महोत्तरीमा डढेलोले सखाप हुँदै वन

डढेलो नियन्त्रणमा वन कर्मचारी र सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयले बताएका छन्। 

महोत्तरी– महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ। डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन्।

बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लट तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ।

बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन् । यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ। यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि  छन्। तर, यी निकायले डढेलो नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन्। “दिनदिनै डढेलोले वन खरानी हुँदै छ। डढेलो लगाउनेहरू कहिल्यै समातिएनन्,” बर्दिबास–५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्छन्, “आगो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न सकेका छैनौँ।” 

साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ। उनीहरूको उदासीनताले वन उजाड हुँदै गएको गौशाला–१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतोले सुनाए। वन कर्मचारीको उदासीनताले वन सखाप भइरहेको उनको भनाइ छ। डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ। “गोठालाले धेरै डढेलो लगाउने गरेको पाइएको छ। जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ,” महतोले भने। 

जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनासमेत २४ हजार ४६५ हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको डिभिजन वन कार्यालयले जनाएको छ। पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन्।

डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको  गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास–५ माई स्थानका सहायक वन अधिकृत रामसुन्दर शाहले बताए।

वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको  सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए।