कोरोना संक्रमितको ग्राफ उकालो लागिरहे पनि सरकारले हरेक दिनको स्पष्ट तथ्यांक सार्वजनिक गर्ने गरेको छैन। गोलमटोल तथ्यांकका कारण महामारीले विकराल रूप लिइसकेपछि मात्र थाहा हुने विज्ञहरू बताउँछन्।
काठमाडौँ- गएको फागुन १८ गते नेपालमा आठ जना मात्र कोरोनाका सक्रिय संक्रमित थिए। त्यसको एक महिनापछि चैत १८ गते संक्रमितको संख्या झण्डै २१ गुणाले बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। मन्त्रालयका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १७१ पुगेको छ।
मन्त्रालयको तथ्यांकअनुसार गएको हप्तादेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। तर सरकारले सार्वजनिक गरेको संख्याभन्दा बढी सक्रिय संक्रमित भेटिनसक्ने चिकित्सकहरू बताउँछन्।
पछिल्लो समय मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक प्रत्येक दिनको नभएर ३-४ दिन वा एक हप्ताअगाडिको भएको संक्रामक रोगविज्ञ डा. अनुप सुवेदी बताउँछन्। हरेक दिनको स्पष्ट तथ्यांक नआउँदा वास्तविक आँकडा थाहा नहुने र विकराल रूप लिइसकेको हुनसक्ने उनको भनाइ छ।
यस्तो तरिकाले आँकडा निकाल्ने हाकिम साबहरूलाई सायद यो सब जोक लाग्छ होला। उहाँहरू सबैलाई क्या मूर्ख बनायौं भनेर दंग हुनुहोला हगि?
— Anup (@AnupSubedee) March 31, 2023
अलिकति जिम्मेवार नेतृत्व हुने हो भने यस्तो सूचना र आँकडा दिनेलाई कि अक्षम कि गैरजिम्मेवार भनेर तु कार्वाही हुनेथियो होला। नेतृत्व नै उस्तै भएर त होला.. https://t.co/HzxKNGkAwV pic.twitter.com/G6YHT8LRjj
उनले गएको शुक्रबार पनि ट्विट गरेर स्वाथ्य मन्त्रालयको यो शैलीको विरोध गरेका थिए। उनले लेखेका थिए, “सरकारी तथ्यांकमा ३-४ दिनको मिसाएर गोलमटोल बनाएर दिन्छन्, तर अस्पतालमा रुघाखोकी लिएर आउने बिरामीलाई जाँच्दा कोभिड देखिन थालेको केही दिन भैसक्यो। …त्यसैले अब चाँडै नै सबै रुघाखोकी हुनेहरू कोभिड संक्रमित नै होलान् भन्ने अनुमान गर्न मिल्नेछ।”
खुला सीमाक्षेत्रले बढाउँदैछ संक्रमण
छिमेकी मुलुक भारतमा कोरोनाको सक्रिय संक्रमित बढ्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतमा गएको २४ घण्टामा तीन हजार ८२४ जनामा संक्रमण देखिएको छ, जुन विगत ६ महिनामा देखिएभन्दा ठूलो संख्या हो। त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या १८ हजार ३८९ पुगेको छ।
यसअघि पनि भारतमा संक्रमितको संख्या बढ्दा त्यसको प्रभाव नेपालमा देखिने गरेको थियो। यसपटक समेत भारतमा संक्रमितको संख्या बढ्न थालेपछि नेपालमा पनि संक्रमितको ग्राफ उकालो लाग्ने देखिएको छ।
नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट आउने नेपालीहरूमा कोभिड संक्रमण देखिन थालेको हो। विशेषगरी सुदूरपश्चिममा कोरोनाको जोखिम बढ्दै गएको छ। गएको शुक्रबार कञ्चपुरको गड्डाचौकी नाका भएर भारतबाट फर्केका चार नेपालीमा संक्रमण पुष्टि भएको थियो।
चैत शुरू भएयता १३ गतेसम्ममा सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाका हुँदै फर्किएकाहरूमध्ये ४३ जनामा संक्रमण पुष्टि भएको थियो। सुदूरपश्चिम प्रदेशमा गएको तीन वर्षयता ६ लाख ४४ हजार ४५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार ९२७ जनामा संक्रमण भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा ६३५ जनाको ज्यान गइसकेको छ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा पनि भारतमा फैलिएको संक्रमणबाट नेपाल प्रभावित भएको थियो। भारतमा तीव्र गतिमा संक्रमण फैलिँदै जाँदा खुला नाकाबाट नेपाल भित्रिने धेरैमा संक्रमण भेटिएको थियो।
प्राय: भारतबाट आउनेहरूमै संक्रमण देखिएका कारण अहिले पत्ता लागेका संक्रमितहरूमा पनि भारतमा फैलिरहेको भेरियन्ट नै हुनसक्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। “नेपालमा कहाँबाट भाइरस फैलिरहेको छ ठ्याक्कै भन्न सकिँदैन, तर खुला सीमाबाट आएकाहरूमा बढी देखिएका कारण भारतबाट आएको हुनसक्ने अनुमान गर्न सकिन्छ,” डा. पुन भन्छन्, “यद्यपि, हाम्रो सरकारले हालसम्म पनि कहाँबाट र कुन भाइरस फैलिरहेको छ भन्ने यकिनका साथ भन्न सकेको छैन।”
डा. पुनका अनुसार नेपालमा पनि संक्रमण बढ्न समय लाग्दैन। तत्काल सरकारले यसको नियन्त्रणका लागि संयन्त्र बनाएर जानुपर्ने उनी बताउँछन्।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारी नेपालमा देखापरिरहेको कोरोना कहाँबाट र कसरी फैलिरहेको ठ्याक्कै भन्न नसकिने बताउँछन्। “महामारी अन्त्य भइसकेको छैन। केही मान्छेले जनस्वास्थ्य मापदण्डको पालना नगर्दा कोरोनाको केसहरू देखिन थालेको हो,” अधिकारी भन्छन्, “यसले जोखिम निम्त्याउन सक्छ भनेरै अहिले मन्त्रालयले निगरानी बढाएको छ।”
मन्त्रालयले अहिले कोभिड परीक्षण दर बढाएको अधिकारीको भनाइ छ। खोप नपुगेको क्षेत्रमा प्राथमिकताका साथ पुर्याउन थालिएको पनि उनले बताए।
भेरियन्टबारे स्वास्थ्य मन्त्रालय अनभिज्ञ
नेपालमा फैलिरहेको कोरोना भाइरस कुन भेरियन्ट वा प्रजातिको छ भन्ने यकिन हुनसकेको छैन। चिकित्सकहरू पनि नेपालमा देखिन थालेको कोरोनाको भेरियन्ट छुट्याइनसकेकाले ठ्याक्कै भन्न नसकिने बताउँछन्। तर, भारतमा देखापरिरहेको ‘एक्सबीबी डट १ डट १६’ ओमिक्रोन उपप्रजाति नै नेपालमा फैलिरहेको अनुमान गर्न सकिने सरुवा रोग विशेषज्ञ डा. पुनको भनाइ छ।
हाल संक्रमण बढ्न थाले पनि कुन भेरियन्ट फैलिरहेको छ भन्ने पुष्टि नभइसकेको सहप्रवक्ता अधिकारी बताउँछन्। “यसमा मन्त्रालयले अध्ययन गरिरहेको छ। निगरानी पनि गरिरहेका छौँ। हामी अहिले नै नयाँ भेरियन्ट हो या होइन भन्न सक्ने अवस्थामा छैनौँ,” उनी भन्छन्, “तर महामारीको जोखिम भएको हुनाले मान्छेहरू आफैँ सचेता हुन जरूरी छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
