अव्यवस्थित घरटहरा भत्काउँदै तानसेन नगरपालिका

ऐतिहासिक पाल्पा दरबार संग्रहालय वरिपरिका घरटहरा डोजर लगाएर हटाउन थालिएकाे हाे। मापदण्डविपरित बनेका घरटहरा हटाएपछि बजार व्यवस्थित हुने नगरपालिकाले जनाएको छ।

रामपुर– पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन शुरू गरिएको छ।

तानसेन नगरपालिकाले बुधबारदेखि ऐतिहासिक पाल्पा दरबार संग्रहालय वरिपरिका घरटहरा डोजर लगाएर हटाउन थालेको हो। संग्रहालय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाई पर्यटकीयस्थलका रूपमा विकास गर्न त्यस क्षेत्रमा रहेका अव्यवस्थित घरटहरा हटाउन थालिएको हो।

शित्तलपाटी मूलढोका र दरबार क्षेत्र वरपर रहेका ५७ घर संरचना भत्काउन लागिएको नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बताए। वडा नं ४ मा नगरपालिकाको स्वामित्वमा रहेका १३ वटा घर टहरासहित घरेलु शिल्पकलाका १३, नेपाल रेडक्रसको तीन, कर्मचारी मिलन केन्द्रको तीन, बाल संगठनको एक तथा अर्को व्यवस्था नभएसम्मका लागि भन्दै दिएका २४ घरटहरा भत्काइने उनले बताए। 

सटरमा पसल तथा कार्यालय चलाइरहेकालाई नगरपालिकाले वैशाख ६ गतेसम्म सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो। उक्त समयमा व्यवसायीले सटर खाली गराएका छन्। यहाँका अधिकांश पसलको भाडासमेत वर्षौंदेखि नगरपालिकाले पाएको छैन।

यसरी अव्यवस्थित तरिकाले बनेका घरटहरा हटाएपछि बजार व्यवस्थित हुने नगरपालिकाले जनाएको छ। लुम्बिनी र पोखराको बीच भागमा रहेको पाल्पाको तानसेन पर्यटकीय शहरका रूपमा विकास भइरहेको छ।

ऐतिहासिक, पुरातात्त्विक, पर्यटकीय, धार्मिक सम्पदाका कारण विभिन्न जिल्ला तथा देशबाट पर्यटक तानसेन आउने गर्छन्।