आज घोडेजात्रा पर्व, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

घोडेजात्रा विशेषगरी काठमाडौँ उपत्यकामा मनाउने चलन छ। यसका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दैछ। 

तस्वीर : रासस फाइल

काठमाडौँ– घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

यो पर्व विशेषगरी काठमाडौँ उपत्यकामा मनाउने चलन छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो।  

पीडित स्थानीयले विभिन्न उपाय लगाएर त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा पुन: जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो।

यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै बालबालिकामाथि खतरा नहोस् भनी आजै राति उक्त रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ।

यसो गरेपछि वर्षभर गुरुमापाबाट खतरा नहुने विश्वास काठमाडौँ उपत्यकावासीमा छ। नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र युद्धकलाको प्रदर्शन गर्दैछ।

आजकै दिन ललितपुरमा पनि घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।