जहाँ कांग्रेस कार्यालयमा पनि रविको चर्चा थियो

बिहानै राखिएको सभामा भीड बढ्दै गयो। कोही कविता भन्न थाले, कोही भाषण गर्न। श्रोताले साथ दिइरहे। धेरैका हातमा साना घण्टी थिए। जब उत्तेजित हुन्थे, घण्टी हल्लाउन थालिहाल्थे। त्यो आवाज उत्साहको थियो।

भरतपुरमा वैशाख ५ गते बिहानको घाम उस्तो चर्को थिएन। त्यही मौकामा बुद्ध चौकमा बिहान ७ बजे नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोणसभा राखेको थियो। कोणसभामा नेताहरू पुगेका थिएनन्। तर स्थानीय कार्यकर्ताले माइक फुकिरहेका थिए।

मतदाताको भीड पनि लागिसकेको थियो। पर्खाइ नेताहरूकै थियो। महामन्त्री मुकुल ढकाल, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र केन्द्रीय सदस्य रमेश प्रसाईं आउने प्रचार थियो। भीडको पर्खाइ गायक तथा सञ्चारकर्मी रहेका रमेश प्रसाईंकै थियो।

भीड बढ्दै गयो। कोही कविता भन्न थाले, कोही भाषण गर्न। श्रोताले साथ दिइरहे। धेरैका हातमा साना घण्टी थिए। जब उत्तेजित हुन्थे, ती घण्टी हल्लाउन थालिहाल्थे। त्यो आवाज उत्साहको थियो।

सभा शुरू भएको डेढ घण्टापछि मात्रै रातो कारमा पार्टीका महामन्त्री ढकाल र केन्द्रीय सदस्य प्रसाईं पुगे। उपनेता श्रेष्ठ आएनन्। भीड झन् बढ्न थाल्यो। प्रसाईं बोल्न थाले। उनको भाषणमा भीडले मजाले साथ दियो। उनी पछि महामन्त्री ढकाल बोल्न थालेपछि भने भीड बिस्तारै घट्न थालेको थियो।

पहिलो दिन नै देखिएको रविप्रतिको 'क्रेज'
वैशाख ३ गते चितवन क्षेत्र नं. २ को इच्छाकामना गाउँपालिका पुग्दा झमक्क साँझ परिसकेको थियो। पृथ्वी राजमार्गमै पर्ने एक होटलमा खाना खाएपछि बाहिर निस्कियौँ। चुनावी माहोल बुझ्न हिँडेका सहकर्मी क्यामरा चलाउन व्यस्त थिए।

होटलबाहिर चार जना महिला गफिइरहेका थिए। म उनीहरूसँगै गफिन थालेँ। 

एक जनाले भनिन्, "यहाँ त रवि नै हो, अरूको चान्स छैन।"

अघिल्लोपटक पनि ती महिलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रहेका रवि लामिछानेलाई नै मत दिएका थिए। कुराकानीका क्रममा रविको सांसद पद खारेजीप्रति उनीहरूले आक्रोश पोखिरहेका थिए।

इच्छाकामनाको चेपाङ बस्तीमा पनि रविकै पक्षमा माहोल देखिन्थ्यो। जबकि, मंसिर ४ को निर्वाचनमा उनलाई यस पालिकाबाट एकदमै कम मत आएको थियो। चेपाङ बस्तीका सुकुमबासीहरू घण्टीमा मतदान गर्न उत्साहित देखिन्थे। तर, मंसिर ४ को निर्वाचनमा भने यहाँका अधिकांशले एमालेलाई मतदान गरेका थिए। केही कांग्रेसलाई मत दिएकाहरू थिए। 

उक्त निर्वाचनमा यो पालिकाबाट एमाले उम्मेदवार कृष्णभक्त पोखरेललाई सबैभन्दा धेरै मत परेको थियो। कुल १० हजार ४६८ मत खस्दा पोखरेलले ३ हजार ६२३, कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २१६ र रास्वपाका रवि लामिछानेले २ हजार ९७८ मत पाएका थिए।

यसपटक हामी पुग्दा त्यहाँ चुनावी गतिविधि थिएन। प्रमुख तीन दल नै आफ्नो पक्षमा मत मागेर सदरमुकाम भरतपुर केन्द्रित भइसकेका थिए। त्यसैले यो बस्ती सुनसान थियो।

नेताहरू फर्किसकेको गाउँमा 'घण्टी'को प्रभाव प्रष्ट बुझ्न सकिन्थ्यो। कतिपय कांग्रेसीहरू पनि यसपटक घण्टीमै मतदान गर्ने बताउँदै थिए। इच्छाकामनाका हरिकृष्ण दाहाल आफू पुस्तैनी कांग्रेसी भए पनि यसपटक रविलाई मत दिने बताएका थिए। “यतिका वर्ष रुखमा मत हालियो तर के भयो? खै केही देखेनौँ हामीले त,” उनले भनेका थिए, “अब गल्ती गरिन्नँ। यसपटक मेरो भोट घण्टीलाई नै हो। मैले आफ्नो टोलका साथीहरूलाई पनि भनेको छु घण्टीमै मत हाल्न।”

गाउँपालिककै 'बुज्रुग'हरूसँग सोध्दा अघिल्लो निर्वाचनमा सुकुमबासीहरूलाई कांग्रेस र एमालेले लालपुर्जाको आश्वासन दिएको र पैसा बाँडेको उनीहरूले आरोप लगाएका थिए। तर, यसपटक सुकुमबासीहरूले कांग्रेस र एमालेको रणनीति पहिलै बुझिसकेको कारण घण्टीमै मत दिने उनीहरूको भनाइ थियो। इच्छाकामना गाउँपालिकाको 'मुड' बुझिसकेपछि यति त सजिलै अनुमान लगाउन सकिन्थ्यो कि, यसपटक यहाँ रास्वपाको मत बढ्नेवाला छ।

दोस्रो दिन: आफ्नै दलका नेताप्रति कार्यकर्ताको 'वितृष्णा'
इच्छाकामनाबाट भरतपुर आइपुग्दा त्यहाँको माहोल फरक थियो। माहोल यस्तो थियो कि, कांग्रेसको सम्पर्क कार्यालयमा पनि घण्टीकै चर्चा चलिरहेको थियो। चियापसल, चौकचौराहा र चिटिक्क सजिएका रेष्टुँराको संवाद पनि 'रवि' शीर्षकमै थियो। एमाले सम्पर्क कार्यालयअगाडिको कस्मेटिक पसलमा पनि संवादको शीर्षक उही थियो।

भरतपुरको 'मुड'ले रविको मतान्तर बढ्छ भन्ने अनुमान गरेँ। यो अनुमान काठमाडौँमा बसेर विश्लेषण गरिरहेकाहरूको भन्दा फरक थियो। उनीहरू रविको मत घट्ने बताइरहेका थिए। चुनावी मैदानको अवस्था भने फरक थियो। त्यहाँ रविप्रतिको सहानुभूति प्रगाढ थियो। रविप्रति 'अन्याय' भएको धेरैको ठम्याइ थियो।

'गद्दी'मा पुगेका रविलाई अनेकन जालझेल गरेर त्यहाँबाट ओरालेको भरतपुरमा धेरैको आरोप थियो। काम गर्न पुगेका मान्छेलाई काम गर्न नदिएको, भ्रष्टाचारीहरू जेल पर्ने डरले तर्सेको र राम्रो मान्छे (रवि)ले नपाउनु पर्ने दु:ख पाएको भन्दै कतिपय आक्रोश पोखिरहेका थिए। समाचार सन्तुलनका लागि कांग्रेस र एमाले उम्मेदवारका कुरा बोलिदिने मान्छे खोज्न पनि हम्मे पर्थ्यो।

कतिपय भने रविउपर यसपटक रविलाई हराउन षड्यन्त्र हुनसक्ने आकलन गरेर त्यसको प्रतिवाद गर्ने 'गुपचुप' योजनामा थिए। चुनावी माहोलबारे सोध्दा उनीहरू आशंका गरेर भन्थे, "तपाईंहरू को हो? किन भन्ने माहोल?" 

कहिँकतै कांग्रेस र एमालेकै कार्यकर्ता नेताप्रति अनौपचारिक रूपमा वितृष्णा पोख्थे। चुपचाप मतदान गर्ने विचारमा थिए। उनीहरूको ‘बडि ल्याङवेज’बाट पनि असन्तुष्टि बुझ्न सकिन्थ्यो। 

खासगरी महिलाहरू आफ्नो नाम र परिचय खुलाउने पक्षमा थिएनन्। परिचय सोध्दा झर्किन्थे। उनीहरूको आक्रोश मूलधारका मिडियाप्रति थियो। उनीहरूको खुलम्खुला आशंका थियो, "यहाँ मिडिया त कतैबाट परिचालित भएर आएको होइन?" 

वैशाख ७ गते भरतपुर–१० मा आयोजना गरिएको सभाबाट रविको क्रेज सजिलै बुझ्न सकिन्थ्यो। सभामा आएका सबै एक मिसनमा थिए, ‘एनी हाउ रवि जिताउ।’ 

३३ दिने कामकाज र अडियो प्रकरण
गृहमन्त्रीको रूपमा रविले जम्मा ३३ दिन काम गर्न पाए। त्यस अवधिमा आफूले धेरै प्रभावकारी काम गरेको उनले चुनावी सभाहरूमा प्रचार गरिरहेका थिए। सरुवा र बढुवामा हुने गरेको लेनदेन रोकावट, अनावश्यक सुरक्षाकर्मी फिर्ता, प्रभावकारी प्रहरी प्रशासन, दुरुस्त सुरक्षा व्यवस्था र आम जनमानससँग सम्बन्धित थुप्रै कामकाजको प्रभावकारिता बढाउन आफूले हस्तक्षेपकारी भूमिका खेलेको उनले चर्चा गर्थे। 

त्यतिमात्र नभइ चुनावी अभियानकै क्रममा रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको अडिओ टेप बाहिरियो। सो अडिओमा श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको स्पष्ट सुनिन्छ। रविले अडिओ प्रकरणमा कुनै सम्झौता गर्ने पक्षमा थिएनन्। उनलाई स्पष्टसँग थाहा भएको हुनुपर्छ, यो विषय चुनावी मुद्दा बन्न सक्छ। त्यसैले, उनी दायाँबायाँ सुन्ने मुडमै थिएनन्। 

अडिओ सार्वजनिक भएको केहीबेरमै बाराको गढीमाईबाट ७२ घण्टे कारबाहीको 'ऐलान' गरे। ७२ घण्टाभन्दा केही बढी समय लिए, तर पार्टीबाट श्रेष्ठलाई निस्कासन गर्ने निर्णय गराए। उनले आफ्नो वचन मात्र राखेनन्, विपक्षीले चुनावी मुद्दा बनाउन सक्ने सम्भावना पनि टारे। यो निर्णय उनको पक्षमा रह्यो।

यसपटक रविको मत घट्ने आकलन परिणाम आइसक्दा गलत साबित भएको छ। मतान्तर अझै बढेको छ। यो परिणामको सन्देशचाहिँ– २०८४ सालमा हुने निर्वाचनमा पुराना भनिएका दलले नयाँ दलबाट चुनौती सामना गर्नुपर्ने छ। चुनौती दिन रास्वपा तयार हुँदा अब कांग्रेस, एमाले र माओवादी केन्द्रले कसरी आफूलाई प्रस्तुत गर्छन् भन्ने भविष्यले देखाउने छ।