Friday, April 19, 2024

-->

'स्पट फिक्सिङ’ छानबिन : प्रहरीमा क्रिकेट विज्ञ नहुँदा अल्मलियो सीआईबी

प्रहरीमा क्रिकेट विज्ञ नहुँदा स्पट फिक्सिङको अनुसन्धान थालेको सीआईबी ठोस निष्कर्षमा पुग्न सकेको छैन। मैदानभित्रको घटनामा पहुँच नहुँदा पनि अनुसन्धानले गति लिन नसकेको सीआईबी अधिकारी बताउँछन्।

स्पट फिक्सिङ’ छानबिन  प्रहरीमा क्रिकेट विज्ञ नहुँदा अल्मलियो सीआईबी

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइजी लिग नेपाल टी–२० म्याच र स्पट फिक्सिङको विवादमा पर्‍यो। यति मात्र नभई, क्यान अध्यक्ष चतुरबहादुर चन्द र व्यवस्थापक विनोद दाससहित खेलाडीहरू पनि बयानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जानु पर्‍यो।

सीआईबीले पुस २१ गते क्यानका अध्यक्ष चन्द र पूर्वकप्तान तथा म्यानेजर दासलाई बोलाएर बयान लियो। कप्तान रोहितकुमार पौडेल, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, विनोद भण्डारीलगायत राष्ट्रिय टोलीमा रहेका र नरहेका खेलाडीहरूसँग पनि सोधपुछ गरेको थियो। तर पछिल्लो समय सीआईबीको अनुसन्धान सेलाउँदै गएको छ। 

सीआईबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले पनि अनुसन्धानमा ढिलाइ भइरहेको स्वीकार गरे। “शुरूमा छानबिन गर्दा छिट्टै निष्कर्षमा पुगिने अनुमान लगाएका थियौँ। तर अनुमान गरेभन्दा धेरै गहिराइमा जान पर्‍यो। त्यसैले अलिकति ढिला भयो”, उनी भन्छन्। 

सीआईबीले नेपाल टी–२० लिगको फाइनल खेलअगाडि नै अनुसन्धान सकेर प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको थियो। यस घटनाबारे थापा नेतृत्वकै टोलीले छानबिन गरिरहेको कारण पनि उनी समयमै अनुसन्धान सकिनेमा विश्वस्त थिए। तर फाइनल सकिएको एक हप्ताभन्दा बढी समय बितिसक्दा सीआईबीले अनुसन्धानलाई पूर्णता दिन सकेको छैन। “छानबिनको विषय हो। ठ्याक्कै यति दिनपछि नै सकिन्छ भन्ने दाबी गर्न सकिने अवस्था छैन”, थापा भन्छन्।

फुटबलमा म्याच फिक्सिङको त्यो सफल अनुसन्धान
यसअघि, तत्कालीन एसएसपी सर्वेन्द्र खनाल महानगरीय अपराध अनुसन्धान महाशाखाको नेतृत्वमा हुँदा पहिलोपटक म्याच फिक्सिङबारे छानबिन भएको थियो। उनको नेतृत्वमा भएको अनुसन्धानले नेपाली फुटबलभित्रको म्याच फिक्सिङ प्रकरणको पर्दाफास गरेको थियो। सन् २००८ देखि नेपालले खेलेको अन्तर्राष्ट्रिय खेलहरूमा पैसा लिएर जानाजान हारेको निष्कर्ष प्रहरीको थियो। 

सो प्रकरणमा नेपाली फुटबलका तत्कालीन कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापालगायत विरुद्ध मुद्दा चलाइएको थियो। म्याच फिक्सिङ प्रकरण सार्वजनिक र कारबाहीपछि नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राम्रो प्रदर्शन गर्न थालेको थियो। सन् २०१६ मा पहिलोपटक बंगबन्धु गोल्डकपको उपाधि जित्यो। त्यसपछि, तत्कालीन एसएसपी खनाललाई पनि सामाजिक सञ्जालमा पनि बधाई दिइएको थियो।

नेपाली क्रिकेटमा फिक्सिङ भित्रिएको चर्चा भने दुई दशकभन्दा अगाडि नै भएको थियो। नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्च प्रवेश गर्दैगर्दा सन् १९९९ मा भारतीय बुकीले नेपालका अन्तराष्ट्रिय खेल फिक्सिङ गराएको आरोप लागेको थियो। काठमाडौँको फाइभ स्टार होटेल एभरेष्टमा बसेर खेल फिक्सिङ गराएको आरोपमा प्रहरीले भारतीय नागरिक धानुकलाई पक्राउ गरेको थियो। तर सामान्य सोधपुछ गरी भारत नै फर्काइदिएको थियो। 

त्यसको २३ वर्षपछि नेपाली क्रिकेट फिक्सिङ विवादमा परेको छ। ओरालो लाग्दै गएको क्रिकेट जगाउन क्यानले नै आयोजना गरेको नेपाल टी२० लिग फिक्सिङ विवादमा परेको हो। तर सीआईबीको अनुसन्धानले गति लिन सकेको छैन।

क्रिकेटमा फिक्सिङको अनुसन्धान फरक ढंगले गर्नुपर्ने हुँदा पनि ढिला भइरहेको एसपी थापा बताउँछन्। “हामीले अहिले फुटबलमा जस्तो म्याच फिक्सिङबारे अनुसन्धान गरेका हैनौँ, स्पट फिक्सिङ मात्रै हेरिरहेका हौँ। यो पनि डर्रामा रहेको भन्दा नयाँ काम रह्यो”, उनी भन्छन्।

क्यान र आईसीसीकै भरमा सीआईबी
नेपाल टी–२० लिग कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरू भएयता नै क्यानको आग्रहमा सीआईबीले आफ्नो टोली खटाएको थियो। सट्टेबाजी गरेको आरोपमा रंगशालामा सादा पोशाकमा खटिएको टोलीले करिब १२ जना भारतीयलाई पक्राउ गरेको थियो। तर, सो टोलीले प्रतियोगितामा भएको भनिएको स्पट फिक्सिङको भने कुनै भेउ नै पाएन।

सीआईबी प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीका अनुसार विगतमा पनि सट्टेबाजी भएको कारण नियन्त्रणका लागि क्यानले सहयोग मागेको थियो। गएको मंसिरमा नेपाल र युएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलामा सट्टेबाजी गरेको आरोपमा ३१ जनाविरुद्ध मुद्दा चलेको थियो। 

त्यही कारण क्यानले सट्टेबाजी हुनसक्ने भन्दै रंगशालामा प्रहरी खटाउन माग गरे पनि मैदानमा हुने फिक्सिङबारे प्रतियोगिताअघि आफूहरूलाई जानकारी नदिएको एआईजी सुवेदी बताउँछन्। “हामीले त्यत्रो भीडबाट सट्टेबाजी गर्ने केहीलाई पक्राउ पनि गरेका हौँ। तर मैदानभित्र के भइरहेको छ भनेर छिरेर हामीले हेरेनौँ”, उनी भन्छन्, “मैदान बाहिरबाट नाङ्गो आँखाले स्पट फिक्सिङ नै भइरहेको छ भनेर भन्न सक्ने अवस्था पनि थिएन।”

यद्यपि, स्पट फिक्सिङको चर्चा चलेसँगै आफूहरूले अनुसन्धान थालेको उनको भनाइ छ। तर सीआईबीको लागि यस्तो घटना नौलो भएको कारण छिट्टै निष्कर्षमा पुग्न नसकिने उनले बताए। यस किसिमको घटनाबारे छानबिन गर्नको लागि विशेष फोर्स आवश्य हुने हुँदा अनुसन्धानमा अन्य विज्ञको भर पर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। 

“अहिले क्रिकेटमा भयो, पछि फुटबलमा होला र पछिपछि अन्य खेलमा स्पट फिक्सिङ होला। यस्ता घटना सधैँ भइरहने पनि होइन र यसका लागि हामीसँग विज्ञ पनि छैनन्”, उनी भन्छन्।

एसपी थापा अनुसार स्पट फिक्सिङका लागि सीआईबीले क्यान र लिगको एन्टी करप्सन युनिटसँग पनि सहकार्य गरेको छ। क्यानले फिक्सिङसहित खेलमा हुनसक्ने अन्य क्रियाकलापको निगरानीका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधिको रूपमा वीर सिंहलाई एन्टी करप्सन युनिटको प्रमुख बनाएको छ। उक्त युनिटमा नेपालका पूर्वखेलाडी रितेश सिंह सदस्य छन्। 

“उनीहरू (क्यान)सँग विज्ञ टोली छन्। त्यही टोलीले छानबिन गरिरहेको छ। हामीले पनि छानबिन गर्नको लागि क्यानसँग विज्ञ टोली त मागेका हौँ, तर त्यस टोलीले पनि कुन बलमा कहिले, कहाँ र कसरी फिक्सिङ गरेको भनेर भन्न सक्ने अवस्था नहुने रहेछ”, उनी भन्छन्।

यसअघि नेपाल आएको आईसीसी इन्ट्रिग्रिटी युनिटका एन्ड्रयु इफग्रेभ र अर्का एक सदस्यले पनि एसपी थापालाई पुस २२ गते भेटेका थिए। भेटमा उनीहरूले आफूलाई जानकारी भएको कुरा सीआईबीलाई दिने बताएका थिए। तर अहिलेसम्म आईसीसीले पाएको कुनै पनि सूचना नदिएको थापाको भनाइ छ।

“पहिला सहयोग गर्छौँ भन्नुभयो। तर पछि बुझ्दैजाँदा उहाँहरूले ‘कारबाही गर’ भनेर हामीलाई भन्ने होइन रहेछ। दोषी देखिए उनीहरूले सिधै खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबन्ध लगाउने रहेछन्”, एसपी थापा भन्छन्।

यसका अलवा अनुसन्धानको क्रममा आफूहरूले खेलाडीको अस्वाभाविक भनिएको खेलमाथि पनि छानबिन गरिसकेको उनको भनाइ छ। तर छानबिनलाई नै आधार मानेर खेलाडीलाई दोषी देखाउन मिल्ने पर्याप्त आधारहरू नरहेको उनी बताउँछन्।

“हामीले यसबारे पनि छानबिन गर्‍यौँ। एक जना राम्रो खेलिरहेको खेलाडीलाई विभिन्न कुराले असर गर्ने रहेछ। शरीर तन्किएन वा मसल्समा समस्या आयो भने वा दबाब झेल्न सकेनन् भने पनि खेलमा ठूलो असर पर्ने रहेछ”, उनी भन्छन्।

करिब १० वर्षअघि इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाल टी—२० लिगमा जस्तै एउटा घटना भएको थियो, जसले क्रिकेट जगत नै हल्लायो। स्पट फिक्सिङको कुरा उठेपछि दिल्ली प्रहरीले राजस्थान रोयल्सका एस श्रीशान्त, अंकित चण्डिला र अंकित चव्हाणसहित देशभरबाट ३६ जना पक्राउ गरेको थियो। २६ दिन जेलमा बिताएपछि श्रीशन्तसँगै अंकित चव्हाण र अन्य १७ जना जमानतमा रिहा भएका थिए।

उनीहरूलाई सन् २०१५ मा अदालतले सफाइ दिएको थियो। यद्यपि, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सलाई दुई–दुई वर्षको प्रतिबन्ध लगाइएको थियो। 

यही घटनालाई बुझेका नेपाली राष्ट्रिय टोलीका पूर्वबलर सञ्जम रेग्मी नाङ्गो आँखाले हेरेको भरमै खेलाडीले स्पट फिक्सिङ गरेको ठहर गर्न नसकिने बताउँछन्। उनका अनुसार खराब सट खेले या लापरबाही नगरेसम्म कुनै खेलाडी आउट नहुने र बलरलाई दोष दिन नमिल्ने बताउँछन्।

“म आफैँ बलर भएको कारण मलाई लाग्छ कुनै खेलाडी आउट हुन चाहँदैन। ब्याटरले गल्ती गरे या लापरबाही गरे मात्रै आउट हुने हो। बलरले ब्याटरको गल्ती औँल्यायो भने लगातार पाँच विकेट नि लिन सक्छ। तर गल्ती बुझेन भने सक्दैन”, उनी भन्छन्।

टेस्ट क्रिकेट खेल्ने राष्ट्रमा पनि स्पट फिक्सिङ हुने गरेको भन्दै सजिलै दोषी पक्राउ पर्ने सम्भावना भने न्यून हुने उनी बताउँछन्। “स्पट फिक्सिङ हुँदैन भन्ने होइन, हुन्छ। तर सजिलै पक्राउ पर्ने सम्भावना कम हुन्छ”, उनी भन्छन्, “नेपालमा स्पट फिक्सिङ भएको हो भने कसले गर्न लगायो भनेर छानबिन गर्नुपर्ने हो। शंका गरिएका विदेशी खेलाडी स्वदेश फर्किसकेका छन्। यहाँकालाई मात्रै छानबिन गरिरहने हो भने दोषी को हो भनेर सय प्रतिशत पत्ता लाग्दैन।”

सीआईबीले स्पट फिक्सिङको छानबिनमा ढिलाइ गरिरहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भने छानबिनको प्रतिवेदन शुक्रबारसम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ। राखेपका बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले पारिश्रमिक विवाद तथा कमजोर व्यवस्थापनकाबारे छानबिन गरेको थियो।

समितिले क्यान अध्यक्ष चन्द, सचिव प्रशान्तविक्रम मल्ल, पूर्वप्रशिक्षक जगत टमाटा, पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल, कप्तान रोहितकुमार पौडेल, बलर सोमपाल कामीलगायतसँग बयान लिएको थियो।


सम्बन्धित सामग्री