Saturday, April 27, 2024

-->

विमान दुर्घटनापछि खस्कियो पोखराको पर्यटन, सुरक्षाको सन्देश दिन ल्याइँदैछ विदेशी पर्यटन व्यवसायी

कोरोना महामारीपछि चिनियाँ पर्यटक नआउँदा तंग्रिन मुस्किल बनेको पोखराको पर्यटनलाई विमान दुर्घटनाले झनै खुम्च्याएको छ। पोखरा सुरक्षित रहेको सन्देश दिन अहिले पर्यटन बोर्डले अनेक कार्यक्रम चलाउन थालेको छ।

विमान दुर्घटनापछि खस्कियो पोखराको पर्यटन सुरक्षाको सन्देश दिन ल्याइँदैछ विदेशी पर्यटन व्यवसायी

काठमाडौँ– कोरोना महामारी शुरू भएको वर्षलाई छोड्ने हो भने हरेक शिवरात्रिमा पर्यटकले पोखरा भरिभराउ हुन्थ्यो। तर यो वर्षको कथा बेग्लै छ।

ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) पोखराका अध्यक्ष धर्मराज पन्थी भन्छन्, “यसपटकको शिवरात्रिमा तीन दिन लगातार सार्वजनिक बिदा हुँदा पनि पोखरामा पर्यटकको चहलपहल भएन। अन्य वर्षको शिवरात्रिको तुलनामा आधा पर्यटक पनि आएनन्।” 

गत माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको यति एयरलायन्सको विमान दुर्घटनाको प्रभावकै कारण पोखरामा पर्यटक घटेको पन्थी बताउँछन्। “अहिले पोखरा आउने सडक स्तरोन्नति भइरहेको छ। पोखरा आउनका लागि सडकभन्दा हवाई रुट राम्रो विकल्प थियो। तर दुर्घटनाका कारण मान्छे जहाजबाट पोखरा आउन डराए,” उनी भन्छन्।  

यति एयरलाइन्सको एटीआर ७२—५०० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा विमानमा सवार चालक दलका चार सदस्यसहित ७२ जनाको ज्यान गएको थियो। त्यसपछि पोखराको उडान संख्या पनि घटेको थियो। 

विमानस्थल कार्यालयकी सूचना अधिकारी जशोदा सुवेदीका अनुसार दुर्घटनाअघि पोखराबाट दैनिक २० उडान हुन्थे। तर दुर्घटनाको एक हप्तासम्म दैनिक चारदेखि पाँच उडान मात्र भएका थिए। अहिले उडान पुरानै अवस्थामा फर्कन थालेको उनी बताउँछिन्। “अहिले दैनिक उडान संख्या १७ पुगिसक्यो। यात्रुको फ्लो पनि बिस्तारै बढ्दैछ। एक दुई दिनमा पहिलेकै अवस्थामा पुग्ने अपेक्षा छ,” उनी भन्छिन्। 

त्यसअघि, कोरोना महामारीका कारण पोखराका कतिपय पर्यटन व्यवसायी पलायन नै भएका थिए। होटल एसोसिएसन नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार यसअघि महामारीका कारण २५ प्रतिशत व्यवसायी विस्थापित भएका थिए। बाँकी रहेकामध्ये ७५ प्रतिशत व्यवसाय आन्तरिक र भारतीय पर्यटकबाट धानिएको छ।

“जहाज दुर्घटनापछि भारतीय सञ्चारमाध्यमले गरेको नकारात्मक प्रचारले पनि पर्यटक घटे,” सुवेदी भन्छन्, “तत्कालको घटना भएर मानिसहरू जहाजबाट आउन डराए जस्तो देखिन्छ। अब एक महिनापछि सिजन शुरू हुन्छ, त्यसपछि पुनः व्यवसाय तंग्रने आशा गरेका छौँ।”

हानका अनुसार पोखराको होटल व्यवसायमा करिब ३ खर्ब ७५ अर्ब लगानी छ। एक हजार २०० होटलमा ४० हजार बेड छन्। कोरोना महामारीअघि करिब १५ हजार जना प्रत्यक्ष रोजगारीमा थिए। तर महामारीपछि करिब सात हजार हाराहारी मात्र प्रत्यक्ष रोजगारीमा रहेको सुवेदी बताउँछन्। 

अघिल्ला वर्षहरूमा फागुन १५ गतेसम्ममा पोखराका होटल करिब ४० प्रतिशत अग्रिम बुकिङ भइसक्थे। यो वर्ष अग्रिम बुकिङ अत्यन्त न्यून मात्र भएको सुवेदी बताउँछन्। 

होटल बुकिङ न्यून हुनुमा विमान दुर्घटनाभन्दा पनि अन्तर्राष्ट्रिय कारण प्रमुख रहेको टान अध्यक्ष पन्थी बताउँछन्। “कोभिडपछि होटल, लज बुक गर्नुपर्दैन भन्ने सोच धेरै जनामा छ। कतिपयले होटलमा मान्छे नै हुदैनन् भनेर अग्रिम बुक नगरेको पनि हुनसक्छ,” उनी भन्छन्।

कोरोना महामारीअघि पोखरा आउने विदेशीमध्ये सबैभन्दा बढी चिनियाँ पर्यटक हुन्थे। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार काठमाडौँ आउने चिनियाँ पर्यटक प्याराग्लाइडिङका लागि पोखरा जान्थे। महामारीपछि चिनियाँ पर्यटक ठप्पजस्तै भयो। चीनले आफ्ना नागरिकलाई भ्रमण स्वीकृति दिएका २० देशमा नेपाल समावेश छैन। चिनियाँ पर्यटक नआउँदा पनि पोखराको पर्यटन व्यवसाय सुस्ताएको श्रेष्ठ बताउँछन्। 

हवाई दुर्घटनाको १५ दिनसम्म प्रभाव देखिए पनि अहिले बिस्तारै तंग्रिदै गएको श्रेष्ठ बताउँछन्। “आन्तरिक पर्यटकको चहलपहल नहुनुमा विमान दुर्घटना मात्र होइन, पोखरा आउने सबैतिरका सडक निर्माणको चरणमा हुनु पनि कारण हो। दुर्घटनाले पोखरामा पर्यटन घटेको प्रचार हुनु राम्रो होइन,” उनी भन्छन्। 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी पोखराको पर्यटनमा आएको मन्दीको कारक हवाई दुर्घटना नै भएको बताउँछन्। पर्यटन बोर्डले पोखराको पर्यटनलाई उकास्न भारतलगायत यूरोपियन देशका भ्लगर पोखरा लगेको छ। “भ्लगरमार्फत हामीले पोखरा सुरक्षित छ भनेर म्यासेज दिन खोजिरहेका छौँ,” रेग्मी भन्छन्, “त्यसका लागि हामीले पोखरा केन्द्रित क्रियाकलापलाई अगाडि बढाएका छौँ।”

रेग्मीका अनुसार बोर्डले कूटनीतिक नियोगका कर्मचारीलाई पोखरा पुर्याउन पहल गरेको छ। आगामी मे महिनामा विश्वभरका २०० भन्दा बढी ‘टुर अप्रेटर’ सहभागी ‘एडभेन्चर ट्राभल मार्ट’ आयोजना गर्दैछ।

त्यहाँ सहभागी हुने ‘अप्रेटर’मार्फत पोखरा सुरक्षित रहेको सन्देश प्रवाह गर्ने उद्देश्य बोर्डको छ। त्यसैगरी, ब्यांकर एसोसिएशनलगायत संघसंस्थाहरूलाई उनीहरूका सम्पूर्ण गतिविधि पोखरामा केन्द्रित गर्न अनुरोध गरिएको रेग्मी बताउँछन्। 

पर्यटन क्षेत्रलाई ‘उद्योगको पनि उद्योग’का रूपमा लिइन्छ। हानका अध्यक्ष सुवेदी पर्यटकको संख्या बढ्ने बित्तिकै त्यसले कृषि, दूध, माछा, मासुलगायतको खपत बढाउने भएकाले पोखराका सीमावर्ती जिल्लामा पनि आर्थिक गतिविधि बढ्ने बताउँछन्। उनी भन्छन् “गाउँका कृषिजन्य वस्तुहरू खपत हुँदा शहरको पैसा गाउँ जान्छ र त्यहाँका स्थानीयले रोजगार पाउँछन्।”


सम्बन्धित सामग्री