राष्ट्रपतिका लागि मनोनयन दर्ता आज, दलहरू उम्मेदवार छान्दै

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभा सदस्यहरू मतदाता हुने व्यवस्था छ। 

काठमाडौँ– फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदै छ।

संघीय संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न तीन बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। कार्यतालिका अनुसार उम्मेदवारको सूची शनिबार नै प्रकाशित गरिनेछ। राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० देखि तीन बजेसम्म मतदान हुनेछ।

सोही दिन साँझ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने कार्यपालिका छ। आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यहरू मतदाता हुने व्यवस्था छ। 

यता, मनोनयन दर्ताको समय नजिकिए पनि दलहरूले उम्मेदवार छान्न सकेका छैनन्। राष्ट्रपतिको उम्मेदवार टुंगाे लगाउन कांग्रेसले शनिबार बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

यसअघि शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस–माओवादीसहित आठ दलको बैठकले कांग्रेसलाई सघाउने निर्णय गरेका थियो। नेकपा एमालेले पनि उम्मेदवार तय गर्न सचिवालय बैठक बोलाएको छ।