बेंगलोरलाई हराउँदै शीर्षस्थानमा उक्लियो लखनऊ

‍विकेट किपर निकोलस पुरनले विष्फोटक ब्याटिङ गरेपछि लखनऊले बेंगलोरलाई एक विकेटले पराजित गरेको छ। जितसँगै लखनऊ शीर्षस्थानमा उक्लिएको छ। 

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ।

लखनऊका निकोलस पुरनले विष्फोटक ब्याटिङ गरेपछि बेंगलोर घरेलु मैदानमा एक विकेटले पराजित भयो। 

एम चीन्नास्वामी स्टेडियममा जितका लागि पाएको २१३ रनको विजयी लक्ष्य लखनऊले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो। लखनऊका पुरनले १९ बलमा ४ चौका र ७ छक्कासहित ६२ रनको विष्फोटक ब्याटिङ गरे। 

मार्कस स्टोइनिसले ३० बलमा ६ चौका र ५ छक्कासहित ६५ रनको उत्कृष्ट इनिङ खेले। कप्तान लोकेश राहुल लोकेश राहुल २० बलमा १८ रन बनाएर आउट भए। बेंगलोरका मोहम्मद शिराज र वेन पार्नेलले ३/३ विकेट लिए। हर्षल पटेलका नाममा २ विकेट रह्यो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१२ रन बनाएको थियो।

बेंगलोरका कप्तान फाफ डु प्लेसिस ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७९ रनमा अविजित रहे।

विराट कोहली ४४ बलमा ४ चौका र ४ छक्कासहित ६१ रन बनाउँदै क्याच आउट भए। ग्लेन म्याक्सवेलले २९ बलमा ३ चौका र ६ छक्कासहित ५९ रन बनाए। लखनऊका अमित मिश्रा र मार्क वुड १/१ विकेट लिए।

जितसँगै लखनऊ ‍आईपीएलको शीर्षस्थानमा उक्लिएको छ। बेंगलोर सातौँस्थानमा छ।