मत्स्येन्द्रनाथको जात्रामा तीन दशकदेखि फोटो बेच्दै आएका रत्नकाजी महर्जनसँग यो पर्वसँग सम्बन्धित १८० वर्षदेखिका तस्वीर छन्। तस्वीर बेचेरै जीवन धान्नेभन्दा पनि आफूले धर्म गरिरहेको उनको विश्वास छ।
काठमाडौँ- पाटन हकः टोलका ६४ वर्षीय रत्नकाजी महर्जनलाई यसपटकको जात्राका दृश्यले चिन्तित बनाएको छ।
वैशाख–जेठको यो अवधिमा पाटन रातो मत्स्येन्द्रनाथको जात्राले गुल्जार हुन्छ। सम्पूर्ण पाटनवासी हर्ष र उल्लासमा रमाउँछन्। तर, यसपटक उनलाई दुई कुराले चिन्तित तुल्याएको छ।
पहिलो, रातो मत्स्येन्द्रनाथको रथ केही ढल्किएको छ। ढल्किएको रथ यात्रा गराउँदा पटकपटक क्रेनले रथलाई मिलाउनु परेको छ। यसरी रथ चलाउँदा ढल्ने हो कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ। त्यसो त रथ आँखै अगाडि ढलेको पनि उनले देखेका छन्।
रथ ढलेका दृश्य स्मृतिमा मात्रै होइन, तस्वीरसहित अभिलेख नै राखेका छन्। संकलनमा राखेका तिनै तस्वीर हरेक वर्ष मत्स्येन्द्रनाथको जात्राका बेला बेच्ने गर्छन्।
अघिल्ला वर्षहरूमा उनलाई ती फोटोहरू बेच्न सहज थियो। तर, यसपटक उनलाई रथ परिसरको वरपर पनि जान पाएनन्। नगर प्रहरीले फोटो बेच्न नदिएपछि अर्को चिन्ता थपियो। हुनत उनले बेचेको फोटोले उनको आर्थिक पाटो धानिने होइन, तर रत्नकाजीभित्रको आस्थाले हरेक वर्ष मत्स्येन्द्रनाथको जात्रामा ती फोटो बेच्न जान डोर्याइरहेको हुन्छ।
‘फोटो बेच्ने बाजे’ भनेर चिनिन्छन्, उनी। पाटनको रातो मत्स्येन्द्रनाथको जात्रामा रत्नकाजीलाई नचिन्ने मान्छे छैन। “मलाई देख्ने जतिले पुरानो पुरानो फोटो ल्यायो भनेर किन्न आउने गर्छन्,” मुस्काउँदै उनले भने।
१९०० सालदेखिका फोटो संकलन
२०४८ सालबाट फोटो संकलनमा लागेका रत्नकाजीसँग १९०० सालदेखिको मत्स्येन्द्रनाथका फोटोहरू छन्। उनीसँग पाटन–बुंगमतिको रातो मस्त्येन्द्रनाथ (पद्मपाणी लोकेश्वर), काठमाडौ जनबहालका सेतो मत्स्येन्द्रनाथ (आर्यभालोकेश्वर), भक्तपुरस्थित नाला सृष्टिकान्त लोकेश्वर र चोभारमा आदिनाथ लोकेश्वरका फोटो छन्।

पुराना फोटो संकलन गर्नुअघि छ्वालीबाट विभिन्न कलाका काम गर्ने गर्थे। पाटनस्थित गोल्डेन टेम्पलानजिकै रहेको फेस फोटो स्टुडियोमा काम गर्थे। “मलाई फोटो संकलन गर्ने आइडिया फोटो स्टुडियाको साहुले दिनुभएको हो,” उनी सम्झन्छन्, “०४८ सालमा १२ वर्षे जात्रा थियो। बुंगमतिबाट ल्याउनु पर्ने। १२ वर्षे जात्रामा जाउ र पुरानो फोटो पनि खिच।” यो वाक्य अझै पनि याद आउने रत्नकाजी बताउँछन्।
साहुले भनेपछि उनी मत्स्येन्द्रनाथका फोटोहरू संकलन गर्न थाले। यसको लागि फोटो स्टुडियो नै उनको मुख्य थलो बन्यो। त्यसताकाको पाटनस्थित टंगाल मच्छिन्द्र फोटो सप, मंगलबजारको पूर्ण फोटो, पाटनस्थित गोल्डेन टेम्पलस्थित फोटो फेस, नटोलको केजी कलर ल्याब लगायतका स्टुडियोबाट फोटो संकलन गरेको उनलाई सम्झना छ।
त्यस्तै, ललित कलर, रेन्बो कलर ल्याब, सयपत्री कलर ल्याब, ह्योकोला कलर अन्य केही हुन्। पाटनका चिनेको फोटोग्राफरसँग भने सम्बन्धित फोटोको नेगेटिभ संकलन गरे। तिनै नेगेटिभलाई पुनः फोटो खिचेर डुब्लिकेट फोटो बनाइ पनि कतिपय फोटो खिचेका छन्। स्टुडियोबाहेक उनले पुरानो क्यालेन्डर, छापिएको किताब तथा इन्टरनेटबाट पनि पुराना फोटो निकालेको छन्।
१९०० सालका फोटो ‘ब्ल्याक एन्ड ह्वाइट’ हुन्थे। रत्नसँग २०१४ साल यताको फोटा रंगीन छन्। “०१४ सालअघि रंगीन फोटो आएको थिएन,” उनले भने।

आफूले संकलन गरेको फोटो उनले १० रुपैँयामा बेच्थे। उनको त्यसमा ६ रुपैयाँ लागत पर्थ्यो। हाल प्रति फोटोको दाम २० रुपैयाँ पुगेको छ। यसपटक उनले ठूलो साइजमा पनि फोटो बनाएका छन्। जसको मूल्य १५० रहेको छ।
“एउटा फोटो बनाउन सय रुपैयाँ लाग्छ। ५० रुपैयाँ नाफा राखेर बेच्छु,” उनी भन्छन्, “स्टुडियोमा त्यही फोटो किन्न गयो भने २ सय लिन्छ। मैले यहाँ धेरै मान्छेलाई बेच्ने भएर १५० मा गर्छ।”
२०६० सालमा फ्लेक्स आयो। त्यसअघिसम्म फोटो नै बेचिरहेका रत्नकाजीले संकलित फोटोलाई फ्लेक्समा पनि उर्तान थाले। उनी भन्छन्, “त्यो बेला ३ सयमा फ्लेक्स बनाएरमा ४ सयमा बेच्थेँ अहिले ठ्याक्कै सय रुपैयाँ बढेको छ।”
थोरै खर्च, धेरै धर्म
तीन दशकबढी फोटो बेचेका उनी थोरै खर्च र धेरै धर्म, आस्थाको कारण बेचिरहेको छु भन्छन्। आफूसँग फोटो लिने आउने मत्स्येन्द्रनाथप्रतिको आस्था, विश्वासले र अध्ययनमा रुचि राख्नेले लैजाने गरेको उनको अनुभव छ।
“कोहीसँग पैसा हुँदैन तर फोटो किन्न मन हुन्छ, त्यस्तोमा मैले ‘फ्रि’ मा पनि दिएको छु,” उनी भन्छन्, “हिजोअस्तिमात्र एक जना बुढी आमालाई घरमा लगेर पूजा गर्नु भनी सित्तैमा दिएँ।”
“भगवानको प्रचार गर्न पाउँ,” उनले आफ्नो इच्छा भने, “आफ्नो जीउले धानेसम्म मत्स्येन्द्रनाथको सेवामा लागिरहन पाउँ।”

रत्नकाजीको यो ऊर्जा उत्साहवर्धक छ। भोटो जात्रा सकिएसँगै ६ महिना बुँगमतिमा रहने मत्स्येन्द्रनाथको मूर्तिलाई दर्शन गर्न उनी प्रत्येक महिनाको संक्रान्तिमा पुग्छन्। बुँगमतिका प्रत्येक संक्रान्ति मत्स्येन्द्रनाथ तथा बुँगमतिकी कुमारीको विशेष पूजा–दर्शन हुने गर्छ। उनी त्यहाँ पनि आफ्नो संकलनमा रहेको फोटो, पुस्तक बिक्रीका लागि राख्छ। चोभारमा रहेको आदिनाथ लोकेश्वरमा पनि बेलाबखत दर्शनका लागि जाने गर्छन्।
यद्यपि, पहिलेको तुलनामा फोटो कम बिक्री हुने उनी मान्छन्। “अचेल मोबाइलमा भिडियो, फोटो लिन्छन्। तर आस्था हुने, पुरानो फोटो मन पराउने मानिस मसँग फोटो किनेरै लान्छन्।”
औसतमा सय, दुई सयदेखि १५ सयसम्म दैनिक आम्दानी हुने उनी बताउँछन्।
हप्ता दिनअघि रुष्ट भेटिएका रत्नकाजी हिजो शनिबार लगनखेलमा फेरि भेटिए। यसपटक उनी प्रशन्न मुद्रामा थिए। रथ नजिकै पुगेर फोटो बेच्न पाएका छन्। जसले उनलाई खुशी तुल्याएको छ।

बिहानको १० बजे रत्नकाजी महर्जन बेच्न राखिएका तस्वीरहरू प्याक गर्दै थिए। खाना खाने समय भएको कारण अधिकांश फोटो प्याक गरिसकेको उनी भित्तामा झुण्ड्याएका फ्लेक्सहरू मिलाउँदै थिए।
रत्नकाजीले केहीपर पुरानो क्यालेन्डर फालिरहेको देखे। ब्ल्याक एन्ड ह्वाइट उक्त क्यालेन्डरलाई नियालेर हेरे क्यालेन्डरको तल्लो भाग च्यातेर उनले फोटोको भागमात्र संकलन गर्दै उनले भने, “नेवारीमा एउटा भनाइ छ ‘भ अगछे माला, देग भि’, त्यो भनेको फोहोरबाट मोहर बनाउनू हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
