपछि यो प्रकरणको अनुसन्धानमा गृह मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहेका सचिवदेखि हाइप्रोफाइल मानिएका नेताहरूसमेत मुछिएका हुन्।

प्रकरणमा को कसरी जोडिए ?
भुटानी शरणार्थी नै नभएका फर्जी व्यक्तिहरूलाई शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको शुरूआत केशव दुलालबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मोरङ स्थायी घर भई ललितपुरमा बस्ने दुलाललाई शरणार्थीको प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने पद्धतिबारे पहिल्यैदेखि जानकारी थियो। किनभने, उनले २०६६ जेठदेखि २०६७ माघ २३ सम्म परराष्ट्रमन्त्री रहेकी सुजाता कोइरालाको स्वकीय सचिव भई काम गरिसकेका थिए।

त्यतिबेला नै उनलाई शरणार्थीको प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने प्रक्रियाबारे जानकारी थियो। प्रमाणीकरणमा छुटेका शरणार्थीको नामावली संकलनको काम शुरू भएसँगै नयाँ नामावलीमा फर्जी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा असुल गर्ने योजना दुलालले नै बनाए।

उनले आफ्नो योजना ललितपुरकै सानु भण्डारीलाई सुनाएका थिए। भुटानी शरणार्थीको नयाँ सूचीमा नक्कली शरणार्थीलाई पनि समावेश गराई अमेरिका पठाउन सकिने र त्यसमार्फत् मोटो रकम हात पर्ने योजना बनेपछि त्यसका लागि सहजीकरण गर्नुपर्ने भयो। गृह मन्त्रालयको सहयोगबिना त्यो सम्भव नभएकाले गृहमन्त्री, गृहसचिव लगायतका पदाधिकारीलाई हातमा लिनुपर्ने भयो।

दुलालको योजनाबारे सानु भण्डारीले एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसँग कुरा गरे। योजनाअनुसार अघि बढ्न रायमाझी सहमत भएपछि उनैले त्यसबारे तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार डा. राईलाई सुनाए। ठूलो रकम हात पर्ने देखेपछि डा. राई पनि गिरोहको योजनामा सहमत भए। उनकै सक्रियतामा छुट शरणार्थी दर्ता गर्न परिपत्र तयार पार्ने र गृहप्रशासनकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काम शुरू भयो।

दुलाल र भण्डारीले पूर्व क्षेत्रका लागि टंक गुरुङ र सागर राईलाई जिम्मा दिएर अमेरिका जान चाहने नक्कली शरणार्थीहरूको खोजी शुरू गरे। पश्चिमतर्फ नक्कली शरणार्थी खोजी गर्नका लागि भण्डारीले दाङका सन्देश शर्मालाई परिचालन गरे।

पैसा बुझाएर नक्कली शरणार्थी बन्न इच्छुक विभिन्न व्यक्तिहरूलाई शर्माले दाङ, प्युठान, रुकुम, रोल्पा लगायतका जिल्लाबाट जम्मा पारे। त्यसपछि यो गिरोहले एक जनाबाट कम्तीमा १० लाखदेखि अधिकतम ४५ लाख रुपैयाँसम्म उठाएर ३३ करोडभन्दा बढी रकम असुल गरिसकेको थियो।

तर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजन भई एमाले र माओवादी छुट्टिएपछि तत्कालीन गृहमन्त्री थापा र तत्कालीन ऊर्जामन्त्री रायमाझी एमालेतिर लागे। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको संसद् सर्वोच्च अदालतले पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दियो। त्यसपछि बादल र रायमाझीको मन्त्री पद पनि गयो।

देउवा नेतृत्वको सरकारमा खाँणले गृहमन्त्रीको जिम्मेवारी पाए। तत्कालीन गृह मन्त्रालयकै सल्लाहकार, मन्त्री लगायतको मिलेमतोमा करोडौँ ठगी भएको भन्दै उजुरी परेपछि सो उजुरीको बोधार्थ गृह मन्त्रालयसम्म पुग्यो। मन्त्री खाँणकै रोजाइमा २०७८ साउन २७ गते गृह मन्त्रालयमा सरुवा भई आएका सचिव टेकनारायण पाण्डेले गिरोहका सदस्यहरूलाई सम्पर्क गरी यस विषयमा के कसो भएको हो भनेर जानकारी लिन थाले।

गिरोहका सदस्यहरू दुलाल र भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, एमाले नेता रायमाझी लगायतले पैसा बुझेको, तर काम हुन नपाएको भन्दै काम भएमा अहिलेका सचिव र मन्त्रीलाई पनि पैसा दिने लोभ देखाए। पैसाको प्रलोभनमा परेका गृहसचिव पाण्डेले मन्त्रालयको काम आफूले हेरिदिने आश्वासन दिए। त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्ने र पैसासमेत दिनुपर्ने शर्त उनले राखे।

शुरूमा गृह मन्त्रालयका सचिव पाण्डेले नै गृहमन्त्री खाँणलाई यसबारे सारा जानकारी दिएका थिए। त्यसपछि उनले गिरोहका सदस्यहरू दुलाल र भण्डारीबाट पैसा लिन बुझ्न गरे। पाण्डेमार्फत् नै गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले तत्कालीन गृहमन्त्री खाँणलाई समेत भेट गरेको शर्माले आफ्नो वयानमा उल्लेख गरेका छन् ।

को कहिले पक्राउ परे ?
गत चैत १२ गते भुटानी शरणार्थीको नाममा परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ परे। उनीहरूले सयौँ नेपालीलाई शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम उठाएर ठगी गरेको खुलेपछि उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले पक्राउ गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ भने अन्य व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको छ। प्रारम्भिक चरणमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट खुल्न आएका आरोपितमध्ये मोरङका दुलाल, ललितपुरका भण्डारी र पाँचथरका टंक गुरुङलाई पक्राउ गरिएको थियो।

त्यसको तीन दिनपछि चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ पक्राउ परेका थिए। अनुसन्धानबाट खुल्दै आएका आरोपितहरूमध्ये भागेर भारत पुगेका दाङका शर्मा पनि सोही दिन पक्राउ परे। भारतको पन्जाबमा लुकेर बसिरहेका शर्मालाई प्रहरीले चैत २९ गते नेपालभारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।

पक्राउ परेकाहरूविरूद्ध संगठित ठगीमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्दै जाँदा वैशाख १९ गते तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. राई पक्राउ परे। त्यसको भोलिपल्टै उपराष्ट्रपति कार्यालयमा कार्यरत तत्कालीन गृहसचिव पाण्डे र एमाले सचिव रायमाझीका छोरा सन्दीप समातिए।

प्रहरीले बैशाख २६ गते गिरोहका सदस्यहरू रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गर्‍यो। पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता खाँण र गृहमन्त्रीकालमा उनको स्वकीय सचिव रहेका नरेन्द्र केसी बुधबार बिहान पक्राउ परे। एमाले नेता एवं सांसद रायमाझी भने अझै फरार छन्।

भुटानी शरणार्थी मामिला र हालको प्रकरण
सन् १९९० मा नेपाली मूलका भुटानी नागरिकहरू त्यहाँबाट लखेटिएर भारत हुँदै नेपाल प्रवेश गरे। उनीहरू झापा र मोरङका विभिन्न शिविरमा शरणार्थी भएर बसेका थिए। यसरी आउनेको संख्या थपिँदै करिब एक लाख २० हजार पुगेको थियो ।

तीमध्ये सन् २०१८ सम्ममा १ लाख १३ हजार ३०७ जना अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगाययतका तेस्रो मुलुक पुनर्स्थापना भएका थिए। तीबाहेक भुटानी शरणार्थीका रूपमा दर्ता भएका ६ हजार ५७७ जना अझै नेपालकै शिविरमा छन् ।

शरणार्थीलाई सहयोग गर्दै आएको संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर)को दमकस्थित कार्यालय पनि सन् २०२० मा बन्द भयो। २०७५ पुस १७ देखि नगद र खाद्यान्न सहयोग गरिरहेको राष्ट्र संघकै विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले पनि नगद र खाद्यान्न सहयोग बन्द गरेको छ।

तर, ओली नेतृत्वको तत्कालीन सरकारले २०७६ जेठ ३० मा विविध कारणले शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरूबारे अध्ययन गरी थप प्रमाण जुटाउन भन्दै गृहमन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गर्‍यो।

उक्त कार्यदल गठन भएसँगै झापा, मोरङ, सुनसरी, दाङ, गोरखा, बाग्लुङलगायतका जिल्लामा संगठित गिरोहका सदस्यहरूले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुली थालेको अनुसन्धानबाट खुलेको छ। सरकारले हालसम्म कार्यदलको प्रतिवेदन भने सार्वजनिक गरेको छैन। तर, त्यसमा भएको नामावलीको अनुसूचीमा फर्जी शरणार्थीहरूको नाम थपेर गिरोहले अमेरिका पठाउने प्रलोभनमा उनीहरूबाट रकम असुल्न थालेको थियो।

मोटो रकम बुझाए पनि अमेरिका जाने छाँटकाँट नदेखेपछि पीडितहरूले प्रहरीमा उजुरी गर्न थाले।  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीका अनुसार प्रहरीकहाँ हालसम्म १४५ जनाको उजुरी परे पनि अरू धेरै पीडित हुनसक्ने अनुमान गरिएको छ।

कतिपयले अमेरिका जाने सपना देखेर घरखेत बिक्री गरेर समेत पैसा बुझाएको प्रहरीसमक्ष बताएका छन्। पटकपटक आश्वसन दिइए पनि उनीहरूले शरणार्थीको परिचय पत्र पाएका थिएनन्। न त आप्रवासन प्रक्रियाबारे नै जानकारी पाएका थिए। प्रहरीका अनुसार पीडितहरूको दबाब आउन थालेपछि यो गिरोहका सदस्यहरूले पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनको अनुसूचीमा नामहरू थप गरेर प्रतिलिपि बाँडेको पाइएको छ।

प्रतिवेदनको अनुसूचीमा नाम थपिएको देखेपछि २०७८ सालको मंसिरमै पीडितहरू उजुरी लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका थिए। उजुरीमा पनि तत्कालीन गृहमन्त्री 'बादल'का सुरक्षा सल्लाहकार राई र उनका छोरा निरजसहितको समूहले ५ करोड ६० लाख रुपैयाँ लिएको भनिएको थियो ।

तर, अख्तियारले उक्त उजुरी दर्ता नगरेपछि पीडितहरू जिल्ला प्रहरी परिसर, काठमाडौं पुगे। त्यहाँ पनि प्रहरीले तत्काल अनुसन्धानले शुरू गरेन। ११ महिनाअघि फेरि पीडितहरूले उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरमा उजुरी दिएका थिए। त्यतिबेला वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर त्यहाँका कार्यालय प्रमुख थिए। गत चैत १० गते उनी महानिरीक्षक बनेसँगै अनुसन्धानले गति लिएको थियो।


सम्बन्धित सामग्री