यो देशमा म एउटा पी साइनाथ खोजिरहेछु

आलेखको शीर्षक हेरेरै तपाईं मलाई ‘तिमी चाहिँ किन बन्न नसकेको त पी साइनाथ?’ भन्न सक्नुहुन्छ। यो प्रश्न सोध्ने तपाईंको हकको म सम्मान गर्छु। तर दुर्भाग्य, यो प्रश्न आयो भने त्यसको जवाफ मसँग हुने छैन।

भर्खरै बजारमा आएको प्रख्यात भारतीय पत्रकार पी साइनाथको ‘द लास्ट हिरोज’ किताबको समीक्षा होइन यो। पहिलो किताब ‘एभ्रीबडी लभ्स अ गुड ड्राउट’ प्रकाशन भएको दुई दशकपछि उनको नयाँ किताब आएको मौका छोपेर आफ्नै देशको पत्रकारिताबारे गरिएको मेरो ‘निजी चिन्ता’मात्र हो। तथापि, यो आलेखका कतिपय सन्दर्भ उनै साइनाथका भनाइबाट उद्धृत गरिएका छन् र उनले पत्रकारिताबारे प्रकट गर्दै आएका विचारहरू जोडिएका छन्।

आलेखको शीर्षक हेरेरै तपाईंहरू मलाई ‘तिमी चाहिँ किन बन्न नसकेको त पी साइनाथ?’ भन्न सक्नुहुन्छ। यो प्रश्न सोध्ने तपाईंहरूको हकको म सम्मान गर्छु। तर दुर्भाग्य, यो प्रश्न आयो भने त्यसको जवाफ मसँग हुने छैन। किनकि, यो देशमा असाध्यै कम अवसर पाएको र औसत दर्जाको लेखक–पत्रकार हुँ म। 

औसत मानिस पी साइनाथ बन्न सक्दैनन्। कम अवसर पाएको मानिसले आफूलाई माझ्ने मौका पनि थोरै नै पाउँछ। यो देशमा पी साइनाथजस्तो पत्रकारको खोजी गर्ने म एकजना मात्र होइन, थुप्रै पत्रकार छन्। ती चिन्ताकर्मीमध्ये कतिपय त अवसर नै अवसर पाएका पत्रकार पनि छन्।

केही समयअघि एकजना रेडियो अन्तर्वार्ताकार मित्रले मसँग सोधेका थिए, “तपाईंलाई मन पर्ने र विश्वास लाग्ने, अनि प्रतिभाशाली नेपाली पत्रकार को हो?”

यो प्रश्नपछि मेरो मथिङ्गलमा असाध्यै सीमित अग्रज, समकालीन र अनुज पुस्ताको अनुहार नाच्न थाले, तर ती अनुहारहरू ‘ब्लर’ थिए। ती अनुहार ठम्याउन मलाई निकै गाह्रो परेको थियो। मैले वाक्यमा उत्तर दिन सकिनँ। यो प्रश्नको उत्तर दिन नसक्दा प्रत्यक्ष प्रसारण भइरहेको त्यो रेडियो करिब २० सेकेन्ड ‘डेड’ हुन पुगेको थियो। त्यसपछि, ती चतुर पत्रकारले प्रसंग अन्तै मोडिदिएका थिए। यस्तो अप्ठेरो भोग्ने यो मुलुकमा अरू पनि हुनुहुन्छ भन्ने मेरो विश्वास छ।

साइनाथ कार्यरत पत्रिका (द हिन्दू)मा उनको पद नै ‘रुरल एडिटर’ थियो। हाम्रा लागि पत्रिकामा साइनाथलाई दिइएको पद नै अनौठो छ। उक्त पत्रिकाले समाचारका लागि लगानी गर्थ्यो, त्यसैले उनले भारतीय किसानको दुःख र हैरानीलाई समाचार वा अन्य आलेखमा उतार्न सके। यही कारण पनि किसानको जीवन लेख्न उनीहरूले पसिना चुहाइरहेको खेतबारीमा लडिबुडी गर्न सके, तिनले भोग्नुपरेका पीडा शब्दमा उतार्न सके। सीमान्तकृत किसानका तिनै कथाहरूलाई उनले आफ्नो पहिलो किताब ‘एभ्रीबडी लभ्स अ गुड ड्राउट’मा फिँजारे।

उनले ताजा किताबमा भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका, तर कतै उल्लेख नभएका क्रान्तिकारीहरूका कथा लेखेका छन्। सन् १९४७ मा बेलायती सिक्री चुँडालेर भारतीय आकाशलाई स्वतन्त्र पार्न लडेका जीवित योद्धाको खोज गरेका छन्। 

उनलाई दुइटा प्रश्नरूपी चिन्ताले यो किताब लेख्न प्रेरणा दिएको देखिन्छ– ‘आजभन्दा ७५ वर्षअघि अङ्ग्रेजविरुद्ध लड्ने योद्धा अब कति नै वर्ष यो धर्तीमा रहलान् र! अहिले पनि तिनको खोजी नगरे कहिले गर्ने?’ मजदुर, किसान, गृहिणी, वनकर्मी, कालिगढलगायतको क्रान्तियोगदानको कदर उनले आफ्नो किताबमा गरेका छन्।

किताबबारे उनले भनेका छन्, “आगामी पाँच–छ वर्षमा यो देशको स्वतन्त्रताको लागि लड्ने एकजना पनि जीवित रहने छैनन्। भारतको युवापुस्ताले आफ्नो देशका स्वतन्त्रता सेनानीहरूलाई भेट्न, हेर्न, बोल्न वा सुन्न पाउने छैनन्। त्यसकारण मैले यो पुस्तक लेखेको हुँ।”

साइनाथले मेटिनै लागेको भारतीय क्रान्ति इतिहासको संरक्षण गरेका छन्। यो किताबमार्फत् उनी भारतीय स्वतन्त्रता संग्राममा अभिजात्य वर्ग होइन, खाली खुट्टा हिँड्ने मानिसको बढी योगदान छ भन्ने प्रमाणित गर्न अग्रसर भएका छन्। ती भुइँमानिसका जीवन र कथाहरू गम्भीर तथा रोचक ढङ्मा अभिलेखित गरेका छन्।

चार दशकभन्दा बढी समय मूलधारे (कृषि, किसान र गरिबी) पत्रकारिता गरेका साइनाथ अहिले एउटा स्वतन्त्र मल्टिमिडिया डिजिटल प्लेटफर्म चलाइरहेका छन्। ‘पिपुल्स अर्काइभ अफ रुरल इन्डिया– पारी’ उनको प्लेटफर्मको नाम हो। नामबाटै साइनाथको पत्रकारिताको उद्देश्य प्रष्ट हुन्छ। तपाईंले उनको साइट खोल्नुभयो भने न त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर देख्नुहुन्छ, न त महानायक अमिताभ बच्चन नै भेट्नुहुन्छ! त्यहाँ त महिला, किसान, गरिब र जीवन निर्वाहका लागि जुधिरहेको आममानिस तपाईंको आँखाअगाडि आउँछन्। 

अब आफ्नै आन्तरिक कुरा। हाम्रा कतिवटा सञ्चारमाध्यमले किसान र कृषिका मुद्दालाई एउटा छुट्टै बिट बनाएका छन्? बैंक वा साहुको ऋण तिर्न नसकेर मृत्युको बाटो रोज्न विवश किसान नेपालमा छैनन्? कुन पत्रकार वा पत्रिकाले यस्तो समाचार खोज्न मिहिनेत गर्‍यो र लगानी गर्‍यो? किन देशका ८० प्रतिशत हिस्सा ओगट्ने मानिसका समाचार खोज्न हाम्रा मिडिया चाहँदैनन्? किन यो देशमा किसानहरू घट्दै गए र वैदेशिक रोजगारीमा जाने बढे? के समाचार बन्न सयौं मानिस मर्नु नै पर्ने हो?

२०७० को पूर्वार्द्धतिर म एउटा दैनिक पत्रिकामा काम गर्थें। प्रकाशकले बुटवलका कृषि व्यवसायीहरू भेला गरेर ‘राउन्ड टेबुल’ गर्नुपर्‍यो भने। राजधानीबाट अलि पर गएर त्यहाँका विभिन्न पेशा–व्यवसायमा लागेका मानिससँग छलफल गर्न पाउने कुरा मेरा निम्ति अवसर थियो। 

म केही साथीहरू लिएर बुटवलतिर हान्निएँ। राउन्ड टेबुलमा सहभागी किसानले शुरूमै प्रश्न तेस्र्याए– “तपाईंहरूले आफ्नोे पत्रिकामा हामी किसानको समाचार कहिल्यै पहिलो पृष्ठमा छाप्नुभएको छ? कहिलेकाहीँ यस्सो ठाउँ दिएको जस्तो गरेर भित्री पृष्ठमा सानो समाचार हाल्नुहुन्छ हैन? अब हामी किन तपाईंको पत्रिका पढ्ने?” 

उनीहरूको आशयमा म संलग्न पत्रिका बहिष्कारको झल्को आउँथ्यो। कार्यालय फर्केर प्रकाशकलाई बुटवलका किसानको प्रतिक्रिया सुनाउँदा जवाफ आयो– “तिनले हाम्लाई विज्ञापन दिन्छन् र तिनका समाचार पहिलो पृष्ठमा छाप्नू?”

सुदूर गाउँका मिटरब्याज पीडित किसान वा सीमान्तकृतहरू माइतीघर मण्डलमा आन्दोलन गरिरहेको लामो समय भइसकेको छ। तर हामी पत्रकारलाई चिन्ता बैंक तथा वित्तीय संस्थाहरूमा ‘तरलता अभाव’को हुन गएको छ। ठूला र कर्पोरेट साहुले लगानीका निम्ति बैंकहरूबाट रकम नपाएको चिन्ताले हामीलाई अधिक पोलिरहेको छ। यसले पत्रकारिताको घेरो निकै साँघुरिँदै गएको देखाउँछ। 

अधिकांश मिडियामा व्यापारी र तिनका पक्षपोषण गर्ने मानिस (पत्रकार, व्यवस्थापन)को सङ्ख्या बढ्दै गएको छ, खास पत्रकारको भूमिका खुम्चँदै जाँदा ती खिइँदै गएका छन्। निकट भविष्यमै तीमध्ये अधिकांश बेरोजगार बन्ने वा पत्रकारिताबाट पलायन हुने सम्भावना बलियो बनेको छ। अवस्था यतिसम्म चिन्ताजनक बनिसकेको छ– अधिकांश ठूला वा ‘ब्रान्ड’ बनाइसकेका मिडियामा सम्पादक बन्न कि त ठूला दलका नेता कि त ठूला व्यापारीको सिफारिस आवश्यक छ! पत्रकार महासङ्घ होस् वा अन्य ‘छाता’ सङ्गठनमा चुनाव जित्न राजनीतिक दलसँगको आबद्धता अपरिहार्य बनेको छ। र, हामी अपेक्षा गरिरहेका छौँ– स्वतन्त्र पत्रकारिताको! यो ‘प्याराडक्स’ पछिल्लो समय खुबै झाँगिदो छ।

हामी पत्रकारहरूको प्रश्न गर्ने शक्ति र सामर्थ्य निरन्तर क्षयीकृत हुँदै गएको छ। नियमित रुपमा अन्तर्वार्ता लिन्छौँ हामी, तर प्रश्नचाहिँ उत्तरकर्ताको चाहनाबमोजिम गर्छौं! पत्रकार सम्मेलन वा अन्य कार्यक्रमहरूमा जान्छौं, प्रश्न गर्दैनौं– बरु उत्तर सार्छौं! त्यसैलाई ठूलो समाचार मान्छौं र प्रमुख स्थान दिन्छौं। अचेल पत्रकारहरूको मूल्यांकन वा तिनलाई दिइने पद ऊ कत्तिको ‘बिजनेस फ्रेन्ड्ली’ अथवा ‘राजनीतिक दल र तिनका नेताको नजिक छ’ भन्ने कुरामा आधारित हुँदै गएको छ।

साइनाथ भन्छन्, “सम्पन्नताको समाचार लेख्दा तपाईंहरू गरिबीलाई नबिर्सनुस्। पत्रकारिता त यस्तो साहित्य हो, जुन कर्पोरेट लगानीबाट कहिल्यै फस्टाउँदैन। यो यस्तो साहित्य हो– त्यो समाज र समुदायका भोगाइबाट आयो भने मात्र सुवासित हुन्छ। हामीले भोगिरहेको सबैभन्दा ठूलो चुनौती नै समाजको कथा समाजमा कसरी सुनाउने भन्ने हो। दुर्भाग्यवश हामी एउटा फ्रन्टमा लडेर मात्रै जित्न सक्ने अवस्था छैन। अहिले एउटा कुरा भन्छु– पत्रकारितालाई सबैभन्दा बढी खतरा मिडियाबाट हुँदै गइरहेको छ। हामीले पत्रकारितालाई मिडियाबाट उद्धार गर्नैपर्छ। मलाई थाहा छ, यो धेरै गाह्रो काम हा, तर असम्भवचाहिँ होइन। पत्रकारिता कुनै कारोबार होइन, यो एक प्रकारको आह्वान हो, पुकार हो।”

धेरै प्रश्न वा क्रिटिकल कुरा मात्र गर्‍यो भने आलेख अरुचिकर हुन सक्छ। त्यसैले अब म प्रसंग मोडेर पुनः साइनाथमै ठोक्किन चाहन्छु।

भारतीय स्वतन्त्रता संग्रामको नेतृत्व कसले गरेको थियो? लाखौं आममानिस– किसान, मजदुर, गृहिणी, वन्यउपज जम्मा गर्ने मानिस, कालिगढले गरेका थिए, जो कहिल्यै मन्त्री, राष्ट्रपति वा अन्य उच्च सार्वजनिक पदमा पुगेनन्। तिनैको जीवनलाई ‘अर्काइभिङ’ गर्नु यो किताबको मुख्य ध्येय हो। सन् १९४७ पछिको पुस्तालाई ती वास्तविक योद्धाको कथा आवश्यक छ भन्ने बुझाइले साइनाथ यो किताब लेख्न तम्सिएको देखिन्छ।

सन् १९८० बाट पत्रकारिता शुरू गरेका ६५ वर्षीय पलागुम्मी साइनाथ विश्वविख्यात रोमन म्यागसेसेलगायत थुप्रै पुरस्कारबाट सम्मानित छन्। ग्रामीण विपन्नता, किसानका मुद्दा र सामाजिक समस्यामा केन्द्रित भई कलम चलाउने साइनाथलाई नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले ‘भोकमरीबारे विश्वका महान् विशेषज्ञमध्ये एक’ भनेका छन्।

भारत र नेपालका किसानको समस्या खासै फरक छैन। साहु, बैंक, बिचौलिया, बजारलगायतले किसानलाई दिने यातना पनि उस्तै छन्। तर भारतले सन् १९४७ र नेपालले सन् १९५० (२००७ साल)मा पाएको मुक्तिको पृष्ठभूमि फरक छ। भारतमा बेलायती उपनिवेश थियो, हामी आफ्नै देशका निरङ्कुश जहाँनियाहरूको शासन भोगिरहेका थियौँ। भारतलाई आफ्नो देशबाट बेलायती शासकहरू धपाउनु थियो, हामीलाई राणाशाहीको शासन व्यवस्था अन्त्य गरेर प्रजातन्त्र स्थापना गर्नु थियो। 

त्यसैले पाठकलाई पी साइनाथको पहिलो किताब ‘एभ्रीबडी लभ्स अ गुड ड्राउट’जतिको नयाँ किताब ‘द लास्ट हिरोज’ले प्रभाव नपार्न सक्छ, रुचिकर नलाग्न पनि सक्छ। तर कसरी परिवर्तनका प्रमुख संवाहकहरूलाई वर्षौंसम्म ओझेल पारिन्छ, तिनको योगदानलाई नजरअन्दाज गर्दै मेटाउनै खोजिन्छ भन्ने कुराको एउटा अब्बल उदाहरण यो किताब हो। यस्ताखाले इतिहासमा रुचि राख्नेका निम्ति भने यो किताब नपढी नहुने बनेको छ। किताब लेख्न उनले गरेको अनुसन्धान र अध्ययन स्मरणीय छ।