ट्विटरका विज्ञापनदाता घट्दै, मस्क भन्छन्– कम्पनी टाट पल्टिन दिँदैनौँ

ट्विटरका प्रमुख एक हजार विज्ञापनको राजस्व पछिल्लो ३ महिनामा ६५ प्रतिशतमा सीमित भएको पाइएको छ।

ट्विटरका प्रमुख एक हजार विज्ञापनदातामध्ये आधाभन्दा बढीले खर्च कटौती गरेका छन्। उनीहरूले २०२३ जनवरी पहिलो सातादेखि लागू हुनेगरी २०२२ सेप्टेम्बरमा यो घोषणा गरेका थिए। ५०० वटा विज्ञापनदाताले  विज्ञापन दिनै छाडेका छन्।

ट्विटरका प्रमुख एक हजार विज्ञापनको राजस्व पछिल्लो ३ महिनामा ६५ प्रतिशतमा सीमित भएको पाइएको छ। उनीहरूको मासिक राजस्व अक्टोबरदेखि जनवरी २५ सम्म ६० प्रतिशतभन्दा बढीले घटेको छ। यस्तै, सेप्टेम्बर र अक्टोबरमा मात्रै ३० वटा ठूला विज्ञापनदाताले खर्च घटाएका छन्। ती विज्ञापनदाताले ट्विटरमा २०२२ अक्टोबरमा ६२ दशमलव ५ मिलियन डलर खर्च गरेकामा गत जनवरीमा यो रकम १५ मिलियन डलरमा खुम्चिएको तथ्यांक छ।

डिजिटल मार्केटिङसम्बन्धी विश्लेषण फर्म पाथमेटिक्सको तथ्यांकले ट्विटरका विज्ञापनदाता धमाधम घट्न थालेको देखाएको हो। यसले ट्विटरका विज्ञापनदाता कसरी पलायन हुँदै छन् भन्ने महत्त्वपूर्ण संकेत गरेको छ। विश्वका धनाढ्य एलन मस्क ट्विटरको नयाँ मालिक बनेपछि कोका–कोला, युनिलिभर, जीप, वेल्स, फार्गो र मर्कजस्ता प्रमुख ब्रान्डसहित ६२५  विज्ञापनदाताको तथ्यांक केलाउँदा यस्तो पाइएको हो। अधिकांश विज्ञापनदाताले प्लेटफर्ममा विज्ञापन खर्च घटाएका छन्। ट्विटरका प्रमुख एक हजार विज्ञापनदातामध्ये आधाभन्दा कमले जनवरीमा विज्ञापनमा कम खर्च गरेको पाइएको हो। मस्क गत अक्टोबरमा ट्विटरको मालिक बनेका थिए। त्यसयता कोका–कोला, जीप, मर्क र युनिलिभरजस्ता ठूला कम्पनीले सामाजिक सञ्जालबाट आफ्ना विज्ञापन हटाए। 

मस्कले भने उनीहरूलाई प्लेटफर्ममा फर्काउने प्रयास गरिरहेका छन्।  उनले नोभेम्बरको शुरूमा पनि ट्विटरले राजस्वमा ठूलो गिरावट सामना गरिरहेको बताएका थिए। मस्क ट्विटरको मालिक बने लगत्तै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसहित ट्विटरका नियम उल्लंघन गर्ने प्रयोगकर्तामाथिको प्रतिबन्ध फिर्ता, तेस्रो पक्ष सामग्री निरीक्षण प्रक्रियालाई विघटन, कोभिड १९ को गलत सूचनाका नीति कार्यान्वयनमा रोक लगाउनेजस्ता कार्य गरे। यति मात्र होइन ठूलो संख्यामा कर्मचारी कटौती गरे र विज्ञापनका सम्बन्धमा पनि नयाँ नियम ल्याएका थिए।

उनका अधिकांश कदमको विरोध समेत भएको थियो। यसअघि नोभेम्बरको शुरूमा मस्कले ट्विटरको राजस्वमा ठूलो गिरावट आएको बताएका थिए। पछिल्लो तीन महिना अत्यधिक कठिनपूर्ण रहेको बताउँदै मस्कले कम्पनीलाई टाट पल्टिन नदिने प्रयास भइरहेको बताएका छन्।