त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म गरिएका सबै कलेजो प्रत्यारोपण सफल भएका छन्।

कलेजो प्रत्यारोपण गर्ने टिम। फाइल तस्वीर

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा नवौं बिरामीको कलेजो प्रत्यारोपण भएको छ।

अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा‍. डा. रमेशसिंह भण्डारी नेतृत्वको टिमले शुक्रबार ६० वर्षीय बिरामीका लागि कलेजो प्रत्यारोपण गरेको हो। उनलाई १९ वर्षीय छोराले कलेजो दिएको डा. भण्डारीले बताए।

प्रत्यारोपणमा दिल्लीको फोर्टिस् अस्पतालको टिमले पनि सघाएको जानकारी उनले दिए। महाराजगन्जमा डा. भण्डारीकै पहल र नेतृत्वमा केहीवर्ष अघि कलेजो प्रत्यारोपण शुरू गरिएको थियो।

नेपालमै तुलनात्मक रूपमा कम खर्चमा प्रत्यारोपण शुरू भए पनि बिरामीहरू प्रत्यारोपणका लागि भारत जाने क्रम भने कम भएको छैन। शिक्षण अस्पतालमा अहिलेसम्म गरिएका सबै कलेजो प्रत्यारोपण सफल भएका छन्।