कोरोना संक्रमण अझै केही दिन बढ्छ : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना भाइरसको संक्रमण केही दिनयता उकालो लागेको छ। सोमबार  १२४ जनामा कोरोना संक्रमण देखिएको थियो। 

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरे। “अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने देखिन्छ,” उनले भने, “त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर संक्रमणबाट बच्नुपर्छ।”

मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउन सबैमा आग्रहसमेत गरेको छ। नेपालमा कोरोना भाइरसको संक्रमण केही दिनयता उकालो लागेको छ। सोमबार  १२४ जनामा कोरोना संक्रमण देखिएको थियो।

परीक्षण दर बढेसँगै कोरोना संक्रमितको संख्यामा पनि वृद्धि भएको सहप्रवक्ता अधिकारीको भनाइ छ। आइतबार ५५ तथा शनिबार ६४ जनामा संक्रमण पुष्टि भएको थियो। हाल सक्रिय संक्रमित ४४४ जना रहेका छन्।

काठमाडौँ उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्।

भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' नेपालमा पनि देखापरेको हो। भारतसँगको खुला सिमानाका कारण नेपालमा संक्रमण बढेको मन्त्रालयले जनाएको छ।