Thursday, May 02, 2024

-->

सिर्सिया नदी प्रदूषण
औद्योगिक फोहोरको कहर : पर्साका दर्जन गाउँमा हुन छाड्यो तरकारी खेती, जीवन नै संकटमा

कुनै समय सिँचाइका लागि उपयोग गरिने सिर्सिया नदीमा औद्योगिक क्षेत्रको फोहोर मिसाइँदा पर्साका दर्जनौँ गाउँका बासिन्दाको जीवन नै संकटमा छ। त्यहाँका जलचर समाप्त भएका छन् भने नदीका वनस्पती पनि मासिएका छन्।

औद्योगिक फोहोरको कहर  पर्साका दर्जन गाउँमा हुन छाड्यो तरकारी खेती जीवन नै संकटमा
औद्योगिक क्षेत्र जगरनाथपुरमा प्रदूषित भइसकेको सिर्सिया। तस्वीर : रितेश/उकालो

वीरगन्ज– देशको मुख्य व्यापारिक शहर वीरगन्जदेखि पश्चिमतर्फ १२ महिना नै बहने सिर्सिया नदी उपयोग गरेर दर्जनौँ गाउँका किसान तरकारी खेती गर्थे। किसानको आम्दानीको मुख्य स्रोत नै तरकारी खेती थियो। सिर्सियाको तरकारी ‘लोकल’ भएको भन्दै नजिकैको ठूलो शहर वीरगन्जबासीको पहिलो रोजाइ हुन्थ्यो।

तर अब ती गाउँमा तरकारी खेती हुन छाड्यो। कारण हो, सिर्सिया नदीमा भएको प्रदूषण। वीरगन्ज औद्योगिक क्षेत्रको फोहोर सिधै मिसाउँदा नदी प्रदूषण भएको हो।

“सिर्सियाको पानी पिउँथ्यौँ, सफा र शीतल थियो”, भवानीपुरका स्थानीय ओमप्रकाश साह भन्छन्, “अब त त्यो पानीले बाली नै नष्ट हुन थाल्यो, सिँचाइका लागि समेत उचित भएन, तरकारी खेती छाड्नुको मुख्य कारण नै यही हो।”

सिर्सियाको पानी सिँचाइ गरेर सिर्सिया, खलवाटोला, रामगढवा, पर्सौनी, भवानीपुर, मनियारी, इनर्वा, इटियाही, जगरनाथपुर, पटेलनगर, चोर्नी लगायतका गाउँमा तरकारी खेती हुन्थ्यो। तर अहिले ती गाउँमा छिटपुट मात्र तरकारी खेती हुन्छ। 

“सिर्सिया नदीमा बढ्दै गएको औद्योगिक प्रदूषणले नै तरकारी खेती बिथोलिएको हो”, स्थानीय भवानीपुरका ओमप्रकाश साहले भने “वीरगन्ज बजार र औद्योगिक करिडोरका कारखानामा काम गरेर भन्दा गाउँमै तरकारी खेती गरेर स्थानीयहरू खुशहाल थिए।”

वीरगन्जको मिनाबजारस्थित तरकारी बजार।

तरकारी खेती गर्नेहरू आजभोलि कारखानामा काम गर्न जान थालेको उनी बताउँछन्। उनी भन्छन्, “कोही कारखानमा काम गर्छन्। केही युवा देशका अन्य शहर, भारत र वैदेशिक रोजगारीमा जान बाध्य भए। यो दुई दशकभित्र गाउँबासीले भोगेको बाध्यात्मक स्थिति हो।”

नदी प्रदूषित हुँदै गर्दा १२ वर्षअघि स्थानीय भवानीपुरका युवाहरूले ‘सिर्सिया बचाउ अभियान’ चलाएका थिए। युवाहरूको विरोधपछि जिल्ला प्रशासन कार्यालयले २०६७ मंसीर २२ मा ‘सिर्सिया प्रदूषण अनुगमन समिति’ गठन गरी स्थलगत अध्ययन पनि गरेको थियो।

त्यस क्षेत्रमा ४६ उद्योग छन्। ती उद्योग, तत्कालीन वीरगन्ज उपनगरपालिका र अवैध भट्टीहरूबाट फालिने रासायनिक र जैविक फोहोर प्रदूषणको कारक भएको अध्ययन प्रतिवेदनको ठहर थियो। तर प्रदूषित हुन नदिन कुनै कदम नचालिएपछि सिर्सिया नदीको पानीबाट आश्रित किसान परिवार विस्तारै कृषि पेशाबाटै विस्थापित हुन बाध्य भए।  

भवानीपुरका सुनील गुप्ता भन्छन्, “सिर्सिया नजिकैको हाम्रो दुई बिगाहा जमिन चार जना किसानले भाडामा लिएर तरकारी खेती गर्थे” दुई दशकअघिका दिन सम्झदै उनले भने, “केही वर्षअघि मात्र उनीहरूले हामीलाई खेत फिर्ता गरिदिए। उनीहरू तरकारी खेती गर्न छाडेर अन्य पेशा गरेर बस्न थालेका छन्।”

खेती गर्ने चार जनामध्ये पुनदेव साहले गाउँमै किराना पसल खोलेका छन्। गाया मुखियाले वीरगन्जमा सानो पसल खोलेका छन्। सिकेन्द्र यादवले थे्रसर किनेर धान र गहुँ दाइँ गर्ने व्यावसाय गर्छन्। किशोरी साह आफ्नै बारीमा खेतीपाती र मजदुरी गर्छन्।

१४ कट्ठामा खेती गर्दै आएका इनर्वा मनियारीका लक्ष्मण महतोले पनि तरकारी लगाउन छाडिसके। “कालो र गन्हाउने पानी आउँछ, नदी वारपार गर्दा खुट्टाभरि घाउखटिरा निस्कन्छ, वस्तुभाउले पिए बिरामी पर्छन्। तरकारीको बिरुवा डढेको जस्तो हुन्छ। तरकारी कमसल हुन थाल्यो”, उनले भने।  

मनियारी गाउँ सिर्सिया नदीबाट पश्चिममा पर्छ। त्यहाँका बासिन्दाको खेतबारी पूर्वतिर भएको हुँदा दिनहुँ सिर्सिया नदी तरेर आउजाउ गर्नुपर्छ। सिर्सियामाथि झोलुङ्गे पुल बनाएपछि नदीको पानी छुन नपरेको अर्का स्थानीय मुकेश कुमार बताउँछन्। तर वस्तुभाउ भने त्यही पानी पिउँछन्। उनी भन्छन्, “गाइवस्तु र केटाकेटीलाई सिर्सियाको पानीबाट बचाउनै मुस्किल पर्छ।”

उहिले आफूहरूले सिर्सिया नदीको पानी पिउने गरेको स्थानीय किसान नन्द साह कानु बताउँछन्। उनी भन्छन्, “खेतमा काम गर्दा पन पियायी (घरबाट ल्याइने खाजा) मात्र आउँथ्यो, सिर्सियाकै पानी पिउँथ्यौँ। घैला डुबाएर पानी झिकिन्थ्यो, त्यो पानी पिएपछि धीत मर्थ्यो।”

मधेशको ठूलो पर्व छठमा नदी पोखरी किनारमा बसेर बर्तालुहरू स्नान, जलध्यान अर्घ दिन्छन्। “अब सिर्सियाको दुर्गन्धित पानीमा त्यो सम्भव भएन”, नन्दले भने “गाउँमा हुने सबैजसो पूजाआजामा सिर्सियाको पानी प्रयोग हुन छाड्यो।”

दर्जनौँ गाउँका सयौँ परिवारको दुःख बनेको छ सिर्सिया नदीको पानी। धेरै गाउँको जीवनशैलीलाई मन्द विषले प्रभावित तुल्याउँदै लगेको छ। त्यति मात्रै नभइ नदीमा बस्ने प्राणी र आसपासका वनस्पतीसमेत प्रभावित भएका छन्। औद्योगिक क्षेत्रबाट निस्कने प्रदूषण मिसिएर विषाक्त बनेको नदी सफाइमा कुनै प्रयत्न थालिएको छैन। 

यसरी मिसिन्छ औद्योगिक फोहोर
सिर्सियाको मुहान बाराको रामवन हो। मुहान नजिकैका स्थानीय अहिले पनि सिर्सियाको पानी पिउन र नुहाउन उपयोग गर्छन्। मुहानभन्दा करिब तीन किलोमिटर दक्षिणतिर त्रिभुवन राजपथको वीरगन्ज पथलैया खण्डमा रहेको ‘लालका पुल’ जितपुर नजिक सिमरातिरबाट आउने औद्योगिक नाला सिर्सिया नदीमा मिसिन्छ।

औद्योगिक करिडोर भनिने वीरगन्ज पथलैया सडकखण्डको दायाँबाँयाँ हुँदै नागबेली बहेको सिर्सिया अगाडि दक्षिण बग्दै जाँदा नदीमाथि औद्योगिक फोहोर मिसिँदै जान्छ।

वीरगन्ज।

वीरगन्ज महानगरपालिकाको अगुवाइमा गएको कात्तिक २३ गतेदेखि सिर्सिया नदी अनुगमन गरिएको थियो। जितपुर सिमरा उपमहानगरपालिका, पर्सा र बाराका जिल्ला प्रसाशन कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुवै जिल्लाका प्रतिनिधि, नापी र मालपोतका प्रतिनिधि लगायतको टोलीले हरेक महिना गर्ने गरी अनुगमन थालेका छन्। टोलीको संयोजक वीरगन्जका उपप्रमुख इम्तियाज आलम छन्।

आफूले अनुगमन गर्दा सिर्सिया नदी बिनारोकटोक प्रदूषित पाइएको र यसले जनजीवनमा असर पुर्‍याएको उपप्रमुख आलमले बताए। उनले सुधारको लागि महानगरपालिकाले विभिन्न सरोकारवालाको सहकार्यमा प्रयास शुरू गरिसकेको दाबी गरे। सर्वसधारणले सिर्सिया नदीमा परिवर्तन महसुस गर्ने गरी सुधार निकट भविष्यमै देखिने उनको भनाइ छ। 

नदी प्रदूषण गर्ने मुख्य उद्योगहरू बारा जिल्लामा पर्छन्। बाराका सहायक प्रमुख जिल्ला अधिकारी श्रीकृष्णप्रसाद आचार्यले उद्योगहरूले फोहोरयुक्त र रासायनिक पानी खोलामा मिसाएका कारण नदी प्रदूषित भएको बताए। उद्योगहरूले फोहोर आफैँ नियन्त्रण गर्नुपर्ने र अब त्यतातिर कारशाही बढाइने बताए। 

अनुगमनमा सहभागी जितपुर सिमरा उपमहानगरपालिका उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्योगहरूले दुर्गन्धित फोहोर पानी सफा गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ (प्रसोधन इकाइ) जडान नगरेको पाइएको बताए। उद्योगहरूबाट पानी संकलन गरेर त्यसको परीक्षण पनि गराइने र प्रदूषण नियन्त्रण गरिने उनले बताए। त्यसो गर्ने उद्योगलाई कारबाही पनि गरिने उनको भनाइ छ।

न रहे जलचर, न वनस्पती
सिर्सियाको स्वच्छ जलधार स्थानीयवासीको सम्झनामा अझै ताजै छ। लक्ष्मण महतो बाल्यकालमा सिर्सियाको कञ्चन पानीमा पौडिरहेका झिँगा, चेल्वा, गर्दी, पोठिया, बुला, धवही र बाघीजस्ता माछा मार्थे। एक घन्टामै डेढ किलोसम्म मार्न भ्याएको उनी बताउँछन्। हिँउद र सुक्खायाममा भने जलकुम्भी, सेवारजस्ता वनस्पतीले नदी छोपिएको उनलाई याद छ। 

सिर्सिया नजिकै इटियाहीका हरिहर सहनीको बाबुबाजेले यही खोलामा माछा मारेर जीविका चलाएका थिए। “कहीँ मजदुरी गर्न जानुपर्दैन थियो” सहनी भन्छन्, “सिर्सियामा जाल हान्न बिहानै जान्थ्यौँ, मध्यान्नसम्म तीन किलो जति माछा दैनिक जस्तै डेली (माछा राख्ने भाँडो)मा टुट्थेन।” वीरगन्ज शहरमा ‘लोकल’ भनेर यस्तो माछाको माग उच्च थियो। उनी घाम अस्ताउनुअघि माछा बेचेर घर फर्किसक्थे।

अब ती दिनहरू रहेनन्। सपना जस्ता भए। सिर्सियामा माछा छैन। विष बहने नदीको पानी छुन पनि उनी डराउँछन्।

सिर्सिया नदीमा माछा मारेर जीवन गुजारेका स्थानीय प्रभु सहनीको व्यथा पनि उस्तै छ। “माछा मार्नु बाहेक अरू काम जानिएन”, उनी भन्छन्, ‘आजकल पर्साकै तिलाबे र ढँगही तथा कहिलेकहीँ बाराको दुधौरातिर माछा मार्न जान्छौँ।”

पथलैयादेखि वीरगन्जसम्म स्थापना भएका कलकारखाना नै सिर्सिया नदीको जीवन समाप्त हुनुको मुख्य कारण भएको उनी बताउँछन्। प्रभु भन्छन्, “नदी समाप्त गर्नेमाथि कानूनी कारबाही गरेर जेल हाल्नुपर्ने हो, तर सरकारलाई मतलब छैन। हाम्रो बिजोग भो।”

इटियाहीका वकिल मिया सिर्सियाकै पानी पिएर हुर्केका हुन्। उनले ती दिन भुल्न सकेका छैनन्। “२० वर्षअघि यहाँ कुनै इनार धारो थिएन, नुहाउने धुनेदेखि पिउने पानी हो सिर्सियाको”, उनी भन्छन्।

भान्सामा सिर्सियाकै पानी प्रयोग गरेर इटियाहीका राजकुमारी देवीले खाना बनाउँथिन्। उनी भन्छिन्, “गाउँको वरदान थियो सिर्सिया। अब त बाख्रा भैंसीले मुख नडुबाउन् भनेर चनाखो हुनुपर्छ।”

जलमा हुने वनस्पति मासिएपछि माछा र अन्य स–साना जलचरहरू नास भएको ठाकुरराम बहुमुखी क्याम्पसका जीव विज्ञानका सहप्राध्यापक डा. प्रमोद कुशवाहा बताउँछन्। “औद्योगिक प्रदूषणको चपेटामा परेपछि सिर्सिया नदीमा जलचर भेटिदैनन्। भ्यागुता, माछा, घोंघी, सितुवा, आन्हा र बामी लगायत् प्राणी प्रदूषणले लोप भएका छन्।” 

उनका अनुसार पानीमा घुलेर रहने अक्सिजनको घनत्वमा बदलाव भएर त्यसको गुणै फेरिने हुँदा जलचर र वनस्पती नासिएका हुन्। डा. कुशवाहाले भने, “पानीमा घुलेको अक्सिजनबाट जलचरले सास लिन्छन्, उत्सर्जित हुने रसायन तथा विभिन्न खालका औद्योगिक फोहोरले पानीभित्रको अक्सिजनलाई समाप्त पारेपछि जलचर लोप हुनु स्वाभाविक हो।” 

सिर्सिया जोगाउन आन्दोलन
सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि विभिन्न संस्था तथा व्यक्तिहरूले बेलाबेलामा आवाज उठाउँदै आएका छन्। हरेक वर्ष छठ पर्वका बेला नदी वरपरका स्थानीयले जिल्ला प्रशासनलाई घच्घच्याउन पुग्छन्। दबाबका कारण केही सरसफाइ पनि हुन्छ। “प्रदूषणविरुद्ध दबाब कार्यक्रम भए, तर बिनापरिणाम विरोधका गतिविधि रोकिन्छन्”, परवानीपुरका विनय यादव भन्छन्। 

सिर्सियालाई प्रदूषणमुक्त बनाउन केहीले भने निरन्तर आवाज उठाउँदै आएका छन्। भवानीपुरका युवाहरूले सिर्सिया बचाउ अभियान सञ्चालन गरे। ‘स्वच्छ वातावरण सृजना अभियान नेपाल’ गठन गरी अभियान चलाएपछि जिल्ला प्रशासन कार्यालय पर्साले २०६७ मंसिर २२ मा गठन गरेको ‘सिर्सिया प्रदूषण अनुगमन समिति’ले अध्ययन पनि गर्‍यो। समितिले प्रतिवेदनमा कुन उद्योगले के उत्सर्जित गर्दैछ भनेर किटानै गरेको थियो। 

रानीघाटमा सिर्सिया नदी।

अभियानका एक अगुवा अनिलकुमार साह, स्थानीयस्तरभन्दा नीति निर्माण तहबाट नै औद्योगिक प्रदूषणको सामाधान खोज्नुपर्ने धारण राख्छन्। “सरकारी पहल, प्रदूषणकर्ताको प्रयास र उपलब्ध कानूनी व्यवस्थाको कार्यान्वयनले मात्र सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न सम्भव छ”, उनले भने, “स्थानीय प्रशासनले उद्योगीहरूलाई दबाब दिनै सक्दैन, प्रदूषणकर्ता उद्योगी कुनै न कुनै राजनीतिक नेताबाट संरक्षित हुन्छन्। जिल्ला प्रशासनले कुरा गर्न बोलाउँदासमेत उद्योगीहरू आइदिँदैनन्।” 

एक अभियानकर्ता अधिवक्ता सरेन्द्र कुर्मीले उद्योगीहरूविरुद्ध जिल्ला अदालत पर्सामा सार्वजनिक सरोकार ऐन अनुसार मुद्दा पनि हाले। तर अदालतले व्यक्तिभन्दा सरकार वादी भएर आउनु पर्ने फैसला सुनायो। अहिले कुर्मी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई अघि सर्न आग्रह गर्दैछन्।

लागू नभएको कानूनी व्यवस्था
सिर्सिया सफाइ बनाउन वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल पटवारीको संयोजकत्वमा एउटा बेग्लै समिति बनाइएको छ। “हामीले सिर्सियाको प्रदूषण नियन्त्रण गर्ने दिशामा गम्भीर भएर लागेका छौँ, अनुगमनको चरणमा छौँ। यसपछि हामी निदानको लागि काम गर्ने छौँ, आवश्यक परे दण्ड–जरिवानासम्म गर्छौं”, संयोजक पटवारीले भने। उनले निकासको लागि विभिन्न निकायसँग सहकार्य र उद्योगीहरूसँग छलफल गरिरहेको पनि बताए।

वीरगन्जका उपप्रमुख इम्तियाज आलमले महानगरपािलकाले आफैँ नियन्त्रण गर्नुपर्ने फोहोरलाई पनि व्यवस्थित गर्न शुरू गरिसकेको बताए।

अधिवक्ता कमलमोहन पोखरेल वातावरणीय प्रभाव मूल्यांकन निर्देशिका पालना नभएकोले नागरिकको मौलिक हकको हनन् भएको दाबी गर्छन्। “नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३० मा स्वच्छ वातावरणको हक उल्लेख छ।” यसको उपधारा (१) मा भनिएको छ, “प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ।”

त्यस्तै उपधारा २ मा भनिएको छ, “वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।” यस मौलिक हकलाई कार्यान्यवन गर्ने कानूनी व्यवस्था पनि विद्यमान छ।

वातावरण संरक्षण ऐन, २०५३ ले नेपालमा वातावरण सम्बन्धी ठोस कानूनी व्यवस्था गरेको छ। “कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी वा जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुने सक्ने किसिमले प्रदूषण सृजना गर्न वा तोकिएको मापदण्ड विपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनी, ताप, रेडियोधर्मी विकिरण तथा फोहरमैला निष्कासन गर्न गराउन हुँदैन”, ऐनको दफा ७ को उपदफा १ मा उल्लेख छ। 

जलश्रोत ऐन, २०४९ ले समेत नदीको प्रदूषणको मापदण्ड र त्यसको उपचारका कानूनी आधार दिएको छ। श्रम ऐनले पनि औद्योगिक फोहोर व्यवस्थापनबारे बोलेको अधिवक्ता पोखरेलले बताए। 

बाराको रामवनदेखि शुरू भएर वीरगन्जको इनर्वानजिक सीमापारि रक्सोलतिर बग्छ सिर्सिया। खासगरी दुई स्थानीय तह वीरगन्ज महानगरपलिका र जितपुरसिमरा उपमहानगरपालिकाभित्र सिर्सिया नदी पर्छ। स्थानीय तहलाई औद्योगिक फोहोर उत्सर्जन नियमन गर्ने जिम्मेवारी छ।


सम्बन्धित सामग्री