कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु

कोरोना संक्रमणबाट शनिबार चितवनका ६४ वर्षीय पुरुष र आइतबार बिहान कञ्चनपुरकी ७३ वर्षीया महिलाको मृत्यु भएको छ।

काठमाडौँ– कोरोना संक्रमणका कारण २४ घण्टामा २ जनाको मृत्यु भएको छ। चितवन र कैलालीमा एक/एक जना संक्रमितको मृत्यु भएको हो।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेका भरतपुर–१० का ६४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको थियो।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गा चापागाईंका अनुसार ती पुरुष चैत २७ गते अस्पताल भर्ना भएका थिए। उनमा चैत ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

चितवनमा हालसम्म ४५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

त्यस्तै कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको मृत्यु भएको हो।

मुटु रोग र मधुमेहबाट समेत पीडित उनी चैत २४ गते अस्पताल भर्ना भएकी थिइन्। चैत २६ गते कोरोना पुष्टि भएको उपाध्यायले बताए।