भक्तपुरको थिमिस्थित गणेश चाकु वासमा माघे सङ्क्रान्तिका बेला दैनिक २०० किलोसम्म चाकु बिक्री हुने गरेको छ। भारत, अमेरिका, जापानलगायतका देशबाट पनि चाकुको माग आउन थालेको सञ्चालक सुदीप श्रेष्ठले बताए।
भक्तपुर– मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका सुदीप श्रेष्ठ चाकु बनाउन व्यस्त छन्। ५८ वर्षअघि बाजे गणेशप्रसाद श्रेष्ठले शुरू गरेको चाकु बनाउने पेसालाई उनले निरन्तरता दिइरहेका छन्।
माघे सङ्क्रान्ति नजिकिएसँगै उनीसहित बुबा उत्तमराज र अन्य २५ जनालाई चाकु बनाउने चटारो छ। वर्षभरी नै उत्पादन गर्ने भए पनि यो सिजनमा माग बढी हुने भएकाले भ्याइ नभ्याइ रहेको सुदीपले बताए। थिमिमा चाकु उत्पादन गर्ने एकमात्र गणेश चाकु वासको नामबाट उनीहरूको उद्योग प्रख्यात छ।
यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको उत्तमराजले बताए। माघे सङ्क्रान्ति नजिकएको र जाडो बढेकाले चाकुको माग धान्न धौ धौ परेको उनको भनाइ छ। उनको उद्योगमा तीलको कालो तथा सेता लड्डु (तिलौरी) पनि उत्पादन हुन्छ। “माघे सङ्क्रान्ति नजिकिएपछि चाकु लिन आउनेको भीड लाग्छ, औषधिको रुपमा प्रयोग गर्न टाढाटाढाबाट लिन आउँछन्, यहाँको चाकुले खोकी निको पार्छ”, उनी भन्छन्, “गर्भवती, सुत्केरीका लागि पनि यहाँको चाकु धेरै उपयोगि छ। महिलामा रगत बग्ने समस्या भयो भने चाकु लिन यहीँ आउँछन्।”
सुत्केरीले यहाँको चाकु खाँदा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीलाईसमेत सहज हुने भएकाले जाडोमा मात्र नभई गर्मीमा चाकुको माग उत्तिकै रहेको सुदीपले सुनाए। वैशाख जेठमा दैनिक सातदेखि १०, असोज कात्तिकमा १५ देखि २० किलो चाकु र पुष्टकारी बिक्री हुने छ। जाडो बढेपछि दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी बिक्री गर्ने गरेको उनले बताए।
माघे सङ्क्रान्तिलाई उपत्यका र बाहिरबाट माग अत्यधिक आउने भएकाले दैनिक २०० किलोसम्म बिक्री हुने गरेको छ। भकभकी उम्लिएको दूधमा सख्खर, नरिवल, छोगडा, कुराउनी र विभिन्न मसलाको प्रयोग गरेर चाकु बनाइन्छ। एक पाउँ, आधा किलो र एक किलो प्याकिङमा पाइने यहाँको चाकु प्रख्यात छ। स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन टाढादेखि ग्राहक आउने गरेको उत्तमराजले सुनाए।
भारत, अमेरिका, अष्ट्रलिया, जापानलगायतका देशबाट पनि चाकुको माग आएको उनको भनाइ छ। चाकु किलोको ७०० रुपैयाँमा बिक्री हुने गरेको छ। बाजेले शुरू गरेको व्यवसायबाट राम्रो जीविकोपार्जन हुने भएपछि निरन्तरता दिएको सुदीप बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
