तनहुँ–१ : अघिल्ला चुनावको प्रभावशाली एमाले, यसपालि किन छायाँमा?

रास्वपाका वाग्ले र कांग्रेसका भट्टराई चर्चाको केन्द्रमा रहँदा तनहुँ–१ का एमाले उम्मेदवार खनाल ओझेल परे झैँ देखिन्छन्। २०७४ को विजेता र २०७९ मंसिरको प्रतिस्पर्धी एमाले यसपालि प्रतिस्पर्धामै छैन त?

तस्वीर : श्याम राना मगर

तनहुँ– वैशाख १० मा हुने उपनिर्वाचनका लागि बिहीबार प्रचारप्रसारको अन्तिम दिन हो। बिहीबार रातिदेखि निर्वाचनको मौन अवधि शुरू हुँदैछ।

त्यसकारण निर्वाचनमा होमिएका दल र उम्मेदवारले सक्दो प्रचारप्रसार गरिसकेका छन्। प्रचारप्रसार अन्तिममा पुग्दा रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुनलागेको तनहुँ–१ सबभन्दा चर्चाको केन्द्रमा छ। कारण उपनिर्वाचन हुनलागेका अरु दुई क्षेत्र (चितवन–२ र बारा–२) मा सम्भावित परिणामलाई लिएर मोटामोटी आकलन भइसके पनि तनहुँ–१ को परिदृष्य प्रष्ट भएको छैन।

२०७९ मंसिर ४ मा भएको भएको निर्वाचनमा तनहुँ–१ मा कुल ६८ हजार १५८ मत खसेको थियो। त्यसमध्ये २५ हजार ३१८ मत ल्याएर कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनलाई लोकतान्त्रिक–वाम गठबन्धनका दलहरुको समर्थन थियो। एक्लै प्रतिस्पर्धा गरेको एमालेका एमालेबाट एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याएका थिए। 

यसपालि कांग्रेसले गोविन्द भट्टराईलाई अगाडि सारेको छ। एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन्। नयाँ पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। अनौठो चाहिँ यसपालि सबभन्दा ज्यादा चर्चा रास्वपाका वाग्ले र कांग्रेसका भट्टराईको छ। एमालेका खनाल उनीहरुको तुलनामा कमै मात्र चर्चामा छन्। 

२०७४ मा यो क्षेत्र एमालेले जितेको थियो। २०७४ मा जितेको र २०७९ मंसिरमा निकटतम प्रतिद्वन्द्वी बनेको एमालेका उम्मेदवार यसपालि चर्चामा किन पछि छन् त?

उत्साह कम
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बन्दिपुर गाउँपालिका–३, रामकोटका सरोज विक (३१) यसपालिको माहोल भिन्न रहेको बताउँछन्। रास्वपा सभापति रवि लामिछानेको चर्चाले मतदातामा फरक तरंग ल्याएको उनको भनाई छ। “मिडियामा हाइहाइ छ, अर्कोपालि पनि यसरी आयो भने सपोर्ट गर्ने सोच बन्दैछ,” अहिलेसम्म धारणा नबनाइसकेका र विवेक प्रयोग गरेर मतदान गर्ने योजना बनाएका सरोजले भने।  

यसपालि भने उनले कांग्रेसका भट्टराईलाई मत दिने निधो गरेका रहेछन्। “गोविन्द भट्टराईले यो गाउँलाई निकै सहयोग गरेको छ, सहयोग गरेको भएर उसलाई भोट दिनुपर्ने छ,” उनले भने, “तर, अहिले गोविन्द भट्टराईलाइ पनि चुनाव जित्न हम्मेहम्मे छ। वाग्ले भन्ने आको छ, रविको पार्टीबाट। युवाहरूमा रवि नै हो, रवि भनेपछि मान्छेको मूड पनि फेरिने अवस्था छ।” 

तनहुँ–१ मा पुराना दलहरुको परम्परागत मत र यसपालि जबर्जस्त रुपमा बनेको रास्वपाको माहोलका कारण कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय भिडन्त हुने आकलन एकथरीले गरिरहेका छन्। तर, मतदातामाझ एमालेका उम्मेदवार खनाल भने कांग्रेसका भट्टराई र रास्वपाका वाग्लेको तुलनामा कमजोर देखिएका छन्। रामकोटका सरोजले पनि भट्टराई र वाग्ले मात्र चर्चामा रहेको उल्लेख गर्दै भने, “सर्वेन्द्र खनालको त म नामोनिशान देख्दिनँ, अहिले मुख्य प्रतिस्पर्धा गोविन्द भट्टराई र घण्टी (स्वर्णिम वाग्ले)कै हो।” 

सोचविचार गरेर मत दिने मन बनाएका रामकोटकै बिष्णुबहादुर राना (२८)  अब पूरानै पार्टीलाई मत दिइरहने भन्ने धारणा बदल्न चाहन्छन्। “पुरानो रीतअनुसार गए त उही रुखलाई दिने होला, सधैँ पुरानोमा गएर मात्र पनि भएन,” उनले भने, “मनले छानेर दिने हो।” 

पहिलोपटक मतदान गर्न लागेका रिजन गुरुङ चुनावका लागि उत्साहित छन्। “सोचेर मत हाल्ने हो। जसले राम्रो गर्छ भन्ने लाग्छ, उसैलाई दिने हो,” उनले भने। पदम गुरुङ (५७) को दलहरुसँग खासै अपेक्षा छैन। आफ्नो गाउँको विकासका लागि पहल गर्ने उम्मेदवारलाई मत दिने उनले सुनाए। भने, “एमालेको उम्मेदवार कहाँको मान्छे हो थाहा छैन। आफ्नै ठाउँको गोविन्द भट्टराई उठेको छ, हाम्रो गाउँको लागि ३–४ करोडको बजेट पारिदिएको छ।”

उनले रामकोटदेखि छिर्केने जोड्ने सडक २० वर्षदेखि पक्की हुन नसक्दा हैरानी खेपिरहेका बेला भट्टराईले कुनै पदमा नहुँदा पनि पहल गरेको उल्लेख गर्दै भने, “प्रदेश सरकारले पाँच लाख दिन्थ्यो, उनले पहल गरेर बजेट पारिदिए। घाँसीकुँवामा घरबास भएको मान्छे, उनले जिते भने किन यहाँ काम नगरेको भनेर भन्न पाइयो। घण्टी त कहाँ खोज्ने?” 

आफ्नो छोराले घण्टीलाई भोट दिने भनेको, आफू चाहिँ कांग्रेस कार्यकर्ता भएकाले भट्टराईलाई नै भोट दिने उनले बताए। “नयाँ पार्टीले राम्रो काम गरेको खण्डमा भोलि मन र मत बदल्न पनि सकिन्छ,” उनले भने।  बन्दीपुरलगायतका क्षेत्र घुम्दा कांग्रेसका उम्मेदवार भट्टराई स्थानीय उम्मेदवार भएकाले पनि चर्चामा देखिए।

रास्वपाका उम्मेदवार वाग्लेको चर्चा पनि उल्लेख्य देखियो। तर, त्यसमा उनीभन्दा ‘घण्टीको चर्चा’ धेरै देखियो। तर, एमालेका उम्मेदवार खनालप्रति भने मतदातामा त्यति चासो देखिएन।

कहाँ चुक्यो एमाले?
भानु नगरपालिकाका भन्सार, नारेश्वरटार, डुम्रे बजार तथा बन्दिपुर गाउँपालिकाका मुच्चुक, रामकोट हुँदै दमौली झरेपछि भने एमाले उम्मेदवार खनालको पक्षमा खुल्ने मतदाता पनि भेटिए। ब्यास नगरपालिका–१ की ऋतिका गौतमले तनहुँ क्षेत्र नम्बर १ का लागि खनाल नै उपयुक्त उम्मेदवार भएको दाबी गरिन्। पहिलोपटक मतदान गर्नलागेकी गौतमले एमाले उम्मेदवार खनालले प्रहरी प्रमुख हुँदा राम्रो काम गरेको देखेकाले उनलाई मत दिने बताइन्। 

“राम्रो उम्मेदवार हुनुहुन्छ। मेरो त पहिलो मतदान भएकाले पनि चुनावलाई लिएर उत्साहित छु,” उनले भनिन्, “उम्मेदवार पनि राम्रो हुनुहुन्छ, प्रहरीको आइजीपी हुँदा राम्रो काम गर्नुभएको छ। त्यही काम निर्वाचित भएर पनि गर्नुहुन्छ भन्ने ठान्छु।” घण्टीको पक्षमा माहोल देखिए पनि एमालेका उम्मेदवारलाई सघाउने मतदाता दमौलीमा धेरै रहेको उनले सुनाइन्। 

ब्यास–४ का पदम सापकोटाले नयाँ पार्टीको चर्चा देखिए पनि पुराना पार्टीका लागि चुनौती नबनेको टिप्पणी गरे। “चामलको बिया जस्तो एक–दुई जना पर्न सक्लान्, तर एमालेमा कांग्रेसको जस्तो मत बाँडिने हुँदैन,” उनले भने, “हाम्रो पार्टीले उम्मेदवार बनाएका सर्वेन्द्र खनाल पुलिसको आइजीपी भइसक्नुभएको छ। भ्रष्टाचारीको फाइल खोलेर देखाउँछु भन्नुभएको छ। जनता पनि यसबाट उत्साहित छन्।”

सापकोटा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्य निर्वाचित भएका रहेछन्। तर, अहिले एमालेको चर्चा एकदमै कम किन भयो त? “गत चुनावमा पनि हामीले एक्लै टक्कर दियौँ। हामीले हाम्रो भोट मात्रै जोगाउन सके चुनाव जित्छौँ, जनता गठबन्धनले वाक्क भएका छन्,” उनले भने, “घण्टीले कांग्रेसको भोट काटे पनि हामीले हाम्रो भोट मात्र जोगाउन सके चुनाव जित्छौँ।”

एमालेका अर्का समर्थक ऋषिराम भुसालले चुनाव जितेर गए पनि केही नगर्ने पार्टी र नेतालाई तनहुँले नरुचाएको, यसपालि परिवर्तनका लागि तयार रहेको र जनताले चारतिर मुख फर्काएका पार्टी एकै ठाउँमा बसेको मन नपराएको बताए। “गठबन्धन तोड्नपर्छ, गठबन्धनबाट उठेका उम्मेदवारलाई हराउनुपर्छ भन्ने पक्षमा मतदाता लागेका छन्,” उनले भने, “गत चुनावमा एमाले एक्लैले २० हजार हाराहारी मत ल्याएकाले त्यो मत मात्र जोगाए चुनाव जित्न गाह्रो हुन्न। कांग्रेसको ७–८ हजार मत घण्टीले काट्छ। गठबन्धनभित्र पनि कलह हुनाले सबै मत जान्न। त्यो बरु हामीलाई आउँछ।” 

एमालेका ब्यास नगर कमिटी सचिव बिनोदकुमार विक बाहिर हेर्दा रास्वपाको माहोल देखिए पनि एमालेको मत कायम रहेको दाबी गर्छन्। भन्छन्, “मतदाता आस्थावान, परिवर्तनशील, तटस्थ सबै प्रकारका हुन्छन्। एउटै घरका सदस्यले पनि परिवर्तन खोजे माहोल बदलिन्छ। एमालेको पनि केही मत त घट्ला,” उनले भने, “तर माहोल राम्रो बनिरहेको छ। हाम्रा उम्मेदवारले विगतमा राष्ट्रहितमा गरेको काम हेरेर मतदाताले विश्वास गर्छन्।” 

उपनिर्वाचनका लागि एमालेबाट किरण गुरुङ, रामबहादुर गुरुङ. पूर्णबहादुर गुरुङ लगायतले उम्मेदवार बन्ने आकांक्षा राखेका थिए। तर, एमाले नेतृत्वले गत निर्वाचनमा काठमाडौँ–६ बाट पराजित खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। यसले उम्मेदवारका अरु आकांक्षीलाई असन्तुष्ट बनाएको छ।

एमाले तनहुँका एक नेता जिल्लाको राजनीतिमा सक्रिय नेतालाई पन्छाएर खनाललाई उम्मेदवार बनाउँदा स्थानीय नेताहरूमा असन्तुष्टि छ। अहिले खनालको पक्षमा माहोल नदेखिनुमा त्यसको पनि भूमिका रहेको उनले बताए।