बेइजिङस्थित अस्पतालमा आगलागी : २९ जनाको मृत्यु, १२ पक्राउ

मृतकमध्ये अधिकांश अस्पतालमा भर्ना भएका बिरामी रहेको बताइएको छ। ७१ जनाको सकुशल उद्धार गरिएको थियो। 

चीनको राजधानी बेइजिङस्थित चाङफेङ अस्पतालमा मंगलबार आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ।

तीन जनाको घटनास्थलमा र घाइते २६ जनाको उपचारका क्रममा मृत्यु भएको बेइजिङकाे फेङ्ताई जिल्लाका उपप्रमुख ली जोङग्रोनले बताएका छन्। 

मृतकमध्ये अधिकांश अस्पतालमा भर्ना भएका बिरामी रहेको बताइएको छ। ७१ जनाको सकुशल उद्धार गरिएको थियो। बिरामी राखिने विभाग मर्मतका क्रममा आगलागी भएको अग्नि विभागका अधिकारीलाई उद्‌धृत गर्दै चिनियाँ पत्रिका सीजीटीएनले जनाएको छ।

उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको छ।

सन् २०१७ मा बेइजिङको डासिङ जिल्लाको दुई तले घरमा आगलागी हुँदा १९ जना मृत्यु भएको थियो।