उपराष्ट्रपति निर्वाचन : चारै उम्मेदवारको मनोनयन कायम

निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका चारै जना उम्मेदवारको मनोनयन कायम गरेको छ।

काठमाडौँ– उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गराएका चारै जना उम्मेदवारको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालयले आइतबार उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जारी गरेको उपराष्ट्रपति पदका उम्मेदवारका अन्तिम नामावलीमा चार जनाको मनोनयन कायम राखिएको छ। शनिबार उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता भएको थियो। जसमा सत्तागठबन्धन समर्थित दलहरूबाट तीन र विपक्षी दल नेकपा एमालेबाट एक जनाको मनोनयन दर्ता भएको थियो।

एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी थिइन्। त्यस्तै, सत्तागठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद यादव र प्रमीला कुमारी गरी दुई जनाको उम्मेदवारी परेको छ। त्यस्तै, जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दिएकी हुन्। उनीहरू चारै जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेको उजुरी खारेज गर्दै उनको उम्मेदवारी कायम गर्ने निर्णय गरेको थियो। राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै यादवको उम्मेदवारीविरुद्ध उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते गर्ने निर्वाचन आयोगले तय गरेको छ।

यसअघि फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए।

राष्ट्रपति कार्यालयका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिने तय भएको छ। नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन्। राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि संघीय कानूनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले नेपाली कांग्रेससँगको संलग्नता त्याग गरेका छन्। नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख छ।